किन बढ्दैछ अशान्ति र द्वन्द्व ?

सम्पादकीय

नेपाली जनताको धेरै ठूलो संघर्ष, त्याग र बलिदानीबाट मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । पहिले प्रजातन्त्र, त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्र आयो । विकासका ठूला ठूला आयामहरु, विचारहरु आयातित गर्दै जाने तर हाम्रो समाजलाई विचारशील नबनाई अनैतिक तवरले बिगार्दै जाने व्यवहारले न देशमा सुशासन आउने न सभ्य समाजको निर्माण हुन सक्ने कुराको मनन् हुन आवश्यक छ । विविधतायुक्त रहेको नेपाली समाज सहिष्णुता गुणले ओतप्रोत थियो ।

सामाजिक विकास र परिवर्तनको नाममा अनेक दुष्प्रवृतिहरु प्रवेश गरि सामाजिक संरचनाको मौलिक गुणहरुलाई नै परिवर्तन गरि दिएको छ । यसमा राजनीतिकर्मीहरुको बढि भूमिका देखिएको छ । भ्रातृत्व, सदाचार, सहिष्णु, एक अर्काप्रति उत्तरदायी, परोपकारी गुणले भरेको नेपाली समाज अहिले गाउँ त के टोल टोल विखण्डनमा परेको छ । उँचनीच, जातजातमा विभाजन, धर्ममा विभाजन, साम्प्रदायिक विभेदका जहरहरु फैलिएर समाजलाई पूर्णतया विखण्डित बनाई दिएको छ ।

पारस्परिक सहयोगको के कुरा एक अर्कासंग कुरा गर्न मानिस रुचाउँदैन । राजनीतिक फायदा लिन कहीं दलितको नारा उचाल्यो । कहीं मुसलमानको नारा घन्कायो । कहीं हिन्दु मुस्लिमबीच बैरभाव फैलाएर भोट लियो । व्यक्तिगत स्वार्थसिद्धिका लागि गरिएको अनैतिक कार्यले गर्दा समाज विखण्डित अवस्थाको दयनीय पीडा भोगिरहेको छ । आफ्नो नेताहरुको अनुसरण गर्दै समाजलाई दुषित बनाउनेहरु नै पश्चाताप गरि समाजलाई पूर्वावस्थामा फर्काउने दिवास्वप्न देख्दैछन् ।

समाजमा घोलिएको जहरले व्यक्ति नै जहरीला भइसकेपछि यसलाई पूर्वावस्थामा फर्काउने बचकाना प्रयास हो । दुष्प्रवृतिबाट बनेको समाजले मानवोचित व्यवहार गर्दैन । एकै ठाउँमा व्यक्तिहरुको आवास भएपनि भावनात्मक सम्बन्धको अभाव रहन्छ । स्वार्थवश सम्बन्ध बनाउने, होइन भने कुनै मतलव नराख्ने, यस्तो सामाजिक संरचनालाई मानव समाज मान्न सकिन्न । स्वार्थयुक्त राजनीतिले शासन प्रणालीलाई अनैतिक बनाइ दिएको अवस्थामा राम्रो परिणामको आश गर्नु मुर्खता नै हो ।

आयातित विचारहरु अनुरुप आफ्नो आचरणमा पनि सुधार हुन जरुरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो स्वार्थ अनुकूल चलाउनु निःसंदेह नकारात्मक परिणाम भोग्नु पर्ने हुन्छ । केन्द्रीकृत राज्यसत्ताले समग्र नेपाली जनताको सुख सुविधा उपलब्ध गराउन सकेन भनेर सयकडौं शहीदको बलिदान दिएर ल्याएको संघीय प्रयाालीको मूलमर्मलाई बिर्सेर आफ्नो सुख सुविधा अनुसार संघीयता चलाएर जुन परिणाम देशको सामुन्ने देखिएको छ त्यो डरलाग्दो छ ।

चारैतिर अनियमितता, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, महँगी, बेरोजगारी, परनिर्भरता आदिको ताण्डव भइरहेको अवस्थामा राजनीतिकर्मीहरु बेखवर हुनु असक्षमताको परिचायक हो । के देशको यही दुर्दशाका लागि केन्द्रीकृत राज्यसत्तालाई विकेन्द्रीकरण गरिएको थियो ? सबैलाई सुखसुविधा उपलब्ध गराउन ल्याईएको संघीय लोकतान्त्रिक गणतन्त्रको यस्तो दुष्परिणाम कसरी भयो ? समाजमा अपराध तीव्ररुपमा बढिरहेको छ । सोही अनुपातमा दण्डहीनता बढिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ