० तपाई प्रचण्ड–नेपाल समूहमा हुनुहुन्थ्यो, अहिले केपी ओली समूहमा देखिनुभएको छ नि ?
— म कुनै पनि गुटमा लाग्या हैन, गुटवाद मुर्दावाद भनेर विगतदेखि नै भन्दै आएको हुँ । त्यसकारणले गर्दा म जहाँको त्यही नै छु । कसैले भ्रम फिजाएको छ भने त्यसबाट स्पष्ट हुनुहोला ।
० तपाई अहिले कुन समूहमा हुनुहुन्छ ?
— हाम्रो जुन संस्थागत पहिलो अध्यक्ष हुनुहुन्छ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, उहाँकै साथमा छु ।
० तपाई पूर्वमाओवादी खेमाबाट ओली समूहमा किन लाग्नुभयो ?
— प्रचण्डको साथ हामीले छोडेका होइनौं, वास्तवमा साथ त उहाँले छोड्नुभएछ । उहाँले छुट्टै गुट भेला गर्नु भएछ । उहाँ छुट्टै गुटको भेला गर्ने र केही व्यक्तिको मात्रै नेता हुन खोज्ने काम गर्नुभयो । महान नेताको काम हुन्छ सबैको कुरा सुन्ने र आफ्नो दिमागले ठोस निर्णय गरेर अगाडि बढ्ने हुन्छ । तर त्यो उहाँमा देखा परेन र उहाँ एउटा संकुचित भावनाको साँघुरो घेरामा पर्नुभयो र त्यो घेराबाट बाहिर निस्कन सक्नुभएन । नेकपाको दुई तिहाइको सरकार थियो । हामीले ठूल–ठूला आन्दोलनहरु गरेर आएका छौं । यी आन्दोलनहरुका उपलब्धिहरुलाई कम्तिमा रक्षा गर्न हामीले अहिले यहाँसम्म आइपुगेका छौं । कम्तिमा हामीले गणतन्त्रको स्थापना, संघीय संरचना र नयाँ संविधान जुन हाम्रो देशमा दिन सकेका छौँ, त्यसलाई संस्थागत गर्ने र हामीले रक्षा गर्ने खालको कदम चाल्नु पर्ने थियो, त्यो देखा परेन । नेकपाको दुई तिहाइको सरकारलाई घेराबन्दीमा गर्ने र सांगठनिक काम जतिपनि कार्यकारी अध्यक्ष भएपछि गर्नुपर्ने त्यो देखा परेन उहाँबाट । खाली कहिले प्रधानमन्त्री र राष्ट्रपति कहिले खुस्किएला भन्नेमा मात्र लागिरहनुभयो । एक अर्कालाई सहयोग गर्नुभन्दा पनि उल्टै त्यसलाई पचाउन नसकेर गतिविधि गर्न थाल्नुभयो । त्यसकारणले म उहाँ (प्रचण्ड)लाई साथ दिन सकिनँ ।
० तर नेकपाका बहुमत केन्द्रीय सदस्यहरु प्रचण्ड–नेपालतर्फ देखिएका छन्, प्रधानमन्त्री ओली त अल्पमतमा देखिनुभएको छ नि ?
— प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्न, अल्पमतमा त प्रचण्ड–नेपाल समूह छ । हाम्रो केन्द्रीय समिति विस्तार भएको छ, यताबाट कसैलाई पनि कारबाही गरिएको छैन । ११९९ जनाको अहिले महाधिवेशन समिति पनि निर्माण भएको छ । हामीले अल्पमत र बहुमतको कुरा गरेका छैनौं, हामीले देशलाई बचाउन र पार्टीलाई अझ पनि एकताबद्ध गर्न अगाडि बढ्न खोजेका हौं । उहाँहरु फेरि पनि मूलधारमा फर्किनुहुन्छ भन्ने आशा छ ।
० प्रधानमन्त्री ओलीले त संविधानविपरीत संसद विघटन गर्नुभएको छ, जनता र देशको हितमा कसरी हुन्छ ?
— संसद विघटनमा उहाँको मात्रै हात छैन नि । उहाँ खुशीले वा हाँसेर संसद विघटन गर्नुभएको छैन । उहाँले अन्तिम समयसम्म पनि प्रचण्डलाई मिलाउन खोज्नुभयो, हामी सँगै थियौं । प्रधानमन्त्रीले प्रचण्डलाई हामी मिलौं, समन्वय गरेर अगाडि बढौं र देश बचाऔं भनेर लचकता आग्रह गर्नुभएको थियो । मेरै कमाण्डमा ३५ जनाको समूह लिएर पार्टी एकता जोगाउनका लागि दबाब दिन खुमलटार पुगेका थियौं । तर पनि उहाँ मान्नुभएन र संसदको दुःखद विघटन हुनपुग्यो । संसद विघटन हुनुमा प्रधानमन्त्रीभन्दा पनि कमरेड प्रचण्ड र माधव नेपाल नै बढी जिम्मेवार हुनुहुन्छ ।
० पार्टी झगडाका कारण संसद नै विघटन गर्न प्रधानमन्त्रीलाई कसले अधिकार दियो ?
— प्रधानमन्त्रीसँग त सबै अधिकार हुन्छ नि । प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र नपरेको भए संसद विघटन गर्नु हुन्थेन । प्रचण्ड–माधव नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको अवस्था, राष्ट्रपति विरुद्ध महाभियोग लगाउने तयारी लगायतका जुन खालको खराब चिन्तन थियो, त्यसको विरुद्धमा प्रधानमन्त्रीले यस्तो कदम चाल्न बाध्य हुनुभयो । हाम्रै पार्टीको दुई तिहाइको सरकार हुँदा पनि अविश्वासको प्रस्ताव किन ल्याउनुपर्ने अवस्था आयो ? यदि अविश्वासको प्रस्ताव नल्याइदिएको भए, प्रचण्डले प्रधानमन्त्रीका विरुद्ध षड्यन्त्र नगरेको भए यस्तो अवस्था आउने थिएन । मुलुकमा समस्या निम्त्याउने योजना प्रचण्ड र माधव नेपालको थियो ।
० अविश्वासको प्रस्तावलाई प्रधानमन्त्री ओलीले किन सामना गर्न सक्नुभएन त ?
— भनिन्छ, ‘मरता क्या नहीं करता’ । उहाँले मिलाउन धेरै कोशिस गर्नुभयो तर केही उपाय नलागेपछि अन्तिम अवस्थामा उहाँले संसद विघटनतिर लाग्नुभयो । प्रचण्डले प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव सामना गर्ने ठाउँ नै दिनुभएन । भित्रभित्रै विभिन्न षड्यन्त्र गरेर गोप्यरुपमा अविश्वासको प्रस्ताव ल्याउनुभएको थियो । मैले कमरेड प्रचण्डलाई नजिकबाट चिनेको छु, उहाँमा जुन खालको संकीर्ण सोच हावी भएको छ त्यसले गर्दा पार्टीका लक्ष्यअनुसार नेकपा अगाडि बढ्न सकेन । उहाँलाई कार्यकारी अध्यक्षको जिम्मा दिइएको थियो, एकीकरण प्रक्रिया टुंग्याउने जिम्मा थियो तर किन आफ्नो काममा चुक्नुभयो ? आफूले पाएको जिम्मेवारी पूरा नगर्ने तर अरुमाथि दोष मात्रै लगाउने प्रचण्डको प्रवृत्ति छ । अब जनतामा गएर नयाँ जनादेश नै विकल्प हो ।
० प्रदेश २ मा प्रचण्ड–माधव नेपाल पक्ष बलियो देखिनुभएको छ नि ?
— प्रदेश २ मा ओली पक्ष कमजोर र प्रचण्ड–माधव नेपाल पक्ष बलियो भनेर अहिले नै भन्न सकिने अवस्था छैन । अहिले हामी प्रदेशमा नेता कार्यकर्ता भेला गरिरहेका छौं । आगामी चुनावमा पनि पहिलो पार्टीरुपमा आउँछौं, हाम्रो पार्टी नेकपा नै रहनेछ र चुनाव चिन्ह सूर्य नै रहन्छ । प्रदेश २ मा पनि राम्रो जनलहर ल्याएर अगाडि बढ्न सक्ने हामीमा क्षमता छ । कसैले अल्पमत र बहुमतको खेल खेल्यो भने उ आफै असफल हुन्छ । प्रदेश २ मा हामी (ओली समूह) कमजोर छैन । भोली फिल्डमा जाँदा थाहा हुन्छ ।
० तत्कालीन माओवादी केन्द्रका प्रदेश २ का संसदीय दलका नेतालगायतका प्रभावशाली नेताहरु ओलीतिर लाग्नुभएको छ, भनेपछि आगामी दिनमा अझै प्रदेश सांसदहरु ओली पक्षमा आउनु हुन्छ ?
— अहिले प्रचण्ड–नेपाल समूहका अन्य नेता कार्यकर्ताहरु आउने क्रम जारी छ । हाम्रो छलफल र भेलाहरु तीव्ररुपमा भइरहेका छन् । हामी कुनै पनि प्रलोभन, दबाब वा लोभमा परेर प्रधानमन्त्री ओली समूहमा लागेका होइनौं । हामी स्वविवेकले प्रधानमन्त्री ओलीको समूहमा लागेको हौं । पार्टी एकता अझ मजबुत र बलियो होस् भनेर हामी गुटबन्दीमा लागेनौं । हिजोको दिनमा म प्रचण्डनिकट थिएँ, उहाँको विश्वासको पात्र थिएँ तर उहाँको गलत कार्यशैलीका कारण हामीले उहाँलाई साथ दिन सकेनौं । उहाँले मुलुकलाई नै धरापमा पार्ने, सरकारलाई काम गर्न नदिने, आरोप–प्रत्यारोप मात्रै लगाउने कार्यमा देखिनुभयो ।
० प्रधानमन्त्रीले आगामी बैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसक्नुभएको छ, तपाइँहरु के एजेण्डाका साथ चुनावमा जानुहुन्छ ?
— हामीले आगामी चुनावमा केपी ओली नेतृत्वले गरेका कामहरुको प्रचार प्रसारको रुपमा लग्नेछौं । यो सरकारले धेरै नै राम्रा–राम्रा कामहरु गरेको छ, जनताका पक्षमा धेरै कामहरु पनि भएका छन् । हामीले अहिलेसम्म पाएका उपलब्धिलाई कसरी संस्थागत गर्ने लगायतका एजेन्डाहरु छन् । सरकारले गरेका राम्रा कामहरुबारे जनताको घरदैलोमा गई बुझाउने प्रयास गर्नेछौं । हामीलाई आशा छ कि जनताले पनि हाम्रो कुराबाट सन्तुष्ट हुनुहुन्छ ।
० तपाइँहरुलाई जनताले करिब दुई तिहाइको नजिक पु¥याइदियो तर काम गर्न सक्नुभएन, फेरि कसरी विश्वास गर्ने ?
— जनताले निश्चितरुपमा हामीमाथि विश्वास गरेका छन् । जनताको आशा र भरोसाको केन्द्र प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्छ । तपाइँ हामीभन्दा बढी राम्रोसँग जनताले सरकारको काम कारबाहीको मूल्यांकन गरेका छन् । संसद विघटनबाट जनता निराश भएका छैनन्, बरु खुशी भएका छन् ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया