जनता राज स्थापनाका लागि हामी चुनावमा होमिरहेका छौं

अन्तर्वार्ता

अब्दुल खान, उपाध्यक्ष, जनमत पार्टी

० आसन्न निर्वाचनका लागि सबै पार्टीहरुले आआफ्ना उम्मेद्वारहरु सिफारिस गरिरहेका छन्, तर जनमत पार्टीको तर्फबाट उम्मेद्वार को हुने देखिएका छैनन् नि ?

— हामी अहिले उम्मेद्वार छनौटको प्रक्रियामा नै छौं । हाम्रो केन्द्रीय समितिको बैठकले निर्णय गरेका थियौं कि उम्मेद्वार मनोनयन दर्ताको एक दिन अगाडिसम्म हामीले उम्मेद्वारको छनौट गर्नेछौं । हाम्रो पार्टीभित्रका साथीहरु र बाहिरका पनि जो जनमत पार्टीबाट चुनाव लड्न इच्छुक हुनुहुन्छ, उहाँले हाम्रो फर्म भर्न सक्नुहुन्छ । त्यसैले अहिले हामीले फारम संकलनको काम भइरहेको छ । अहिले नै हामीले जनमत पार्टीका उम्मेद्वार सार्वजनिक गर्दैनौं । अहिले एउटा क्षेत्रबाट २÷३ जनाको पनि नाम आइरहेका छन् । त्यसबाट छनौट गरेर कसको जनाधार कस्तो रहेछ, चुनावमा जित्न सक्छ, त्यस्ता उम्मेद्वारहरुको नामावली तयारी गरिरहेका छौं ।

० जनमत पार्टीबाट उम्मेद्वार बन्न मापदण्ड के छ ?

— जनमत पार्टीबाट उम्मेद्वार बन्न चुनाव सम्बन्धी अनुभव भएको, यसअघि कुनै चुनावमा सहभागिता जनाएको, नभए कम्तीमा दुई–चार वर्षसम्म फिल्डमा काम गरेको हुनुपर्ने र अलिकति आर्थिकरुपमा निर्वाचनमा खर्च गर्न सक्नेलाई प्राथमिकतामा राखेका छौं ।

० पैसा खर्च गर्न नसक्ने उम्मेद्वार बन्न पाउँदैन ?

— पैसा खर्च गर्न नसक्ने भन्दा पनि निर्वाचन आयोगले तय गरेको मापदण्डअनुसार खर्च गर्न सक्ने हुनुपर्छ । मिनिमम स्रोतको व्यवस्थापन गर्न सक्ने हुनुपर्छ ।

० चुनावमा मधेशकेन्द्रित शक्तिहरुबीच सहकार्य हुनुपर्छ भन्ने आमजनताको चाहना हो, यसको सम्भावना कतिको छ ?

— चुनावमा मधेशका सबै शक्तिहरु एक ठाउँमा आउनुपर्छ भन्ने चाहना सही हो । अहिले जुन पाँच दलीय गठबन्धन रहेको छ त्यो समग्र नेपाली जनताका लागि धोका हो । हामीले एजेण्डा मिल्ने दलहरुसँग गठबन्धन हुनुपर्छ भन्ने चाहेका छौं । तर पाँच दलीय गठबन्धनमा कोही कसैसँग एजेण्डा मिलेको छैन, सत्ता स्वार्थका लागि अप्राकृतिक गठबन्धन बनाइएको हो । त्यस्तो गठबन्धन भनेको देशकै लागि दुर्भाग्य हो ।

० जनमत पार्टीले कुनै दलसँग गठबन्धन गर्दैन ?

— अहिले हाम्रो गठबन्धन भइसकेको छैन । एजेण्डा मिल्ने राजनीतिक शक्तिहरुसँग कुराकानी चलिरहेको छ । जुन दलसँग हाम्रो एजेण्डा मिल्छ, कुरा मिल्छ त्योसँग सहकार्य हुन्छ । गठबन्धनभन्दा पनि हामी तालमेल गर्न सक्छौं । जिल्ला र क्षेत्रस्तरमा तालमेल हुनसक्छ । गठबन्धन हुने अवस्था अहिले छैन ।

० डा.सीके राउतले जसपा र लोसपाका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । किन कुरा अगाडि बढ्न सकेन ?

— मधेशी जनताले चाहिरहेका छन् कि मधेशी शक्तिहरु एक ठाउँमा आउनुपर्छ । त्यो भावनाको कदर गर्दै देश र मधेशको मुद्दा सम्बोधन गराउन हाम्रो अध्यक्ष डा.सीके राउतले जसपा र लोसपाका अध्यक्षहरु समक्ष गएर आफ्ना कुरा राख्नुभो । तर उहाँहरुबाट कुनै ठोस कदम चालिएको पाइएन । त्यसकारण, कुनै ठोस सम्वाद पनि भइरहेको छैन ।

० भनेपछि यो चुनावमा मधेशी शक्तिहरुबीच चुनावी सहकार्य वा तालमेल हुने सम्भावना न्यून छ ?

— उहाँहरुले हामीलाई वास्ता नै गरिरहनु भएको छैन । उहाँहरु ठूला दललाई नै समातेर अगाडि बढ्न खोजिरहनुभएको छ । कोही कांग्रेसको पछि लागेको छ भने कोही एमालेको पछि । त्यसकारणले उहाँहरुले चाहनुभयो भने हुन सक्छा । नभए हामी मात्रै चाहेर हुँदैन ।

० रेशम लालको नागरिक उन्मुक्ति पार्टीसँग पनि चुनावी सहकार्यको कुरा आएको थियो नि ?

— रेशमजीको पार्टीसँग हाम्रो कुराहरु भइरहेका छन् । क्षेत्र र जिल्लास्तरमा सहकार्य बारे अहिले पनि कुरा भइरहेको छ । उहाँहरु सकारात्मक हुनुहुन्छ तर केही प्राविधिक कुराहरु मिलाउन बाँकी छ । तर ठोस रुपमा अहिले निष्कर्ष निस्केको छैन ।

० जनमत पार्टीले कहाँ–कहाँबाट आफ्नो उम्मेद्वारी दिन्छ ?

— हामीले अहिलेसम्म लगभग ६ वटा प्रदेशबाट आफ्नो उम्मेद्वार उठाउने तयारीमा गरेका छन् । ती सबै प्रदेशमा प्रत्यक्ष र समानुपातिक उम्मेद्वार खडा गर्छौं । हामीले उम्मेद्वारका लागि खुल्ला आह्वान गरेका थियौं । विभिन्न प्रदेशबाट उम्मेद्वारहरुले फारम भरिरहेका छन् ।

० ठूल–ठूला गठबन्धनहरुसँग चुनावमा प्रतिस्पर्धा गर्न कतिको चुनौती महसुस हुन्छ ?

— चुनौती त अवश्य नै हुन्छ । उनीहरुले जसरी पनि चुनाव जित्नका लागि गठबन्धन बनाएका छन् । यसलाई जनताले बुझ्नुपर्छ । यो गठबन्धनबाट देश र जनताका लागि कुनै परिवर्तन हुन्छ भन्ने नसोच्दा पनि हुन्छ, झन् दुर्भाग्यतर्फ हाम्रो देश जान्छ । यो गठबन्धनले षड्यन्त्र गरेर भोलि बहुमतका साथ सरकार बनायो भने यहाँ तानाशाही प्रवृत्ति हावी हुन्छ । हामी दिनरात जनताको बीचमा छौं ।

० जनमत पार्टीको चुनावी एजेण्डा के–के छन् ?

— हामीले यसअघि पनि आफ्नो एजेण्डा जनता समक्ष प्रस्तुत गरिसकेका छौं । गाँस, बास, कपास, शिक्षा, रोजगारी लगायतका आधारभूत कुराको सुनिश्चित गर्नुपर्छ । सुशासनको मुद्दालाई हामी जोडदार तरिकाले उठाएका छौं । भ्रष्टाचारमुक्त देश बनाउनका लागि डिजिटल डेमोक्रेसी लागू हुनुपर्छ भन्ने एजेण्डाका साथ हामी जनतामा गइरहेका छौं । जनता राज स्थापनाका लागि हामी चुनावमा होमिरहेका छौं । यस्तै, हामीले १० लाख युवाको रोजगारी कार्यक्रमअन्तर्गत एक घर एक रोजगारी हाम्रो एजेण्डा हो ।

० तपाइँहरुले १० लाख युवालाई रोजगारीको कुरा त धेरै पहिलादेखि नै गरिरहनुभएको छ, तर त्यसको सुरुवात पनि भएको छैन नि ?

— हामीले त्यसको सुरुवात कसरी गर्ने त । हामीसँग अहिले स्रोत साधन छैन, कुनै सरकारमा गएका छैनौं । जनताले हामीलाई एक पटकका लागि मात्रै जिताएर संसदमा पठाओस्, यदि हामी गर्न सकेनौं भने अर्को पटक दण्डित गरोस् । तर पहिला हामीलाई एक पटक मौका त दिनुप¥यो ।

० जनमत पार्टीले त स्थानीय तहमा पनि जितेको छ नि ?

— हाम्रो पार्टी जितेको स्थानीय तहमा नयाँ उद्योग खोल्ने प्रक्रिया सुरु भइसकेको छ । त्यहाँ रोजगारी दिने वार्ता बनाइरहेका छौं । अहिले रासन कार्ड, किसान कार्ड दिइरहेका छौं । अहिले हामीले सकेजति गरिरहेका छौं । हामीलाई जनताले त्यो ठाउँमा पु¥याओस् न । १० लाख रोजगारी ठूलो कुरा होइन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ