ढाका । बङ्गलादेशमा रेल परियोजनामा आर्थिक कोषको सङ्कटका कारण काम नभएको भन्ने चिनियाँ कम्पनीको आरोपको बङ्गलादेशले खण्डन गरेको छ ।
चिनियाँ रेलवे ग्रुप लिमिटेड (सिआर्ईसी) ले बङ्गलादेशमा पद्मा ब्रिज रेल परियोजनामा कोषको अभाव भएको आरोप लगाएपछि बङ्गलादेशको रेलवे मन्त्रालयले उक्त आरोपको खण्डन गरेको हो ।
रेलवे मन्त्रालयले ठेकेदार कम्पनीहरूको आरोपलाई सम्बोधन गर्ने तर रकम भुक्तानी गर्न ढिलो भएको बारे सिआर्ईसीले हालसम्म आफूहरूलाई सूचना नगरेको बताएको छ ।
यदि रकम भुक्तानीमा ढिलाइ भए मिडियामा प्रचार गर्नुभन्दा सम्बन्धित निकायलाई सूचना गर्नुपर्ने रेलवे मन्त्री नुरुल इस्लाम सुजनले बताएका छन् । यद्यपि, कोष सङ्कटबारे आफूहरूले कुनै प्रेस विज्ञप्ति सार्वजनिक नगरेको सिआर्ईसिले दाबी गरेको छ ।
बङ्गलादेशमा पद्मा ब्रिज रेल परियोजनालाई चीनको ऋणको फन्दाको रूपमा विश्लेषण भएको छ । चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत दक्षिण एसियाली मुलुकहरूमा विभिन्न पूर्वाधार परियोजनाहरू बिस्तार गरिरहेको छ ।
चीनले यस्ता परियोजनाहरूको ऋणमा चर्को ब्याज उठाउने तथा परियोजना ढिलाइ गर्ने र ऋणमा डुबाउने गरेको विश्लेषण हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया