० नयाँ बन्ने सत्ता समीकरणमा जसपाको स्टेण्ड के हो ?
— सम्मानित सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने गरेको निर्णय स्वागतयोग्य हो, संविधानको मर्मअनुरुप नै यो निर्णय आएको छ । जहाँसम्म जसपाको स्टेण्डको कुरा छ, जसपा आफ्नै मुद्दा र एजेन्डाका साथ स्वतन्त्र ढंगले विचार राख्दै आएको छ । हामीले यो संविधान त्रुटिपूर्ण छ भनेर भन्दै आएका थियौं, यो प्रमाणित पनि हुँदै आएको छ । अहिले नेकपाका कारण यो समस्या आएको छ । अहिले नेकपा एउटै छ, संसदीय दल पनि एउटै छ । त्यसैले अहिलेको समस्याको समाधान नेकपासँगै छ । प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतले उल्टाइदिएको छ, त्यसैले उहाँले स्वतः राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने हो । तर त्यसअनुरुपको उहाँको चरित्र छैन । प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीबाट ओलीलाई हटाउनका लागि अविश्वासको प्रस्ताव लिएर आउनुपर्छ । त्यसलाई पारित गर्ने सन्दर्भमा सहकार्य गर्न सक्छ । त्यतिबेला जसपाको आवश्यकता हुन सक्छ । हामी कसैको पक्षमा छैनौं, संसदभित्र हाम्रो उपयोगिता जहाँ हुन्छ, त्यसमा हामी अगाडि बढ्छौं । अहिलेको सन्दर्भमा प्रधानमन्त्री ओलीको निरन्तरताका लागि अब उहाँसँग नैतिक बल छैन, उहाँले वैधानिकता गुमाइसक्नुभएको छ । त्यसैले उहाँको बहिर्गमनमा हाम्रो सहयोग रहन्छ ।
० भनेपछि जसपाको झुकाव माधव–प्रचण्ड समूहतर्फ छ ?
— प्रधानमन्त्री ओलीलाई हटाउने सन्दर्भमा जसपाको उपयोगिता देखियो भने साथ दिनसक्छ । यसको मतलब हामी माधव–प्रचण्ड समूहतर्फ छौं भन्ने होइन । सिंगो नेकपा नै असफल भएको छ, नेकपाले जनमतको अपमान ग¥यो । हामी आफ्ना माग र मुद्दा सम्बोधन गराउनका लागि बेला–बेलामा सबैसँग सहकार्य र सहमति पनि ग¥यौं तर हाम्रा एजेन्डाहरु त जहाँको त्यहीं छन् । त्यसैले प्रधानमन्त्री बहिर्गमनको सन्दर्भमा हाम्रो एकमत हुनसक्छ ।
० प्रधानमन्त्री ओलीको विकल्पमा कसलाई देख्नुहुन्छ ?
— प्रधानमन्त्री ओलीको तीन वर्षे कार्यकाललाई हेर्दा पूर्णतया असफल भयो । भ्रष्टाचारै–भ्रष्टाचारको काण्डमा यो सरकार मुछियो । यो सरकारले पाँच÷छ पटक मन्त्रिपरिषद् पुनर्गठन ग¥यो तर पनि सरकारको कामले गति लिन सकेन । प्रधानमन्त्री ओलीले हठात् प्रतिनिधिसभा विघटन गरिदिनुभयो र सर्वोच्च अदालतले त्यसलाई बदर ग¥यो । भनेपछि उहाँमा रत्तिभर पनि नैतिकता भएको भए राजीनामा गरिदिनुपर्दथ्यो । तर उहाँले गर्नुभएन । यस्तो स्वेच्छाचारी व्यक्तिलाई राष्ट्रको कार्यकारी प्रमुखको रुपमा राख्दा त्यसले राम्रो परिणाम ल्याउँदैन । केपी ओली नेतृत्वको सरकार पूर्णतया असफल भइसकेको सन्दर्भमा उहाँको बहिर्गमन आवश्यक छ । अब उहाँको विकल्पमा को भन्ने सन्दर्भमा जब नेकपा विधिवत्रुपमा विभाजन भएर दुईटा पार्टीको रुपमा आउँछ, त्यसपछि संसदले निर्णय गर्ने हो । पटक–पटक प्रधानमन्त्री भइसकेका मान्छेहरु, टेस्टेड मान्छेहरु, उमेर सीमा समाप्त भइसकेका मान्छेहरुलाई फेरि त्यो ठाउँमा राखेर हामी अगाडि बढ्नु भनेको मुलुकलाई यथास्थितिमै राख्नु हो । त्यसैले नयाँ अनुहार आउनुप¥यो, नयाँ किसिमले जानुप¥यो ।
० आगामी प्रधानमन्त्रीका लागि जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको पनि चर्चा भइरहेको छ, जसपाभित्र यसबारे के धारणा छ ?
— अहिले राजनीति त्यस चरणमा प्रवेश गरेको छैन । हाम्रो पार्टीभित्र प्रधानमन्त्री बन्न सक्ने नेतृत्वहरुको कमी छैन । त्यसमध्ये हाम्रा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईज्यू पनि हुनुहुन्छ, त्यस्तै महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत धेरै नेताहरु हुनुहुन्छ । जसलाई गणपरक संख्याको समर्थन भयो भने देशलाई उहाँहरुले हाँक्न सक्नु हुन्छ । नेतृत्वको कमी छैन जनता समाजवादी पार्टीमा । तर अहिलेको गणितीय हिसावले हाम्रो पार्टी निर्णायक ठाउँमा छैन । अहिलेसम्म जसपालाई प्रधानमन्त्रीका लागि औपचारिक प्रस्ताव आएको छैन, अनौपचारिक छलफलहरु मात्रै भइरहेका छन् । अहिले भइरहेको छलफल भनेको खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन र नयाँ सरकार निर्माणसँग सम्बन्धित छ ।
० ठूला दलहरुबीच यदि सहमति जुटेन र जसपालाई नै प्रधानमन्त्री दिने अवस्था आयो भने तपाइँहरुले उठाउँदै आउनुभएको एजेन्डाहरु सम्बोधन गराउनु हुन्छ ?
— यसमा राजनीतिक सहमतिको खाँचो छ । नेकपा असफल भइसक्यो भन्दै गर्दा पनि उहाँहरुसँग जनसमर्थन त छ । अहिलेको प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेकपा नै हो । हामी आफ्नो एजेन्डा र मुद्दाको अगुवाई गरिरहेका छौं । संघीयता, पूर्ण समानुपातिक समावेशिता, राज्यका अंगहरुमा सबै नागरिकले समान अवसर पाउनुपर्छ, नेपाललाई बहुराष्ट्रिय राज्यमा रुपान्तरण गर्नुपर्छ । सोहीअनुसारको राज्यमा परिवर्तन ल्याउनुपर्छ भन्ने हाम्रो माग हो । हाम्रा निर्वाचित सांसद जेलमा छन्, प्रदेश २ का मन्त्रीहरुमाथि मुद्दा लगाइएका छन् । त्यसैले यी विषयहरु हामीले सम्बोधन गर्नुपर्ने हो । यो संविधान त्रुटिपूर्ण छ भन्ने कुरो साबित भएको छ । संसदभित्र नै यो ६३ प्रतिशत मत संविधान संशोधनको पक्षमा जाहेर भइसकेको छ । त्यसैले जुनसुकै राजनीतिक दलसँग आगामी दिनमा सहकार्यको कुरा आउँछ भने हाम्रा यी मुद्दाहरु प्रवेश हुन्छ ।
० जसपाले अब कुन आधारलाई टेकेर सरकारमा जान्छ ?
— अब हामीले फगत सहमतिका लागि एक थान सहमति गरेर सरकारमा जाने होइन । सरकारमा जाने सन्दर्भमा प्रथम कुरो त संविधान संशोधनको सवालमा संसदभित्र रहेका राजनीतिक शक्तिहरुको बीचमा एक प्रकारको सहमति र कार्यगत एकता हुन आवश्यक छ । त्यस्तो प्रकारको सहमति हुन सक्यो भने मात्रै हामी सरकारमा जान्छौं । अर्को कुरा गणपुरक संख्याले त्यो सहमतिलाई प्रतिनिधिसभाबाट पास पनि गर्नुपर्दछ । त्यसैले सहमतिका लागि सहमति गरेर सरकारमा जाने हाम्रो लक्ष्य होइन । सरकार हाम्रो प्राथमिकताको विषय होइन तर सरकार निर्माणको सन्दर्भमा हाम्रो उपयोगिता आवश्यक प¥यो भने हामी सहयोग गर्छौं । किनभने विगतको इतिहास हेर्दा ६ महिनासम्म सरकार बन्न सकेन । मुलुकलाई लोकतान्त्रिक व्यवस्थाअनुसार अगाडि बढाउनका लागि सरकारको आवश्यकता हुन्छ । अहिलेको प्रधानमन्त्रीले विश्वसनीयता गुमाइसक्नुभएको छ, उहाँको क्रियाकलाप आपत्तिजनक भइसकेको छ । त्यसैले दोस्रो चरणमा राजनीति प्रवेश ग¥यो भने जसपाले ठोस र मूर्तरुपले तत्काल गर्न सकिने कार्य तत्काल गर्न लगाउँछौं । त्यसपछि मात्रै हामी सहकार्यको यात्रामा अगाडि बढ्छौं । कर्मकाण्डी सहमति गरेर हामी सरकारमा जानु हुँदैन, सरकारमा जाने हाम्रो अभिष्ट पनि होइन । हाम्रा आन्दोलनका मुद्दाहरु सार्थकरुपले सम्बोधन गरी मात्रै हामी अगाडि बढ्नुपर्छ ।
० संसद पुनस्र्थापनापछि मुलुकमा निकासको साटो राजनीतिक संकट झन् गहिरिँदै गएको छ ?
— जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरज्यूले सबैभन्दा पहिला यो विषय उठाउनुभएको थियो कि परिस्थिति यस्तो निर्माण हुँदैछ कि प्रधानमन्त्रीले चालेको कदमलाई सर्वोच्चले बदर गरिदिए पनि समस्या समाधान हुँदैन अथवा सदर गरिदिएपनि समस्या गहिरिँदै जानेछ । तर पनि यो मुद्दा सर्वोच्चमा छ, सर्वोच्चले दिएको फैसला स्वीकार गर्छौं । आज त्यहीं कुरो सावित भएको छ । निश्चितरुपले नेपाली जनताले मुलुकमा स्थायित्वको नाममा पाँच वर्ष सरकार सञ्चालन गर्ने गरी अपार जनमत दिएर पठायो । त्यसमा नेकपा पूर्णतया असफल भइसकेको अवस्था छ । अहिलेको नेकपाको नेतृत्व असफल भइसकेको कारणले यो संकट निम्तिएको हो । त्यसैले सबैभन्दा दोषी नेकपाको नेतृत्व हो । तर यो परिस्थितिलाई हामीले सामना गर्नैपर्छ । प्रधानमन्त्री ओलीको जुन अराजक शैली छ, मार्ग प्रशस्त गरिरहनुभएको छैन, यसले के देखाउँछ भने विधि व्यवस्था हामीले लोकतान्त्रिक ल्यायौं तर आचरण त्यो लायकको भएको छैन । त्यस किसिमको नेतृत्व निर्माण गर्न सकेनौं, त्यसैले यो संकट देखिएको हो । त्यसले गर्दा यो आचरणसँग सम्बन्धित विषय पनि हो । हामी जस्तोसुकै राम्रो संविधान निर्माण गरेपनि नेतृत्वले लोकतान्त्रिक मूल्य र मान्यताअनुसारको आचरण निर्माण गर्न सकेन भने त्यसले प्रतिफल दिन सक्दैन । दलहरुभित्रको आन्तरिक लोकतन्त्र एकदमै कमजोर अवस्थामा छ । त्यो किसिमको लाकेतान्त्रिक अभ्यासहरु आन्तरिकरुपमा गर्नुपर्दछ ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया