नयाँ दिल्ली । बलिउडका दुई दिग्गज कलाकार राज कपुर र दिलीप कुमारको पाकिस्तानमा रहेका पैतृक घरहरूलाई संग्रहालय बनाइने भएको छ । पाकिस्तानको खैबर पख्तूनख्वाह सरकारले जीर्ण अवस्थामा रहेका कलाकारद्वय घरलाई किनेर संग्रहालयमा परिणत गर्ने तयारी गरेको हो ।
राज्य सरकारले यी दुबै घरहरू भूमि अधिग्रहण ऐन १८९४ अन्तर्गत रहेर खरिद गर्न लागेको छ । छिट्टै यी घरका मालिकहरूलाई मुआब्जा पनि दिइने नवभारत टाइम्सले उल्लेख गरेको छ ।
अभिनेता दिलीप कुमारको घरको मुल्य भारु ८०.५६ लाख र राज कपुरको घरको मुल्य भारु १.५० करोड तोकिएको छ । यो मूल्य पाकिस्तानको पुरातत्व विभागले तोकेको हो ।
घरका हालका मालिकहरू घर बेच्न तयार नभएपछि राज्य सरकारले कानुनी कदम ती घरलाई खरिद गर्न लागेको हो ।
राज कपुरको घरलाई ‘कपुर हवेली’ भनिन्छ । ख्वानी बजारमा अवस्थित उक्त घर उनका बुबा पृथ्वीराज कपुरले बनाउन लगाएका थिए । कपुरको घरको नजिकै दिलीप कुमारको पैतृक घर रहेको छ ।
तपाईको प्रतिक्रिया