काठमाडौं । युरोपेली सङ्घ (ईयू) ले हङकङ माथि चीनको राजनीतिक दमनको आलोचना गरेको छ । युरोपेली सङ्घको विदेश मामिला परिषद्को बैठकमा ईयू उच्च कूटनीतिज्ञ जोसेफ बोरेलले हङकङको अवस्था नाजुक बन्दै गएको भन्दै चीनको कदमको आलोचना गरेका छन् ।
२७ जना सदस्य मुलुकका विदेश मन्त्री तथा ईयूका वरिष्ठ अधिकारीहरू उपस्थित बैठकमा हङकङको विषय महत्त्वका साथ छलफल भएको थियो ।
हङकङमा चीनले लागु गरेको नयाँ राष्ट्रिय सुरक्षा नीति विरुद्ध दुई चरणको प्रक्रिया परिचालन गर्ने बोरेलले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिए ।
चीनले नयाँ सुरक्षा नीति लागु गर्दै हङकङमा राजनीतिक दमन गरेको भन्दै अन्तर्राष्ट्रिय निकायहरूले आलोचना गर्दै आएका छन् ।
त्यस्तै पछिल्लो समय चीनले हङकङमा निर्वाचन प्रणाली संशोधन गरी बेइजिङप्रति निष्ठाको शपथ खुवाएको छ । चीनको यस्तो कदमले हङकङमाथि राजनीतिक दमन दर्साएको छ ।
तपाईको प्रतिक्रिया