लगाइएका खोपको विवरण भारतद्वाारा सार्वजनिक

विश्व

4/22/2021

काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म लगाइएका कोरोना खोपको संख्या तथा त्यसको प्रभावकारिताबारे विवरण सार्वजनिक गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मन्त्रालयले खोप अभियान सुरु भएयता पहिलोपटक यसबारे विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार खोप लगाएका हरेक १० हजार जनामा २ देखि ४ जनासम्मलाई मात्र कोरोना संक्रमण देखिएको छ, अरू सुरक्षित छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव राजेश भूषणका अनुसार भारतमा अहिलेसम्म९३ लाख ५६ हजार ४३६ जनालाई कोभ्याक्सिनको पहिलो डोज दिइएको छ, जसमध्ये ४ हजार २ सय ८ जनलाई संक्रमण देखिएको हो । यसैगरी यसको दोस्रो डोज लिएका १७ लाख ३७ जार १ सय ७८ जनामध्ये ६९५ जनालाई मात्र कोरोना संक्रमण देखिएको छ ।

यस्तै भारतमा अहिलेसम्म १० करोड ३ लाख २ हजार ७४५ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका छन् । यीमध्ये १७ हजार १४५ जनालाई कोरोना संक्रमण देखिएको भारतका स्वास्थ्य सचिव भूषणले जानकारी दिए ।

उनका अनुसार यसैको दोस्रो मात्रा लिएका १ करोड ५७ लाख ३२ हजार ७५४ जनामध्ये ५ हजार १४ जनालाई मात्र कोरोनाको संक्रमण भएको छ । अक्सफोर्ड–अस्ट्राजेनेकाद्वारा विकसित एवं भारतद्वारा उत्पादित कोभिसिल्ड खोप नेपालमा पनि प्रयोग भइरहेको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ