० नेपाली कांग्रेसले साउन १५ गते देशव्यापीरूपमा किन विरोध प्रदर्शन गरेको हो ?
— यो सरकार गठन भएको चार महिना भएको छ । यो चार महिनाको अवधिलाई हामीले सूक्ष्म ढंगले केलाएर हे¥यौं । यो सरकार संविधानको विपरीत दिशामा हिंड्न लागेको देखियो । हामीले धेरै लामो मेहनत र संघर्षपछि यो संविधान प्राप्त गरेका हौं । अहिले यो संविधानको रक्षा गर्नुपर्ने र संविधानका मूल तत्व गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशी चरित्रको राज्य व्यवस्था बनाउनु पर्नेछ । यी चार वटा जुन आधारभूत तत्व छन् त्यसलाई संरक्षण गर्दै संविधानलाई कार्यान्वयन गर्नुपर्ने बेलामा अहिलेको सरकार त्यो अनुसार अगाडि बढेन । संविधान विपरीत गतिविधिहरू गर्न थाल्यो । त्यसले गर्दा लोकतन्त्र, संघीयता कमजोर हुन्छ भन्ने आशंका लागेको छ । यो सरकारलाई संविधान सम्मत काम गर भन्ने उद्देश्यका साथ हामीले देशव्यापीरूपमा विरोध प्रदर्शन गरेका हौं । अर्को कुरा यो सरकारले यति धेरै महँगी बढाएको छ कि उपभोग्य वस्तुहरूको दिनानु मूल्य आकाशिएको छ । मूल्य वृद्धि नियन्त्रणका लागि सरकारले कुनै पनि सार्थक प्रयत्न गरेन । त्यसैले मूल्य वृद्धि नियन्त्रण गर भन्ने पनि एउटा विषय हो । एकातिर मूल्यवृद्धि भएको छ र अर्कोतर्फ यति धेरै कर वृद्धि भएको छ कि जनता आहतमा छन् । तेस्रो कुरा अहिले शान्ति सुरक्षाको स्थिति भयावह ढंगले बढेको छ । यस्ता–यस्ता कारणले गर्दा जनता आहत भए, मुलुक ठिक ढंगले अगाडि बढेन भनेर कांग्रेसले कार्यक्रमहरू सञ्चालन गरेको हो ।
० विरोध प्रदर्शनपश्चात् कांग्रेसको अबको रणनीति के हुने त ?
— सरकारका गतिविधिहरू कस्ता रहन्छन् त्यो हामी हेर्छौं । सरकारले संविधानसम्मत कुरामा आफूलाई कसरी अगाडि बढाउँछ, संविधान विपरित कामहरू बन्द गर्छ कि गर्दैन, संविधानको भावनाअनुसार अगाडि बढ्छ कि बढ्दैन ती कुराहरू हेरेर कांग्रेस आफ्नो रणनीति तय गर्छ । जस्तो उदाहरणका लागि हामीले संविधानमा सभामुख र उपसभामुखको पद अलग–अलग पार्टीका मानिस हुनुपर्छ भनेर लेख्यौं । तर, अहिले एउटै पार्टीका मानिसहरू दुईटै पदमा छन् र एउटा पद छोड्न तयार छैनन् । यो संविधानको खिलाप हो । हिजोका सरकारले गरेका कामहरू यो सरकारले बदर गर्ने काम गरिरहेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश पद खाली भएको एक महिनाभित्र नियुक्त गरिसक्नुपर्ने संविधानमा छ तर सरकारका गतिविधि सबैले हेरिसकेका छन् । भनेपछि एकपछि अर्का प्रत्येक घटना संविधान विपरित अगाडि बढ्ने गरेको छ ।
० कांग्रेसभित्रको आन्तरिक गुटबन्दीका कारण संसद र सडकमा सशक्त भूमिका निर्वाह गर्न नसकेको भनिन्छ नि ?
— संसद र सडकमा कांग्रेसको भूमिका सशक्त छैन भन्ने कुरा म मान्दिन । अहिले सदनभित्र पनि कांग्रेस सशक्त रूपले प्रस्तुत भएको छ र सडकमा पनि सशक्त ढंगले प्रस्तुत भएको छ । त्यसकारणले कांग्रेसको भूमिका कमजोर भयो भनेर त लाग्दैन । तर, कांग्रेसभित्र केही समस्याहरू छन् । आन्तरिक विषयहरूमा हाम्रा नेताहरूबीच मतैक्यता छ । फरक मतहरू छन् । पार्टीभित्र समूहहरू छन्, ती समूहहरूका बीचमा व्यवस्थापन हुन सकेको छैन । त्यसले गर्दा एक खालको द्वन्द्वको परिस्थिति त देखियो र त्यसको व्यवस्थापन हुन सकेको छैन । ती समस्याहरूलाई समाधान र सम्बोधन गरेर जानुको विकल्प छैन ।
० अहिले जसरी कांग्रेस संसदमा संख्यात्मकरूपमा कमजोर छ, त्यसरी नै राष्ट्रिय जनता पार्टी नेपाल पनि सरकारबाट सन्तुष्ट छैन । राजपा र कांग्रेसबीच सहकार्य हुने सम्भावना कति छ ?
— राजपा र कांग्रेसबीच सहकार्य हुने मैले सम्भावना देखेको छु । खासगरी सरकारमा रहेका दलहरूको कुरा गर्ने हो भने हिजोका माओवादी अर्कै खालको थियो । तर केपी ओलीजी भाषणमा आफूलाई मधेशीको सबैभन्दा ठूलो मसिहाका रूपमा चित्रित गर्नुहुन्छ । मधेशको मुद्दा सम्बोधन गर्छौं, हित गर्छौं भनेर केपी ओलीजी भाषण गर्नुहुन्छ तर व्यवहारमा उहाँका गतिविधिहरू पूर्णरूपमा मधेश र मधेशी विरोधी छन् । कांग्रेसले हिजोका दिनमा संविधान संशोधनका एजेन्डा ल्याउँदा हिजोका एमाले अहिलेको सरकारको नेतृत्व गरिरहेका मानिसहरूले त्यसलाई राष्ट्रघाती भने । अहिले आएर फेरि संविधान संशोधन गरेर मधेशका एजेन्डा समाधान गर्छौं भनेर भन्छन् । तर, संशोधनको कुनै तारतम्यता देखिँदैन । त्यसो भएको हुनाले अहिले सत्ताको नेतृत्व गरिरहेका खासगरी तत्कालीन एमालेका मानिसहरू त्यसमा पनि केपी ओली मधेश विरोधी व्यक्ति हो । उहाँले मधेशको हितमा कहिल्यै पनि काम गर्नुहुन्न भन्ने आज पनि देखिएको छ । कांग्रेसको जन्मभूमि मधेश हो र कांग्रेसले जहिले पनि मधेशको मुद्दालाई आफ्नो मुद्दा बनाएर हिंडेको छ । राजपाले पनि मधेशको मुद्दालाई आफ्नो मुद्दा बनाएको छ । त्यसकारण मधेशको मुद्दा सम्बोधन गर्ने सवालमा कांग्रेस र राजपाको मुद्दा एउटै भएकोले सहकार्य हुन सक्छ । तर, अहिलेको सत्ता सञ्चालन गरिरहेको दलहरूसँग राजपाको सहकार्य हुने सम्भावना छैन ।
० राजपासँग सहकार्यका लागि पहल भइरहेको छ ?
— राजपासँग सहकार्यका लागि अहिलेसम्म त्यस्तो ठोस छलफल त अगाडि बढेको छैन । तर, नेतृत्व तहमा कुराकानी भइरहेको छ । यी कुराहरूलाई ठोस रूपले अगाडि बढाउनुपर्ने आवश्यक्ता छ । तर, अहिले पनि राजपाको मनोविज्ञान के छ भने प्रतिनिधिसभामा अहिलेको सत्ता सञ्चालकहरूसँग दुई तिहाईको बहुमत छ, संविधान संशोधन गर्नका लागि दुई तिहाई मत चाहिन्छ । त्यसकारणले यिनीहरूले गरिहाल्छन् कि भन्ने आशा राजपाको छ । यसलाई हामीले अस्वाभाविक ठानेका छैनौं । किनकि कांग्रेससँग अहिले संविधान संशोधन गर्ने हैसियत छैन, त्यसकारण राजपा कांग्रेससँग मिल्दा त मधेशका मुद्दाहरू सम्बोधन हुँदैन । खालि आन्दोलन गरेर सम्बोधन गराउने मात्र हामीसँग एउटा बाटो रहन्छ । तर, सत्तामा रहेका दलहरूले सम्बोधन गर्न चाह्यो भने हप्ता दश दिनमा गर्न सक्छन् । तर, उसले गर्छन् कि गर्दैनन् त्यो हेर्नुपर्ने महत्वपूर्ण कुरा छ । यदि यो सरकारले मधेशको मुद्दा सम्बोधन गर्दैन भने त्यसपछि कांग्रेससँग सहकार्य हुन्छ ।
० अहिलेको अवस्थामा कांग्रेस जसरी विभिन्न मुद्दाहरू उठाएर आन्दोलन गरिरहेको छ संविधान संशोधनलाई आफ्नो एजेन्डा बनाएको छैन किन ?
— संविधान संशोधनको एजेन्डा अहिले पनि कांग्रेसले बोकेको छ । यदि हामीले संशोधनको मुद्दा नलिएको भए हिजोका दिनमा किन हामी संशोधन प्रस्ताव दर्ता गराउँथ्यो त ? कसरी त्यो संशोधन विधेयक तात्कालीन संसदमा पेश भयो । त्यसैले संविधान संशोधन हाम्रो मुद्दा त छँदैछ नि । हामीले मधेशकेन्द्रित दलहरूसँग मिलेर बनाएको मुद्दा हो । अहिले कांग्रेससँग संविधान संशोधन गर्ने क्षमता छैन । त्यसकारणले हामीले संविधान संशोधन गरिदिन्छौं भनेर भन्यौं भने त्यसको केही अर्थ हुँदैन । अहिलेको सरकारसँग संशोधन गर्ने क्षमता छ र यो सरकार संशोधनका निमित्त अगाडि बढ्छ कि बढ्दैन त्यो हेरिरहेका छौं । संविधान संशोधन गर्ने सर्तमा अहिलेको सरकारलाई राजपाले समर्थन गरेको हो । त्यसो भएको हुनाले अहिलेको सरकारले संशोधन गर्नुप¥यो नि । अहिलेको सरकारले संशोधन गर्दैन भने त्यसपछि फेरि हामी त्यो मुद्दा लिएर सडकमा जान्छौं ।
० सत्तापक्षीय दल नेकपाले फोरमसँग संशोधन गर्छौं भनेर सहमति ग¥यो तर अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक्ता र औचित्यको आधारमा संशोधन गर्छौं भनिरहनु भएको छ । अर्थात औचित्य र आवश्यक्ता कहिले हुन्छ होला ?
— मधेश र मधेशीको हितमा संविधान संशोधन गर्ने औचित्य यो सरकारलाई कहिल्यै पनि महसुस हुनेबाला छैन । अहिले सरकारको नेतृत्व गरिरहेका मानिसहरू मधेश र मधेशी विरोधी हुन् । मत लिनका लागि मधेशका कुरा गरेका हुन् । उहाँहरूले मधेश र मधेशीको भावनाअनुसार संविधान संशोधन गर्नुहुन्न । त्यसको औचित्य उहाँहरूले कहिल्यै देख्नुहुन्न । मधेशकेन्द्रित दलहरू भुलभुलैयामा हुनुहुन्छ । अब उपेन्द्र यादवजी त सरकारमै सहभागी भइसक्नुभयो । उहाँको संविधान संशोधन मात्रै होइन, पुनर्लेखन मुद्दा हो । तर अहिले सरकारमा बस्नुभएको छ । यो सरकार मधेश र मधेशीको भावनाअनुसार संविधान संशोधन गर्छ भन्ने विश्वास छैन । हिजो हामीले संशोधनको एजेन्डा उठाउँदा राष्ट्रघाती भन्ने मानिसहरू कसरी संशोधन गर्छन् ?
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
प्रकाशित मिति : २०७५ साल साउन १८ गते शुक्रबार ।
तपाईको प्रतिक्रिया