काठमाडौं, १ जेठ । भारतसँगको सीमा विवादमा मधेशी नेताहरु मौन बस्छन् भन्ने आरोपलाई जनता समाजवादी पार्टी नेपालका नेता तथा प्रदेश नं. २ उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले खण्डन गरेका छन् । उनले सीमाबारे निर्णय लिने अधिकार केन्द्रीय सरकार र परराष्ट्र मन्त्रालय मातहत रहेकोले कुनै पार्टीले बोलेर केही नहुने तर्क गरेका छन् ।
उनले मधेशीमाथि हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने सुझावसमेत दिएका छन् । मधेशसँग जोडिएको सीमामा कहीं पनि भारतले मिच्न नसकेको बताउँदै मधेशीहरुले आफ्नो एक इन्च पनि भूमि मिच्न नदिएको दाबी गरेका छन् ।
नेपालमा नदीनालादेखि लिएर विभिन्न भूभागहरु यहाँका शासकहरुलेले बेचेको आरोप लगाएका छन् । उनले भारतले नेपाली भूमि नमिचेको तर यहाँ शासकले मिचाएको बताएका छन् । मधेशवाणी रेडियो कार्यक्रममा जसपा नेता तथा प्रदेश २ का राज्यमन्त्री मण्डलसँग गरिएको कुराकानीको सम्पादित अंश :
० जनता समाजवादी पार्टी नेपालको एकता प्रक्रिया कहाँसम्म पुग्यो ?
— राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर नयाँ राजनीतिक शक्ति ‘जनता समाजवादी पार्टी नेपाल’ गठन भएको छ । हामीबीच एकताको औपचारिक जानकारी निर्वाचन आयोगलाई दिइसकेका छौं । तत्पश्चात् वैधानिकरुपमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि वैधानिक पूर्वाधारहरु तयार गरिरहेका छौं । जसपाको विधान, घोषणापत्र, झण्डा, चुनाव चिन्ह र कार्य समिति चाहिन्छ । त्यसको तयारीमा हामी छौं । हाम्रो झण्डा र चुनाव चिन्ह तय भइसकेको छ । विधान र घोषणापत्र तयार भइसकेको छ, त्यसमा हामीले छलफल पनि गर्यौं । अहिले हामी कार्यसमितिको तयारीमा छौं । विधान र घोषणापत्रको बैठकबाट जुन प्रतिक्रियाहरु आए त्यसलाई समेटेर उच्चस्तरीय कार्यदलले अन्तिम रुप दिनेछ । हामी चाँडै सबै प्रक्रिया पूरा गरेर निर्वाचन आयोगमा जाँदैछौं । यो देश नयाँ र मजबुत राजनीतिक शक्तिको रुपमा जनता समाजवादी पार्टीलाई पाउनेछ ।
० उच्चस्तरीय कार्यदल केको लागि बनेको हो ?
— मुख्यतः विधान र घोषणापत्र लेख्नका लागि उच्चस्तरीय कार्यदल बनेको छ । यी दुईटा कुरामा कार्यदलका शीर्ष नेताहरुले काम पनि गर्नुभएको छ । त्यो ड्राफ्ट हामीसँग पनि आइसकेको छ र त्यसमा हामी छलफल पनि गरिसकेका छौं । तसर्थ त्यो कार्यदलले जुन ड्राफ्ट दिन्छ, त्यसमा छलफल गरेर औपचारिकता दिनुपर्ने हुन्छ । त्यो हाम्रो केन्द्रीय समितिको बैठकबाट दिनुपर्ने हो । तर यो लकडाउनका कारण बैठक बस्ने अवस्था नभएकोले अलि ढिलाइ भइरहेको छ । जिल्ला–जिल्लाबाट हाम्रा केन्द्रीय समितिका साथीहरुबाट हस्ताक्षर ल्याइसकेका छौं, लगभग ८० प्रतिशत हस्ताक्षर आइसकेको छ ।
० उच्चस्तरीय कार्यदलमा को–को हुनुहुन्छ ?
— उच्चस्तरीय कार्यदलमा तत्कालीन राजपा नेपालबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल र तत्कालीन समाजवादी पार्टीबाट नवराज सुवेदी र राजेन्द्र श्रेष्ठ हुनुहुन्छ । उच्चस्तरीय कार्यदल चार सदस्यीय रहेको छ ।
० तपाइँहरुले नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने भन्नुभएको छ । तयार भएको विधान र घोषणापत्रमा नयाँ कुरा के छ त ?
— मधेश आन्दोलनको सबभन्दा लोकप्रिय नारा मधेशी एकता जिन्दावाद भन्थ्यौं हामी, त्यो सपना साकार भएको छ । यी दुईटा पार्टी एक भइसकेपछि वैधानिकरुपले निर्वाचन आयोगमा दर्ता भई संसदीय शक्तिको रुपमा अर्को कुनै पार्टी छैन अब मधेशमा । तसर्थ, यो सम्पूर्ण मधेशीहरुको एकताको पार्टी हो । मधेशी एकता जिन्दावाद जुन मधेशी जनताको नारा, सपना र चाहना थियो त्यो साकार भएको छ । विगतमा हामी धेरै संघर्षहरु गर्यौं, टुटफुट भयो । मधेशको समग्र शक्ति बनिरहेको थिएन । मै विद्यार्थी नेता हुँदा मधेशमा एक पार्टी चाहिन्छ, मधेशमा एक पार्टी प्रस्ताव भनेर मैले कार्यक्रमै गराएको थिएँ । त्यसमा सबै पार्टीका नेताहरु पनि आउनुभएको थियो । त्यतिखेर धेरै नेताले त यो राम्रो कुरो हो तर सम्भव देख्दिँन भन्नेहरु आज हामी सबै एक ठाउँमा छौं । मधेशको नाउँमा राजनीति गर्नेहरु हामी एकै ठाउँमा छौं ।
० जनता समाजवादीको घोषणापत्रमा ‘बहुराष्ट्रिय राज्य’ भनिएको छ, त्यो के हो ?
— नेपालभित्र धेरै राष्ट्रियताहरु छन् र मधेश पनि एउटा राष्ट्र हो । यस्तै, थारु, मुस्लिम, दलित, जनजाति, तामाङ, लिम्बू, नेवार यी सबै राष्ट्रियहरु मिलेर नेपाल बनेको छ । तसर्थ नेपाल बहुराष्ट्रिय राज्य नै हो । पहिला जुन थियो एउटै भाषा एउटै भेष, नेपाल अहिले त्यो मुलुक होइन । यो बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्र भएकोले यहाँ धेरै राष्ट्रिहरु समिश्रण छन् । सबै आआफ्नै छुट्टाछुट्टै पहिचान छ । सम्पूर्ण राष्ट्रियताहरुलाई बहुराष्ट्रियताले मात्रै समेट्न सक्छ । त्यसकारण हामी भन्ने गरेका छौं कि नेपाल बहुराष्ट्रिय देश हो ।
० मधेशकेन्द्रित दलहरु विगतमा पनि र अहिले जसपा बनिसक्दा पनि राष्ट्रिय मुद्दामा मौन बसेको देखिन्छ नि ?
— कसले भन्छ मधेशी दल राष्ट्रिय मुद्दामा बोल्दैन ? यो देश नै चलेको छ हाम्रो मुद्दामा । संघीयता, समानुपाितक समावेशिता लगायतका मुद्दा हाम्रै हो, मधेश आन्दोलनबाट स्थापित भएका मुद्दाहरु हुन् । कांग्रेस र एमालेहरुको मुद्दा कहिल्यै पनि थिएन । त्यसकारणले यो भ्रम नपालौं कि मधेशी दलहरु राष्ट्रिय मुद्दामा बोल्दैन । यो देशमा एजेन्डाको कुरा गर्ने हो भने अब अरु कसैसँग एजेन्डा रहेन । केवल जनता समाजवादी पार्टी छ जोसँग एजेन्डा छ । हाम्रो घोषणापत्रमा राज्य पुनर्संरचनाको नयाँ खाका ल्याएका छौं । समानुपातिक निर्वाचन प्रणालीको कुरा गरेका छौं, त्यसमा बहुराष्ट्रिय राज्यको कुरा गरेका छौं । विगतमा संघीयताको सपना हामीले देखेका थियौं, त्यसमा अहिले देश चल्दैछ ।
० सीमा विवादको विषयमा किन चुप ?
— सीमा विवाद आजको कुरा होइन । महेन्द्र सरकारले सत्ता वापत भारतलाई दिएको नेपाली भूमि । भारतले तिब्बतको मानसरोबर जोड्ने बाटो १३ वर्ष पहिलादेखि नै बनाइरहेको थियो, राज्यलाई यो कुरा थाहा थिएन ? यहाँ यति धेरै प्रधानमन्त्रीहरु फेरिए उहाँहरुलाई थाहा थिएन ? राजा महेन्द्रको बखत होस् वा त्यसपछिका सरकारहरु हुँदा कुनमा मधेशीले मधेशीले नेतृत्व गरेका थिए ? सबै सहमति गर्ने, देश बेच्ने, सीमा मिचाउने अनि हामीलाई आरोप लगाउने कि किन बोलेन ? सीमा मिचेको होइन, मिचाएको हो । यी सबै पाप यहाँका शासकहरुले गरेका छन्, यसको प्रायश्चित पनि उनीहरुले नै गर्नुपर्छ । जहाँ हामी मधेशी छौं, त्यहाँ एक मिटर पनि सीमा मिचेर देखाओस् त ।
० अब तपाइँहरु राष्ट्रिय पार्टी भइसकेपछि समग्र राष्ट्रको मुद्दामा बोल्नुपर्दैन ? भारतले यात्रुमार्ग बनाउँदा त्यसमा पार्टीका आधिकारिक धारणा किन आएन ?
— हाम्रो धारणा स्पष्ट छ, हामी सरकार होइनौं । सीमाको बारेमा बोल्ने अधिकार केन्द्रीय सरकारलाई छ, परराष्ट्र मन्त्रालय छ, उसले स्पष्ट बोल्नुपर्छ । प्रधानमन्त्रीले खुट्टा कमाउनु हुँदैन । प्रधानमन्त्रीले वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्नुपर्छ । नेपाली सेना किन हामीले पालिरहेका छौं, सीमामा पठाउनु पर्दैन ? यस विषयमा कुनै पार्टीले बोलेर हुँदैन । जसले यो सरकारको नेतृत्व गरिरहेको छ उ चुप छ, केही बोल्दैन । राष्ट्रिय हितका मुद्दाहरुमा सरकारलाई हाम्रो समर्थन । यो सरकारले स्पष्ट निर्णय लिओस्, हामी साथमा छौं । हामीमाथि किन यस्तो आरोप ?
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया