काठमाडौं, ४ कार्तिक । भारतले आफ्ना एक अर्ब नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको पूरा मात्रा दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान ९ बजेर ४७ मिनेटमा एक सय करोड डोज पूरा भएको हो ।
भारतले गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरेको थियो । उसले खोपको २० करोड डोज ३१ दिनमा पूरा गरेको थियो ।
भारतका ७५ प्रतिशत युवा आदिवासीले एक डोज खोप लगाइसकेका छन् । ३१ प्रतिशत आदिवासीले कोरोना भाइरसविरुद्धको खोपको दुवै डोज लगाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनपछि भारतले खोपको एक सय करोड डोज पुरा गरेको हो । चीनले एक सय करोड डोज सेप्टेम्बरमा पूरा गरेको थियो ।
भारत सरकारले एक सय करोड डोज पूरा भएको जानकारी दिन खास तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसको लागि रेल, हवाईजहाज र पानीजाहजबाट एक सय करोड डोज पूरा भएको ‘लाउड स्पिकर’ घोषणा गरिने बताइएको छ ।
यस्तै शत प्रतिशत कोरोना भाइरसविरुद्धको खोपको डोज पुरा गरेका गाउँहरुलाई भारत सरकारले पोस्टर तथा ब्यानर लगाएर स्वास्थ्य कर्मचारीको सम्मान गर्न आग्रह गरेको छ ।
एक सय करोड डोज पूरा भएको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै भारतीयलाई बधाई दिएका छन् । –इण्डिया न्यूज नेटवर्क
तपाईको प्रतिक्रिया