बुद्धको जन्मभूमिमा अशान्ति किन ?

सम्पादकीय

विश्व शान्तिका दूत मानिने भगवन गौतम बुद्धको जन्मभूमि आज रणभूमिमा परिणत भएको छ । शान्तिका अग्रदूत भगवान सिद्धार्थ गौतम बुद्ध वैशाख पूणिर्मामा जन्मिए । वैशाख पूणिर्मामै बुद्धत्व (ज्ञान) प्राप्त गरे । यतिमात्र होइन, उनले वैशाख पूणिर्मामा ज्ञान बाँडे र वैशाख पूणिर्माकै दिन मृत्युवरण गरे । दरबारमा जन्मिएर सुख सयलमा हुर्किएका सिद्धार्थ गौतम संसार बुझ्न र ज्ञानको खोजीमा दरबार छोडेर निस्किए । उनी परिवारको ईच्छा विपरीत दरबारबाट भागेर ज्ञानको खोजीमा निस्किएका थिए । कठोर तपस्यापछि उनमा अदभुत् ज्ञान (बुद्धत्व) प्राप्त भयो । बुद्धले विश्वभरि शान्ति र अहिंसाको सन्देश फैलाए । बुद्धको जन्म लुम्बिनीमा भएको थियो । अहिले यो ठाउँ अर्बौं बौद्धिष्टहरुको आस्थाको केन्द्र बनेको छ । अहिले उनका अनुयायीहरु विश्वभरि छन् । उनलाई शान्तिका भगवानको रुपमा पूजा गरिन्छ ।

सिद्धार्थ गौतम शान्ति र सुलहको मार्गमा दृढ़ थिए । जात–वर्ण व्यवस्था, छूत–अछूतको सामाजिक संरचनाको घोर बिरोधी थिए । धर्मको नाममा अत्याचार, कसैको जन्मको कारणले श्रेष्ठता र कसैको उही कारणले जीवन नै अपमानित गरिनुको बिरुद्ध थिए । जसरी उनले आफ्नो शिष्य आनन्दलाई भनेका थिए, आहारको मामिलामा उनी खुला र उदार थिए । तर, इश्वरको नाममा जीवजन्तुको हत्या अर्थात् बलिप्रथालाई कदापि उचित मान्दैनथ्ये । मानव–मानव बीच समानता उनको अटल मान्यता थियो ।

वास्तवमा, बुद्धको विचार एवं मान्यता मानव धर्म र समाजवादको अनौठो एवं हुनु पर्ने मिश्रणको आदर्श रुप हो । हामी गौतम बुद्धको गुणगाण गाउँछौं । बुद्धको जन्मप्रति गौरव गर्छौं । तर, बुद्धले जुन मार्गदर्शन गरे, त्यो बाटोमा हिँड्ने प्रयास भने गर्दैनौं । वास्तवमा भगवान बुद्धले आफुलाई पूज्य बनाउनका लागि कुनै उपदेश दिएका थिएनन् । खासमा त्यो कुरालाई सम्पूर्ण मानव जातिले सुन्नेछन्, बुझ्नेछन् र आफ्नो जीवनमा उपयोग गर्नेछन् भन्नका खातिर उनले बुद्ध दर्शनको प्रतिपादन गरेका थिए । स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तोष सबैभन्दा ठूलो धन हो । बफदारी सबैभन्दा ठूलो सम्बन्ध हो । तीन चिज धेरै लामो समयसम्म लुक्दैन । सूर्य, चन्द्रमा र सत्य । आफ्नो मोक्षको लागि स्वयम् प्रयास गर । अर्कामा निर्भर नगर । घृणा, घृणाले होइन प्रेमले अन्त्य हुन्छ । यो शाश्वत सत्य हो ।

बिना स्वास्थ्य जीवन, जीवन होइन । केवल एक पीडाको स्थिती हो । मृत्युको छवी हो । सत्यको मार्गमा चलिरहेको व्यक्तिले केवल दुई गल्ती गर्न सक्छन् । एक, पुरा बाटो तय नगर्ने । अर्को, यसको सुरुवात पनि नगर्ने । चाहे तिमी जतिसुकै पवित्र शब्द पढ वा बोल । त्यसले तिमीलाई के भलो गर्छ, जबसम्म त्यसलाई उपयोग गर्दैनौं । इच्छा कहिल्यै अन्त्य हुँदैन । यदि तिम्रो एउटा इच्छा पुरा भयो भने, दोस्रो इच्छा तुरुन्तै जन्मन्छ । अज्ञानी मानिस एक बेल समान हुन् । उनी ज्ञानमा होइन, आकारमा बढ्छ । इष्र्या र गुनासोको आगोमा जलिरहेका मानिसमा खुसी र हासोको स्थान हुनसक्दैन । यदि तपाई अध्याँरोमा डुबिरहनुभएको छ भने, उज्यालोको खोजी किन गर्नुहुँदैन ? एक जागेका व्यक्तिलाई रात निकै लामो लाग्छ, एक थकित व्यक्तिलाई गन्तव्य धेरै टाढा लाग्छ ।

यसै किसिमले सच्चा धर्मबाट बेखबर मूखका लागि जीवन–मृत्युको सिलसिला उत्तिनै लामो लाग्छ । अतितमा ध्यान केन्द्रित नगरौं, न भविष्यका लागि सपना देख्नु । बरु आफुलाई वर्तमानमा केन्द्रित गरौं । तपाई आफ्नो रिसको कारण दण्डित हुनुभएको छैन । तपाई आफ्नो रिसद्वारा दण्डित हुनुभएको छ । मन सबैथोक हो । जसरी तिमी सोच्छौं, त्यस्तै बन्छ । सबै व्यक्तिलाई सजायदेखि डर लाग्छ । सबै मृत्युदेखि डराउँछन् । बाँकी व्यक्ति तथा प्राणी पनि तिमीजस्तै हो । कसैलाई दुख नदेउ, कसैलाई नमार । सबै नराम्रो कुराबाट टाढा रहनका लागि राम्रो कुराको विकास गरौं । आफ्नो मनमा राम्रो विचार राखौं । यस्ता भगवान गौतम बुद्धको उपदेश रहेका छन् । तर विश्वलाई शान्तिको मार्ग दिने भगवान गौतम बुद्धको देशमा शान्तिको खोजी भइरहेको छ । भगवान गौतम बुद्धका उपदेश र उहाँले देखाउनुभएको मार्गदर्शनलाई आत्मसात् गर्नुका साथै आफ्नो व्यवहारमा लागू गरे मात्र हामी वास्तविक रुपमा बुद्धका देशका हामी नागरिक हौं भन्न सुहाउँछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ