० प्रदेश २ को नामाकरणसम्बन्धी गठित मधेश सम्वाद सुझाव आयोग के गर्दैछ ?
— अहिले प्रदेश सरकार कानून निर्माणको क्रममा छ । यसैबीच प्रदेश सरकारले आठवटै जिल्लाका विभिन्न पक्षहरूसँग छलफल गरेर सुझाव संकलनका लागि यो आयोग गठन गरेको हो । यस क्रममा हामीले पहिलो पटक सुझाव संकलन कार्यक्रम पर्सा जिल्लाको वीरगन्जमा सम्पन्न गरेका छौं । खासगरी, प्रदेशको नाम र राजधानीको विषयमा सुझाव लिने प्रयास गरेका छौं । यसै क्रममा बारा जिल्लाको कलैयामा कार्यक्रम गर्दैछौं । त्यसपछि रौतहटको गौरमा, सर्लाहीको मलंगवामा गरी क्रमशः आठवटै जिल्लामा सुझाव संकलन गर्नेछौं ।
० तपाइँहरूले अहिलेसम्म एउटा मात्र जिल्लामा सुझाव संकलन गर्नुभएको छ र समयसीमा पनि समाप्त भइसको छ । किन समयमा सुझाव संकलन गर्न सक्नुभएन त ?
— आयोगको समय एकदमै कम थियो । विभिन्न प्राविधिक कारणहरूले समयमै काम पूरा हुनसकेन । आयोगको अवधि बढाउने कुरा गरिरहेका छौं । प्रदेश सरकारले आयोगको केही समय थप गरेपछि हामीले टुंगो लगाउँछौं ।
० तपाइँहरूले के काम गर्नु भयो कि समय सीमा सकिनै लाग्दा एउटा मात्रै जिल्लामा सुझाव संकलन गर्नुभयो ?
— हामीले त काम गरिरहेकै छौं । नीति आयोगका कामहरू पनि यही सुझाव आयोगले गर्नुपर्ने भएकोले अलिकति विलम्ब भएको हो । अब छिट्टै सुझाव संकलन आयोगले टुंगो लगाउँछ ।
० भनेपछि अब आयोगको समयावधि थपिन्छ ?
— प्रदेश सरकारले आयोगको समयावधिलाई केही समयका लागि थप गर्ने कुरा भइरहेको छ ।
० कति दिनको समय चाहिन्छ ?
— खासगरी नामाकरण जटिल विषय भएकोले गहनरूपमा छलफल गर्नुपर्ने हुन्छ । प्रदेशमा रहेका सबै पार्टीका प्रतिनिधि, स्थानीय प्रतिनिधि तथा बुद्धिजीबीहरूसँग राय सुझाव लिने काम कठिनै विषय हो । त्यसैले आयोगलाई सुरूमा दिइएको ४५ दिनको समय पर्याप्त थिएन । यसमा अब थप दुई÷तीन महिनाको समय थप गर्नुपर्छ भनेर हामीले मुख्यमन्त्रीसँग माग गरेका छौं । मुख्यमन्त्रीले काम गर्दै जानुस्, समयावधि बढाउन सकिन्छ भनेर भन्नुभएको छ । केन्द्रमा पनि कति धेरै आयोगहरू गठन भए तर कुनै पनि आयोगले आफ्नो समयावधिभित्र काम गर्न सकेको छैन ।
० वीरगन्जमा सुझाव संकलन गर्दा केकस्ता सुझावहरू आएका छन् त ?
— धेरै साथीहरूले प्रदेशको राजधानी वीरगन्ज हुनुपर्छ भनेर सुझाव दिनुभयो । नामको सन्दर्भमा मधेश प्रदेश राखौं अथवा मध्यमधेश राखौं भन्ने सुझाव पनि आयो । त्यसैगरी, मिथिला प्रदेश पनि राख्नुपर्छ भन्ने केही व्यक्तिको सुझाव आएको हो । तर, ८० प्रतिशत जनप्रतिनिधिहरूले मधेश प्रदेश र राजधानी वीरगन्ज राख्नुपर्छ भन्ने सुझाव दिएका छन् । अहिले एउटा जिल्लाबाट मात्र यस्तो सुझाव आएको छ र अन्य जिल्लाहरूमा सुझाव लिन बाँकी नै छ । सबैलाई समेटेर कसरी लोकतान्त्रिक अभ्यासमा समायोजन गरी जाने, विवादरहित तरिकाले यो प्रदेशको नामाकरण होस् भनेर हामी लागेका छौं । अन्य प्रदेशहरूको नाम त केन्द्रबाटै तोक्न लगाइयो तर हामी त्यसरी गर्दैनौं । यहाँको राजधानी, नामाकरण र भाषा के हुन्छ भनेर व्यापकरूपमा सुझाव संकलन गरेर निष्कर्षमा पुग्छौं ।
० भनेपछि पर्सा जिल्लाबाट नामको सन्दर्भमा मधेश प्रदेश सुझाव आयो ?
— हो । यसमा मध्य मधेश भन्ने पनि कतिपयको सुझाव थियो । किनभने मधेश आन्दोलन, मधेश मुद्दालाई सम्बोधन गर्ने शब्द जुन छ त्यो मधेश नै हो । मधेशकै आन्दोलनका कारण आज मुलुकमा संघीयता आएको छ । मधेश आन्दोलनकै उपज आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भनेर स्थापित भएको छ । मधेश आन्दोलनको केन्द्रविन्दू पनि यी आठवटा जिल्ला नै रहेकोले यो प्रदेशको नाममा मधेश शब्द राख्नैपर्छ भनेर अधिकांश व्यक्तिहरूको सुझाव आएको हो ।
० सुझाव संकलन गरिरहँदा के कस्ता अप्ठ्याराहरूको सामना गर्नुभयो ?
— यो धेरै जटिल विषय भएकोले अप्ठ्यराहरू आउनु स्वाभाविक नै हो । किनभने हामीले सबैको विचारलाई सम्मान गर्नुपर्ने हुन्छ । सबैको रायसुझाव संकलन गरी हामीले प्रतिवेदन प्रदेश सरकारलाई बुझाउँछौं ।
० प्रदेश सरकारको कामकारबाहीलाई कसरी हेरिरहनु भएको छ ?
— प्रदेश सरकारको कामकारबाहीलाई मूल्यांकन गर्ने हो भने उल्लेखनीय नै रहेको छ । अन्य प्रदेशको तुलनामा प्रदेश २ को सरकार अगाडि नै छ । प्रदेश २ को सरकारले प्रहरी ऐन, करार कर्मचारी भर्ना ऐन लगायतका महत्वपूर्ण ऐनहरू मन्त्रिपरिषद्बाट पारित गरिसकेको अवस्था छ । तर, केन्द्र सरकारको बाङ्गो दृष्टिकोणले गर्दा प्रहरी ऐन कार्यान्वयन हुन सकिरहेको छैन । संवैधानिक हिसाबले पनि प्रदेशले आफ्नो प्रहरी प्रशासन राख्न पाउँछ भनेर व्यवस्था गरेको छ । प्रदेश सरकारको मातहतमा सिडियो एसपी नभएपछि काम गर्न अप्ठ्यारो भइरहेको छ । त्यस्तै, प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानलाई अगाडि बढाइरहेको छ । यहाँ कर्मचारी अभावका कारण कामकारबाहीहरू प्रभावकारी हुन नसकिरहेको अवस्थामा केन्द्रलाई बारम्बार ताकेता गर्दा पनि केन्द्रले वास्ता गरेको छैन । बाध्यतावश प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गर्नका लागि करार ऐन पनि ल्याएको छ ।
० जनताले महसुस गर्ने खालका के कस्ता कामहरू भएका छन् त ?
— मधेश आन्दोलनमा जो शहीद भएका थिए, उनीहरूको लिस्टिङ्ग गरेर उनीहरूको घरमै गएर तीन लाखको दरले रकम वितरण गरिएको छ । गम्भीर प्रकृतिका घाइतेलाई घरमै गएर व्यवस्थापन गरिएको छ । त्यस्तै, बेटी पढाउ, बेटी बचाउ अभियान पनि सँगसँगै लगिएको छ । यसैगरी, विकास निर्माणका लागि विभिन्न योजनाहरू छनोट भएको छ । अहिले त प्रदेश सरकार गठन भएको एक वर्ष पनि भएको छैन । ऐन कानूनहरू बनाउनुपर्ने काम भइरहेको छ ।
० तपाइँ राजपा नेपालका सहमहासचिव पनि हुनुहुन्छ, राजपामा संयोजक परिवर्तनपश्चात् पार्टीमा देखिएको विवादबारे तपाइँको धारणा के छ ?
— राजपा नेपाल गठनपश्चात् महन्थ ठाकुरजीलाई संयोजक मानेर अध्यक्षमण्डलका अन्य सदस्यहरू कामकारबाही अगाडि बढाउनुभयो । पछिल्लो समय चक्रीय प्रणालीअन्तर्गत राजेन्द्र महतोजी संयोजक बन्नुभयो । तर, नेता कार्यकर्ताहरूको असन्तुष्टि स्पष्टरूपमा भन्ने हो भने प्रक्रियासंगत भएन । सर्वसम्मतमा चक्रीय प्रणालीअनुसार संयोजक परिवर्तन हुने भनेर विधानमै छ तर सर्वसम्मत नभएर बहुमतीय प्रणालीअनुसार संयोजक फेरियो । महन्थ ठाकुर मधेशको मात्र नभई देशकै एउटा प्रतिष्ठित राजनेताहरूमध्ये पर्नुहुन्छ । उहाँ अहिले पनि मधेशका सर्वोच्च नेता हुनुहुन्छ । राजेन्द्र महतोजी संयोजक बन्नुभयो स्वागत छ । पहिला राजपाका सबै निर्णयहरू सर्वसम्मतमा हुन्थ्यो तर संयोजक परिवर्तन किन बहुमतले भयो भन्नेमा धेरै नेताहरूको विमति छ । तर, महन्थ ठाकुरजीले हाम्रो पार्टीमा कुनै विवाद छैन, प्रक्रियागत कुरा हो भनेर भनिसक्नुभएको छ ।
० भनेपछि, राजेन्द्र महतो विधानविपरीत संयोजक बन्नुभयो ?
— हो । यहाँ सर्वसम्मतबाट हुनुपर्नेमा बहुमतीय प्रणालीको कुरा आयो । विगतमा हरेक निर्णयहरू सर्वसम्मतबाटै हुने गरेको थियो भने किन हतार भयो । केही दिन पर्खेर सबैलाई सहमतिमा ल्याएर संयोजक परिवर्तन गर्दा राम्रो हुन्थ्यो । महन्थ ठाकुरजी पदको लोलुप भएको व्यक्ति हुनुहुन्न ।
० राजेन्द्र महतोलाई संयोजक बन्न हतार भयो ?
— हो । उहाँले हतार नगरेर त्यही विषयलाई मिलाउन एक÷दुई दिन छलफल गरेर संयोजक परिवर्तन गर्दा अति उत्तम् हुन्थ्यो । तर, अब ठिकै छ । विवाद खडा गरेर होइन, सबैलाई मिलाएर पार्टीलाई अगाडि लिएर जानुपर्छ । राजपालाई एक ढिक्का बनाएर अगाडि बढ्नुपर्छ भनेर राजेन्द्र महतोलाई शुभकामना दिन चाहन्छु ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया