कृषि मात्र एउटा यस्तो माध्यम हो जसबाट मधेश र नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ । यसमा कुनै अन्य विकल्प छैन । कृषिमा आत्मनिर्भर बनाउने कुरा हरेक राजनीतिक दलले गर्छन् । उनीहरुलाई पनि थाहा छ कि यो मुद्दा सबभन्दा बलियो हो ।
यही मुद्दामा जनतालाई बारम्बार ठग्दै आएका छन् । तर कृषिबाट वास्तवमा आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरालाई व्यवहारमा उतार्नका लागि मैले दुई वर्षदेखि कृषि क्रान्ति अभियानमा लागेको छु ।
म अहिले लगभग ८ बिघामा माछा पालन गर्दै छु, चार बिघामा सुन कागती, सा–आठ बिघामा केरा खेती, तरकारी खेती १० बिघामा, मेवा पनि पाँच–छ बिघामा लगायतका तरकारी, फलफुल, माछामासु, अण्डा उत्पादन गर्दै आएको छु ।
हामीले उत्पादन गर्ने खाद्यवस्तुहरुको बजार व्यवस्थापन मुख्य चुनौती हो । किसानले उत्पादन गरेको वस्तुहरु बजारसम्म पु¥याउन अलि अप्ठ्यारो देखिएका छन् ।
विदेशिन बाध्य भएका युवाहरुलाई कृषि क्रान्तिमा लगाउने मेरो सोच हो । म युवाहरुलाई आह्वान गर्न चाहन्छु कि अब अरुको देशमा गएर दासताको जीवन बिताउनुभन्दा आफ्नै देशमा मिहेनत गरौं । विदेश जाने बाध्यतालाई हामीले केही दिनमै अन्त्य गर्न सक्छौं ।
हामीले एउटा टिम बनाएका छौं । जसले कृषि कर्म गर्नका लागि विभिन्न किसिमको सहयोग र अवसर दिन्छ । यदि कुनै युवाले कृषि कर्म गर्न चाहन्छ भने उसको लागि हामीले लगानी पनि गर्न सक्छौं ।
अहिलेसम्म कृषि क्षेत्रमा युवाहरु लाग्न नसक्नुको पछाडि सरकारकै हात देखिन्छ । किनभने कृषि क्षेत्रका लागि सरकारले ठूलठूला नारा दिन्छन् तर सो अनुसार लगानी देखिँदैन । कृषिबाट पलायनको अवस्था छ अहिले । किसानले समयमा मल खाद्य पाउँदैन, उन्नत जातका बीउ पाउँदैन, बजार व्यवस्थापन छैन ।
सरकारले हरेक ठाउँमा दलाल खडा गरिसकेको छ । किसानलाई यदि सरकारले समयमा विभिन्न उपकरणका साथै मल खाद्य उपकरण गराइदियो भने उत्पादनमा वृद्धि हुन्छ, त्यसबाट आय आर्जन हुन्छ ।
भन्नका लागि अहिले मुलुकमा तीन तहको सरकार छ तर कृषिका लागि सबै नारामा लगाएका छन्, व्यवहारमा देखिएको छैन । अहिले मधेशका लगभग ७६ प्रतिशत मानिस कृषिमा निर्भर छन्, त्यसबाट सन्तोषजनक लाभ लिन सकिरहेको छैन ।
हाम्रो अभियानअन्तर्गत करिब पाँच वर्षभित्र मधेशलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य लिएका छौं । मधेशलाई कृषिमा एउटा पर्यटन क्षेत्र बनाउने योजनाअन्तर्गत अहिले काम गरिरहेको छु ।
पाँच वर्षभित्र मधेशमा फलफुल, तरकारी, माछा, मासु, अण्डा, तरकारी लगायत उब्जनी गरेर बाहिर निर्यात गर्न सकिन्छ । अहिलेको अवस्थामा जुनसुकै उपभोग्य वस्तु पनि हामीले निर्यात गर्नुपर्ने अवस्था छ । तर हाम्रो कृषि क्रान्ति अभियानले यो परनिर्भरताको अवस्थालाई समाप्त गर्नेछ । त्यसको सुरुवात हामीले गरिसकेका छौं ।
हाम्रो यहाँ आवश्यकता धेरै छ, उत्पादन थोरै भइरहेको छ । हामीले आवश्यकताभन्दा बढी उत्पादन गर्ने क्षमताको विकास गरिरहेका छौं । हामीले उत्पादन क्षेत्रलाई यस्तो बनाउँछौं कि अन्य देशबाट आयात गर्ने बाध्यता समाप्त हुन्छ ।
हाम्रो सरकारले नै यहाँका उत्पादनलाई निर्यात गर्न सक्छ । अहिले हामीसँग खेती गर्ने धेरै पूर्वाधारहरु पनि रहेको छ, त्यसलाई हामीले सदुपयोग गर्न नसकेको मात्रै हो ।
विगत केही वर्षमा नेपालका ग्रामीण क्षेत्रहरुमा धेरै सुधार भएको छ । यातायात र बिजुलीको पहुँच सहज भएको छ । अब हामीले त्यसको सदुपयोग गर्न जान्नुपर्छ ।
हामीले नेपालबाट के पायौं भन्दा पनि हामीले के दिन सक्छौं, कसरी आर्थिक उन्नतितर्फ नेपाललाई पु¥याउन सक्छौं भन्ने उद्देश्यका साथ आफ्नो कर्म गर्न सक्नुपर्दछ ।
हामीले विदेश गएर धेरै पैसा कमाउँछौं भन्ने सोच त्याग्नुपर्छ । जति मिहेनत र पसिना हामीले खाँडी मुलुक वा विदेशमा गएर बगाउँछौं, त्यसको आधा मिहनेत मात्रै आफ्नो जन्मभूमिमा गर्न सक्यौं भने स्वर्ग बन्छ । हामीले यही राम्रो आम्दानी गर्ने पूर्वाधारको तयारीमा जुटेका छौं ।
तपाईको प्रतिक्रिया