संविधान संशोधनका लागि कांग्रेसले दबाब दिन्छ : डा.नारायण खड्का (अन्तर्वार्ता)

कांग्रेस केन्द्रीय सदस्य

अन्तर्वार्ता

12/28/2018

० नेपाली कांग्रेसको महासमिति बैठकको मुख्य उपलब्धीहरू के–के रह्यो ?

— मुख्यतः विधान प्रमुख एजेन्डा थियो । पहिला हाम्रो विधान पुरानो संरचनाअनुसार थियो । नेपाली संघीय संरचनामा गइसकेपछि विधानलाई सो अनुकूल बनाउने लगायत समसामयिक विषयहरूमा, परिवर्तनका कुराहरूलाई समयानुकूल परिमार्जन भएको छ । यी कुराहरू नै उपलब्धी हो । यसैगरी, देशका विभिन्न कुनाकाप्चाबाट आएका साथीहरूले आआफ्ना विचार राख्नुभयो, भेटघाट भयो । उहाँहरू नयाँ विचार र ऊर्जा लिएर फर्किनुभयो । यसबाट पार्टी अझ बढी संगठित र एकताबद्ध भएर अगाडि बढ्छ ।

० त्यसो भए कांग्रेसले आफूलाई संघीय संरचनामा लग्यो ?
— संघीय संरचना मात्र नभई समयानुकूल परिमार्जन भएको हो । पूर्णतया संविधानको भावना र मर्मअनुसार पूर्ण समावेशी बनाएर लाने संरचना निर्माण ग¥यौं । त्यो पनि उपलब्धी नै हो ।

० कांग्रेसमा अहिले आरक्षणको किन आवश्यक्ता प¥यो त ?

— लोकतान्त्रिक विधिबाट सहभागितापूर्ण तरिकाबाट केही साथीहरू नेतृत्वमा आउँदा जिम्मेवारी बहन गर्न सजिलो हुन्छ । जवाफदेहिता पनि बढी हुने अनि सभापतिमाथि मात्रै भएको बढी भारलाई बाँडफाँट हुने तर्क पनि आयो । आरक्षणको खासै आवश्यक्ता त थिएन । विधान सबैको सहमतिको दस्तावेज भएको हुनाले विभिन्न विचारहरूलाई समेटेर हिंड्नुपर्ने भएकोले पनि पदाधिकारीहरूको जनसंख्या थपियो ।

० भनेपछि विगतभन्दा बढी समावेशी बनाउनका लागि आरक्षणको व्यवस्था गरिएको हो त ?

— नेपाली कांग्रेस समावेशी नभएको होइन । महासमिति, केन्द्रीय कार्य समिति, केन्द्रीय पदाधिकारी पनि त समावेशी नै थियो । गाउँस्तरदेखि माथि केन्द्रसम्मको समितिहरू सबै समावेशी नै थिए । तर, अहिले पदाधिकारी पनि समावेशी भयो ।

० महासमिति बैठक लम्बिनु पर्ने कारण थियो ?
— विधानमा सहमति हुन सकिरहेको थिएन, विभिन्न कुराहरू थप्नुपर्ने थियो । नयाँ कोणबाट नयाँ–नयाँ विचारहरू आए । विधान मस्यौदाका साथीहरूलाई पनि अलि दबाब प¥यो, ती सबै दबाब सुन्नुपर्ने, कार्य समितिमा पनि सहमतिबाट लानुपर्ने भएकोले कार्यसमितिका साथीहरूको पनि मञ्जुरी चाहियो । त्यसकारणले सबैको विचार समेट्न अलि बढी समय लाग्यो ।

० यो महासमितिले आन्तरिक विवादहरू समाधान भयो त ?

— कुनै पनि लोकतान्त्रिक दलहरूमा विभिन्न गुट÷उपगुट वा विचारहरू आउनु स्वाभाविक हो । यसलाई विवादको रूपमा नलिई लोकतान्त्रिक प्रक्रियाको रूपमा लिनुपर्छ । यो लोकतन्त्रको सुन्दर अभ्यास पनि हो । लोकतान्त्रिक दलमा गुटहरू त बनिरहन्छ नै । तर, सबैले महसुस गरेका छन् कि आन्तरिक विवादमा नफसिकन देश र जनताको हितलाई बढी प्राथमिकता दिनुपर्छ ।

० भनेपछि, कांग्रेसभित्रको गुटबन्दी अझै समाप्त भएन ?

— कांग्रेसभित्रको गुट त कहिल्यै पनि समाप्त हुँदैन । तर, पहिला जुन किसिमको गुटबन्दी थियो त्यसमा कमी आएको छ । हुन त नेपालका सबै पार्टीमा गुट÷उपगुटहरू छन् । सत्ताधारी नेकपा, मधेशकेन्द्रित राजपा, राप्रपा लगायत सबै दलहरूमा गुटबन्दी छ । यो त भइ नै रहन्छ तर, व्यवस्थापन गर्न चुनौती छन् । यसभन्दा अगाडि अलि बढी थियो तर महासमिति बैठकपछि पार्टीभित्र जुन विभाजनको रेखा देखिएको थियो त्यो कम भएको हो ।

० यो महासमिति बैठकले आम कार्यकर्तामा कस्तो उत्साह थपेको छ त ?

— उत्साह त थपेकै हो । किनभने कांग्रेसको विधान संघीय संरचनाअनुरूप आयो । विभिन्न विचारहरू पनि सुन्न पाए साथीहरूले । विगतमा कार्यकर्ता साथीहरू माझ छलफल हुन सकिएको थिएन । यो बैठकमा भाषण मात्र नभएर भेटघाट, जमघट र आत्मीयता महसुस गर्न पाए ।

० महासमितिमा हिन्दू धर्मको विषयमा कुरा आएको थियो, यसमा के निष्कर्ष निस्क्यो त ?

— महासमितिमा उठेकोभन्दा पनि केही साथीहरूले उठाएका थिए । कार्यसमितिले एजेन्डाको रूपमा प्रस्तुत गरेको होइन । छलफल गर्ने क्रममा विभिन्न विचारहरू त आइहाल्छ नि । तर, महासमिति बैठकमा कार्यसमितिबाट एजेन्डाको रूपमा आएको विषयमा मात्रै छलफल हुन्छ । फ्लोरबाट आएका विषयहरूमा बहुमतको संख्या पुग्यो भने एजेन्डा बन्न सक्छ । त्यसैले त्यो एउटा विचारको रूपमा मात्र आए र एजेन्डाको रूपमा प्रस्तुत हुन सकेन ।

० महासमितिमा हिन्दू धर्मको विषयमा कुराहरू आउनुलाई कांग्रेसको धारणा के हुनेछ ?

— अब यो विषय कसरी बढ्दै जान्छ, जनताको चाहना के हुनेछ, यसले गर्दा अब नयाँ अध्याय सुरू हुन्छ कि, नयाँ बाटोमा जनतालाई आकर्षित गर्छ कि लगायतका कुराहरूमा फेरि माहौल बन्दै जान्छ भने विचार गर्न सकिन्छ । अस्ती भर्खरै सरकारले एसिया प्यासिफिक सम्मेलन ग¥यो, प्रधानमन्त्री ओलीले क्रिष्चियन धर्मको प्रचार गरे । कुनै एउटा धर्मको मात्र मान्यता हुँदैन भन्ने नै धर्मनिरपेक्षता हो । प्रधानमन्त्री आफै त्यसमा संलग्न हुनुको अर्थ सरकार आफैले धर्मनिरपेक्षतालाई मानेन । त्यसले गर्दा यसको विरूद्धमा पनि जनता गइरहेको देखिन्छ । अब यसलाई जनताले कसरी लिन्छन्, त्यो बाटोहरू बन्दै गयो भने हिन्दू धर्मको विषयमा छलफल हुनसक्छ ।

० महासमितिमा महाधिवेशनको पनि कुरा उठेको हो, यसमा के छ धारणा ?

— महाधिवेशनको सन्दर्भमा हाम्रो अझै पूरा एक वर्ष बाँकी छ । एक वर्षभित्र वातावरण बन्यो भने हुन पनि सक्छ । नभए अर्को वर्षको अन्तिममा महाधिवेशन हुन्छ ।

० महासमिति बैठकपश्चात् कांग्रेस कसरी अगाडि बढ्छ त ?

— विधानपछि नियमावली बनाउनुपर्छ । नियमावली बनाएर प्रष्ट्याउनुपर्ने कुराहरू प्रष्ट्याएर विधान लागू गर्नका लागि विस्तारै संघीय संरचनाअनुसार अगाडि बढ्छ । त्यस्तै, सरकारको जसरी रवैया छ, त्यसको विरूद्धमा पनि आन्दोलन गर्न सक्छ । त्यसको पनि तयारी गर्ने, विधानलाई लागू गर्दै महाधिवेशनको तयारी गर्छ । अब हाम्रो १४औं महाधिवेशन हुन्छ, त्यसले नयाँ नेतृत्व चयन गर्छ ।

० सरकारको कामकारबाहीलाई कसरी हेर्दैछ कांग्रेस ?

— सरकारको कामकारबाहीबाट जनता निराश छन्, कम्युनिष्टले ठूलठूला सपना देखाएर मत लिन सफल भए । सिधासाधा जनतालाई कम्युनिष्टहरूले ठग्ने काम मात्र गरेका छन् । जनतालाई ठग्नु भनेको अपराध हो । सरकारले ठूल्ठूला कुरा मात्रै गर्छन् तर उपलब्धी केही देखिएको छैन । हत्या, बलात्कारका घटनाहरू देशमा दिनप्रति त्यतिकै बढेका छन् । कम्युनिष्ट शासनको बाटोमा यो सरकार अगाडि बढ्दैछ । यसलाई हामीले जनतामाझ नंग्याउनुपर्ने छ । त्यसैगरी, मधेशका मुद्दामा पनि यो सरकार अहिलेसम्म अलमलमै छ । मधेशी दलहरूलाई आशा मात्र देखाएको छ । नेपाली कांग्रेसको सरकार हुँदा मधेशको समस्या सम्बोधनका लागि संशोधन विधेयक ल्याएको थियो तर त्यहीं पूर्वएमालेको कारण विफल भयो । मधेशी जनताको एजेन्डा, मधेशी दललगायतले उठाएको मुद्दालाई त्यतिबेलाका खड्गप्रसाद ओलीको पार्टी एमालेले राष्ट्रघाती भन्नेदेखि लिएर देशको हित विपरीत भनेर उताउलो कुरा गरेका थिए । अहिले पनि मधेशको मुद्दा सम्बोधन गर्नुको साटो दोहोरो चरित्र देखाउँदैछ । मधेशप्रति यस्तो व्यवहारले गर्दा अब कांग्रेसले मधेशको मुद्दा उठाउनुपर्ने छ । यी सबै कुराहरूलाई सूक्ष्म तरिकाले अध्ययन गरेर हामी आफ्नो कार्यहरू अगाडि बढाउँछौं ।

० तर, महासमितिमा संविधान संशोधनको मुद्दाले प्राथमिकता पाएन नि ?

— हामीले त विगतमा संशोधनको प्रस्तावै ल्याएका थियौं । तर, तत्कालीन एमालेको कारण पारित हुनसकेन । अहिले हामी सरकारमा छैनौं, हामीले बाहिरबाट दबाब दिइरहेकै छौं । अब हामीले सडक र सदनबाट मुद्दा उठाउँछौं ।

० विगतमा पनि संघीय संसदको बैठकहरूमा संशोधनबारे कांग्रेसले दबाब दिएको पाइएन नि ?

— विगतको अधिवेशनमा हामीले संशोधनको मुद्दा नउठाएको होइन, तर मिडियाले त्यो कुरालाई प्राथमिकता दिएन । हामीले नै हो संशोधनको मुद्दा हाउसमा ल्याएको । मधेशी दलहरू निर्वाचनमा भाग लिने अवस्था थिएन, तर कांग्रेसले नै वातावरण बनायो । त्यसैले हामी पटक–पटक मधेशको मुद्दा सम्बोधनका लागि प्रयास गरकै हो । हामीले अहिले सत्तामा छैनौं तापनि संशोधनका लागि यो सरकारलाई दबाब दिन्छौं ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ