प्रदेशको सरकार भ्रष्टाचारको नाङ्गो नाच नाच्दैछ

अन्तर्वार्ता

डा.सुरेन्द्र झा, नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

० लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटघाट, छलफल बाक्लिएको छ, सरकारमा जाने तयारी हो ?

— सरकारमा जाने तयारीको रुपमा भेटघाटलाई लिनु हुँदैन । निश्चितरुपमा हाम्रो अध्यक्ष प्रधानमन्त्रीसँग निरन्तर सम्वाद र छलफलमा हुनुहुन्छ । त्यो छलफल र सम्वादको परिणाम पनि आयो । नागरिकता विधेयक दुवै सदनबाट पास भएको छ । नागरिकता विधेयक पास गर्नुपर्छ, आफ्नो नागरिकलाई अनागरिक बनाएर राख्नु हुँदैन भनेर लोसपाले माग उठाउँदै आएको थियो । त्यसैले हाम्रो भेटघाट भनेको सरकारमा जानका लागि होइन । त्यसैगरी, मधेश–थरुहट आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा फिर्ताका लागि गृहमन्त्री बालकृष्ण खाँड र लोसपाका नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसहितको एउटा कार्यदल बनेको छ । सो कार्यदलले आफ्नो कार्य अगाडि बढाएको छ । हाम्रो भेटघाट भनेको मधेश–थरुहट लगायतका मुद्दाहरुको सम्बोधनका लागि हो । जुनसुकै सरकार बन्दा पनि ती समस्याहरु सम्बोधनका लागि सम्वाद र सहकार्य पनि हुँदै आएको छ । जहिले पनि हामीले मुद्दा सम्बोधनका लागि दबाब दिँदै आएका छौं । हामीले सत्तालाई प्राथमिकतामा राखेका छैनौं ।

० भनेपछि लोसपा अहिले सरकारमा जाँदैन ?

— हाम्रो पार्टीका अध्यक्षसँग सम्वाद हुँदा प्रधानमन्त्रीले भन्नुहुन्छ कि सँगै सहकार्य गरेर अगाडि बढौं । तर, सरकारमा सहभागी होऔं, कुन–कुन मन्त्रालय, कति मन्त्रालयबारे ठोस रुपमा कुरा भएको छैन । हाम्रो अध्यक्षले जहिले भेट्दा पनि हाम्रो एजेण्डाप्रति न्याय होस् भन्नुहुन्छ । यो विषय प्रवेश गरेको छैन । लोसपाले जहिले पनि मधेश–थरुहट आन्दोलनको एजेण्डालाई नै प्राथमिकतामा राखेको छ । सत्ताको विषयलाई हामीले प्राथमिकताका साथ उठाएका छैनौं ।

० लोसपाको चुनावी तयारी कस्तो भइरहेको छ ?

— हामीले आवधिक चुनावलाई मानेरै पार्टी खोलेका हौं । लोकतान्त्रिक पार्टीहरु चुनावमा भाग लिनु सहज र आवश्यक प्रक्रियाभित्र पर्दछ । त्यस हिसावले हामीले क्रियाकलाप चुनावकै तयारी हो । चुनावी तयारीकै स्वरुप हामीले सत्ता र प्रतिपक्ष दलसँग सम्वादमा छौं । हामी राष्ट्रिय पार्टी भएपनि तराई–मधेश हाम्रो आधार क्षेत्र हो । मधेशका नागरिकले हेरिरहेका छन् कि लोसपाले कुन ढंगले मधेश–थरुहट आन्दोलनसँग सम्बन्धित मुद्दाहरुको सम्बोधनको सवालमा कसरी आफ्नो चट्टानी अडान दर्साउँदै आएको छ । एकातिर हामी एजेण्डामा न्याय गर्न तदारुकताका साथ लागेका छौं । अर्कोतिर पार्टीको सांगठनिक संरचनाहरु पनि अगाडि बढाइरहेका छौं ।

० लोसपाको चुनावी तालमेल वा गठबन्धन कुन दलसँग हुने हो ?

— अहिले चुनावी गठबन्धन वा सहकार्यबारे कुनै पनि दलको टुंगो लागेको छैन । पाँच दलीय गठबन्धनभित्र पनि गठबन्धनको प्रयास भइरहेको छ । त्यो गठबन्धन चुनावसम्म जान्छ भन्ने छैन । चुनावसम्म सरकार सञ्चालनको गठबन्धन चाँहि हो । बिहानदेखि बेलुका कांग्रेसलाई प्रचण्डजीले धम्काइरहनुभएको छ । त्यसैले त्यहाँ पनि प्रष्टता छैन । अर्कोतिर प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नै नेतृत्वमा आगामी सरकार बनाउने गरी बहुमत ल्याउने दाबी गरिरहेको छ । गठबन्धन बनाउने सवालमा एमाले पनि प्रष्ट देखिएको छैन । लोसपाको आधारभूमि मधेश रहेको छ । जोसँग सिट बाँडफाँडमा कम्फरटेवल हुन्छ, त्यो शक्तिहरुसँग गठबन्धन हुने हो । अर्को कुरा, मधेशमा तीन–तीन वटा मधेश विद्रोह भयो । त्यो आन्दोलनका युवा नेतृत्वहरु छन्, उहाँहरु मधेशकेन्द्रित दुईटा दलसँग धेरै सन्तुष्ट नभएका कारण निष्कृय भएर बसिरहनुभएको छ, ती सबै साथीहरुलाई लोसपामा आउनुस् भनेर आग्रह गर्न चाहन्छु । हामीले विगतमा सँगै आन्दोलन गरेका हौं, पार्टीभित्र यदि कुनै प्रकारका विकृति, विसंगति छ भने भित्र रहेर सफा गरौं । चुनाव लडेर प्रधानमन्त्री बन्छौं भनेर यो पार्टी गठन भएको होइन, हामीसँग एउटा मिसन र एजेण्डा थियो । आज प्रदेशका सरकार भ्रष्टाचारको नाङ्गो नाच नाच्दैछ ।

० आगामी चुनावमा मधेशी गठबन्धन बन्छ त ?

— सम्भावनै छैन भनेर त भन्दिँन । तर मधेशभित्रको मधेशी शक्ति जसले साँच्चिकै मधेशी, दलित, महिला, मुस्लिमको उत्थानका लागि जसले काम गर्छ, जसको जीवनशैली पनि त्यो प्रकारको छ त्यस्तो साथीहरुको समूह लोसपामा आउनुपर्छ र गठबन्धन पनि गर्नुपर्छ । लोसपा सहकार्य गर्न खुला छ । तर, त्यस्ता पात्रहरु जसले मधेशको समस्या देखाएर अकूत सम्पति आर्जन गर्ने, जहिले पनि मन्त्री बनिराख्ने, काठमाडौंमा दश वटा घर किन्ने त्यस्तालाई गठबन्धनको नाउँमा सुनपानी छर्किने जरुरी छैन । राजनीतिक शुद्धिकरणको सवालमा मधेशमा पनि शुद्धिकरणको आवश्यकता छ । त्यसैले गठबन्धनका लागि यी कुराहरु ठोसरुपमा आउनुपर्छ ।

० जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोसपालाई फेरि मिलेर जाऔं भन्ने खालका अभिव्यक्तिहरु दिइरहनुभएको छ नि ?

— यो कुरा उपेन्द्रजीले बोल्न पनि सुहाउँदैन । आत्मरत्तिका लागि बोल्नु एउटा विषय हो तर उहाँलाई थाहा छ कि यो विषयमा उहाँ इमान्दार हुनुहुन्न । किनभने जसपा त तत्कालीन राजपाले बनाइदिएको हो नि । निर्वाचन आयोगमा गएर पार्टी छुटाइ पाउँ भन्ने निवेदन दिने तिनै उपेन्द्र यादवजी हो । सरकारमा जानु हुँदैन, चुनाव लड्दैनौं भन्ने तीनै उपेन्द्रजी हो । तत्कालीन तमलोपाको कार्यालयमा बैठक बसिरहँदा चोरबाटोबाट सबैभन्दा पहिले दल दर्ता गर्ने त्यहीं उपेन्द्र यादव हो । ती घटनाहरु त कसैले बिर्सेको छैन । संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौं भन्ने उपेन्द्र यादव केपी ओलीको सरकारमा १८ महिना बस्नुभयो तर कुन–कुन माग पूरा गराउनुभयो, सबै छर्लङ्गै छ । अहिले उहाँ १० महिनादेखि सरकारमा हुनुहुन्छ, मधेश आन्दोलनका कुन एजेन्डा सम्बोधन गराउन सक्नुभएको छ ?

० तर, नागरिकता विधेयक उपेन्द्र यादवजीकै कारणले आएको होइन ?

— यो त हास्यास्पद विषय हो नि । उहाँकै कारण नागरिकता विधेयक आएको भए यो भन्दा अघिल्लो सरकारले ल्याएको नागरिकता विधेयकको किन विरोध गर्दै हिंड्नुभएको थियो ? उहाँको कारणले नागरिकता विधेयक आएको भए १० महिना किन लाग्थ्यो र । उहाँले जुन दिन सरकारमा जानुभयो, पहिलो क्याबिनेटबाट ल्याएको भए भइहाल्थ्यो नि । हिजो जुन पार्टीले रमेश महतोको लाश लुट्यो आज त्यो पार्टीलाई मधेश भवनमा मन्त्री दिने त्यहीं उपेन्द्र यादव हो । मधेश सरकार त मधेशकै पार्टीहरुको थियो नि । त्यो सरकारको निरन्तरता होस् भन्ने हाम्रो चाहना थियो । रमेश महतोको लाश लुट्ने लुटेरा पार्टीलाई मधेश सरकारमा मन्त्री दिन उहाँलाई सहज भो तर मधेशकै अर्को शक्ति लोसपालाई उहाँले पचाउन सक्नुभएन । भनेपछि उहाँले फेरि लोसपासँग सहकार्यको कुरा बाहिर भनेर हुँदैन नि । त्यसैले गठबन्धन हुन सक्छ, चुनावमा पनि हामी सँगै जान सक्छौं । तर झुक्याउने हिसावले हुँदैन ।

० उपेन्द्र यादवले विगतका तितामिठा कुराहरुलाई त्यागेर नयाँ शिराबाट अगाडि बढौं भन्नुभएको छ नि ?

— उपेन्द्र यादवलाई धनी, उपप्रधानमन्त्री, भ्रष्टाचारी नेतालाई मुख्यमन्त्री बनाउन गठबन्धन गर्नुपर्ने हो र । यहाँ व्यक्तिको सवाल छैन । नयाँ शिराबाट जाउँ भनेपछि समाज, जनता, सुशासन, मधेशीले खोजेको समृद्धिलाई केन्द्रबिन्दू राखौं । व्यक्तिलाई हेरेर गठबन्धन गरियो भने ती व्यक्तिहरु १५ वर्षदेखि सत्तामै छन् त । उहाँहरुले गर्नुभएको कुरालाई जनताले देखिरहेका छन् । हिजो साइकल र मोटरसाइकलमा हिंड्ने नेताहरु मधेश आन्दोलन भइसकेपछि प्राडो किन्ने हैसियतमा पुगिसकेका छन् । मधेश आन्दोलन भनेको फगत केही नेताहरुलाई धनी बनाउनका लागि भएको हो र ? त्यसैले नयाँ शिरा भनेको मधेशलाई एउटा समृद्ध बनाउन रोडम्याप के छ ? स्रोतसाधन कहाँबाट जुटाउनुहुन्छ ? भन्ने कुराहरुको ठोस कार्यदिशा तयार गरेर अगाडि बढ्नुपर्छ । महन्थ ठाकुर, राजेन्द्र महतो वा उपेन्द्र यादवको कुरा यहाँ छैन । उहाँहरु १५ वर्षदेखि मधेशको नेता हुनुहुन्छ नै । १५ वर्ष उहाँहरुको नेतृत्वमा चलेको पार्टीहरुले मधेशलाई के दियो र भोलि तपाइँसँग के रोडम्याप छ भन्ने किसिमको आज जनअपेक्षा छ, त्यसलाई चिर्ने गरी गठबन्धन बन्नुपर्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ