० संघीय सरकारविरुद्ध आन्दोलन गर्ने तयारी किन गर्नुभएको हो ?
— पटक–पटक आन्दोलनपछि यो देशमा संघीयता आएको हो । तर, संघीयता कार्यान्वयन गरी आवश्यक हक अधिकार संघीय सरकारले दिएको छैन । हामी आफ्नो अधिकारका लागि सबै किसिमको संघर्ष गर्दै आएका छौँ । अहिले त खासगरी मधेश प्रहरीको कुरा छ । प्रदेश प्रहरी नहुँदा हामीलाई समस्या भएको छ । प्रहरीसम्बन्धी ऐन आइसक्दा पनि प्रहरी समायोजन गर्न संघीय सरकार आनाकानी गरिरहेको छ । त्यसैले मधेश सरकारले संघर्ष गर्नुपर्ने देखिएको छ । संघीय सरकारकै कारण आफूहरू संघर्षमा जाने तयारी गरेका छौँ ।
० तपाईँहरूको कार्यकाल पनि केही महिनापछि सकिँदैछ । चुनावको मिति पनि घोषणा भइसकेको छ । यस्तो बेला संघर्ष किन गर्नुप¥यो ?
— आफ्नो अधिकारका लागि जहिले पनि संघर्ष गर्नुपर्छ । जसले अधिकारका लागि बोल्न र लड्न सिकेका छन् उनीहरूले संघर्ष गर्छ । चुनाव भएर के हुन्छ । संघीय सरकारले सहज रूपमा अधिकार दिए भइहाल्यो नि । हामीले चुनाव बिथोल्न खोजेको पनि होइन । हामीले एक दिन भए पनि आफ्नो अधिकारका लागि लड्ने छौँ ।
० प्रदेशसभाबाट एक वर्षअघि नै प्रहरी ऐन आइसकेको हो । यतिका समयसम्म तपाईँहरूले केही गर्नुभएन । अनि अहिले चुनावका बेला आन्दोलन गर्छु भन्नु कत्तिको तर्क संगत हो ?
— माओवादीको प्रदेशमा सहभागिता भएको एक वर्ष भयो । प्रदेशका नामाकरण पनि भयो, राजधानी पनि तिकियो । हामीले एक वर्षदेखि नै संघर्ष गर्दै आएका छौँ । हामीले आफ्नो अधिकारका लागि अदालतमा मुद्दा पनि लडिरहेका छौँ । सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूसँग जनकपुरधाममा सातबुँदे घोषणा पनि जारी भयो । हामीले सरकारमा सहभागी भएदेखि नै अधिकारका लागि लडिरहेका छौँ ।
० अदालतमा मुद्दा चल्दैछ अनि आन्दोलन नै किन ?
— हामीले अधिकार लागि विभिन्न कोणबाट संघर्ष गर्नुपर्ने हुन्छ । अदालतमा सुनुवाइको काम भइरहेको अवस्था छ । हामीले शान्तिपूर्ण तरिकाले संघर्ष गरिरहेका छौँ ।
० संघमा तपाईँहरूकै सरकार होइन ? आफ्नो सरकारविरुद्ध आन्दोलन किन ?
— घरमा अधिकार दिएन भने छोराछोरीले विद्रोह गर्छन् कि गर्दैनन् ? संघर्ष गर्छन् कि गर्दैनन् ? आफ्नो बुवासँग पनि मान्छेले संघर्ष गर्छन् । जन्मदिने आमासँग पनि संघर्ष गर्छन् । आमासँग रोएर वा कराएर भए पनि बच्चाहरू आफ्नो हकका लागि संघर्ष गर्छन्, होइन र ? अधिकारका लागि हामीले आफ्नो दलसँग पनि लडेका थियौँ ।
० गठबन्धनमा रहेको आफ्नो दलका दबाब दिन सक्नुहुन्थ्यो नि ?
— कसले भन्यो हामीले आफ्नो दललाई दबाब दिएका छैनौँ भनेर । हामीले पार्टीको हरेक बैठकमा दबाब दिइरहेका छौँ ।
० सातदिने अल्टिमेटम दिनुभएको छ । माग पूरा भएन भने कस्तो किसिमको आन्दोलन गर्नुहुन्छ ?
— आन्दोलनको स्वरूप त परिस्थितिअनुसार हुनेछ । ज्ञापनपत्र दिने बेलामा क्याविनेट मन्त्रीले राज्यमन्त्रीलाई सम्झिनुभएन । उहाँहरू आफै जानुभयो । तर, मन्त्रिपरिषद्को सदस्यका नाताले उहाँहरूले लिने निर्णयमा हाम्रो सहयोग रहन्छ । आन्दोलनको स्वरूप प्रकृतिअनुसार परिवर्तन पनि हुन सक्छ । पहिला ज्ञापनपत्र दिइयो । अहिले सात दिनको अल्टिमेटम दिएका छौँ । सात दिनमा केही भएन भने फेरि सर्वदलीय बैठक बस्नेछ । त्यसबाट आउने निर्णयअनुसार हामी अगाडि बढ्ने छौँ ।
० सडक आन्दोलन गर्नुहुन्छ ?
— अहिले ज्ञापनपत्रकै योजना छ । २२ गते हामीले ज्ञापनपत्र बुझाउँदै छौँ । त्यसपछि सर्वदलीय बैठकले नै निशानिर्देश गर्छ । परिस्थितअनुसार आन्दोलनको स्वरूप हुन्छ ।
० परिस्थितिअनुसार सडक आन्दोलन पनि हुन सक्छ ?
— परिस्थितिअनुसार त्यो पनि हुन सक्छ ।
० मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रममा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको छ । यसलाई कुन रूपमा लिनुभएको छ ?
— यसमा तपाईँ नै विश्लेषण गर्नुहोस् । किन ग¥यो ? कसरी ग¥यो ? भन्दाखेरि कतै न कतै विभेदको स्वरूप जस्तो लाग्छ । यो मेरो व्यक्तिगत धारणा हो । मलाई त्यस्तो लागेको छ । तर, प्रदेशका जो कोहीलाई पनि गल्ती गर्ने छुट छैन । यो मुद्दा आन्दोलनमा गएको हो । अदालत छिनोफानो गर्ने कुरामा हामीले धेरै बोल्न मिल्दैन ।
० भ्रष्टाचारको विषयमा मन्त्रिपरिषद्मा कुरा हुन्छ कि हुँदैन ?
— मन्त्रिपरिषद्मा हामी छौँ । यो कुरा मलाईभन्दा क्याबिनेट मन्त्रीलाई सोध्दा राम्रो हुन्छ । मन्त्रिपरिषद्मा मेरो प्रत्यक्ष सहभागिता हुँदैन । त्यसैले तपाईँबाट हामीले सुन्छौँ । यो विषयमा धेरै कुरा बोल्न सक्दिनँ ।
० मधेश सरकार भ्रष्ट भएको हो ?
— मधेश सरकार भ्रष्ट भएको हो भने त्यसको छानबिन हुनुपर्छ । प्रमाणित गरोस् । हामीले भ्रष्टाचार भएको देखेका छौनौँ । हामीले कानुनसम्मत काम भएको कुरा देखिरहेका छौँ । भ्रष्टाचार गरका छौँ कि छैनौँ भन्ने कुरा छुट्याउन सकेका छैनौँ । सम्बन्धित निकायले छानबिन गरोस् ।
० मुख्यमन्त्री कत्ति दोषी देख्नुहुन्छ ?
— त्यो त सम्बन्धित निकायले जाँच गर्ने हो । मलाई त लाग्दैन मुख्यमन्त्री दोषी होला भनेर ।
० मुख्यमन्त्रीको मातहत रहेका बेला भएको यो विषयमा उहाँले जिम्मेवारी लिनुपर्दैन ? उहाँ मौन देखिनुभएको छ नि ?
— यो कुरामा म धेरै बोल्न सक्दिनँ । नीति र कानुनभन्दा बाहिर गएको जस्तो मलाई लाग्दैन । अख्तियारले आफ्नो काम गर्छ । अदालतले आफ्नो काम गर्छ । सरकारले गर्ने काम सरकारले गर्छ ।
० मुख्यमन्त्री कार्यालय भ्रष्टाचार मुद्दा मुछिसकेपछि मुख्यमन्त्रीको नैतिकता के देख्नुहुन्छ ?
— मुख्यमन्त्रीले छानबिन नगर भनेर पनि भनेको छैन । अख्तियारले आफ्नो काम गरेको छ । यसमा कस्को नैतिकताको कुरा गर्नुभएको छ । त्यो प्रष्ट छैन ।
० मुख्यमन्त्रीले राजीनामा दिनुपर्दैन ?
— दोषी नठहरिएसम्म उहाँले राजीनामा किन दिने ? यो प्रश्न मुख्यमन्त्रीसँग गर्दा राम्रो हुन्थ्यो । यो कुरा प्रमाणित नभएसम्म, दोषी नठहरिएसम्म, दुनियाले आरोप लगाएको भरमा राजीनामा दिने कुरा तर्क संगत छैन ।
० नेकपा माओवादी केन्द्र मधेश प्रदेशमा कमजोर हुँदै गएको हो ?
— हामी जनतामा कमजोर छैनौँ । माओवादी सर्वहाराको पक्षमा, अन्यायमा परेकाको पक्षमा, किसानको पक्षमा सँधै आवाज उठाएको पार्टी हो । संघर्ष गर्दै आएको पार्टी हो । चुनावमा विभिन्न किसिमका कुरा हुन्छन् । जातिगत कुरा हुन्छ । यी सबै कारण हामी अलि कमजोर देखिएका छौँ । सत्तामा हामी अलि कमजोर देखिएका छौँ । तर, जनतामा हामी कमजोर छैनौँ । माओवादी अहिले पनि बलियो छ । जनताका लागि माओवादीले हिजो पनि संघर्ष गरेका थिए । आज पनि संघर्ष गरिरहेका छन् । भोलि पनि संघर्ष गर्न तयार छ ।
० जनअभिमत माओवादीको पक्षमा देखिएन नि ?
— यो पूँजीवादी युग हो । समाज पूँजीवादमा छ । विभिन्न पाटो हुन्छन् । हामीले जनतालाई बुझाउन नसकेको हुँला । कतै न कतै हाम्रो पनि कमजोरी होला । हामीले संविधानमा ल्याएका अधिकारका कुराहरू, संघर्षका कुराहरू जनतालाई बुझाउन सकेनौँ कि ।
० माओवादीले कहाँ कहाँ सुधार गर्नुपर्ने हुन्छ ?
— हामीले पाएको अधिकार र उपलब्धिका कुराहरूबारे जनतामा सचेतना दिनुपर्ने हुन्छ । रूपान्तरणका लागि समाजवादको आवश्यकता छ भन्ने कुरा जनतालाई बुझाउनुपर्नेछ । जनतालाई बुझाउन सक्यौँ भने हामी एक नम्बर पार्टी बन्छौँ ।
० चुनावको तयारी कसरी भइरहेको छ ?
— आ–आफ्नो पालिकामा नेताहरू चुनावको तयारीमा जुटेका छन् ।
० मधेशमा गठबन्धन बनाएर चुनावमा जानु हुन्छ कि एक्लै लड्नु हुन्छ ?
— यो केन्द्रले निर्णय गर्छ । केन्द्रले गर्ने निर्णयअनुसार हामी अगाडि बढ्छौँ ।
तपाईको प्रतिक्रिया