‘मधेशकेन्द्रित दलहरू एक ठाउँमा आएनन् भने जनताले माफ गर्दैन’

अन्तर्वार्ता

राजीव झा, नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

० आसन्न प्रतिनिधिसभा र प्रदेशको चुनावको तयारी लोसपाले कसरी गर्दैछ ?

— कुनै पनि एउटा चुनाव सकिने वित्तिकै अर्को चुनावको तयारी गर्न थाल्नु स्वभाविकै हो । लोसपाले पनि चुनावको तयारी थालेको छ । देश नै चुनावमय भइसकेको अवस्थामा राजनीतिकर्मीहरू स्वभाविक रूपमा चुनावको तयारी गर्छन् । नामावलीहरू छनौट भइरहेका छन् । अन्य पार्टी जस्तै हाम्रो पार्टीमा पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारहरूका नाम सिफारिस भइरहेको छ । लोकतान्त्रिक विधिअनुसार छनौट प्रक्रिया अगाडि बढेको छ । अहिलेको गठबन्धन स्वार्थको गठबन्धन हो । कुनै नेतालाई कसरी जिताउन सकिन्छ भन्ने मनशायले गठबन्धन गरिएको हो । आफ्नो क्षेत्रमा काम नगर्ने र जनताको मूल्यांकनमा नगर्नेहरू डराएका छन् । गठबन्धन भनेको त्यही डराउनेहरूको झण्ड हो । सिद्धान्त नमिल्ने, मुद्दा नमिल्ने, नदीको दुई किनाराका कांग्रेस र नेकपा एससहितका दलहरूको यो गठबन्धन हो । कांग्रेस, माओवादी, जसपालगायत यी दलहरूको सिद्धान्त नै मिल्दैन । जसपाको कुरा गर्ने हो भने जति ठूलो आफूलाई राष्ट्रिय पार्टी भने पनि स्थानीय तह चुनावमा कति भोट पाएको छ, कति भोट मधेशबाट र कति भोट पहाडबाट पाएको भन्ने कुरा चुनावमा छर्लङ भइसकेको छ । जसपाले मधेशका दलसँग गठबन्धन नगरी आफ्नै जनतासँग डराएको छ । अरुको झुण्डमा सामेल हुनु राम्रो कुरो होइन । यो देश सय जनाले आफ्नो कब्जामा राखेका छन् । देशलाई फेरि शेरबहादुर देउवा किन प्रधानमन्त्री चाहियो ? किन ओली चाहियो ? अहिले काठमाडौमा हेर्नुस् । बालेन साहले तत्कालै काठमाडौले मुहार फेर्न थालिसक्यो । हो, देशलाई यस्तो नेताको आवश्यकता छ । गन्हाइसकेका नेताको देशलाई आवश्यकता छैन । गठबन्धन स्वार्थीहरूको झुण्ड हो । गठबन्धन मधेशवादी दलमा हुनुपर्छ । प्रजातान्त्रिक धार भएका पार्टीहरूबीच गठबन्धन हुनुपर्छ । सात पुस्तेका लागि धन कसरी आर्जन गर्ने गेम भइरहेको छ ।

० तर, यही गठबन्धनमा लोसपा पनि जाने प्रयास गरेको थियो नि ?

— यस्ता व्यक्ति हाम्रो पार्टीमा पनि होला । चुनाव जित्ने कि नजित्ने भनेर डराइरहेकाहरू हुन सक्ला । तर, लोकतान्त्रिक समाजवादी पार्टी मुद्दा बेश पार्टी हो । क्याडर बेस पार्टी हो । लोसपा पार्टी राजपा कालदेखि नै आफ्नो मुद्दामा अडिग रहेको पार्टी हो । लोसपालाई त कुनै बेला प्रधानमन्त्रीको पनि अफर आएको थियो । तर, आफ्नो मुद्दा र सिद्धान्तका लागि पछाडि नहेटर अध्यक्ष महन्त ठाकुरजी प्रधानमन्त्री बन्नु भएन । हामीले हाम्रा मुद्दाका विषयमा कुरा गरेका हौँ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा भोट हाल्दा सहमति भएको थियो । रेशम चौधरीलगायत मधेश आन्दोलनका क्रममा मुद्दा लगाइएको मुद्दा फिर्ता गर्ने भनेर । नागरिकताको समस्या समाधान हुनुपर्छ । यी मुद्दाहरू लोसपाले उठान गरेको हो । त्यसकारण यो पार्टी सरकारमा गएन ।

० पाँच दलीय गठबन्धन वा एमाले कसैसँग चुनावी सहकार्य हुँदैन ?

— लोसपा एउटा सानो पार्टी हो । पूर्ण बहुमतको सरकार बनाउने हामीसँग शक्ति छैन । त्यो शक्ति भएको भए कसैसँग गठबन्धन गर्ने आवश्यकता नै पर्ने थिएन । हामी त गरिब जस्तो हो । गरिबको आफ्नो नीति सिद्धान्त हुँदैन । गरिबलाई खाना चाहिन्छ । खानाका लागि को मालिक भनेर छुट्याउँदैन । आफू काम गरेर खाने हो । त्यसरी नै लोसपा एउटा क्याडर बेस पार्टी हो । लोसपा मुद्दा बेस पार्टी हो । मुद्दा सम्बोधन गराउन काम गर्नेसँग लोसपा जान सक्छ । लोसपा आफैं संविधान संशोधन गराउने हैसियतको पार्टी होइन । अधिकारविहीनहरूको माग मुद्दा सम्बोधन गर्न जसले सहयोग गर्छ, उसँग लोसपा जान्छ । हाम्रो सिद्धान्त नै यही हो ।

० मधेशी शक्ति एक भएर चुनाव जानु पर्छ भनेर तपाईँहरूले भन्दै आउनुभएको छ । के का लागि एक भएर चुनावमा जानुपर्छ ?

— मधेशको मुद्दा समाधान गर्नका लागि, जनजातिको मुद्दा समाधान गर्नका लागि गठन भएका पार्टीहरू एक ठाउँमा बस्नुपर्छ । एक ठाउँमा बसे मात्र मुद्दा मजबुत हुन्छ । मजबुतीका साथ हामी मुद्दा उठाउन सक्छौँ । संविधान संशोधनलगायत माग मुद्दाहरू सम्बोधन हुन सक्छ । यसका लागि एक ठाउँमा आउनै पर्छ । त्यतिबेला केपी ओलीको सरकारका बेला उपेन्द्रजी १८ महिना बस्नुभयो । एकजुट भएको भए हाम्रो माग मुद्दा सम्बोधन हुन्थ्यो । त्यहाँबाट निकालिए पनि अर्को सरकारमा कसरी मन्त्री बन्नेतर्फ उहाँहरू लाग्नुभयो । विगतमा सपा र राजपा मिलेर प्रदेशमा सरकार बनाए जस्तो अहिले पनि मिलेर अघि बढ्नुपर्ने थियो । मधेशी शक्ति मिलेर अघि बढेको भए कसैको पिछलग्गु भएर जानुपर्ने अवस्था आउने बाला थिएन । आज पनि दुवै पार्टीको अध्यक्षलाई सचेत हुन आग्रह गर्दैछु । आउने पुस्ताले माफ गर्ने बाला छैन । मधेशवादी दलहरू एक हुन सकेनन् भने आफ्नो पुस्ताले आफ्नो अधिकारका लागि आवाज उठाउने हिम्मत गर्न सक्ने छैन ।

० मधेशी दलहरू यो चुनावमा एक ठाउँमा आउने सम्भावना छ ?

— हुनुपर्छ । मधेश केन्द्रित दलहरू एक ठाउँमा आएनन् भने अधिकारविहीन मधेशका जनताले माफ गर्नेबाला छैन । मरेपछि पुण्यतिथि होइन होली र दिपावली उनीहरूले मनाउने छन् । मधेशी दलहरूलाइ एक ठाउँमा ल्याउनका लागि कार्यकर्ताहरूले दबाब दिनुपर्छ । पार्टीका क्याडरहरू क्षेत्रमा गाउँमा जानुपर्छ । उनीहरूले जनताका कुरा सुन्नुपर्छ । उनीहरूले आ–आफ्नो केन्द्रीय अध्यक्षलाई दबाब दिन सक्नुपर्छ । सहमतिमा ल्याएर गठबन्धन बनाउनुपर्छ ।

० तर, त्यस्तो अवस्था देखिएको छैन नि ?

— सम्भावना बनाउनुपर्छ ।

० तपाईँ पनि चुनाव लड्ने भनेर चर्चा चलेको थियो । तर, हालसम्म कहिँबाट सिफारिस भएको सुनिएको छैन । के छ तयारी ?

— मलाई मेरो क्षेत्रका जनताले माया गरेकै छन् । मलाई धनुषा क्षेत्र नम्बर २ को १ को क बाट पनि सोधेको थियो । धनुषाको प्रतिनिधिसभामा उम्मेदवारी दिनुहुन्छ कि भनेर सोधिएको थियो । धनुषा ३ क बाट पनि मलाई सोधिएको हो । मिटिङबाटै फोन आएको थियो । नाम राखू कि नराखू भनेर । म काठमाडौमा भएको कारण त्यहाँ जान पाइनँ । तर, अहिलेको परिस्थिति र भ्रष्टहरूको समाजमा क्षेत्रलाई बनाउन सकिँदैन । म जनताका लागि पदमा पुगेर पनि केही गर्न सक्दिनँ । यस्तो आभाष केही दिनदेखि मलाई लागिरहेको छ । यो देश लुटेराहरूले कब्जा गरिसकेका छन् । म त्यसको मतियार बन्न चाहदिनँ । त्यसैले म तपाईँकै कार्यक्रमबाट घोषणा गर्दछु कि न त म चुनाव लड्छु न त म समानुपातिकमा जान्छु । म आफ्नो जनताका लागि न्याय गर्ने सक्ने कुरा मलाई लागेपछि त्यो दिन म चुनाव लड्छु ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ