आम्स्टर्डम । चीनमा मुस्लिम अल्पसङ्ख्यक उईगुर समुदाय माथिको दमन तथा नरसंहार रहेको भन्दै नेदरल्याण्डमा संसद्ले गैर बाध्यकारी प्रस्ताव पारित गरेको छ ।
चीनमा अल्पसङ्ख्यक उईगुर विरुद्धको सरकारी दमनलाई नरसंहारको संज्ञा दिँदै नेदरल्याण्डमा संसद्ले प्रस्ताव पारित गरेको हो ।
युरोपमा पहिलो पटक नेदरल्याण्डले चीनमा अल्पसङ्ख्यक उईगुर माथिको दमनबारे यस्तो कदम लिएको हो । उईगुर अल्पसङ्ख्यकमाथि नरसंहार भइरहेको संसद्को प्रस्तावमा उल्लेख छ ।
सिन्जियाङमा नरसंहार भएको आरोप झुट रहेको र नेदरल्याण्डले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको नेदरल्याण्डस्थित चिनियाँ दूतावासले टिप्पणी गरेको छ ।
चीनको सिन्जियाङमा दश लाख भन्दा धेरै मुस्लिम उईगुरहरूलाई बन्दी बनाइएको संयुक्त राष्ट्रसङ्घीय अधिकारकर्मीहरूले बताउँदै आएका छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा पश्चिमी राजनीतिज्ञहरूले चीनमा सरकारले उईगुर माथि यातना दिने, बाध्यकारी श्रम तथा बन्ध्याकरण गर्ने जस्ता दमन गरिरहेको आरोप लगाउँदै आएको छ ।
तर, चीन सरकारले भने उक्त आरोपको खण्डन गर्दै सिन्जियाङमा व्यावसायिक प्रशिक्षण प्रदान गर्ने गरेको दाबी गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया