मधेशीको भावनालाई राजनीतिकरण गरिएको छ : डा.सूर्यराज आचार्य

प्रवक्ता, विवेकशील साझा पार्टी

अन्तर्वार्ता

1/18/2019

० विवेकशील साझा पार्टी एकीकरण भएको डेढ वर्षमै किन विभाजित हुन पुग्यो ?

— एकीकरणका बेला दुई पार्टीका सिद्धान्त, हामीले सोचेको वैकल्पिक सम्वाहक शक्तिको स्वरूपका विषयमा टुंग्याएकै थियौं । तर, एकता हुने बित्तिकै हामी चुनावमा गयौं । चुनावपछि जब पार्टी निर्माणको चरणमा जाँदा, जो साथीहरू अहिले छुट्टिएर जानुभएका छन्। त्यसमध्येका दुई जना वार्ताको टेबुलमा हुनुहुन्थ्यो । हामीले पार्टीको दर्शनमा कल्याणकारी लोकतन्त्र भनेका छौं, मार्गदर्शक सिद्धान्त सहभागितामूलक लोकतन्त्र, समन्वयात्मक बजार अर्थतन्त्र, सामाजिक न्याय, समावेशिता विचारहरूमा हामी संयुक्त भएर एक ठाउँमै पुग्यौं । तर, जब संगठन विस्तारको कुरा आयो त्यसमा केही फरक मतहरू प्रकट भए । ती कुराहरूमा हामी पहिला नै सहमतिमा पुगेका थियौं । फेरि ती पुराना कुराहरू आए । त्यसैले, एकताका जुन भावना हो त्यो मर्म एउटा समूहमा राम्ररी सम्प्रेषण भएनछ । त्यसले गर्दा यो पार्टी फुट्नै पर्ने मतभेद थिएन । किनभने राजनीतिक पार्टी फुट्नका लागि राजनीतिक कारण हुनुपर्छ ।

० त्यस्तो मतभेद थिएन भने एक्कासी फुट्दा आश्चर्य लाग्यो ?

— हाम्रो लागि त्यो विभाजन एउटा दुःखद् आश्चर्य नै भयो । उहाँहरू जुन १६ जना अलग हुनुभयो, उहाँहरू पनि ती असन्तुष्टिका कुरामा एकमत हुनुहुन्न । संयोजक उज्जवल थापाले पार्टी पंक्तिलाई छलेर एकै चोटि मिडियामा जसरी सार्वजनिक गर्नुभयो, त्यसपछि उहाँभित्रै धेरै साथीहरूको विमति थियो । हामी सुसंस्कृति राजनीतिक विधि र पद्धति भन्छौं । संयोजकजस्तो जिम्मेवार व्यक्तिले त्यो पद्धतिभन्दा बाहिर जानुभयो भन्नेमा केही साथीहरूको त्यसमा असन्तुष्टि थियो । त्यसैले, उहाँहरूले एक्कासी छापामार शैलीमा त्यो निर्णयमा पुग्नुभयो त्यो त आश्चर्य छँदै नै थियो । अहिले चुनावमा हामी जुन मत पायौं, त्यो मतले गर्दा आमजनतामा आशा पलाएको थियो । यो पार्टीले राष्ट्रिय राजनीतिलाई केही नयाँ निकास दिन्छ कि भनेर आमजनतामा आशा जगाएको बेलामा यो निराशाको ठेस लाग्ने त्यसले हामीलाई थप पीडा दियो ।

० उज्जवल थापा समूहका सबै जना निस्किनुभएको हो ?

— उहाँहरू जति आउनुभएको थियो, त्यो ब्लक नै जानुभयो । राजनीतिमा जोडिने र छुट्टिने मजाकको कुरा होइन । राजनीति भनेको त जनताप्रति उत्तरदायी हो नि । हामीले पाँच वटा प्रदेशमा उहाँहरूको सहमतिमा प्रदेश संयोजकहरू चयन गरेका थियौं, उहाँहरूलाई समेत खबर गरिएन । त्यो त हाम्रा साझा साथीहरू हुनुहुन्थ्यो नि त । प्रदेशका कोही साथीहरू जानुभएन । उहाँहरू फुटेर जानुभयो, हाम्रो शुभकामना नै छ । तर, उहाँहरू नयाँ राजनीतिक पार्टी नै बनाउन खोज्नु भएको हो भने उहाँहरूमा राजनीतिक स्पष्टता आओस् ।

० जसरी नेपालका राजनीतिक दलहरूको ठूलो रोगको रूपमा रहेको विभाजनबाट विवेकशील साझा पनि अछुतो रहन सकेन ?

— परम्परागत ठूला दलहरूको फुट र अहिलेको विवेकशील साझाको फुटको आधारभूत स्वरूप नै फरक छ । हामी त अहिले पार्टी नै भइसकेको छैनौं । हाम्रो केन्द्रीय नेतृत्व तदर्थ हो, कुनै निर्वाचित होइन । दुई÷तीन वटा अधिवेशन गरिसकेर, सबै संगठन पूर्ण विस्तार भइसकेर, पार्टीको माथिल्लो तहमा रहेका नेताहरूको आआफ्नै जनाधार हुने अनि त्यसरी पार्टी फुट्यो भने माथिदेखि तलसम्मकै स्प्रिट हुन्छ । तर, अहिले १६ जना साथीहरू जानुभयो तर तलसम्म हाम्रा शुभेक्छुक पंक्तिहरू गएको अवस्था छैन । यो फुटले ठेस लाग्यो र अब दह्रोसँग खुट्टा टेक्नुस् भन्ने खालका सन्देश पाइरहेका छौं । त्यहीं उत्साहको आधारमा हामीले अर्को वर्षको फागुनमा महाधिवेशनको घोषणा गरेका छौं । यो माघको १२ र १३ गते राष्ट्रिय सन्देश भेला भनेर देशभरिकै सदस्यहरूलाई काठमाडौंमा डाकेर यो बारेमा ब्रिफिङ्ग गर्दैछौं । त्यसमा विवेकशील साझाको अबको अगाडिको बाटो के, विकास र समृद्धिको परिभाषा के, राष्ट्रिय मुद्दाहरूमा विवेकशील साझा कहाँ छ यावत यी कुराहरूमा हामी छलफल चलाउँछौं ।

० पार्टी फुट्ने बित्तिकै महाधिवेशन घोषणा गर्नुको कारण के हो त ? 

— सुरूको एक वर्ष हामी निर्वाचनमा सहभागी हुनुप¥यो । अर्को कुरा एकताका मर्म नै उहाँहरू विस्तारै बिर्सिनुभयो । त्यो भएपछि राजनीतिक मुद्दा, महाधिवेशन कहिले गर्ने, पार्टीको संगठन कसरी बढाउने भन्दा पनि केन्द्रीय नेतृत्वमै आन्तरिक व्यवस्थापनमा हामी गुज्रिनुप¥यो । सधैं मसिना कुरामा अल्झिँदा महाधिवेशनको मिति त तोक्छौं तर वैकल्पिक पार्टीको हामी सम्वाहक हुने वा राष्ट्रिय मुद्दाबारे प्रष्टता ल्याउन सक्दैनौं । ६०÷७० वर्ष पुरानो इतिहास बोकेका पार्टीहरूलाई चुनौती दिनका लागि मिशन पनि त त्यस्तै हुनुप¥यो नि । अब हामीबीच अन्योलता रहँदैन । मधेशदेखि पहाडसम्म नेपालको भविष्य कोर्ने यो पार्टी हो भन्ने किसिमको हामी महाधिवेशन भव्यताका साथ गर्ने आत्मविश्वास बनायौं ।

० विवेकशील साझा पार्टीले ‘मधेश मिशन’ सुरू गर्ने भनेको छ, त्यो के हो ?

— अहिलेका ठूला दलहरू र केही पारम्पारिक दलहरूले व्यवस्था परिवर्तन गरे, पञ्चायती निरंकुशताबाट प्रजातन्त्र ल्याए, प्रजातन्त्रबाट लोकतन्त्र र गणन्त्र ल्याए । नयाँ संविधान ल्याए त्यो धेरै स्तुतीय काम गरेका छन् । तर, जनताका अवस्था बदल्न सकेनन् । अहिले भ्रष्टाचारका कुराहरूमा ठूला दलका नेताहरू मुछिएका छन् । नाम त फरक छ तर ‘काले काले मिलि खाउँ भाले’ जस्तै छन् । त्यसैले जनताले अहिले एउटा जबरजस्त राजनीतिक विकल्प खोजेका छन् । त्यसैगरी, मधेशको मुद्दालाई हामी एकदमै मिहीनसम्म अवलोकन गरिरहेका छौं । अहिले आएको संविधानमा मधेशका जनताका धेरै आकांक्षाहरू र सपनाहरू बुनिएका छन् । यो देश संघीयतामा जान मधेश आन्दोलनको ठूलो योगदान छ । तर, मधेशका जनताको अझै गुनासाहरू छन् । त्यसैले हामीले मधेशका जनताको भावना के हो भनेर मधेश मिशन सुरू गर्न गइरहेका छौं । मधेशमा अलिकति भावनात्मक, अलिकति मन दुखाईका कुराहरू पनि छन् । भावनात्मक र मन दुखाईको कुरोमा राजनीति प्रवेश गर्दा त्यसको जरोमा पुगेर समाधान गरिएन भने त्यसले झन् किचलो गर्छ । अहिलेसम्म भएकै त्यहीं हो । त्यसैले साँच्चिकै मधेशको समस्याको जरोमा पुगेर गाँठो फुकाउन चाहन्छौं । त्यसका लागि मधेशका विभिन्न तप्काबाट सुनौं र बुझौं कि मन दुखाई के हो भनेर मधेश मिशन सुरू गर्न लागेका हौं । कतिपय जायज होलान्, कतिपय कुरामा राजनीति पार्टीले भ्रम पारेका होलान् । कतिपयले मधेशी जनताको पवित्र भावनालाई राजनीतिकरण गरेका होलान् । सबभन्दा पहिला त्यहाँका तथ्यहरू बुझ्नुप¥यो । मधेश मिशनपछि हाम्रो पार्टीले मधेशलाई हेर्ने दृष्टिकोण माथिल्लो सोच छ । मधेशको भावनालाई प्रतिविम्बित गर्ने किसिमले हामी सफल हुनेछौं ।

० ‘मधेश मिशन’ मधेशका कुन–कुन जिल्लामा सुरू गर्दै हुनुहुन्छ ?

— हामी प्रदेश २ का सबै जिल्लामा पुग्छौं । अहिले पनि हाम्रा सदस्य तथा कार्यकर्ताहरू हुनुहुन्छ । त्यहाँका अगुवा नागरिक समाज, बुद्धिजीवी र पत्रकार साथीहरूले फिडब्याक दिइरहेका छन् । अहिलेसम्म हामी एकदमै आशावादी छौं । राजनीतिक दलले मधेशको बारेमा आदर्शवादी कुरा लेख्न गाह्रो छैन तर, त्यसले मात्र न्याय हुँदैन । हामीले त्यसलाई चुनौती र अवसरका रूपमा लिएका छौं । मधेशको राजनीति अहिले यति गिजलिएको छ कि त्यसलाई फुकाल्न चुनौती छ तर त्यसमा हामी सफल भयौं भने हाम्रो लागि अवसर पनि हो ।

० भनेपछि मधेशका आठ वटा जिल्लामा मात्रै ?

— राजनीतिक हिसावले प्रदेश २ का आठ जिल्ला हो । तर मधेश भनेको त पूर्वदेखि पश्चिमसम्म नै फैलिएको छ नि । अन्य प्रदेशमा रहेका मधेशी साथीहरूको पनि फिडब्याक लिइरहेका छौं । तर, प्रदेश २ मा किन केन्द्रित गरेका छौं भने त्यहाँ मधेशका मात्रै आठ जिल्ला छन् र त्यहाँ हामीले संयोजक पनि चयन गर्नुपर्ने छ । हाम्रो मधेश मिशन मधेशका सबै जिल्लामा हुन्छ । हामीले मधेशका खास पीडा र समस्या बुझ्ने हो, सुनाउने होइन ।

० तपाइँहरूले कल्याणकारी लोकतन्त्र भन्नुभएको छ, के हो त्यो ? 

— लोकतन्त्रमा हामीले परिष्कृत लोकतन्त्र भनेका छौं । अहिले नेपाली कांग्रेसले अभ्यास गरेको लोकतन्त्रभन्दा पनि हाम्रो सहभागितामूलक लोकतन्त्र । पाँच वर्षमा चुनाव जित्ने, त्यसपछि सिंहदरबार जाने अनि सिंहदरबारको स्रोतलाई दुरूपयोग गरेर अर्को पाँच वर्षको चुनावको तयारी गरेर लोकतन्त्र भन्ने तर जनताप्रति कहिल्यै पनि उत्तरदायी नहुने । धन र बलको भरमा चुनाव जित्ने त्यो लोकतन्त्रको विकृत रूप हो । हामीले सहभागितामूलक लोकतन्त्र भनेको चुनाव जितेर गइसकेपछि सिंहदरबारबाट शासन चलाउँदै गर्दा पनि जनताको भावना प्रतिविम्बित हुनुप¥यो । तर, लोकतन्त्रले मात्रै पनि हुँदारहेनछ । लोकतन्त्रले झुपडीमा बस्ने गरिब नेपालीदेखि महलमा बस्ने नेपालीसम्मका आकांक्षा सम्बोधन गर्न सक्नुप¥यो । कल्याणकारीको अर्थ के हो भने समाजमा रहेका कमजोर वर्ग, विभेदमा परेका वर्गलाई राज्यले हेरिदिनुपर्छ । लोक कल्याणकारी राज्यका विभिन्न नीति र औजारहरू हुन्छन् । नेपालको राजनीतिमा हामीले यो नयाँ शब्दावली नै प्रतिपादन गरेका हौं । 

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ