० जनमत पार्टी पहिलोपटक आमनिर्वाचनमा सहभागी हुँदैछ, कस्तो तयारी भइरहेको छ ?
— निश्चितरुपमा जनमत पार्टी पहिलोपटक आमनिर्वाचनमा सहभागी हुँदैछ, यसअघि स्थानीय तहको चुनावमा हामी भाग लिएका थियौं । स्थानीय चुनावमा अपेक्षाअनुसार परिणाम नआएपनि उत्साहजनक नै परिणाम आएको छ । लोकप्रिय मतको हिसावले जनमत पार्टी आठौं स्थानमा रहेको छ । त्यसैले, आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा हामीले राम्रो र सम्मानजनक स्थान प्राप्त गर्छौं भन्ने विश्वास छ ।
० चुनावी तयारी कस्तो भइरहेको छ ?
— हामी प्रत्येक जिल्लामा चुनावी तयारीस्वरुप नेता कार्यकर्ताहरु खटाइसकेका छौं । हाम्रा अध्यक्ष डा.सीके राउतले पनि चुनावलाई मध्यनजर आफ्नो कार्यतालिका नै सार्वजनिक गरिसक्नुभएको छ । हाम्रा अध्यक्ष डा.राउत जहिले पनि जनताकै बीचमा रहँदै आउनुभएको छ । मधेशमा हरेक क्षेत्रमा हामीले सशक्त उम्मेद्वारहरु खडा गर्नेछौं । अर्को कुरा हामीले योग्य, सक्षम र क्षमतावान उम्मेद्वारका लागि आह्वान पनि गरेका छौं । त्यसैले, हाम्रो चुनावी तयारी जोडतोडका साथ भइरहेको छ ।
० मधेश प्रदेशमा मात्र जनमत बलियो देखिन्छ नि ?
— होइन, गत स्थानीय चुनावमा हामीले लगभग हरेक प्रदेशमा आफ्ना उम्मेद्वार खडा गरेका थियौं । मधेशको २०सै जिल्लामा हाम्रो संगठन छ ।
० तर, स्थानीय चुनावमा त्यो जनअभिमत देखिएन नि ?
— स्थानीय चुनाव र आमचुनावको माहौल फरक हुन्छ । स्थानीय चुनावमा स्थानीय मुद्दाहरु हुन्छन्, यसका विभिन्न कारकहरु हुन्छन् । स्थानीय चुनावमा मतदाताले पार्टीभन्दा पनि व्यक्तिलाई विशेष महत्व दिन्छन् । अर्को कुरा स्थानीय निर्वाचन जुन किसिमले स्वच्छ र निष्पक्ष हुनुपर्ने थियो, त्यो भएन । मतदानको दुई दिन अघिसम्म धेरै ठाउँमा क्लिनस्वीप गर्ने माहोल थियो तर यसबीचमा धेरै चलखेल भयो, पैसाको खोलो बगाइयो । जसकारणले अपेक्षाअनुसार परिणाम आएन । त्यसकारणले हामी निर्वाचन आयोगलाई पनि आग्रह गर्न चाहन्छौं कि आगामी चुनाव निष्पक्ष होस् ।
० जनमत पार्टी एक्लै चुनाव लड्ने साहस गरिरहेको देखिएन, गठबन्धनको प्रयासमा छ, किन ?
— जनमत पार्टी एक्लै पनि चुनाव लड्न तयार छ । तर, अहिले राजनीतिक दलहरुबीच ध्रुवीकरण बढेको छ । सबभन्दा पूराना र स्थापित दलहरुले त एक्लै लड्न डराइसकेका छन् । एकातर्फ पाँच दलीय गठबन्धन छ, त्यसमा पनि अन्य दलहरु मिसिन खोजिरहेका छन् । अहिलेको पाँच दलीय गठबन्धन पनि स्पष्ट छैन । ती दलहरुबीच भागवण्डा नै मिलिरहेको छैन । गठबन्धनका दलहरुबीच नै घात–अन्तर्घातको अवस्था छ । गत स्थानीय चुनावमा सबै दलहरुबीच गठबन्धन थियो तर हामी एक्लै प्रतिस्पर्धा ग¥यौं । तैपनि हाम्रो परिणाम उत्साहजनक नै आयो । हामीले चुनावी समीक्षा गर्दा सबै दलहरु गठबन्धन गरिरहेका छन् भने हामी पनि मुद्दा र विचार मिल्ने दलसँग गठबन्धन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं । अहिले हामी चुनावी गठबन्धनको प्रयासमा छौं, भयो भने ठिक छ, नभएपनि हामी एक्लै लड्ने हो ।
० जनमत पार्टीका नेता कार्यकर्ताहरु खासगरी मधेशकेन्द्रित दलहरुको कडा आलोचना गर्दै आएका थिए, तर अहिले ती दलहरुसँगै गठबन्धनको प्रयासमा हुनुहुन्छ, किन ?
— राजनीतिमा कोही कसैको स्थायी शत्रु वा मित्र हुँदैन । आवश्यकता र औचित्यको आधारमा सहकार्य वा तालमेल हुने हो । अहिलेको आवश्यकता भनेको संघीय र प्रादेशिक संसदमा मधेशको प्रतिनिधित्वको बढीभन्दा बढी होस् । त्यहींअनुरुप हाम्रा अध्यक्ष डा.सीके राउतले जसपा र लोसपाका नेतृत्वसँग गठबन्धन वा चुनावी सहकार्यको प्रस्ताव गर्नुभएको हो ।
० जसपा र लोसपासँग गठबन्धन हुने सम्भावना कतिको छ ?
— मधेशी शक्तिहरुबीच गठबन्धनका लागि हामी खुला छौं । त्यसका लागि हाम्रा नेतृत्वले मधेशी शक्तिहरुसँग वार्ता र सम्वाद जारी राख्नुभएको छ । अर्कोतिर सांसद रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग पनि चुनावी सहकार्य वा तालमेलका लागि प्रक्रिया अगाडि बढाएका छौं ।
० तपाइँले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँग पनि भेट्नुभयो, के–के कुरा भयो त ?
— मैले डा.बाबुराम भट्टराईसँग समसामयिक राजनीतिक विषयवस्तुमा भेटवार्ता गरेको हुँ । आगामी चुनावमा हामी एक–अर्कासँग कसरी सहकार्य गर्ने, सहयोग गर्ने लगायतका विषयमा छलफल भएको हो । उहाँ सकारात्मक विचारधाराका मान्छे हो । उहाँ देशको अवस्थाप्रति चिन्तित हुनुहुन्छ । देशको अवस्था सुधार्न हामी नयाँ विचारधारा र परिवर्तनका सोचका शक्तिहरु मिलेर सहकार्य गरौं भन्ने उहाँको पनि चाहना छ । डा.सीके राउतको पार्टी र डा.बाबुराम भट्टराईको पार्टीबीच सहकार्य होस् भन्ने चाहना हो मेरो । यो कतिको सफल हुन्छ त्यो त समयले देखाउँला ।
० जनमत पार्टीले गठबन्धनका लागि के–के आधारहरु तयार गरेको छ ?
— मुख्यतः एजेण्डा नै हो । हामीले आआफ्नो पकड क्षेत्रको आधारमा सिट बाँडफाँड गर्नुपर्ने हुन्छ । खासगरी यो चुनावी सहकार्य मात्रै हो । त्यो हिसावले जुनसुकै दल वा समूहसँग सहकार्य हुनसक्छ । हामी यदि गठबन्धन नै ग¥यौं भने लगभग २० ठाउँमा जित्ने अवस्था रहेको छ । त्यो हिसावले हामी करिब ३०–३५ सिटका लागि दाबेदारी गर्छौं । यस्तै, हामीले आँकलन गरेअनुसार समानुपातिक मत करिब ८–९ लाखसम्म आउँछ । जसले गर्दा हामी प्रदेश र सघीय सदनमा एउटा निर्णायक शक्तिको रुपमा आउन सक्छौं । हामी प्रजातान्त्रिक विचारधाराका शक्ति हौं । सोहीअनुसार त्यस्ता दलहरुसँग गठबन्धनका लागि प्रयासरत् छौं । यो एउटा चुनावी रणनीति मात्रै हो ।
० जनमत पार्टी कति ठाउँबाट आफ्नो उम्मेद्वार दिँदैछ ?
— हामी तराई–मधेशका लगभग सबै जिल्लाबाट उम्मेद्वारी दिने तयारीमा छौं । यसका साथै पहाडका जिल्लाहरुमा पनि उम्मेद्वार खडा गर्न सक्छौं । गत स्थानीय चुनावमा काठमाडौं, ललितपुर, पोखराबाट पनि उम्मेद्वार खडा गरेका थियौं, जसमा हामीले मत पनि पाएका थियौं । तसर्थ, हामीले सबै ठाउँबाट उम्मेद्वारीका लागि खुल्ला आह्वान पनि गरेका छौं । जो उम्मेद्वार सक्षम र योग्य छन्, जनतामाझ लोकप्रिय छन् तर कुनै पार्टीले टिकट दिएन भने हामीले स्वागत गर्छौं ।
० जनमत पार्टीको चुनावी एजेण्डाहरु के–के छन् ?
— हामीले हरेक घरमा रोजगारी, १० लाख युवाका लागि रोजगार सिर्जना गर्ने, भ्रष्टाचार निवारण, पर्यावरण रक्षा, किसानका समस्या समाधान लगायतका विषयहरु हाम्रो प्राथमिकतामा छन् । खासगरी जनताको जनजीविकासँग जोडिएका मुद्दाहरुलाई हामीले जोडतोडका साथ उठाउँदै आएका छौं । यी कुराहरुलाई नीतिगतरुपमा लागू गराउन जनताले हामीले विश्वास गर्नेछन् । हामी अहिलेसम्म कुनै पनि नीति निर्माण गर्ने ठाउँमा पुग्न सकेका छैनौं । यी कुराहरुलाई कार्यान्वयनका लागि संसदमा पहुँच हुनैपर्छ । तसर्थ, यी कुराहरुलाई जनताले बुझ्नुभएको छ । हामी दृढ संकल्पि छौं र जनताले मौका दियो भने गरेर देखाउने छौं । हामीले भन्ने गरेका छौं, ‘सबको देखे बार–बार, अब कि बार जनमत सरकार’ । यिनै हाम्रो नारा हो । हामीले गरेका प्रतिबद्धताहरु यदि पूरा गर्न सकेनौं भने फेरि अर्को चुनावले जनताले त्यसको मूल्यांकन गर्नेछ तर एक पटक हामीले काम गर्ने अवसर चाहेका छौं । हामीले किसानका लागि लामो संघर्ष ग¥यौं, भ्रष्टाचारका विरुद्धमा आन्दोलन ग¥यौं, ती कुराहरु जनताले हेरेका छन् । त्यसैले हामीले विश्वास गर्छन् भन्ने अपेक्षा गरेका छौं ।
० अब फरक प्रसंग, जनमत पार्टीले नेपाल–भारत सम्बन्धलाई हेरिरहेको छ ?
— नेपाल र भारतबीचको सम्बन्ध दुई देशबीचको मात्रै नभएर जनता–जनताबीचको सदियौंदेखिको अटुट सम्बन्ध हो । भारतसँग हाम्रो पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक लगायत बहुआयामिक सम्बन्ध सदियौंदेखि रहँदै आएको छ । यो सम्बन्धमा कहिल्यै पनि उतार–चढाव आएको छैन । सरकार–सरकारबीच कहिलेकाहीं सम्बन्धमा चिसोपना आएको हामी सुन्छौं तर त्यसको असर जनता–जनताबीको सम्बन्धमा कुनै असर गरेको हुँदैन । भारत हाम्रो एउटा अभिन्न मित्र पनि हो । भारतले हरेक अप्ठ्यारामा सबभन्दा पहिलो सहयोगी बनेर उभिरहेको हुन्छ । तसर्थ, नेपाल र भारतबीचको यो बहुआयामिक सम्बन्धलाई कसैले पनि बिगार्न सक्दैन । दिनप्रति दिन यो सम्बनध बलियो, सुमधुर र प्रगाढ हुँदै गएको छ ।
तपाईको प्रतिक्रिया