कांग्रेसबाट बाहिरिन सक्छौं : भारतेन्दु मल्लिक

भारतेन्दु मल्लिक नेता, नेपाली कांग्रेस

अन्तर्वार्ता

9/18/2018

० नेपाल लोकतान्त्रिक फोरम नेपाली काँग्रेसमा विलय भइसकेपछि तपाइँहरूको अवस्था के छ ?
— लोकतान्त्रिक फोरम कांँग्रेसमा विलय भएको होइन, समायोजन भएको हो । जुन सहमतिअनुसार हामीले पार्टीलाई कांग्रेसमा समायोजन गरेका हौं, त्यो सहमति १० महिना पुगिसक्दा पनि कार्यान्वयन भएको छैन । हामी कांग्रेसी छौं तर पहिचान छैन अहिलेसम्म ।


० तपाइँहरूबीच के सहमति भएको थियो ?
— गाउँ कमिटिदेखि केन्द्रीय कमिटिसम्म सम्मानजनक रूपमा समायोजन गर्ने, सबै सक्रिय सदस्यहरूलाई त्यहींअनुसार स्वीकार्ने, महाधिवेशन प्रतिनिधिमा सात सय जनालाई स्थान दिने, केन्द्रीय समितिमा हामीले २५ जना भनेका थियौं तर १५ जनामा सहमति भएको थियो । त्यस्तै, प्रतिनिधिसभाको समानुपातिकमा हामीले १० वटा सीटको दाबा गरेका थियौं, सात जनामा सहमति भयो, पछि तीन जनाको नाम राखियो तर एक जनालाई पनि दिइएन । प्रदेशसभामा पनि हाम्रो तर्फबाट एउटा पनि नेतालाई दिइएन । त्यतिखेरै हामीसँग ठूलो धोका भयो ।


० तपार्इँहरू समायोजनका लागि कांग्रेस नै किन रोज्नुभयो त ?
— परिस्थितिले हामीलाई कांग्रेस बनायो । जब वामपन्थीहरूको गठबन्धन बन्यो त्यसपछि कुनै विकल्प नदेखेर लोकतान्त्रिक शक्तिलाई बलियो बनाउनुपर्छ भन्ने उद्देश्यले कांग्रेसमा हाम्रो पार्टी समायोजन भएको हो ।


० तत्कालीन अवस्थामा नेपाल लोकतान्त्रिक फोरमको अवस्था बलियो नै थियो, किन आत्तिएर कांग्रेसमा मिसाउनु भयो ?
— कम्युनिष्टको जसरी गठबन्धन बन्यो त्यसपछि लोकतान्त्रिक शक्ति कमजोर हुन्छ कि भन्ने देखेर कम्युनिष्टलाई रोक्नका लागि हामी त्यो बेला समायोजित भयौं । लोकतन्त्रमाथि संकट पर्न सक्छ भन्ने लागेको थियो । अहिले पनि कम्युनिष्टहरूको बहुमतको सरकार छ, उसले अधिनायकवाद लाद्न खोजेको भन्ने पनि देखिएको छ ।


० तपाईँका पूर्वपार्टीका कतिपय नेताहरू हामी कांग्रेसमा छैनौं भनेर भन्दै आइरहेका छन् नि ?
— पार्टी समायोजन भएको १० महिना भइसक्यो, कुनै पद दिइएको छैन, कुनै पहिचान छैन भनेपछि हामी पनि कसरी आफूलाई कांग्रेसमै छौं भन्ने । नेपालको सबभन्दा पुरानो र लोकतान्त्रिक पार्टीले नेता कार्यकर्तालाई यत्रो दिनसम्म पनि समायोजन गर्न नसक्नु दुःखद हो । हामीसँग रहेका तत्कालीन सांसद र केन्द्रीय नेताहरू भूमिकाविहीन भएर बस्न सक्दैनन् नि । कुनै न कुनै बाटो त लागिहाल्छ । तत्कालीन अवस्थामा हामीसँग रहेका ५० प्रतिशत नेता कार्यकर्ता अन्य पार्टीतिर लागिसकेका छन् । कांग्रेसले समयमै समायोजन गरेन भने ठूलो क्षति व्यहोर्नुपर्छ । यो कुरा कांग्रेस नेतृत्वले बुझेको छ कि छैन त्यो भन्न सकिन्न ।


० कांँग्रेसमा समायोजन गर्नुअगाडि तपार्इँहरूको तात्कालीन पार्टीमा छलफल नै भएन भन्ने पनि आरोप छ नि ?
— लोकतान्त्रिक फोरमलाई कांग्रेसमा मिसाउँदा सबैसँग छलफल भएको थियो । सबैको सहमतिकै आधारमा कांग्रेससँग वार्ता टोली पनि गठन भएको थियो । वार्ता टोलीमा म पनि सदस्य थिएँ । हामीसँग जुन सहमति भएको थियो, त्यसलाई कांँग्रेसले छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्छ । अहिले जसरी दुई तिहाइभन्दा बढीको शक्तिशाली कम्युनिष्ट सरकार रहेको छ, त्यसको सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने हैसियत कांग्रेससँग छैन । त्यसैले पार्टीलाई कम्तिमा सडकमा सशक्त प्रस्तुतिका लागि पनि पार्टीलाई सुदृढ बनाउनु आवश्यक छ । त्यसका लागि हामीसँग भएका सहमति कार्यान्वयन गर्नुपर्छ । किनभने हाम्रा अधिकांश नेता तथा कार्यकर्ताहरू पलायन भइसकेका छन् । हाम्रो पूर्वपार्टीका सबै जिल्लामा संगठन थियो र सक्रिय नेता कार्यकर्ताहरू थिए । तर अहिले भूमिकाविहीन भएर विकल्प खोजिरहेका छन् ।


० भनेपछि तपार्इँहरूको पूर्वपार्टीका नेताहरूको बिचल्ली भएको छ ?
— बिचल्ली अवस्थामा छन् । कुनै पहिचान छैन ।


० तपाईँहरू पहिचानविहीन अवस्थामा कहिलेसम्म बस्ने त ?
— केही दिन अझै पर्खन्छौं । दशैंभन्दा पहिले यदि समायोजन हुन सकेन भने वैकल्पिक बाटो खोज्न बाध्य हुन्छौं । कांँग्रेसका नेतृत्वपंक्तिको मानसिकता नै स्पष्ट भएन भने हामी त्यतिकै पहिचानविहीन भएर बस्न त सक्दैनौं नि ।


० तपाईँहरूको वैकल्पिक बाटो कस्तो हुने ?
— हाम्रो वैकिल्पक बाटो दुईटा हुन सक्छ । कुनै पार्टीमा प्रवेश गर्ने अथवा नयाँ दल दर्ता गरेर राजनीतिक यात्रा सुरू गर्ने । हामी साथीहरूसँग छलफल गरिरहेका छौं । जिल्ला–जिल्लामा पनि हाम्रा पार्टीका नेताहरूसँग सरसल्लाह भइरहेको छ ।


० तर, तपार्इँका पूर्वपार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसले संसदीय दलको उपनेता बनाएको छ नि ?
— कांँग्रेसले संसदीय दलको उप नेता त बनायो तर पार्टीमा उहाँको हैसियत केही छैन । उहाँलाई कुनै जिम्मेवारी पनि दिइएको छैन र कुनै पहिचान पनि छैन । सबभन्दा बढी क्षति त उहाँलाई नै भएको छ । उहाँ विगतमा एउटा पार्टीको अध्यक्ष हुनुहुन्थ्यो, राष्ट्रिय पार्टी बनिसकेको थियो, त्यतिबेला मधेशका सबभन्दा ठूलो पार्टी थियो, संगठनहरू पनि बलियो थियो । त्यसैले हामीबाट पनि गल्ती भएकै हो । कांँग्रेससँग समायोजन गरियो, तर कांग्रेसले हाम्रो आवश्यक्ता र पहिचानलाई अहिलेसम्म स्वीकार गर्न सकेको छैन ।


० भनेपछि, कांँग्रेसमा पार्टी समायोजन गर्नु तपाइँहरूको ठूलो गल्ती थियो ?
— गल्ती भएकै हो । काँंग्रेससँग समायोजन भएको यत्रो दिन भइसक्यो तर अहिलेसम्म कुनै पहिचान दिन सकेन भने समायोजन गर्नुको के अर्थ ? समानुपातिकमा कांग्रेसी नेतृत्वले बेइमानी गरेकै हो । त्यसैले कांँग्रेसले हामीलाई ठूलो धोका दिएको हो ।


० काँंग्रेसले अहिलेसम्म तपार्इँहरूलाई कुनै वास्ता नगर्नुको कारण के हुनसक्छ ?
— कांँग्रेसमा ठूलो समस्या के छ भने देशका सबभन्दा पूरानो पार्टी नामले मात्र चलेको छ । बिपीको विरासतले मात्रै कांँग्रेस अहिलेसम्म चल्दै आएको हो । पार्टीभित्र यति गुट/उपगुट छ कि लोकतान्त्रिक फोरमलाई कांँग्रेसमा समायोजन गरियो भने उनीहरू पनि एउटा गुट बन्छ कि भन्ने मानसिकता पनि हुन सक्छ । गुट÷उपगुटभित्र आफै नमिलेको हुनाले पनि हामीलाई समायोजन गर्न नसकेको होला ।


० काँंग्रेसमा जसरी गुट÷उपगुट छ, यसले गर्दा आगामी दिनमा काँंग्रेसको अवस्था कस्तो देख्नुहुन्छ ?
— समयमै गुट÷उपगुटलाई समाप्त पारिएन भने कांँग्रेसको अस्तित्व संकटमा पर्छ । नेताहरूको नामले गुटबन्दी गरी पार्टी चलाइएको छ त्यसले कांँग्रेसलाई ठूलो क्षति भइरहेको छ । त्यसले गर्दा काँंग्रेसको अस्तित्व संकटमा पर्दै गइरहेको छ । पार्टीलाई सुदृढ बनाउन संगठनहरूको संरचनालाई सुधार गर्नुपर्छ । यदि काँंग्रेसी नेतृत्व पंक्तिले व्यवहारमा सुधार ल्याएनन् भने भारतमा जसरी अहिले काँंग्रेसको अवस्था देखिएको छ त्यस्तै नेपाली काँंग्रेसको अवस्था हुनसक्छ ।


० अहिलेको अवस्थामा कांँग्रेसको मधेशप्रति दृष्टिकोण कस्तो पाउनुहुन्छ ?
— कांँग्रेसको मधेशप्रतिको दृष्टिकोणमा कुनै सुधार भएको छैन । कांँग्रेस वा वामपन्थी कुनै पनि दलको दृष्टिकोण मधेशप्रति सकारात्मक छैन । उनीहरू पुराना चिन्तन बोकेका पार्टीहरू हुन् । उनीहरू यदि मधेशप्रति इमान्दार भएको भए मधेशमा त्यत्रो आन्दोलन नै हुँदैनथ्यो । संविधान आइसकेपछि पनि मधेशमा जनता आन्दोलित भएकै हो, मरेकै हुन् । त्यसमा दोषी कांँग्रेस पनि छ र कम्युनिष्टहरू पनि छन् । यिनीहरूको मधेशप्रति सकारात्मक सोच भइदिएको भए मधेशका समस्याहरू समाधान भइसक्थ्यो, मधेशमा काँंग्रेस ठूलो पार्टी हुने थियो । त्यसैले, यिनीहरूलाई पनि मधेशका जनताले स्वीकार गर्न सकेका छैनन् ।


० उनीहरू मधेशप्रति इमान्दार छैनन् भने किन काँंग्रेसमा समायोजन हुनु भएको हो ?
— सुधार गर्न सक्छौं र बलियो लोकतान्त्रिक शक्तिको रूपमा कांँग्रेसलाई स्थापित गराउन सक्छौं भनेर कांँग्रेससँग समायोजन गर्न पुग्यौं । कम्तीमा लोकतन्त्रमाथि कम्युनिष्टहरूको साम्यवादको प्रहार नहोस्, लोकतन्त्र खतरामा नपरोस् भन्ने उद्देश्यका साथ नै कांँग्रेसमा समायोजन गर्न चाहेका थियौं ।


० तपार्इँहरू जसरी काँंग्रेसभित्र हेपिएर बसिरहनु भएको छ, तपाईँहरू सामु रहेको विकल्पप्रति कति गम्भीर हुनुहुन्छ ?
— हामी चिन्तित छौं । हामी कांग्रेसप्रति पनि चिन्तित छौं । किनभने काँंग्रेस सुध्रिएन भने देशको अवस्था पनि बिग्रिन सक्छ । त्यसकारण, कांँग्रेसलाई बलियो बनाउनुपर्छ, काँंग्रेसका नेताहरूले समयमा सोच्नैपर्छ र हामीसँग भएको भद्र सहमतिलाई कार्यान्वयन गर्नैपर्छ ।


० अहिलेको अवस्थामा विजयकुमार गच्छदारको धारणा के छ त ?
— उहाँले पनि यस कुरामा जोड दिँदै आउनु नै भएको छ । उहाँले हाम्रो उचित समायोजन हुन सकेन भने कांँग्रेसबाट बाहिरिन सक्छौं भन्ने कुरा पनि भन्नुभएको थियो । उहाँ आफ्नो नेता कार्यकर्ताप्रति चिन्तित हुनुहुन्छ । तर, कांँग्रेसले उहाँको भावनालाई अहिलेसम्म बुझ्न सकेको छैन । एउटा विजय गच्छदारलाई मात्रै सम्मानजनक पद दिएर मात्रै पनि कांँग्रेसले मधेश र थरूहटमा राम्रो पकड बनाउन सक्दैन । हिजोको जस्तो अवस्था अब छैन । जबसम्म हाम्रा नेता कार्यकर्तालाई व्यवस्थित गर्न सक्दैन तबसम्म कसरी मधेश वा थरूहटमा कांग्रेस बलियो हुन सक्छ ।


० विगतमा राष्ट्रिय राजनीतिमा विजयकुमार गच्छदारको जुन छवि थियो, अहिलेको अवस्थामा कस्तो पाउनुभएको छ ?
— स्वाभाविक रूपमा उहाँको छविमा अहिले फरक परेको छ । विगतमा उहाँ एउटा पार्टीको अध्यक्ष हुनुहुन्थ्यो, आफ्नै प्लेटफर्म थियो । देशको चौथो ठूलो पार्टीको रूपमा उहाँ स्थापित गराउनुभएको थियो । तर, अहिले कांँग्रेसमा हुँदा संसदीय दलको उपनेता र प्रतिनिधिसभा सदस्यबाहेक अन्य कुनै पहिचान छैन । राष्ट्रिय राजनीतिमा उहाँको जुन योगदान थियो, संविधान जारी गर्ने बेलामा उहाँले जे भूमिका निर्वाह गर्नु भएको थियो त्यसको प्रशंसा त हुँदै आएको छ तर, कांँग्रेसले उहाँको योगदान र भूमिकालाई मूल्यांकन गर्न सकेको छैन । त्यसैले कांँग्रेसमा आउँदा उहाँलाई बढी क्षति भएको हामी भन्न सक्छौं । यसको क्षतिपूर्तिका लागि काँंग्रेसले हाम्रा सम्पूर्ण नेता तथा कार्यकर्ताहरूको उचित रूपमा समायोजन गर्नुपर्ने आवश्यक्ता छ ।


० तर, गच्छदारलाई अवसरवादी भनेर पनि आरोप लाग्दै आएको छ नि ?
— राजनीति गर्ने व्यक्तिमाथि आरोप प्रत्यारोप लाग्नु कुनै ठूलो कुरा होइन, यो एउटा सामान्य कुरा हो । उहाँले धेरै राम्रा कामहरू पनि गर्नुभएको छ । जसको प्रशंसा अहिलेसम्म पनि हुने गरेको छ । राजनीतिज्ञमाथि आरोप प्रत्यारोप लाग्दा नौलो मान्न सकिँदैन ।


० अहिलेको अवस्थामा मधेशको राजनीतिलाई कसरी हेरिरहनु भएको छ ?
— मधेश/थरूहटमा समस्या छ । मधेश र थरूहटको मुद्दालाई संविधान संशोधन गरेर समयमै व्यवस्थापन गर्नैपर्छ । यदि मधेशको मुद्दालाई राजनीतिक दलले बुझ्न सकेन भने, त्यसको हविगत राम्रो हुँदैन । मधेशको मुद्दालाई दबाएर समाधान हुँदैन । त्यसैकारण, चेतना भया । देशलाई निकास दिन र विकासको पथमा अगाडि बढाउन कांँग्रेसले पनि आफ्नो विधानमा मधेश र थरूहटको मुद्दालाई राखेरै अगाडि बढ्नुपर्छ ।


(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७५ साल भाद्र ८ गते शुक्रबार ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ