हरेक क्षेत्रको सफलताको प्रमुख स्रोत युवा हो : दिलिपचन साहु

अध्यक्ष, नेपाल वैश्य युवा संघ

अन्तर्वार्ता

1/4/2019

० नेपाल वैश्य युवा संघ भनेको के हो ?

— वैश्य समाजभित्र रहेका युवालाई नेतृत्व र व्यतित्व विकास गर्नका लागि र उद्यमशीलता विकासका तालिमहरू प्रदान गरि सम्पूर्ण देशको नेतृत्व गर्नसक्ने युवाशक्ति उत्पादन गर्ने प्रमुख उद्देश्यका साथ २०६५ सालमा सुनसरीबाट स्थापना भएको वैश्य समाजमा रहेका पिछडा जातिका छात्राहरूको समूह नै नेपाल वैश्य संघ हो । यसरी सुनसरीबाट स्थापना भएको नेपाल वैश्य संघ हाल मधेशका सबै जिल्ला र पहाडका केही जिल्लाहरूमा संगठित रहेको छ । हामी समाजका विभिन्न क्रियाकलापमा प्रत्यक्ष सहभागी हुने गरेका छौं । जस्तो प्राकृतिक आपत विपत तथा समाजका विभिन्न समस्यामा आर्थिक रूपमा पनि सहयोग गर्छौं ।

० वैश्य समाजको सामाजिक, आर्थिक र राजनीतिक अवस्था कस्तो छ ?
— वैश्य समाज प्रमुख रूपमा व्यापार व्यावसायमा केन्द्रीत रहेका छन् । व्यापार व्यवसायमा नै बढी केन्द्रित रहेको समाज मधेश आन्दोलनभन्दा पहिले संख्यात्मक रूपमा भन्दा पनि राजनीतिक क्षेत्रमा त्यक्ति सक्रिय थिएन तर आजका दिनहरूमा भने राजनीतिले यो समाजमा पनि फड्को मारेको छ । वैश्य समाजकै ४० जना मेयर, ३५ वटा उपमेयरहरू र ३५० जना वडा अध्यक्षलाई हामीले सम्मान गर्यौ । अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गरेका थियौँ जसमा हाम्रै समुदायका ३० वटा सांसदलाई सम्मान पनि गरेका थियौं । जसले गर्दा आजको समयमा वैश्य समाजको राजनीति प्रतिको उपस्थिति राम्रो नै रहेको छ ।

० व्यापार व्यावसायमा के कस्ता चुनौतिहरू छन् रु र सरकारको सुरक्षा सम्बन्धि दृष्टिकोण कस्तो रहेको छ र ? 

— व्यापारीक क्षेत्रमा केन्द्रीत रहेको आर्थिकरूपमा सम्पन्न यो समाजमा समय समयमा विभिन्न धाक धम्किहरू जस्ता समस्याहरू आउँछन् । यहाँका व्यापारीहरूले जुन किसिमले शिर ठाडो पारेर निडर रूपमा कामहरू गर्न पाउनुपर्ने हो त्यो छैन यो यस अर्थमा कि सरकारबाट जति संरक्षण पाउनु पर्ने हो त्यो पाईरहेको छैन ।

० संघका एजेन्डाहरू के के छन् ? 

— हाम्रो प्रमुख एजेन्डा भनेको वैश्य कलस्टर स्थापित गर्नु हो । नेपालमा जसरी यादव, महिला, दलित, थारू कलस्टर रहेका छन् । सिंहदरबारबाट भ्रमात्मकरूपमा मधेशमा थारू मुस्लिम यादव मात्र छन् भन्ने दृष्टिकोण रहेको छ यसलाई हामी गलत सावित गर्दै यहाँ अरू कलस्टरका मानिसहरू पनि बसोबास गर्छन् भन्ने सत्यता देखाउन चाहान्छौँ । यो तीस लाख जनसंख्या भएको वैश्य समाजलाई पनि राष्ट्रमा सुचिकृत गर्न चाहन्छौं । हाम्रो वैश्य समाजलाई विभिन्न जातमा अलग्याएर नाम दिइन्छ भने त्यो हामी माथिको षड्यन्त्र हो । जसरी क्षेत्री, ब्राहमण भित्र विभिन्न जातजातिहरू मिलेर बनेको छ यो वैश्य समाज पनि भिन्न जातको एकमुस्ठता हो । यसलाई हामी एकीकृत गर्न चाहन्छौं । र हाम्रो प्रमुख एजेन्डा वैश्य समाजको एकीकरण हो ।

० तथ्यांक विभागले छुट्टाछुट्टै जाति देखाउँदा तपाईहरूको आपत्ति किन ? 

— सरकारले वैश्य जातिलाई छुट्टाछुट्टै राख्दा हाम्रो समग्र जनसंख्यामा कमि देखिन्छ जसले गर्दा हाम्रो अस्तित्व नै नरहने अवस्था पनि आउन सक्छ । साथै सरकारबाट पाउने सुखसुविधाहरूबाट पनि वञ्चित हुनुपर्ने हुन्छ । एकमुष्ट रूपमा हाम्रो जनसंख्या गणना गर्ने हो भने वैश्य मधेशका सम्पूर्ण कलस्टर भन्दा बढी संख्यामा रहेको छ । तर सरकारले हामीलाई कमजोर बनाउने नियत राखेको छ, यो कुनै पनि हालतमा स्वीकार्य हुँदैन । यसतर्फ विभिन्न ज्ञापनपत्र मार्फत सरकारलाई ध्यानाकर्षण गराउने तयारीमा रहेका छौैं ।

० वैश्य समुदाय पछाडि पर्नुमा को दोषी देखिन्छन् ? 

— यसमा हाम्रा समुदायका अगुवा र सरकार दुबै पक्षको कमजोरी हो । हाम्रा वैश्य समाजको नेतृत्व लिएर बस्नुभएका व्यक्तिहरूले समय समयमा जसरी सरकार समक्ष ध्यानकर्षणको कार्यक्रमहरू गर्नु पथ्र्यो त्यो पाइएको छैन र सरकार पनि आम जनताको संरक्षक भएको हिसाबले जसरी समानतापूर्वक अगाडि बढाउनुपर्ने थियो यो गरेको छैन ।

० अबका दिनमा समाजका अगुवाप्रति तपाईको सुझाव के रहन्छ ?

— वैश्य समाज एक महत्वपूर्ण समाज हो । यसको पनि पहिचान हुनुपर्छ । हरेक जग खोजी हुनका लागि आफु संगठित हुनुपर्छ । युवा भनेको परिर्वतनको संवाहक हो यसरी संगठित भएर युवालाई सामाजिक कार्यमा आबद्ध गराउनु र हुनु राष्ट्रकै लागि सबल पक्ष हो । तर युवाको उल्टो वायु हो युवा शक्ति जहाँ उल्टिएर जान्छ त्यहाँ तहसनहस पार्छ । हरेक क्षेत्रको सफलताको लागि युवा प्रमुख स्रोत हो । यसमा २५ सय आवद्ध युवालाई आजीवन सदस्यता दिएका छौं । आगामि पाँच वर्षमा २५००० युवालाई संगठित गर्ने प्रयास गरिरहेका छौं । हामीलाई इमान्दारिताका साथ बुद्धिजिवीको हैसीयतले हामीलाई अगाडी बढ्न प्रेरणा दिनुहोस भनेर अध्यक्षको नाताले म मेरा अगुवालाई भन्न चाहन्छु ।

० अबका आगाीम कार्यक्रमहरू के छन् ?

— हामीले दशैं र तिहारको बीचमा मधेशका २२ जिल्लामा कार्यक्रम तय तरेका थियौं त्यसमा हामी १५ वटा जिल्लामा राम्रोसँग सम्पन्न गरेका थियौं । काठमाडौंमा पनि ५०० युवालाई आजविन सदस्यताको प्रमाणपत्र दिएका छौं । हामी काठमाडौंमा केहि बुद्धिजिबिहरूलाई केन्द्रीय सल्लाहकारका परिषद् ३५१ जनाको बनाएका थियौं आगामी पुस २१ गते केन्द्रीय सल्लाहकारलाई मनोनयन पत्र र केही बुद्धिजिवीलाई सम्मान गर्ने कार्यक्रम राखेका छौं ।

० तपाइँ राजपा नेपालका केन्द्रीय सदस्य पनि हुनुहुन्छ, पार्टीभित्रका विवादलाई कसरी हेर्दै हुनुहुन्छ ? 

— राजपा नेपाल मधेशको धरातलीय आधार भएको पार्टी हो । मधेशी जनताले विश्वास गरेको पार्टी हो । विभिन्न त्याग तपस्याका साथ छ दल गठित पार्टी अहिले भीड जस्तो देखिएको छ । भिडमा हो हल्ला देखिनु स्वाभाविक हो । यसलाई अन्यथा लिनुहुन्न र मेरो विचारमा संयोजक परिर्वतनको कुरा जति छ त्यो विधानमा स्पष्ट रूपमा नै लेखिएको छ ।

० राजपा भित्रको यो असहमतिले गर्दा जनतामा कस्तो सन्देश जान्छ त ?

— जनतामा नराम्रो सन्देश त गएकै हो । यसैपनि राजपामा विभिन्न किसिमका आक्रमणहरू पनि भएका छन् । विपक्षीले कुरा काट्ने जस्ता प्रवृतिहरू पनि छन् तर यसको पछि जानुभन्दा नजानु नै वेश हुन्छ किनकि राजपाले जनता प्रतिको आस्था र विस्वास पुुरा गर्नै पर्ने हुन्छ । राजपा जनताको आश हो ।

० राजपाको महाधिवेशन तोकिएकै समयमा होला त र?
— महाधिवेशन त जसरी पनि गर्नु पर्ने हुन्छ । यदि भएन भने निर्वाचन आयोगले छोड्दैनन् । पार्टी विघटन हुने अवस्था सिर्जना हुन सक्छ । त्यसैले हामी यसलाई ठुलो रूपमा लिनु हुन्न यसलाई अझ प्रभावकारी बनाउने तर्फ लाग्नुपर्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ