चीनको प्रभाव रोक्न अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

विश्व

काठमाडौं, ३१ भाद्र । बेलायत, अमेरिका र अस्ट्रेलियाले चीनको प्रभाव रोक्न एक विशेष सुरक्षा सम्झौता गरेका छन् । चीनसँग प्रतिद्वन्द्विता बढिरहेका बेला अमेरिकाले अस्ट्रेलिया र बेलायतसँग नयाँ गठबन्धन बनाएको हो ।

भिडियो मिटिङमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले उक्त सम्झौताको घोषणा गरेका हुन् ।

तीन ठूला शक्तिाराष्ट्रबीचको सम्झौताले चीनलाई थप चिढ्याउने सम्भावना रहेको छ । ‘ओकस’ नाम दिइएको उक्त सम्झौतामा आर्टिफिसियल इन्टेलिजेन्स्, क्वान्टम टेक्नोलोजी र साइबर सुरक्षाका विषयलाई समेट्ने बताइएको छ ।

यो सम्झौता विशेषगरी उच्च रक्षा प्रविधिको साझेदारीसँग सम्बन्धित छ । हिन्द–प्रशान्त महासागर क्षेत्रमा चीनको बढ्दो प्रभाव र सैन्य उपस्थितिलाई लिएर तीन देश चिन्तित रहेका छन् ।

यही सम्झौतामा अस्ट्रेलियाले फ्रान्सेली डिजाइनमा पनडुब्बी खरिद गर्ने सम्झौता पनि रद्द गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौतापछि अस्ट्रेलियाले आधुनिक क्षमतासहितको परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने पनि बताएका छन् ।

बाइडेनले हिन्द प्रशान्त क्षेत्रमा स्थिरतालाई बढावा दिन र साझा चासोलाई अगाडि बढाउन तीन देशबीच सम्झौता भएको पनि बताएका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले लामो दूरीको अमेरिकी तोमाहक क्रुज मिसाइल पनि प्राप्त गर्ने बताएका छन् ।

तीन नेताले सम्झौता घोषणाका क्रममा चीनको नाम नलिए पनि हिन्द प्रशान्त क्षेत्रमा स्थिरताको कुरा उठाएकाले उनीहरूको उद्वेश्य प्रस्ट देखिन्छ । –इण्डिया न्यूज नेटवर्क

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ