समुद्र मन्थनरुपी निर्वाचनबाट विकल्प खोज्ने अवसर जनताले पाएका छन् : ई.साह

अन्तर्वार्ता

ई.सत्यानारायण साह, समाजसेवी

० मंसिर ४ गतेको आमचुनावलाई तपाइँ कसरी हेर्दै हुनुहुन्छ ?

— नियमितरुपमा हुनुपर्ने निर्वाचनको रुपमा मंसिर ४ गतेको आमनिर्वाचन घोषणा भएको छ । यो स्वाभाविकरुपमा हुनुपर्ने नै हो र यसमा सबै सहभागी हुनुपर्छ ।

० यो निर्वाचनलाई पहिलाको निर्वाचनभन्दा कतिको फरक छ ?

— एउटा कुरा त निश्चितरुपमा देखिएको छ कि जनताले अपेक्षा गरेका कुराहरु अहिलेका दलहरुबाट पूरा हुन सकेन । शतप्रतिशत जनताको अपेक्षा पूरा गर्न सकिँदैन तर अलिकति पनि सन्तोषजनक अवस्था देखिएको छैन । जुन किसिमले जनताको आकांक्षा र इच्छामाथि दलहरुबाट कुठाराघात हुँदै गयो, त्यसबाट पक्कै पनि निराशा उत्पन्न भएको छ । असल नेतृत्व नपाएकोले पनि यस्तो भएको होला । त्यसैले असल नेतृत्वको खोजीमा अहिले पनि नेपाली जनता भौतारिरहेका छन् ।

० भनेपछि आमजनता अहिलेका दलहरुको विकल्प खोजिरहेका छन् ?

— दलको विकल्प त दल नै हुन्छ । तर दुर्भाग्यको कुरा कुन दललाई राम्रो भन्ने ? अहिले बडो विडम्बनापूर्ण स्थिति छ । जनताका अगाडि विकल्प भएन । यो समुद्र मन्थनरुपी जुन निर्वाचन भइरहेको छ, यसबाट विकल्पको खोजी गर्ने अवसर पनि जनताले पाएका छन् ।

० यी दलहरुका विकल्प स्वतन्त्र हुन सक्छन् ?

— दलहरुको विकल्प त स्वतन्त्र हुँदैन, दलको विकल्प दल नै हुन्छ । तर स्वतन्त्रहरु मिलेर एउटा दलको निर्माण गर्न नसकिने होइन । स्वतन्त्रहरु मिल्यो भने एउटा बलियो दलको रुपमा आउन सक्छ । हाम्रो संवैधानिक व्यवस्थाअनुसार बहुदलीय प्रणालीलाई अँगालेको छ । असल स्वतन्त्र व्यक्तिहरुको समूह मिल्यो भने एउटा दलको निर्माण हुन सक्छ । अथवा अहिले भएकै दलहरुमा समाहित भएर त्यसमा शुद्धिकरण गर्न सक्ने क्षमता भयो भने पनि अगाडि बढ्न सकिन्छ ।

० तपाइँको कर्मभूमिको रुपमा मधेश प्रदेशको राजधानी जनकपुरधाम रहेको छ, मधेशको चुनावी अवस्थालाई कसरी हेर्नुभएको छ ?

— मेरो जन्मभूमि त महोत्तरीको एकडारा हो, कर्मभूमिको रुपमा जनकपुरधाम रहेको छ । मेरो पढाइ–लेखाइदेखि थुप्रै सामाजिक, साहित्यिक, स्वास्थ्य, शिक्षा, सांस्कृतिक, धार्मिक, अध्यात्मिक कार्यहरु जनकपुरमै बसेर गरें । यी कार्यहरु गरेकोले जनकपुरधाममा मेरो छुट्टै पहिचान रहेको छ । अर्को कुरा म विद्यार्थीकालदेखि नै प्रजातान्त्रिक आन्दोलनहरुमा सहभागी हुँदै आएको थिएँ । हाम्रो हरेक क्रियाकलाप लोकतान्त्रिक प्रक्रियाबाट निर्देशित रहेको छ । वि.सं. २०४६ सालको आन्दोलनमा पनि मेरो सक्रिय भूमिका रहेको थियो । कुनै पार्टीमा मेरो संलग्नता नभएकोले म एउटा स्वतन्त्र बुद्धिजीबीको रुपमा काम गर्दै आएको छु । लोकतन्त्रको रक्षार्थ म जतिबेला पनि जोसँग आफ्नो कुरा राख्ने गरेको छु ।

मधेश आन्दोलनमा पनि मेरो सक्रिय भूमिका रहेको थियो । आन्दोलनहरु सफल पनि भए, एउटा ट्रयाकमा पनि आयो । जनताका अपेक्षाहरु पूरा गर्दै जाने, विकासका कार्यहरु अगाडि बढ्दै जाने कुरामा अहिले पनि दलहरु लागेको देखिँदैन । अहिलेको अवस्था हेर्ने हो भने विकृति र विसंगतिहरु बढ्यो । सबभन्दा बढी विकृत्तिको सुरुवात निर्वाचनबाट नै हुने गरेको छ । अहिलेको निर्वाचन कतिको महँगिएको छ भन्ने कुरा जगजाहेर नै छ । करोडौं रुपैयाँ नभइकन एउटा इमान्दार व्यक्ति चुनाव लड्ने हिम्मत नै गर्दैनन् । देश र समाजका लागि योगदान दिन सक्छु भन्ने इच्छा हुँदाहुँदै पनि असल मान्छे निर्वाचनबाट जितेर आउन एकदमै गाह्रो छ । यो सबभन्दा ठूलो विकृत्ति हो । पहाडमा भन्दा मधेशमा एकदम बढी विकृत निर्वाचन देखिएको छ । पहाडभन्दा मधेशमा एकदमै खर्चिलो निर्वाचन क्रियाकलापहरु भइरहेका छन् । यो विकृत्तिलाई सबभन्दा पहिला हटाउनुपर्ने दायित्व मधेशका जनताको हो । यसमा सबभन्दा बढी दोषी नेताहरु छन् । निर्वाचनमा उम्मेद्वार दिने नेताहरुले त्यस्ता क्रियाकलापलाई बढाइरहेका हुन्छन् ।

० यो विकृत्तिको दोषी नेता मात्रै छन् कि जनता पनि छन्, जसले पैसा लिएर आफ्नो मत बेच्छन् ?

— यो विकृत्ति आउनुको पछाडि नेता मात्रै त होइन मतदाता पनि दोषी छन् । तर सिधासाधा जनतालाई नेताहरुले विभिन्न प्रलोभनमा पारेर यस्तो भइरहेका छन् । नेता भनेको त देश र समाजमा सुशासन ल्याउने हो तर त्यसको ठिक विपरीत गरिरहेका हुन्छन् । जनतालाई शिक्षित बनाउने, समाजमा चेतना जगाउने, विकास र समृद्धि गर्ने काम नेताको हो । त्यसैले मतदाता पनि दोषी हुन् तर बढी दोषी नेताहरु हुन् ।

० आगामी चुनावमा धनुषा क्षेत्र नं. ३ बाट तपाइँ पनि उम्मेद्वारी दिँदै हुनुहुन्छ भन्ने चर्चा छ नि ?

— वि.सं. २०४६ सालपछि जति पनि निर्वाचनहरु भएका छन्, ती सबै निर्वाचनमा मेरो उम्मेद्मवारीबारे चर्चा हुँदै आएको छ । त्यसको पछाडिको कुरा के पनि हुन सक्छ भने जनकपुरधामको हरेक क्रियाकलापमा मेरो सहभागिता रहँदै आएको छ । ती योगदानले गर्दा आमजनता अथवा बौद्धिकवर्गमा मेरो चर्चा हुने गरेको होला । यस्तो चर्चालाई म स्वाभाविक नै ठान्दछु । किनभने अहिले जुन किसिमको विकल्पको खोजीमा जनता भौतारिँदैछन्, त्यो विकल्पको रुपमा ई.सत्यनारायण साह पनि हुनसक्छन् कि भन्ने अपेक्षालाई अस्वाभाविक ठान्दिँन ।

० जनताले तपाइँलाई जनप्रतिनिधिको रुपमा हेर्न चाहन्छन् भने किन पन्छिन खोज्दै हुनुहुन्छ ?

— मेरो मनसाय के हो भने हामीजस्ता बौद्धिक व्यक्तिहरु सक्रिय राजनीतिमा नलागौं, देश र जनताका लागि थिंक ट्यांकको रुपमा काम गरौं । लोकतन्त्र मजबुत भयो भने हामी सबैको आकांक्षा पूरा हुन्छ । लोकतन्त्रलाई मजबुत बनाउने काम समाजका बौद्धिक वर्गलगायत सबैको हो । अहिले मुलुकमा एक हिसावले विकराल स्थिति नै छ । विकराल मात्रै होइन, विकृत्तिपूर्ण अवस्था छ । यदि हामी एउटा वैकल्पिक माध्यम बन्न सक्यौं भने म पन्छिनेवाला छैन । तर म यसलाई एउटा अभियानको रुपमा लिएर जान चाहन्छु ।

० तपाइँ जस्ता बुद्धिजीबीहरुले राजनीतिक फोहोर छ, विकृत्तिपूर्ण छ भनेर आफ्नो दायित्व पूरा हुन्छ त ?

— यसरी त दायित्व पूरा हुँदैन । ती विकृत्ति र विसंगतिलाई हटाउन हामीजस्ता बौद्धिकवर्ग अगाडि बढ्नैपर्छ । यो तपाइँको एकदमै जायज प्रश्न हो । त्यस्तो अवस्था आयो भने म पछि हट्दिँन । म यदि चुनावमा उम्मेद्वारको रुपमा गएँ भने जित्नभन्दा पनि विकृत्तिलाई हटाउने अभियानमा लाग्छु । यदि १० प्रतिशत पनि आफ्नो अभियानमा सफल भएँ भने त्यो नै मेरो लागि सफलता हुनेछ ।

० आगामी चुनावमा तपाइँ पनि जनप्रतिनिधिको रुपमा आउने वातावरण बन्दैछ ?

— हेर्दै जाउँ, अवस्था कस्तो आउँछ, के आउँछ । यदि मभन्दा पनि बढी बुझ्ने, यी विकृत्तिहरुलाई हटाउन सक्ने सक्षम साथीहरु आउनुभयो भने उहाँहरुलाई म सहयोग गर्न जतिबेला पनि तत्पर हुन्छु । तर मेरो एउटै कुरा के हो भने यस अभियानलाई म अगाडि लिएर जान्छु । हाम्रो समाजबाट विकृत्तिहरु हटोस् ।

० तपाइँले उम्मेद्वारी दिने अवस्था आयो भने कुनै दलबाट कि स्वतन्त्र ?

— मैले अहिलेसम्म कुनै दलबाट उम्मेद्वारी दिनेबारे सोचेको छैन । कुनै पनि राजनीतिक दलमा मेरो आबद्धता छैन । हुन त जनकपुरधाममा भएका जति पनि दलहरु छन्, राष्ट्रिय वा क्षेत्रीय ती सबैका नेताहरुसँग मेरो कुराकानी हुन्छ । तर पनि म कुनै खास दलको बारेमा विचार गरेको छैन । अहिले मेरो एउटै अर्जुनदृष्टि भनेको जनताको मनमा जुन एउटा वितृष्णा उत्पन्न भएको छ दलहरुप्रति, त्यो वितृष्णालाई कसरी हटाउन सकिन्छ । त्यो वितृष्णालाई अध्ययन गर्ने हो भने दलमा संलग्न भएर जाने वा नजाने अथवा कुनै खास दलको सहयोग–समर्थन लिएर जाने ती कुराहरु पछिको हो ।

० तपाइँको रोजाइ प्रदेश कि प्रतिनिधिसभा ?

— यदि त्यस्तै अवस्था आयो भने म प्रतिनिधिसभाका लागि उम्मेद्वारी दिनेछु ।

० स्वतन्त्ररुपमा नै प्रतिनिधिसभामा उम्मेद्वारी दिनुहुन्छ ?

— त्यस्तै अवस्था प¥यो भने स्वतन्त्रबाट नै उम्मेद्वारी दिन सक्छु ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ