मधेश बनाउने अभियानमा लागौं

सम्पादकीय

बदलिँदो परिस्थितिमा सामाजिक न्याय तथा समानताको सिद्धान्तमा मौलिक तथा संवैधानिक हकसमेतमा प्रत्याभूत हुने गरी आर्थिक समृद्धिको प्रमूख अव्यवको रूपमा कृषिलाई अंगिकार गर्नु मधेशको विकासको मूलमन्त्र हुन सक्दछ । मधेशको हरेक सम्भावनालाई दृष्टिगत गरी अन्नबालीमा धान, गहुँ र मकै, दलहनमा मसुर, अरहर, चना, केराउ, मूग र मास, तेलहनमा तोरी, सूर्यमूखी, बदाम, तिल र कुसुम, विभिन्न नगदे तरकारी बालीमा आलु, प्याज, लसुन, टमाटर, खुर्सानी, उँखु, सूर्ती, कपास, जुट आदिका साथै र फलफूलमा आँप, लिची, कटहर, केरा, अम्बा, मेवा, सोहजन, अनार तथा विभिन्न किसिमका फूलहरूको उत्पादनमा जोड दिनु आवश्यक देखिन्छ । त्यस्तै मधेशको अति उत्पादनशील मत्स्यपालन, पशुपन्छी पालनको प्रवद्र्धन गर्नु पर्ने हुन्छ ।

कृषिलाई मर्यादित, नाफामूखी बनाउन कृषकहरूको समूह, सहकारी, संगठन तथा निजी क्षेत्रको माध्यम आवश्यक पहल गरिनु जरूरी छ ।

अतः यी सबै कुरालाई मनन गरी राजनीतिक विराम पछि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक वर्ग, कृषक तथा कृषिसँग आवद्ध युवा, समुदाय, समूह सहकारी, अगुवा, व्यापारी, उद्योगी, संचार जगत, आदिले तराई मधेश बनाउने अभियानमा लाग्यो भने मधेशमा गरिबी, पछौटेपन र विपन्नताबाट समृद्धि तर्फ लाग्ने विश्वास गर्न सकिन्छ ।

मधेश राजनीतिलाई सबैभन्दा बढी मनोवैज्ञानिक प्रभाव गरिरहेको अर्को तत्व हो, प्राकृतिक स्रोत र साधनको अन्तर्निर्भरता र सामाजिक अन्तर्घुलनको अनुमति, मधेश आन्दोलनताका यो भावना र बुझाई निकै कमजोर थियो । के भनिन्थ्यो भने मधेशमा सबैथोक छ, पहाडमा केही पनि छैन, पहाड बिना पनि मधेश बाँच्न सक्दैन ।

अहिले यो उग्रतालाई पुनः विचार गर्न कसैले प्रभावित गरिरहेको छ भने प्राकृतिक स्रोत र साधनको स्थितिले गरिरहेको छ । मधेशमा उर्वर जमिन, जनसंख्या, विकास पूर्वाधार र अर्थतन्त्रको गति छ, तर आधुनिक राज्यको भविष्यका लागि यति कुराहरू मात्र पर्याप्त छैनन् । अर्थतन्त्रका नयाँ संभावनाका रूपमा देखिएका जलविद्युत पर्यटन, जडिबुटी, फलफूल खेती, खनिज र खानीहरूको महत्वलाई मधेशी विद्वत वर्ग र शिक्षित युवाहरूले राम्ररी पर्गेल्न थालेका छन् ।

चुरे पहाडको वनविनाश मधेशमा तनाव र दुःखको कारण बन्ने गरेको छ । ढुंगा, गिटी, बालुवा, रोडा र सिमेन्ट बनाउने चुनढुङ्गाको आवश्यकता मधेशलाई कम छैन । प्राकृतिक अन्तर्निर्भरता मात्र हैन, सामाजिक अन्तर्घुलन मधेश राजनीतिको साेंचलाई प्रभावित गर्ने अर्को महत्वपूर्ण कारक तत्व हो । थुप्रै मुख्य मधेशी नेताहरू पहाडी समाजसँग कुनै न कुनै नाता र साइनोमा गाँसिएका छन् ।

नेपाल राज्यको शक्ति संरचनालाई पहाडी जनमतको समर्थन र भरथेग छ भन्ने बुझाई पनि मधेश राजनीतिले बदल्दै लगेको छ । आधुनिक, लोकतान्त्रिक, सभ्य र उन्नत भनिएको अमेरिकामा नै पनि ब्लैक प्यान्थर आन्दोलन भएको करिब ५० वर्षपछि मात्र काला बाराक ओबामा राष्ट्रपति चुनिन सके । तर नेपालमा मधेश आन्दोलन भएको पाँच वर्ष नबित्दै मधेशी समुदायका राष्ट्रपति र उपराष्ट्रपति बन्न सके । बाराक अझै पनि पूर्ण काला हैनन् ।

काला बाबु र गोरी आमाका सन्तान हो । यो तुलना पनि मधेशी जनमतले गरिरहेको देखिन्छ । यस्ता थुप्रै वैचारिक तथा मनोवैज्ञानिक कडीभित्र मधेशी राजनीति अहिले एउटा ठूलो मौनता, स्तब्धता र आत्मानुभूतिको अवस्थामा छ । भन्न सकिन्न यो आत्मानुभूतिपछि यसले कस्तो कोल्टे फेर्दछ । मधेशी युवाहरूलाई सबै प्रकारका हिनताभाषहरूबाट माथि उठाउनु र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्ने आत्मविश्वासबाट ओतप्रोत गर्नु सायद यतिखेर सबैको दायित्व हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ