० जसपा निर्माण भएको एक वर्ष नपुग्दै किन अन्तरकलह बढ्दै गएको छ ?
— पार्टीभित्र देखिएको अन्तरकलह भनेको लोकतान्त्रिक संस्कारको अभ्यास हो । यो अभ्यासमा केही कमी कमजोरी भएको होला, जसले गर्दा यो अन्तद्र्वन्द्व जस्तो देखिएको हो । प्रजातान्त्रिक तरिकाले आ–आफ्नो विचार राख्ने काम भइरहेको छ । किनभने नेपालमा आजको दिनमा सबैभन्दा बढी प्रजातान्त्रिक पद्दतिमा चल्ने कुनै पार्टीको निर्माण भएको छ भने त्यो हो जसपा । यहाँ विभिन्न सोचका साथीहरू हुनुहुन्छ । उहाँहरू आफ्ना विचार स्वतन्त्ररूपमा राख्नका लागि पनि स्वतन्त्र हुनुहुन्छ । तर, यसमा कहींँ न कहींँ कमजोर रहन गएको छ । यसले गर्दा बाहिर एउटा सन्देश गइरहेको छ कि जसपाभित्र अन्तरकलह छ ।
० पार्टीभित्र विभिन्न विचारहरू हुन्छन्, असन्तुष्टिहरू पनि हुन्छन्, तर ती कुराहरू सार्वजनिक रूपमै एकले अर्कामाथि आरोप लगाउनु उचित हो ?
— निश्चितरूपमा यसमा नेतृत्ववर्गको कमी कमजोरी हो । किनभने यस्ता किसिमका असन्तुष्टिहरूबारे पार्टीभित्र भएका विभिन्न मञ्चहरूमा छलफल गर्नुपर्ने हो । ती विषयवस्तुमा छलफल भएर प्रजातन्त्रमा सामूहिक निर्णय हुन्छ या बहुमतले हुन्छ । तर जे निर्णय हुन्छ त्यो सबैले मान्नैपर्ने हुन्छ । अहिले जसरी बाहिर मिडिया वा सामाजिक सञ्जालमा अलग–अलग विचार राख्नुभन्दा पनि पार्टीभित्र एउटा मत बनाएर जानुपर्छ ।
० एउटा मत बनाउनका लागि पार्टीका विभिन्न समितिहरू छन्, त्यसको बैठक नै बस्न सकिरहेको छैन नि ?
— यो हाम्रो नेतृत्ववर्गको कमी हो । हामी सबैलाई थाहा छ कि कस्तो परिस्थितिमा दुई पार्टी मिलेर जसपाको निर्माण भएको थियो । दुई फरक प्रकृतिका पार्टी विशेष परिस्थितिका कारण एक भएको थियो । यस्तो स्थितिमा अझै गम्भीरतापूर्वक नेतृत्ववर्गको बीचमा छलफल हुनुपर्ने र निर्णय गर्नुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन । जसले गर्दा अहिले बाहिर यस्ता विवादहरू देखा परिरहेका छन् ।
० गत चैत ५ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने मिति तय भयो तर स्थगित भयो किन ?
— निश्चितरूपमा बैठकको जिम्मेवारी पार्टीका नेताहरूको हुन्छ । बैठक बस्न सकिरहेको छैन भने नेताहरू नै दोषी हुन् ।
० बैठक बस्न नसक्नु, एकले अर्कामाथि दोषारोपण गर्नुले पार्टी विभाजनतिर गइरहेको संकेत हो ?
— कुनै पनि हालतमा जसपा विभाजन हुँदैन । जसले पार्टीलाई विभाजन गर्छ उसलाई जनताले माफ गर्दैन । किनभने जसपा निर्माण कुनै नेता विशेषको इच्छाले मात्रै भएको होइन, आमजनताको भावना र चाहनासँग जोडिएको छ । यदि हामीले आमजनताको भावना र चाहनाविपरीत कुनै कदम चाल्यो भने अब जनताले हामीलाई माफी दिनेवाला छैन । अब जनता बेबकुफ छैन कि हामी जे भन्छौं त्यो मानिहाल्छ । जनता राजनीतिक रूपमा पनि सजग भइसकेका छन्, सबैको चरित्रलाई हेरिसकेका छन् । कसले के गरिरहेका छन्, जनताले मूल्यांकन गरिरहेका छन् ।
० ओली सरकारलाई माओवादी केन्द्रले दिइरहेको समर्थन फिर्ता लियो भने जसपा विभाजन हुने संकेतहरू प्रष्टरूपमा देखिएका छन् नि ?
— कसैले आफ्नो स्वार्थका लागि यदि पार्टीलाई विभाजन गर्छ भने उसको राजनीतिक भविष्य संकटमा पर्छ । त्यसैले जसपा फुट्ने सम्भावना पनि छैन । किनभने जनता र कार्यकर्ताको रगत पसिनाबाट निर्माण भएको यो पार्टी हो । मधेशीले शहादत दिएको धेरै दिन पनि भएको छैन । मधेशीको सहादतबाट निर्मित यो पार्टी हो । शहीदहरूको नाममा हामीले भोट पाइरहेका छौं । तर हामीले कर्तव्य गरेर देखाउन सकेका छैनौं । हामी सजग छौं कि पार्टी नफुटोस् । कुनै कमी कमजोरी छ भने बैठक बसेर छलफल गरेर त्यसको समाधान खोज्नुपर्छ ।
० जसपामा अहिले त ध्रुवीकरण तीव्र भइरहेको छ ?
— देशको अहिलेको राजनीतिक अवस्थाको लाभ उठाउनुपर्छ । हामीले समयको लाभ उठाएनौं भने आफ्ना जनतालाई केही दिन सक्दैनौं । मौकाको फाइदा उठाउनका लागि यदि नेताहरूले भूमिका निर्वाह गर्नुहुन्छ भने त्यो राम्रो कुरा हो । अहिले हाम्रा नेताहरू यसैमा लाग्नुभएको छ । मधेशको माग कसरी पूरा हुन्छ भन्ने कुरामा सबैले आआफ्ना धारणाहरू राखिरहनुभएको छ । तसर्थ पार्टीभित्र कुनै धु्रवीकरण छैन । हामी आफ्नो मुद्दामा केन्द्रित छौं ।
० उपेन्द्र यादवले ओलीसँग कुनै पनि हालतमा सहकार्य हुनसक्दैन भनिरहनुभएको छ भने महन्थ ठाकुर र राजेन्द्र महतोले माग पूरा ग¥यो भने सहकार्यबारे सोचौंला भन्नुभएको छ । त्यसैले यदि माओवादीले समर्थन फिर्ता लियो भने जसपामा विभाजन रेखा स्पष्टरूपमा कोरिएको छ नि ?
— अहिले दुवै पक्षले आआफ्ना व्यक्तिगत धारणा राखिरहनुभएको छ । कुनै निर्णय हुँदा सामूहिकरूपमा नै हुन्छ र त्यो सबैलाई मान्य हुन्छ । हामी अधिकारका लागि आन्दोलन गरेका थियौं र सोही पृष्ठभूमिमा पार्टीको निर्माण भएको छ । जतिबेला हामी अधिकारका कुरा उठाइरहेका थियौं त्यो बेला ओली, प्रचण्ड र देउवा सबै एकतिर थिए । हामीमाथि दमन भइरहँदा कसैले पनि हाम्रो पक्षमा बोलेनन् । अहिलेको परिस्थितिमा यदि आफ्ना मागहरू पूरा गराउन नेताहरूले पहल गरिरहनुभएको छ भने त्यो गलत होइन ।
० जसपाभित्र स्पष्टरूपमा देखिएका दुईधारमध्ये कुन सही हो ?
— जसपाको एउटा मात्रै लाइन हो कि आफ्ना माग र मुद्दा कसरी सम्बोधन गराउने । जसपा अहिले आफ्नो माग र मुद्दा सम्बोधनका लागि नै आफ्नो गतिविधि अगाडि बढाइरहेको छ । जसपा एउटा प्रजातान्त्रिक पार्टी हो । उपेन्द्र यादवले भोली बन्ने सरकारले मधेशको मागहरू कसरी सम्बोधन हुन्छ भन्ने कुरा गर्नुहुन्छ । अर्कोतिर महन्थ ठाकुर र राजेन्द्र महतोजीले यही सरकारसँग आफ्नो माग पूरा गराउन चाहनुभएको छ । जसपा अहिले सत्तापक्ष र विपक्षीहरू सबैसँग आफ्नो माग सम्बोधनका लागि कुरा गरिरहेको छ ।
० भोली बन्ने सरकारले तपाइँहरूको माग पूरा गर्छ भन्ने सुनिश्चितता छैन तर अहिलेको सरकारले प्रक्रिया अगाडि बढाइसकेको छ नि ? यो सरकारलाई किन सहयोग गर्न सकिँदैन न त ?
— जसपा कसैको पिछलग्गु बन्नै पर्छ भन्ने छैन । कसले हाम्रो माग पूरा गर्छ सक्छ वा गरिरहेको छ भन्ने कुरामा कोसँग जानेबारे निर्णय गर्ने अधिकार त हाम्रो पार्टीलाई छ नि । हाम्रा मागहरू सम्बोधन गराउनका लागि नेताहरूले आआफ्नो हिसाबले कुरा गरिरहनुभएको छ । उत्पीडित, उपेक्षित र अन्यायमा परेकाहरूलाई अधिकार दिलाउनका लागि जसपाको निर्माण भएको हो । सबभन्दा बढी समावेशी पार्टी हो ।
० लुम्बिनी प्रदेशमा पनि जसपा सरकारमा सहभागी भयो । यसलाई केन्द्रीय कमिटीले कसरी हेरिरहेको छ ?
— जसपा लोकतान्त्रिक पार्टी हो । संघीयता लागू गराउने पार्टी पनि जसपा नै हो । संघीयताको मूलमन्त्र नै हो कि आत्मनिर्णयको अधिकार । त्यसैले लुम्बिनी प्रदेशका सांसदहरूले आफ्नो अधिकार प्रयोग गरेका छन् । प्रदेशमा अहिले जसपा समायोजन भइसकेको छैन । प्रदेशका पूर्वपार्टी अध्यक्षहरूलाई लाग्छ कि अहिलेसम्म हामी नै अध्यक्ष हौं । एक पक्षले मन्त्री बनेकाहरूलाई कारबाही गरेको छ भने अर्कोले समर्थन । प्रदेशको घटनाक्रमले केन्द्रमा कुनै असर गरेको छैन । ती दुवै जनाको अध्यक्षको विज्ञप्ति आधिकारिक छैन ।
० तर प्रदेश कमिटीले ती मन्त्रीहरूलाई कारबाही पनि गरेको छ नि ?
— जसपाको प्रदेश कमिटीहरू अहिलेसम्म समायोजन हुन सकेको छैन । जसले सबैले आआफ्नो तरिकाले गरिरहेका छन् । केन्द्रले यसबारे एउटा निष्कर्ष निकाल्छ । केन्द्रीय नेताहरूले लुम्बिनी प्रदेशबारे अहिले छलफलमा हुनुहुन्छ । उचित समयमा पार्टीले उचित निर्णय गर्छ ।
तपाईको प्रतिक्रिया