धान उत्पादन घट्ने चिन्ता

सम्पादकीय

मधेशका किसानले केही वर्षयता मौसम परिवर्तनको चर्को समस्या बेहोर्दै आएका छन् । यसले गर्दा एकातिर किसानको लगानी डुब्ने र अर्कोतिर अर्बौंको धान÷चामल आयात गर्नु परिरहेको छ । धान उत्पादन बढाउने उद्देश्यले हरेक वर्ष असार १५ गते धान दिवस मनाइन्छ तर उत्पादन भने बढ्न सकेको छैन ।

कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको हो तापनि कृषि गर्ने युवाहरू देशमा खाली हुँदैछन् । नेपालमा खेती भइरहेको कुल ३० लाख ९१ हजार हेक्टरमध्ये करीब १५ लाख हेक्टरमा धान लगाउने गरिएको छ । नेपालमा ७० प्रतिशत धान उत्पादन तराई–मधेश, २७ प्रतिशत मध्यपहाड र ३ प्रतिशत उच्च पहाडमा हुने गरेको छ ।

कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार अढाइ दशक (सन् १९९०÷९१–२०१५÷१६) मा धानको क्षेत्रफल र उत्पादन तलमाथि भएको छ । २०००÷०१ मा धानको क्षेत्रफल १५ लाख ६० हजार हेक्टरसम्म पुगेकोमा २०१५÷१६ मा १३ लाख ६३ हजार भयो । रोपाईंका लागि मनसुन पर्खनु परेको, राजमार्ग छेउका खेत मासेर सिंचाइ पुगेका ठाउँमा घडेरी प्लटिङ गरेको र कतै बाढी त कतै सुक्खाले पनि यो अवस्था आएको हो । २०१३÷१४ मा धान उत्पादन ५० लाख टन भएकोमा गत वर्ष ४३ लाख टनभन्दा तल झरेको छ ।

धान उत्पादन सुनिश्चित बनाउन सिंचाइ, वातावरण अनुकूल बीउ र प्रविधिको प्याकेज किसानमा लैजानुपर्ने सन्देश यसले दिएको छ । गएको दशकमा मौसम परिवर्तनका असर स्वरूप बाढी, पहिरो र सुक्खा बढी देखिए । २००८ मा बाढीले ६० लाख जनसंख्या प्रभावित भएको अध्ययनहरूले बताएका छन् । यो अवस्थामा धानबालीका लागि भरपर्दो सिंचाइको व्यवस्था गर्नुको विकल्प छैन ।

गत वर्ष धान रोप्ने समयमा अनुकूल वर्षा भएकोले विगतका वर्षहरूको तुलनामा उत्पादन बढेको थियो भने चालू वर्षमा भने धानको उत्पादन घट्ने सम्बन्धित क्षेत्रका विज्ञहरूले जनाएका छन् । नेपालमा प्रतिवर्ष ३० अर्ब रूपैयाँभन्दा बढीको धान उत्पादन हुने अनुमान सम्बन्धित क्षेत्रको थियो । कृषिप्रधान मुलुक नेपालको प्रमुख बाली धान हो । कुल खाद्यान्न उत्पादनमा धानले ८० प्रतिशत अंश ओगटेको छ । कुल खेतीयोग्य जमिनमध्ये ५५ प्रतिशत जमिनमा धानखेती हुन्छ । धानको उत्पादकत्व प्रतिहेक्टर खासै वृद्धि हुन पनि नसकेको विगतमा गरेको अनुमानले देखाएको छ । जनसंख्या प्रतिवर्ष एक दशमलव ३५ प्रतिशत बढीले वृद्धि भएको अवस्थामा यसरी प्रमुख खाद्यान्न बालीको उत्पादन घट्नु खाद्यान्न सुरक्षाकै दृष्टिले चिन्ताको विषय हो ।

खाद्यान्नको बढ्दो माग पूरा गर्न धानबाली उत्पादन वृद्धि गर्नु टड्कारो आवश्यक्ता छ । बढी उत्पादन वृद्धि गर्न असल बीउ, मल, जात, आदिका अतिरिक्त रोग नियन्त्रणका उपायको बारेमा पनि ध्यान पु¥याउनु नितान्त जरूरी छ । मुलुकमा धानबाली क्षेत्रफल र उत्पादनको हिसाबले प्रमुख खाद्यान्न बाली हो । यसले रोजगारी र आय–आर्जनमा पनि विशेष योगदान पु¥याइरहेको छ । देशको हिमाली र पहाडी क्षेत्रभन्दा तराई क्षेत्रले धान उत्पादनमा प्रमुख स्थान ओगटेको छ । मुलुकको कुल खाद्यान्न बाली उत्पादनमा धानको योगदान सबैभन्दा बढी रहेको छ र कृषि गार्हस्थ उत्पादनमा २० प्रतिशत योगदान दिएको छ ।

बदलिँदो परिस्थितिमा सामाजिक न्याय तथा समानताको सिद्धान्तमा मौलिक तथा संवैधानिक हकसमेतमा प्रत्याभूत हुने गरी आर्थिक समृद्धिको प्रमूख अव्यवको रूपमा कृषिलाई अंगिकार गर्नु तराई–मधेशको विकासको मूलमन्त्र हुन सक्दछ । तराई मधेशको हरेक संभावनालाई दृष्टिगत गरी अन्नबालीमा धान, गहुँ र मकै, दलहनमा मसुर, अरहर, चना, केराउ, मूग र मास, तेलहनमा तोरी, सूर्यमूखी, बदाम, तिल र कुसुम, विभिन्न नगदे तरकारी बालीमा आलु, प्याज, लसुन, टमाटर, खुर्सानी, उँखु, सूर्ती, कपास, जुट आदिका साथै र फलफूलमा आँप, लिची, कटहर, केरा, अम्बा, मेवा, सोहजन, अनार तथा विभिन्न किसिमका फूलहरूको उत्पादनमा जोड दिनु आवश्यक देखिन्छ ।

त्यस्तै तराई मधेशको अति उत्पादनशील मत्स्यपालन, पशुपन्छी पालनमा गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा, परेवा, हाँस पालनलाई महत्वका साथ दूध, अंडा तथा मासु उत्पादनमा प्रवद्र्धन गर्नु पर्ने हुन्छ । विभिन्न नदीको बगर, नहर, सार्वजनिक जग्गा तथा जंगलमा नगदे बाली तथा जडीबुटी उत्पादन, कृषिमा आधारित उद्योग धन्दा एवं कृषि पर्यटन समेतको प्रर्वद्धन गर्न सकिन्छ । यसतर्फ तीनै तहको सरकारले गम्भीर भएर नीति कार्यक्रम बनाउनुपर्ने आवश्यक छ । नारा र कागजमा मात्रै लेखेर कृषि क्रान्ति सम्भव छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ