० स्थानीय तह निर्वाचनको पूर्वसन्ध्या अर्थात् मौन अवधिलाई कसरी हेर्नुभयो ?
— मौन अवधि एउटा प्राविधिक समयावधि हो, जसमा निर्वाचन आयोगले औपचारिक रुपमा उम्मेदवारहरुलाई उसको प्रचार कार्य नगर्नका लागि आदेश दिएको हुन्छ । कतिपय बन्देजसहितको आचार संहिता लागू भएको अवधि हो । यसमा खुल्लेआम केही कार्यलाई बन्देज गरिए पनि उम्मेदवार र उनका पक्षधरहरु कुनै न कुनै रुपमा जनताका सम्पर्कमा रहेको देखिन्छ । यस शिलशिलामा फाटफुट घटनाहरु पनि भइरहेका हुन्छन् । पहिलेका निर्वाचनहरुलाई हेर्दा समग्रमा मौन अवधि बढी प्रभावकारी भएको देखिन्थ्यो । अहिले सामान्य प्रकारका घटनाहरु भएका छन् । उम्मेदवारहरु र राजनीतिक दलहरुले पनि बढी सचेतता अपनाएको देखिन्छ । केही हदसम्म निर्वाचन आयोगको निगरानी पनि बढेको अवस्था छ ।
० पहिलेभन्दा यसपटकको निर्वाचनमा निर्वाचन आचार संहिता प्रभावकारी रुपमा लागू भएको हो ?
— राजनीतिक दलहरुले जहिले पनि आचार संहितालाई छलछाम त गरी नै रहन्छ । तर पहिले–पहिलेका निर्वाचनहरुलाई विचार गर्दा यसपटक कम भड्किलो प्रचारहरु भएको देखिन्छ, सवारी साधनहरुको कम प्रयोग भएको देखिन्छ । त्यसकारणले पूर्णरुपले आचार संहिता लागू भएको त भन्दिँन, तर जेजति भएको छ, त्यो प्रभावशाली छ । आचार संहिता पालना गर्नुपर्छ भन्ने विस्तारै देखिन्छ । पहिलेको अवस्थासँग तुलना गर्ने हो भने सुधारिएकै भन्न सकिन्छ ।
० मौन अवधिमा उम्मेदवार र दलहरुलाई प्रचार–प्रसार गर्ने वा आफ्नो प्रभावमा पार्ने कार्यलाई बन्देज गरेको हुन्छ, तर मतदाताले यो अवधिलाई कसरी सदुपयोग गर्नुपर्ने हो ?
— मधेशमा एउटा भनाइ छ, ‘जस रोगी भावे, तस वैद्या फर्माबे’ । अर्थात् रोगीले जस्तो औषधिको अपेक्षा गर्दछ, वैद्य वा डाक्टरले त्यस्तै औषधि दिन्छ । मधेशमा खास गरेर चरम गरिबी छ । चुनावलाई राम्रो खाना पाउने, पिउन पाउने, माछा मासुको भोज हुने, दुई–चार दिन हुलमा यताबाट उता रमाइलो गर्न जाने, पैसामा भोट बेच्ने अपेक्षा र चाहना केही मान्छेहरुमा देखिन्छ, खासगरी गरिब गुरुवाहरुमा । त्यसलाई परिपूर्ति गर्नका लागि राजनीतिक पार्टीहरु, धनाढ्य उम्मेदवारहरु सदैव तत्पर हुन्छ । खास गरेर अहिले मौन अवधिमा मैले प्रत्यक्ष रुपमा देखेको छु कि कुखुराको मासु अहिले अरुचिकर भयो र मान्छे भन्न थाल्यो कि खसी काट्नुप¥यो । म वीरगन्जबाट सप्तरी आउने क्रममा महागढीमाई नगरपालिकामा सभासद् भइसकेका एक जना नेता मलाई भने कि यो नगरपालिकामा दुई÷तीन ठाउँमा दुई÷तीन सय किलो खसीको मासु पाकिरहेका छन् । सप्तरीकै कञ्चनरुप नगरपालिकाको कतिपय वडाहरुमा मेस चलिरहेको थियो । सर्वत्र यो स्थिति देखिन्छ, खासगरी धनाढ्य पार्टीको तर्फबाट यस्ता कामहरु भइरहेका छन् । जो यसअघि पनि जनप्रतिनिधिको रुपमा निर्वाचित भएका थिए, जोसँग पैसा छ उनीहरुले खुल्लेआम रुपमा यस्ता काम गरिरहेका छन् ।
० तर, त्यस्ता भोजहरु भइरहँदा राज्यको तर्फबाट निगरानी छैन ?
— आजभन्दा १५ दिन अगाडिदेखि नै त्यस्ता धनाढ्य उम्मेदवारहरुले रक्सीहरु जम्मा गरेर राखेका थिए र दिनहुँ मासु र रक्सी खुवाइरहेका छन् । यत्रो ठूलो जनसंख्या भएको बस्तीमा १०/१५ जना प्रहरी पठाएर निर्वाचन आयोगले के गर्न सक्छ ? भन्नाले म नदेखेजस्तो गर्छु, तिमी गर्दै गर भन्ने भाव जस्तो अवस्था अहिले देखा परिरहेको छ ।
० उम्मेदवार तथा दलहरुको घोषणापत्रहरुलाई कसरी हेर्नुभएको छ ?
— म केही दिनदेखि मधेशका विभिन्न जिल्लाहरुको भ्रमण गरेको थिएँ । मैले बुद्धिजीबी, सामान्य मतदाता र राजनीतिक दलका कार्यकर्ताहरुलाई भेट्दा कुनै पनि पार्टीको घोषणापत्रबारे चर्चा गरेको पाइन्नँ । सबै ठाउँमा जीत–हारको आँकलन, उम्मेदवारहरुको जातीय स्थिति, कुन पार्टीले कुन जातिको मान्छेलाई भोट बैंक बनाएर उम्मेदवार प्रस्तुत गरेको छ, साधन र स्रोतको चरम दुरुपयोगका कुराहरुबारे मात्रै चर्चा–परिचर्चा गरेको पाएँ । जस्तै, अहिले उपेन्द्र यादव मधेशको बडो ठूलो नेता हुनुहुन्छ तर गत सात÷आठ दिनमा कुनै जिल्लामा उहाँको उपस्थिति देखिएको छैन । उहाँ विराटनगर महानगरपालिका समातेर बस्नुभएको छ । यसकारणले कि त्यहाँ उहाँको छोरा उपमेयरको उम्मेदवार छन् । उहाँले आफ्नो छोरालाई पार्टीको प्रतिष्ठा, आफ्नो प्रतिष्ठा, आफ्नो जातिको प्रतिष्ठा बनाउनुभएको छ । त्यसै प्रकारले वीरगन्जमा मैले देखें कि कम्युनिष्ट पार्टीबाट उठेको छ त्यो कुरा छाडिदिनुस्, तर व्यापारी हो, मारबाडी हो, विजयकुमार सरावगीलाई जिताउनुपर्छ भन्ने कुरा देखियो । त्यसैले, पार्टी वा उम्मेदवारहरुको घोषणापत्रले कुनै किसिमको हर्ष वा विस्मात्को अवस्था देखिएन । तैपनि पार्टीहरुले बिरालोको घाँटीमा घण्टी बाँधिदिने चलनअनुसार निर्वाचनको बेलामा घोषणापत्र जारी गरे । तर घोषणापत्रको बारेमा कहीं कतै कुनै चर्चा, छलफल भएको देखिएन ।
० चुनावी सभाहरुमा हाइप्रोफाइल नेताहरुको अभिव्यक्तिले मतदाता कति प्रभावित हुन्छन् त?
— पढेलेखेका बुद्धिजीवी, सचेत मतदाता वा नागरिक समाजले यो ठहर गरेका छन् कि ठूला नेताहरुको स्तर धेरै घटेको छ । ठूला नेताहरुले आफ्नो पारिवारिक विजय अथवा आफ्नो अहंकारको विजयको रुपमा निर्वाचनलाई सञ्चालन गर्न खोजेको देखिन्छ । लोभ लालचका कुराहरु प्रशस्त छन् । गाउँ–गाउँमा रेल, कल्पनामा पनि नअटाउने विकासका परियोजनाहरुका कुराहरु मान्छेले गरिरहेको भेटिन्छ । उम्मेदवारहरुले पनि स्थानीय घोषणापत्रहरुमा यस्ता कुराहरु राखेका छन् । तर मान्छेहरुलाई त्यस्ता कुराहरुप्रति खासै विश्वास छैन । नेताहरु बढी गालीगलौजमा लागे, त्यसले गर्दा नेताहरुको तह पहिलेकोभन्दा घटेको मान्छेले महसुस गरेका छन् । नेताहरुको भाषण रमाइलो मान्नका लागि सुनिरहेको देखियो । जस्तै, ओलीजीको भाषण सुन्न जाने मान्छेहरुमा एउटा कौतुहलता हुन्छ कि आज उहाँले कस्तो शब्दवाण प्रयोग गर्ने, कस्तो घोचपेंच गर्ने त्यो सुन्न जाउँ भनेर हुलका हुल बाँधेर जान्छन् । समग्रमा राजनीतिकर्मीहरुको स्तरको अवमूल्यन भएको देखाइयो । कुनै गम्भीर कुराहरु कसैले गरेको देखिएन । सबै कुराको अन्तिम सत्य भनेको सत्ता नै हो । त्यसकारणले यो निर्वाचनले कि त नयाँ सत्ता स्थापित गर्ने पहल गर्छ अथवा पुरानो सत्तालाई निरन्तरता दिन्छ । धेरै चर्चा र राष्ट्रिय मानसलाई परिवर्तन गर्ने खालका कुनै नेताले गरेको लागेको छैन ।
० यो स्थानीय निर्वाचनमा ठूला दलहरुको अवस्था कस्तो आउने देख्नुहुन्छ ?
— प्रदेश नं. १ मा नेकपा (एमाले) अत्यधिक सफलता हासिल गर्छ । कांग्रेसले केही राम्रा नगरपालिकाहरुमा विजयी हासिल गरेको थियो, ती पालिकाहरुमा आफ्नो विजयलाई कायम राख्न सक्छ जस्तो लाग्दैन । भनेपछि प्रदेश नं. १ मा एमालेको वर्चश्व राम्रो हुन्छ । मधेश प्रदेशमा पनि एमालेको स्थिति पहिलेको भन्दा सुदृढ हुन्छ । कांग्रेसको पनि पहिलेको भन्दा सुदृढ हुन्छ । मधेशी पार्टीहरुको स्थिति खस्किन्छ जस्तो मैले देखिरहेको छु । पहिलेको जस्तो अवस्था मधेशी पार्टीको रहँदैन । यसका विभिन्न कारणहरु छन् । उनीहरु छुट्टाछुट्टै चुनाव लड्दैछन् । मधेशी पार्टी सत्तामा छन् तर राम्रो प्रदर्शन गर्न सकेका छैनन् । मधेशी समाज अलि बढी प्रतिक्रियात्मक हुन्छ । त्यसले गर्दा मधेशी पार्टीहरुमा यसको असर बढी पर्छ ।
० यो स्थानीय चुनावको परिणामले राष्ट्रिय राजनीतिमा केही परिवर्तन ल्याउन सक्ने अवस्था छ ?
— यो निर्वाचनले संघीयताका तहहरुलाई अलि बढी स्थापित गर्छ । यो निर्वाचनले संघीयताका निकायहरु स्थापित भएर जान्छ । किनभने यसले एउटा शासकीय स्वरुप ग्रहण गरिसकेको छ । चुनावी राजनीतिमा यदि भोट ट्रान्सफरलाई नै आधार मान्ने हो धेरै ठूलो भोट ट्रान्सफर भइरहेको छैन । कांग्रेसले माओवादीको उम्मेदवारलाई वा माओवादीले कांग्रेसको उम्मेदवारलाई धेरै ठूलो मात्रामा भोट ट्रान्सफर गर्दैन । पार्टीहरुले जे जस्तो गठबन्धन गरे पनि स्थानीय आधारमा गठबन्धन र तालमेलहरु भइरहेका छन् । त्यसकारणले पार्टीहरुले यसैलाई आधार बनाउने हो भने केन्द्रमा हुन सक्छ अलिकति तलमाथि पर्ला । अस्ति प्रचण्डले चितवनमा रेणु दाहाल हारे भने यस्तो उस्तो होला भनेर भन्नुभो, अहिले फेरि भन्नुभयो कि स्थानीय चुनावमा हारजीतले गठबन्धनमा कुनै असर गर्दैन । अहिलेको अवस्थामा शेरबहादुरजीको नजरमा गठबन्धनको अर्थ प्रधानमन्त्रीमा निरन्तरता, माओवादी र माधव नेपालको त्यसमा भागेदारी मात्र हो । तर यो गठबन्धन निरन्तर कायम रहन्छ भन्न सकिँदैन । स्थानीय चुनावको समग्र परिणाम आएपछि फेरिएको स्थिति आउन सक्छ ।
० प्रदेश र संघको निर्वाचनसम्म यो गठबन्धन कायम रहने सम्भावना कम छ ?
— नेपालका वामपन्थीहरु बलियो हुने अन्तर्राष्ट्रिय शक्तिहरुको चाहना छ, उनीहरु विभाजित भएर हुँदैन एक ठाउँमा आउनुपर्छ । त्यो प्रयास त जारी छ, हुन सक्छ स्थानीय निर्वाचनपछि त्यो प्रयासले पनि मूर्तरुप लेला । अथवा यिनीहरुको सत्तामा राम्रो भागिदारी कोसँग राम्रो हुन्छ, त्यो कुराले पनि प्रभाव पार्छ । अहिले शेरबहादुरजीसँग प्रचण्ड र माधव नेपालले सत्तामा राम्रो भागिदारी पाइरहेका छन् ।
० मधेशको मुड कस्तो देख्नुहुन्छ ?
— यो स्थानीय निर्वाचनमा मधेशी पार्टीहरुले जानाजान मधेशको सवाल, मधेशीहरुको अधिकारको सवाललाई उठाइरहेका छैनन् । मान्छेले नपढ्ने, चर्चा नगर्ने घोषणापत्रमा जे लेखेपनि भयो । तर कुनै नेताहरु आमसभाहरुमा हाम्रो पार्टीलाई जिताउनुस्, हामी अधिकारका लागि संघर्ष गर्छु भन्ने कुरा भनिरहेको छैन । उनीहरु त्यो बाटोमै जान चाहँदैनन्, यो कुरा सम्झाउन नै चाहँदैनन् । मधेशी जनताको पनि मुड कस्तो देखिन्छ भने अब जसले भारी बोक्नै सक्दैन, जो कमजोर छ, त्यसको टाउकोमा यो अधिकारको भारी बोकाएर के गर्ने ? भनेपछि यिनीहरु केही गर्नै सक्दैन, अधिकारको आन्दोलनलाई अगाडि बढाउनै सक्दैन, यिनीहरु बेइमान हुन्, यस्तो स्थितिमा हामीलाई मुखिया चाहिएको छ । त्यसकारणले आफ्नो अनुकूल यति आफ्नै जातिका छन् भने त्यसलाई उठाइदिउँ, नभए जुन पार्टीमा छौं त्यसैलाई जिताउदिउँ । यसरी हेर्दा सामान्यरुपमा एउटा लिडरभन्दा पनि पदाधिकारीको चयनमा मधेश अभ्यस्त देखिन्छ ।
० यो चुनावमा तपाइँको तराई मधेश राष्ट्रिय अभियानको कस्तो भूमिका रहन्छ त ?
— यो चुनावमा हाम्रो कुनै भूमिका छैन । यो चुनावमा हामी स्वाभाविकरुपले सहभागी पनि छैनौं । मैले मधेशको मुडको चर्चा गरें, एक्लो बृहस्पति जस्तै हो । धेरै शास्त्रार्थ भएर पनि कोही सुन्नेवाला छैन । दारु, पानी, पैसा, साधन स्रोतको ठूलो चर्चा छ । विकृत निर्वाचनमा अलिकति विचारवान् मान्छेहरुले ठूलो कुनै भूमिका निर्वाह गर्न सक्दैनन् ।
मोदीको लुम्बिनी भ्रमण
० छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्रको लुम्बिनी भ्रमण जेठ २ गते हुँदैछ, यसलाई कसरी हेर्नुभएको छ ?
— भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण नेपालको लागि राम्रो हो । बुद्ध जयन्तीको दिन पारेर भारतका प्रधानमन्त्री नेपाल आउँदै हुनुहुन्छ । हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित विषयहरु भारतको गृह राजनीतिमा भारतीय जनता पार्टीको एजेण्डाभित्र पर्दछ । उहाँ यसअघि मुक्तिनाथ गएर विभिन्न प्रकारले धर्मभाव देखाएर भारतको धेरै ठूलो जनमतलाई प्रभावित पार्नुभयो । यस्तै, बुद्ध सर्किटको धेरै ठूलो एजेण्डा भाजपाले अगाडि सारेको छ । बुद्धका एकदमै महत्वपूर्ण चार वटा स्थानहरुमध्ये तीन वटा भारतमा छन् जुन बुद्धको जन्मभूमि नेपाल हो । उहाँ यो मौकामा नेपाल आएर आफ्नो देशभित्र आफ्नो जनमतलाई धेरै ठूलो प्रभाव पार्ने काम गर्नुहुनेछ । नेपालीहरुलाई पनि एउटा सन्देश दिनुहुनेछ कि मोदी भन्ने मान्छे वा भाजपा नेपालीहरुको एउटा नजिकको नेता हो । यद्यपि यो भ्रमणमा कुनै सन्धि सम्झौता हुने छैन । यसबाट नेपालका लागि पनि राम्रो सन्देश जानेछ । भारतमा कोही कसैले चुस्स केही बोलिदियो भने नेपालमा भारतविरोधी भावना फैलाउनेहरु सक्रिय हुन्छन् । त्यसकारणले, मोदी लुम्बिनी आउनुको मतलब भारत सरकारले औपचारिकरुपमा यस्ता फजुल कुराहरुमा पर्दैन, लुम्बिनी बुद्धको जन्मस्थल नै हो भन्ने मान्यता राख्दछ भन्ने कुरा देखिन्छ ।
अर्को कुरा बुद्ध धर्मावलम्बीहरु त संसारभरि छन् । विश्व राजनीतिमा प्रभाव राख्ने महाशक्ति राष्ट्र भारतका भारत प्रधानमन्त्री बुद्ध जयन्तीको दिन नेपाल आउँदा दुनियाँभर बुद्धिस्टहरुको ध्यान पनि लुम्बिनीतिर आउँछ । समग्रमा मोदीको लुम्बिनी भ्रमण नेपालको हितको विषय हो । नेपालले चाह्यो भने यो कुरालाई राम्ररी बजारीकरण गर्न सक्छ । नेपालको पर्यटन, धार्मिक पर्यटन र मित्रराष्ट्रसँगको व्यवहारमा धेरै राम्रो भूमिका खेल्न सक्छ । त्यसकारणले यो सकारात्मक हो ।
० यो एउटा धार्मिक भ्रमण मात्रै हो कि रणनीतिक कुराहरु पनि छन् ?
— यत्रो ठूलो शक्तिशाली नेता कुन लुगा लगाएर नेपाल आउँछन्, त्यसको पनि चर्चा हुन्छ । त्यसको पनि असर पर्छ । विश्लेषक र नेताहरुले त्यसको पनि मूल्यांकन गर्छन् । यस्ता भ्रमणहरुको एउटै निष्कर्ष हुँदैन । यसले धेरै अर्थहरु राख्दछ, धेरै कोणबाट यसको मूल्यांकन गर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया