० तपाईं सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्या आरोपमा फरार सूचीमा हुनुहुन्थ्यो, जनकपुर उच्च अदालतको परमादेश अनुसार तपाईंले अदालतमा आत्मसमपर्ण गर्नुको कारण के हो ?
— म फरार भएको होइन । न जिल्ला अदालतबाट, न जिल्ला प्रहरी कार्यालय र कुनै ठाउँबाट मलाई कुनै जानकारी आएकै छैन भने मलाई फरारा भनेर भन्न कसरी मिल्छ । मैले निर्वाचनमा भाग लिएको हो, चुनाव प्रचारप्रसार गरेको हो, निर्वाचनको प्रमाणपत्र बुझेको हो, सपथ ग्रहण गरेको हो, राज्यमन्त्रीको पनि सपथ लिएकै हो अनि म कसरी फरार हुन्छु । विभिन्न सञ्चारमाध्यमबाट थमन विकको हत्यामा अभिराम शर्माको नाम छ भनेर किटानीका साथ भनिएको छ ।
० जनकपुर उच्च अदालतले जारी गरेको परमादेश के हो त ?
—उच्च अदालतले के परमादेश गरेको हो त्यो मलाई थाहा छैन । मृतक विकका भाई र श्रीमतीले के निवेदन दिए त्यो पनि मलाई थाहा भएन । म अपराधी हुँ र म माथि कुनै अभियोग लागेको छ भने मैले जानकारी पाउनु पर्छ कि पर्दैन ? मैले संचारमाध्यमबाट मात्र जानकारी पाएको हुँ । मलाई कुनै आधिकारिक निकायले जानकारी दिन आएको छैन ।
० तपाई अदालतमा उपस्थित हुनुमा तपाईको पार्टीबाट पनि दबाब थियो भनेर सुनिन्छ नि ?
— विभिन्न सञ्चार माध्यमबाट जसरी मेरो नाम प्रकाशित भयो म यो देशको जिम्मेवार नागरिक भएको हैसियतले मैले अदालतको सम्मान गरेको हो । म पार्टीको कार्यकर्ता रहेको हुँ । पार्टीको कार्यकर्ताको हैसियतले मैले पार्टीसँग पनि समन्वयन गरे र मैले निवेदन दिएर नै अदालतमा उपस्थित भएको हुँ ।
० अदालतले दिएको आदेशमा के छ ?
— अदालतले मलाई साधारण तारेखमा रिहा गरेको छ । थमन विकको आफन्तले दिएको जाहेरीमा मेरो नाम छैन । त्यो घटनाका प्रत्यक्षदर्शी राजकुमार झा छन् उसले जुन कागज गरेको छ त्यसमा पनि मेरो नाम छैन । त्यसै घटनाको प्रत्यक्षदर्शी एम्बुलेन्स चालक सुशील मिश्रले अर्को कागज गरेका हुन, त्यसमा पनि मेरो नाम छैन । त्यसै अस्पतालको सहयोगी सियाराम पासवानले पनि कागज गरेको छ र त्यहाँ नि मेरो नाम छैन । यही आधारमा अदालतले मलाई साधारण तारेखमा राखेको छ ।
० थमन विकको हत्याको आरोपमा परेको उजुरीमा तपार्ईको नाम छैन भने तपाई पनि फरारको सूचीमा हुनुहुन्छ भन्ने कुराहरू कसरी बाहिर आयो ?
— राज्यको नियत ठिक भइदिएन । राज्यले मधेश आन्दोलनलाई कमजोर बनाउन खोज्यो । म त्यतिबेलाको तराई–मधेश लोकतान्त्रिक पार्टीको जिल्ला अध्यक्ष थिएँ । मेरो नेतृत्वमा आन्दोलन भइरहेको थियो । निर्दोष जनताको टाउको, छातिमा गोली चलाइएको थियो । त्यो आरोपबाट बच्नका लागि षड्यन्त्रपूर्ण तरिकाबाट थमन विकको हत्या गरिएको छ र आन्दोलनलाई बदनाम गर्नका लागि पार्टीका जिम्मेवार नेता, कार्यकर्ताको नाम त्यो घटनामा जोडिदिएको छ ।
० असई थमन विकको हत्यामा आन्दोलनकारीहरूको हात छैन त ?
— शान्तिपूर्ण आन्दोलन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको थियो । थमन विक भन्दा अगाडि अमित कापड, वीरेन्द्र मिश्र, रोहन चौधरीको मृत्यु कसरी भयो त्यो सन्दर्भमा पनि कुरा उठाऔं न । हामी शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने मान्छे हो । जहाँ थमन विक घाइते भएर ३५ वटा टाँका लगाइएको भनिएको ठाउँमा एक थोपा पनि रगत देखिदैंन, यो प्रहरीको प्रतिवेदनले भन्छ । एपीएफको प्रतिवेदनले थमन विकको टाउको पछाडिबाट भाँचियो भनिएको छ, डाक्टरको रिपोर्टले उसको शरीर सुन्निएको छ भन्छ । कसको कुरा मान्ने ? यो आन्दोलनलाई कमजोर गर्नका लागि, आन्दोलनलाई बदनाम गर्नका लागि र आफूले गरेको गल्ती लुकाउनका लागि म जस्ता राजनीतिककर्मीहरू माथि झुट्टा मुद्दा लगाइएको हो ।
० मधेश आन्दोलनको क्रममा शहिद भएका परिवारहरूलाई र घाइतेहरूलाई प्रदेश नम्बर २ को सरकारले के सोचिरहेको छ ?
— गम्भीर प्रकृतिका घाइते र अपांग भएकाहरूका लागि २ नम्बर प्रदेशको सरकारले केही निर्णय गरेको छ । यो व्यवस्था कार्यान्वयनका लागि हामी अगाडि बढेका छौं ।
० तपाईंहरूले आन्दोलनका क्रममा शहीद परिवारलाई ५० लाख दिने भनेर घोषणा गर्नुभएको थियो । त्यो कुरा कहाँ गयो ?
— हामीले घोषणापत्रमा शहीद परिवारका एकजना सदस्यलाई रोजगारीको व्यवस्था गर्ने पनि भनेका छौं । जनतासँग गरेको प्रतिबद्धता अनुसार हामी अगाडि बढिरहेका छौं । केही समय लाग्न सक्छ तर मधेश आन्दोलनका शहिद परिवार र घाइतेहरूलाई प्रदेश सरकारले हेर्नेछ ।
० प्रदेश नम्बर २ कोे सरकारको कामबाट त्यहाँका जनता कति सन्तृष्ट छन् ?
— मधेशी जनताको चाहना अनुसार मधेशमा मधेशी दलको सरकार छ तर यहाँ राज्यले नै विभेद गर्दै आएको हो । अहिले पनि संघीय सरकारले हामीलाई प्राधिकरण बुझेको छ । जसको भोटले हामीले सरकार निर्माण गरेका छौं उनीहरूको चाहना अनुसार हामीले काम गर्नुपर्ने हुन्छ । जनता एकदम आशावादी छन् २ नम्बर प्रदेशको सरकारसँग । हामीले गरेको घोषणा अनुरूप प्रतिबद्ध भएर काम गर्नेछु । हामीले पाएको जनादेश र सर्मथनको हिसाबले २ नम्बर प्रदेशका जनता हाम्रो विरोधमा उठेका छैनन् ।
० दलितहरूले त तपाईहरूको विरोध गरेकै हुन् नि ?
— दलितहरूको मागप्रति हामी प्रतिबद्ध छौं । दलितको माग अनुसार कानुनमा संशोधन हुन्छ ।
० प्रदेश २ को कामकारवाही एकदम सुस्त गतिमा अगाडि बढेको छ भनेर प्रतिपक्षहरूले अरोप लागउँदै छन् नि ?
— अन्य ६ वटा प्रदेशको पनि अवस्था हेरौं न । प्रतिपक्षको काम नै हो विरोध गर्ने । उसले विरोध गर्न पाउनुपर्छ । २ नम्बर प्रदेशको कामबाट नै यो देशमा संघीयता स्थापित हुने हो । त्यसैले हामी एकदमै सकारात्मक ढंगले अगाडि बढेका छौं । विरोध भित्र पनि समर्थन गरेको अवस्था छ प्रतिपक्षले हाम्रो प्रदेशमा ।
० कुनै नीति नियम बनाउँदा प्रतिपक्षीहरूसँग सल्लाह गर्नुहुन्न भन्ने पनि गुनासो छ ?
— भोटिङ भएर कतिवटा विधेयक पास भएको छ ? त्यहाँ त सबै सहमतिमै नीति निर्माण हुने गरेको छ । संमग्रमा दुई नम्बर प्रदेशको सरकार चलाउनको लागि प्रतिपक्षले पनि सकारात्मक रूपमा सहयोग गरिरहेको छ ।
० प्रदेश नम्बर २ को प्रदेशसभाले नाम र स्थायी राजधानी अहिलेसम्म तोक्न नसक्नुको कारण के हो ?
— त्यो छलफलको विषय हो । हामीले अनौपचारिक रूपले यो विषयमा छलफल सुरू गरिसकेका छौं अब त्यसको निर्णय छिट्टै हुन्छ ।
० प्रादेशिक भाषाको विषयमा कुरा कहाँ पुगेर रोकिएको छ ?
— भाषा, राजधानी र नामाकरणको विषयमा हामी जतिसक्दो छिटो निकास निकाल्न प्रयासरत छौं ।
० जनकपुर आसपासको क्षेत्रको स्तरोन्नतिका लागि भनेर भारतीय प्रधानमन्त्रीले अनुदानको घोषणा गर्नुभएको थियो त्यो कहिले आइपुग्छ त ?
— त्यो अनुदान रकम जनकपुरको लागि नै आउने हो तर संघीय सरकारसँग सहकार्य गरेर काम अगाडि बढाउनु पर्ने हुन्छ ।
० समय समयमा केन्द्र सरकार र प्रदेश २ को सरकारबीच टकरावको स्थिति आउने गरेको छ नि ?
— यसलाई टकराव भन्न मिल्दैन । हामीले जनताको भावना उठाउने हो । २ नम्बर प्रदेशको सरकार हामीले सञ्चालन गरिरहेका छौं तर केन्द्रीय सरकारले हामीलाई कुनै प्राधिकरणको जस्तो व्यवहार गर्ने गरेको छ । हामीले काम गरे पनि सञ्चालन केन्द्रबाट नै हुने व्यवस्था बनाएको छ । अनि हामीले कसरी काम गर्ने । देश संघीयतामा गइसकेको अवस्थामा अब राज्यले प्रदेशहरूलाई अधिकार दिन डराउनु हुँदैन । प्रदेशलाई अधिकार सम्पन्न बनाएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता हो ।
० यो समस्या २ नम्बरमा मात्र छ कि अन्यमा पनि छ ?
— अन्यमा पनि होला । संघीयता त मधेश आन्दोलनको बलमा आएको हो । दुई नम्बर प्रदेशलाई हेरेर यो देशको कानुन बने गर्छ ।
० तपाईको विषयमा जे–जस्ता समाचारहरू आउने गरेका छन् त्यस विषयमा तपाई के भन्न चाहनुहुन्छ ?
— म फरार अभियुक्त होइन । देशको जिम्मेवार नागरिक भएको हैसियतले म अदालतमा पुगेको हुँ । संचारमाध्यमहरूले साँचो विषय उठाइदिनु भन्न चाहन्छु । मात्र कसैलाई बदनाम गर्ने हिसाबले हचुवाको भरमा समाचार सम्प्रेषण नगर्न अनुरोध गर्दछु ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
प्रकाशित मिति : २०७५ साल भदौ १ गते शुक्रबार ।
तपाईको प्रतिक्रिया