० जनता समाजवादी पार्टी नेपालले संसद पुनस्र्थापनाको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको थियो, माग पूरा भयो ?
— असंवैधानिक तवरले गरिएको संसद विघटन पुनस्र्थापना हुनुपर्छ भन्ने माग हाम्रो पनि थियो र सर्वोच्च अदालतको निर्णयसँगै यो माग पूरा भएको छ । असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउनुपर्छ भनेर हामी आन्दोलित थियौं । हामीले के पनि भनेका थियौं भने सर्वोच्च अदालतको सर्वोच्चता कायम रहनुपर्छ र सर्वोच्चले जे फैसला गर्छ त्यसलाई हामी स्वीकार गर्छौं ।
० अब बन्ने राजनीतिक समीकरणमा जसपाको भूमिका के हुनेछ ?
— भोली नै अर्को सरकार बनिहाल्छ भन्ने स्थिति छैन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक प्रक्रियाअनुसार अविश्वासको प्रस्ताव लगेर हटाउने कुराहरु छन् । त्यसमा पनि कानूनी जटिलताहरु धेरै छन् । प्रधानमन्त्री ओलीलाई हटाउनुपर्छ भन्ने कुरा कसरी प्रस्तुत हुन्छ, त्यसबारे हामीले पार्टीभित्र गहन छलफल र विश्लेषण गर्नुपर्छ । सबै कुरालाई ध्यान दिई कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय लिनुपर्छ । हटाउने एउटा कुरा हो, अहिलेको प्रधानमन्त्रीलाई प्रतिस्थापन गरेर जुन शक्ति आउँछ त्यो सही बाटोमा जाओस् भन्ने कुरामा पनि हामी आश्वस्त नभइकन त्यतातिर जान पनि हामीलाई गाह्रो हुन्छ । जसपाको आफ्नो मधेश मुद्दा छ । जसपाले बारम्बार उठाउँदै आएको सांसद रेशम लाल चौधरी लगायतका विभिन्न राजबन्दीहरुको रिहाई, झुठा मुद्दा फिर्ता, संविधान संशोधन लगायतका मुद्दाहरु अहिले पनि जीवित छन् । ती मुद्दाहरु हाम्रो धरोहर हो । त्यसैले नेतृत्वमा जोसुकै आएपनि हाम्रा मुद्दाका पक्षमा को सकारात्मक हुन्छ, कसले तुरुन्त कस्तो मार्गचित्र प्रस्तुत गर्छ, त्यस हिसावले हामीले निर्णय गर्नुपर्छ । यसबारे पार्टीभित्र छलफल भएर निर्णय होला । त्यसैले कांग्रेस र कम्युनिष्टभन्दा जसपा फरक यहीमा मुद्दा हो । उपेक्षित समुदायको उत्थानका लागि हामी एकताबद्ध भएका छौं र जसपा निर्माण गरेका छौं । जुन नेतृत्वले सही मार्गचित्र दिन्छ, त्यो मार्गचित्रलाई मध्यनजर गरी हामी आफ्नो समर्थन त्यो सरकारलाई दिनुपर्छ ।
० जसपा सरकारमा जानुपर्छ ?
— सरकारमा जानु नजानु गौण कुरा हो । विगतमा अहिलेका हाम्रा नेताहरु पटक–पटक सरकारमा गए, तर हाम्रा मुद्दाहरु एक इन्च पनि अगाडि बढेन । आश्वासनमात्रै पाइयो । अब आश्वासन मात्रै होइन, हाम्रो माग मुद्दा सम्बोधन हुने मार्गचित्र र विश्वस्त हुने गरी जान सकिन्छ । हाम्रा केही कुराहरु तत्काल पूरा हुने अवस्थाको छ, ती सबै कुरालाई मध्यनजर गर्दै हामीले निर्णय गर्नुपर्छ र जसपाले आफ्नो भूमिका खेल्नुपर्छ ।
० भनेपछि आश्वासन वा लिखित प्रतिबद्धताकै भरमा जसपा सरकारमा जाँदैन ?
— आश्वासन वा लिखित सम्झौताकै भरमा जसपा सरकारमा जान हुँदैन । हामीले पहिला सबै कुरा समीक्षा गर्नुपर्छ, मार्गचित्रको विश्लेषण गर्नुपर्छ । मौखिक कुरा गरेर कुनै नेताको पद प्राप्तिका लागि जसपाले सरकारमा सहभागी हुने काम गर्नु हुँदैन । समग्र उपेक्षित जनताको लाभका लागि मात्रै जसपामा सरकारमा जानुपर्छ । यदि हामी वैकल्पिक शक्ति बन्न चाहन्छौं भने कांग्रेस र कम्युनिष्टभन्दा फरकको बाटो हामीले निर्धारित गरेर अगाडि बढ्नुपर्छ ।
० विगतमा पनि राजपाले आश्वासनको भरमा सरकारलाई बाहिरबाट समर्थन गरेको थियो । अहिले संसद चलेपछि हर्स ट्रेडिङ्ग सुरु हुने पनि देखिँदैछ । यस्तो अवस्थामा जसपा आफ्नो माग र मुद्दाप्रति अडिग रहँदै सरकार बनाउनेभन्दा पनि तटस्थ बस्न सक्दैन ?
— व्यक्तिको चरित्र एउटा कुरा हुनसक्ला । विगतमा राजपाले सर्तसहित बाहिरबाट समर्थन ग¥यो । त्यो सर्त पूरा नगरेपछि केही दिनपछि समर्थन फिर्ता लियो । रेशम चौधरीलाई न्यायसंगत निर्णय नभएपछि हामीले सरकारलाई दिएको समर्थन फिर्ता लियौं । अब विगतको गल्तीबाट हामीले सिक्नुपर्छ । आउँदो दिनमा संसद सुचारु भएपछि हर्स ट्रेडिङ्ग हुन्छ नै । हर्स ट्रेडिङ्ग सामाजिक विकृत्ति हो । हर्स ट्रेडिङ्गको बाटोमा मुलुक जान्छ भन्ने कुरा हामीले त पहिलेदेखि भन्दै आएका छौं । किनभने हंग पार्लियमेन्टमा बहुमत नभएपछि भ्रष्टाचारको पैसाको उपयोग त्यस्तै खेलमा हुन्छ । तर हामी त्यसमा लिप्त भयौं भने जनताको अगाडि आफूलाई वैकल्पिक शक्तिको रुपमा प्रस्तुत गर्न सक्दैनौं ।
० सरकारमा जानका लागि जसपा फुट्न सक्ने वा केही नेता जान सक्ने अवस्था पनि छ ?
— सत्ताकै लागि पार्टी फुट्ने सम्भावना छैन । मार्गचित्रलाई गहिरोसम्म अध्ययन गर्नुपर्छ । हामीले विगतमा जे गल्ती ग¥यौं त्यो दोहोरिनु हुँदैन । जब हाम्रो अगाडि प्रस्ताव आउँछ, हामीले आफ्नो माग र एजेन्डा राखेपछि सत्ता समीकरण बनाउनेहरुको जवाफ कस्तो आउँछ, त्यसअनुसारले हामी निर्णय गर्नुपर्छ । हामी बारम्बार ठगिएका छौं, फेरि पनि ठगिनु हुँदैन । धेरै पटक हामी ठगीमा परेका छौं, अब फेरि पनि हामीसँग ठगी हुनु हुनु हुँदैन । एकचोटि ठग्यो त्रुटि भो बुझिएन, दोस्रो पटक ठग्यो त्यो लापरवाही हो, पटक–पटक ठग्यो भने हामी मुर्ख हौं भन्ने कुरा प्रमाणित हुन्छ । त्यो गल्ती हामीले गर्नु हुँदैन ।
० प्रचण्डले केपी ओलीसँग अब सहकार्य हुँदैन भन्नुभएको छ । संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि विभिन्न लविङ्ग गर्नुहुन्छ । भनेपछि अबको दिनमा सत्ता समीकरणमा जसपा एउटा महत्वपूर्ण दल भएको छ । जसपाको झुकाव कतातिर हुने देखिन्छ ?
— विगतमा सबैले हामीसँग प्रतिबद्धता गरेका थियौं तर कसैले पनि पूरा गरेनन् । जसले हाम्रा माग र मुद्दालाई समर्थन र सम्बोधन गर्छ उसलाई नै विश्वास गर्नुपर्ने हुन्छ । विगतमा प्रचण्डजीले पनि आश्वासन दिनुभएको थियो, लिखित सम्झौता गर्नुभएको थियो, त्यस्तै शेरबहादुर देउवा र ओलीजीले पनि गर्नुभएको छ । यी तीनटै नेताहरुले हामीलाई पालैपालो ठग्नुभएका छन् । पटक–पटक मधेशवादी, आदिवासी जनजाति, थारुलाई यिनीहरुले झुक्याएका छन् । अब जुनसुकै नेता आएपनि उसको अनुहारभन्दा मार्गचित्र हेरेर मात्रै हामीले निर्णय गर्नुपर्छ ।
० कस्तो मार्गचित्र खोज्नुभएको छ ?
— हाम्रो मार्गचित्र भनेको कुन मुद्दालाई कसरी सम्बोधन गर्ने र कति दिनमा समाधान गर्ने हो । मार्गचित्र भनेको समयसीमा र कुन बाटो समाधान गर्ने नै हो । जस्तै, नागरिकताको मुद्दा संसदबाट आएर समितिमा बसिरहेको छ । हाम्रो चाहनाअनुसार कसले पास गराउने काम गर्छ, कसले त्यस हिसावले अगाडि बढाउँछ । अथवा तत्काल अध्यादेशबाट पास गरेर संसदबाट पास गर्ने कुरा कसले गर्छ । त्यस्तै, अन्य पनि हाम्रा मुद्दाहरु छन् । मधेश–थरुहट आन्दोलनका राजबन्दी रिहाइका लागि कसले कस्तो प्रस्ताव गर्छ, कुन बाटोबाट चाँडोभन्दा चाँडो गर्ने । ती सबै कुरालाई हामीले विचार गरेर एउटा निर्णय दिनुपर्छ ।
० भनेपछि पहिला परिणाम चाहियो ?
— देखिने परिणाम अगाडि त्यो बाटोमा अगाडि नबढिकन पत्याउने स्थिति त छैन । आश्वासनभन्दा पनि गर्ने बाटोमा अगाडि नबढिकन त विश्वास गर्न सकिन्न । जसपाको समर्थन बिना अहिलेको अवस्थामा सरकार पनि बन्न सक्दैन । त्यसैले दुइटैको बीचमा बसेर हामीले समाधान खोज्नुपर्छ । अहिले त विभिन्न सम्भावनाहरु खुल्ला छन् । तर सैद्धान्तिक रुपमा हाम्रा मुद्दा समाधानको कुरामा उद्दार हुने खालको वातावरण छैन । समयसीमासहित हाम्रो माग मुद्दा सम्बोधन हुने जबसम्म स्पष्ट हुँदैन तबसम्म पत्याइहाल्ने अवस्था छैन ।
० प्रधानमन्त्री ओलीकै कारण जसपा अहिले निर्णायक शक्ति बनेको हो । तपाइँहरुलाई फाइदै भएको छ नि ?
— प्रधानमन्त्रीको कदमभन्दा पनि नेकपाको आपसी द्वन्द्वका कारण अहिले हामी निर्णायक शक्ति बनेका हौं । नेकपा आधिकारिकरुपमा विभाजित नभए पनि दुई समूहमा प्रस्तुत भएको छ, त्यसले जसपाको काँधमा थप जिम्मेवारी दिएको छ । अन्यथा जनताले हामीलाई जिम्मेवारी पूरा गराउने खालको मत दिएको थिएन । अहिले नेकपामा फुट भएकोले हाम्रो यही संख्या निर्णायक हुन पुगेको छ । इतिहासले हामीलाई यो जिम्मेवारी दिएको छ र यसमा हामी चुक्नु हुँदैन । प्रधानमन्त्रीकै कदमको कारण अहिले जसपा निर्माण भएको छ । तर उहाँले हामीलाई नै फाइदा हुने हिसावले त्यो उठाउनुभएको थिएन । त्यो कदमको प्रतिक्रियामा हामी अगाडि बढ्दा हामीलाई फाइदा हुन गयो । विगतमा प्रधानमन्त्री ओलीले दलसम्बन्धी अध्यादेश ल्याउनुभयो, जुन उहाँले आफ्नै फाइदाका लागि ल्याउनुभएको थियो । तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरणको हामी प्रक्रियामै थियौं । तर जब त्यो अध्यादेश आयो र समाजवादी पार्टीमा जुन खालको विवाद बढ्यो त्यसले हामीलाई तुरुन्त एकताका लागि बल पुग्यो र हामी एकीकरणको घोषणा ग¥यौं । प्रधानमन्त्री ओलीले जहिले पनि आफ्नो सत्ता टिकाउनका लागि त्यस्ता कदमहरु चाल्दै आउनुभयो । तर अहिले आएर संसदभित्र हाम्रो भूमिका महत्वपूर्ण हुन गयो । त्यसको हामीले अधिकतम् उपयोग गर्नुपर्छ ।
० कहिलेसम्म नयाँ सत्ता समीकरण बन्ने देख्नुहुन्छ ?
— अहिलेसम्म त नयाँ सरकारको नेतृत्व कसले लिने, त्यो संख्या कसरी पु¥याउने लगायतका कुराहरु पर्दा पछाडि छ । तर यो सामान्य स्थिति छैन, जटिल स्थिति हो । किनभने कांग्रेसमा पनि दुई धार छ, नेकपा त दुई समूहमा छ नै । अविश्वासको मत विचाराधीन छ, त्यसका लागि संख्या पुग्छ वा पुग्दैन । यदि संख्या पुग्यो र अविश्वासको मत पारित भएपछि नयाँ सरकार कसरी बन्ने लगायतका सबै कुराहरुमा धेरै बाधा र अवरोधहरु छन् । ती बाधा अवरोधहरुको समाधान कसरी गर्न सकिन्छ भन्ने कुरा सम्बन्धित शक्तिमा भर पर्छ । त्यसैले नयाँ सत्ता समीकरण मिलाउन सजिलो छैन । निकै गाह्रो स्थिति छ र संविधानले कुनै समयावधि तोकेको छैन । जबसम्म नयाँ सरकार बन्दैन तबसम्म यो सरकार कामचलाउको अवस्था रहन्छ ।
० त्यसो हो भने संसद पुनस्र्थापनाले त मुलुकलाई झन् अनिश्चिततातर्फ धकेल्यो नि ?
— तत्कालीन वाम गठबन्धनलाई जनताले दुई तिहाइको मत दिए, मुलुकको बागडोर सम्हाल्ने जिम्मेवारी दिए । तर जुन दिन नेकपाले त्यो जिम्मेवारीलाई पन्छाएर स्वेच्छाचारी र आफ्नो व्यक्तिगत फाइदाका लागि नेतृत्वहरुले गतिविधि गर्न थाले, त्यसपछि नै त्यो सम्भावना ट¥यो । यसभन्दा अघि पनि काम हुन सकेको थिएन, मुलुक ठप्प नै थियो, राज्य अगाडि बढ्न सकेको थिएन । ओलीजीले एउटा कारण पनि देखाउनु हुन्छ कि आफ्नै पार्टीका नेताहरुले काम गर्न दिएन । नेकपाभित्रकै द्वन्द्वले गर्दा अधिकांश समय व्यवस्थापनमै सकियो, राज्य सञ्चालनमा होइन । अहिले आएर नेकपाभित्रको दुई समूहबीच खुल्ला द्वन्द्व भयो । त्यसैले अस्थिरता झन् बढेर गयो । यसको प्रमुख कारक तत्व नेकपाका ती दुइटै समूह हुन्, एउटालाई मात्रै दोष दिएर हुँदैन । कांग्रेसले प्रमुख प्रतिपक्षीको जिम्मा पाएको थियो, त्यसमा पनि धेरै कमी कमजोरीहरु विगतमा रहेका थिए ।
० भनेपछि मुलुक झन् अस्थिरतामा फस्यो ?
— हंग पार्लियमेन्टमा स्थिरताको कल्पना गर्नु व्यर्थ हो । त्यो पनि अहिले चरम भ्रष्टाचारको बेला मुलुकभित्र स्थिरताको कल्पना गर्नु दिवास्वप्न हो । त्यसैले हर्स ट्रेडिङ्ग पनि बढ्छ । सरकार बन्ने र ढल्ने कुराहरु सुरु हुन्छन् । विगतमा भएका संसदीय खेलको मैले नजिकबाट नियालेको थिएँ । ती सबै दिनहरुको सम्झना अहिले आइरहेको छ । अहिले सरकारमा जुन किसिमले खुल्लेयाम भ्रष्टाचार र अनियमितता भयो त्यसले हर्स ट्रेडिङ्गलाई मलजल गर्छ । सांसद खरिद–बिक्री जोडतोडका साथ हुन्छ । सांसद खरिद–बिक्री भनेको अस्थिरताका लागि हो ।
० जसपाको केन्द्रमा लगभग समायोजन सम्पन्न भएको छ, जिल्ला र प्रदेशमा कस्तो अवस्था छ ?
— पार्टीले वार्ड र पालिकाको समायोजन गर्ने निर्णय गरिसकेको छ । केही ठाउँमा भएको छ र धेरै ठाउँमा हुन बाँकी छ । हाम्रो आगामी बैठक त्यसलाई कसरी ठोस रुपमा सम्पन्न गर्ने भन्ने कुरामा निश्चित मापदण्डअनुसार अगाडि बढ्छ । संसद विघटनले मुलुकमा दुई महिनासम्म अन्योलताको अवस्था थियो, त्यसले पनि हाम्रो समायोजन प्रक्रियालाई अलिकति प्रभावित गरेको थियो । अहिले फेरि समायोजनका लागि अनुकूल परिस्थिति बन्छ, हामीले समायोजन प्रक्रियालाई चाँडोभन्दा चाँडो पूरा गर्नुपर्छ ।
० सत्ता समीकरणले जसपाको समायोजनलाई प्रभावित पार्दैन ?
— यदि जसपा सरकारमा गयो भने समायोजन प्रक्रियालाई कहीं न कहीं प्रभाव पार्ला । तर समायोजनलाई प्रभावित पार्न दिनु हुँदैन । सरकारको पक्ष बेग्लै हो र पार्टीको पक्ष बेग्लै हो । पार्टी बलियो भने हाम्रा दह्रो रुपमा प्रस्तुत हुन सक्छौं । चुनावका बेलामा हामीलाई सांगठनिक संरचनाको आवश्यकता पर्छ । त्यसैले संगठनलाई बलियो बनाउनेतिर हामी लाग्नुपर्छ । यदि जसपा सरकारमा गयो भने समायोजन प्रक्रियालाई सहयोग पु¥याउनु पर्छ, त्यसमा अवरोध पु¥याउने काम गर्नु हुन्न ।
० नेपालमा राजनीतिक र संवैधानिक संकट निम्तिएको बेला छिमेकी राष्ट्रहरुको भूमिको पाउनुभयो ?
— सबै मित्रराष्ट्र, छिमेकी राष्ट्र र दूरदराजका मित्रराष्ट्रहरुले नेपालमा अस्थिरता आउन दिनु हुँदैन भन्ने पक्षमा नै हुन्छ । चाँडोभन्दा चाँडो अस्थिरतालाई समाप्त पार्नुपर्छ । निर्वाचन वा पुनस्र्थापना जे गरेर होस् अस्थिरतालाई समाप्त पार्नुपर्दछ । अहिले संसद पुनस्र्थापना त भयो तर अस्थिरता समाप्त हुन्छ भन्ने कुराको सुनिश्चितता छैन । जबसम्म नेपालमा अस्थिरता आउँदैन, तबसम्म विकास र समृद्धि आउँदैन । नेपालमा स्थिरताका लागि छिमेकी वा मित्रराष्ट्रहरुको चाहना, योगदान रहँदै आएको छ ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया