स्वतन्त्रहरूको उम्मेद्वारीले बहुदलीयतालाई कुनै आघात पुग्दैन : सरिता गिरी

अन्तर्वार्ता

सरिता गिरी, पूर्वसांसद एवं सिरहा १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वार

० तपाइँले सिरहा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । स्वतन्त्रबाट नै किन उम्मेद्वारी दिने निर्णयमा पुग्नुभयो त ?

— मैले स्वतन्त्र उम्मेद्वारी दिने भनेर घोषणा मात्रै गरेको होइन, डेढ महिनादेखि चुनावी प्रचारसमेत गर्दै आएको छु । स्वतन्त्र उम्मेद्वारी अहिलेको समयको आवश्यकता हो । किनभने शासन गर्ने प्रमुख राजनीतिक पार्टीहरु संविधान र कानूनअनुरुप काम गर्न सकिरहेका छैनन् । त्यस अवस्थामा एउटा दबाबका लागि दलहरुमा सुधारको प्रक्रिया कसरी अगाडि अढोस् र मुलुकको शासन, प्रशासन कसरी अगाडि बढोस् जसले गर्दा यो संविधानका लक्ष्यहरु कसरी हासिल गर्न सकौं भनेर धेरै सोचविचार गरेर मैले यो निर्णयमा पुगेको हुँ ।

० अन्य दलहरुले तपाइँलाई टिकट दिने अवस्था नदेखेर स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको हो नि ?

— म यो विषयमा प्रवेश गर्न चाहन्नँ । मलाई जुनसुकै दलबाट कम्तीमा समानुपातिकमा सांसद भई नै हाल्थे । तर मैले विगत केही समयदेखि जसपाको सांसद हुँदा संसदमा जुन किसिमका घटनाहरु देखेँ, त्यो कुराको मन्थन मेरो मनमष्तिस्कमा चलिरहन्थ्यो । ती अनुभवलाई समेटेर कसरी अगाडि जाने भन्ने कुरामा गहन विचार गरेको हुँ । मुख्यतः दुई कारणले गर्दा म स्वतन्त्रबाट नै उम्मेद्वारी दिने भनेर ठोस निर्णयमा पुगेँ । चाहे त्यो प्रजातान्त्रिक समाजवाद होस्, चाहे बहुदलीय जनवाद होस् वा माओवादीले ल्याउन खोजेको वैज्ञानिक समाजवाद होस्, यी सबै राजनीतिक दर्शनमा तानाशाहीको व्यवहार देखेको छु । अहिलेसम्मको संसदमा हामीले कहिले बहुमत र अल्पमतको सरकार बनेको देखेका छौं ती सरकारहरुले संसदलाई विघटन गरेको हो । माओवादीको कुरा गर्दा डा.बाबुराम भट्टराईले संविधानसभा नै विघटित गरिदिनुभो । जनआन्दोलनर मधेश विद्रोहपश्चात् हामीले जुन परिवर्तनको अपेक्षा गरेका थियौं, त्यसअनुसार हामीले संघीय संरचनासमेत पाएका छैनौं । अहिलेका दलहरुले संविधानअनुसार विभेद पनि हटाउन असफल देखिएका छन् ।

उहाँहरुको दर्शन, सिद्धान्त केहो भने नेपालमा राजनीतिक समस्याहरु समाधान भइसक्यो, यो मुलुकमा राजनीतिक समस्या छैन भन्ने धारणा हो । तर अहिले राजनीतिक न्याय पनि पाएका छैनन् । बहिष्करणमा परेका समुदायहरु अहिले पनि न्याय पाएका छैनन् । आर्थिक न्याय र स्वतन्त्रता नभईकन आर्थिक न्याय र स्वतन्त्रता हुँदैन । राजनीतिक न्यायका लागि सबभन्दा पहिला सन् १९३० मा इटलीका एक जना समाजवादी चिन्तकले कलम चलाएका थिए । उनले लिवरल सोसलिजममा एउटा पहिला एउटा ह्याण्डबुक लेखे । उनको अवधारणा थियो कि कहिल्यै पनि राजनीतिक स्वतन्त्रताबाट विचलित भइकन समाजवाद आउन सक्दैन । त्यसले गर्दा यी नयाँ कुराहरु राख्न ठाउँ देखिनँ । मैले सद्भावना पार्टीमा पनि प्रवेश गरुें कि केही काम गर्न सकौं । तर त्यहाँको वतावरण त्यस्तो अनुकूल देखिनँ । त्यहाँ सैद्धान्ति छलफलका लागि त्यस्तो खालको वातावरण पनि मैले भेटाइनँ । त्यसपछि चुपचाप म आफूलाई अलग गरें । मेरो दिमागमा जुन कुराहरु चलिरहेको थियो, ती कुराहरु प्राप्तिका लागि एउटा राजनीतिक प्रतिनिधित्व सबभन्दा महत्वपूर्ण हो । त्यसरी मैले ती सबै कुराहरु जनताको बीचमा लैजाने निष्कर्षमा पुगें ।

अहिलेको सूचकांकलाई हेर्ने हो भने हामीले जुन कुरा सद्भावना पार्टीमा हुँदा भनेको थिएँ, त्योभन्दा पनि दयनीय अवस्थामा आज पनि मुलुक छ । मधेशबाट ७५–८० प्रतिशतसम्म कर आउँछ, तर त्योअनुसारको विकासको बजेट मधेशमा जाँदैन । त्यसलेगर्दा मानव विकास सूचकांक एकदमै कमजोर छ । सबभन्दा बढी उत्पादन दिने प्रदेशको रुपमा मधेश हो तर त्यहाँ पुँजीगत खर्चको विवरण हेर्ने हो भने एकदमै दयनीय छ । यी कुराहरु कहाँ बोल्ने ? मैले संसदमा कुरा उठाउँदा एउटा सांसदको अभिव्यक्तिको अधिकार संसद जस्तो ठाउँमा सुरक्षा छैन भने नेपालमा कहाँ हुन्छ ।

० तपाइँको यत्रो लामो राजनीतिक इतिहास छ, तपाइँले नेपालमा बहुदलीय प्रणालीका लागि पनि संघर्ष गर्नुभएको छ । तर अहिले तपाइँ दलको विकल्प खोजिरहनुभएको छ नि ?

— हेर्नुस्, विकल्प भनेको रिप्लेश गर्ने होइन । भारतका स्वतन्त्रता सेनानी, समाजवादी चिन्तक जयप्रकाश नारायण्नमन लेखनमा पढ्नुभयो भने भारत स्वतन्त्र भइेपछि भारतको समाजमा भ्रष्टाचार, जातिवाद लगायतका समस्याहरु हेरेर लेख्नुभएको थियो । त्यसैले जयप्रकाशजीले भन्नुभएको थियो कि संसदकाृ चुनाव निदर्एदलीय हुनुपर्छ । तर उहाँ किन सक्नुभएान भने स.न १९७० तिर जब इन्दिरा गान्धीले जब आपत्कालीन अवस्था लागू गरे, त्यसपछि उहाँ सम्पूर्ण क्रान्तिको बाटोमा लाग्नुभयो । उहाँको राजनीतिक चिन्तन अभ्यासमा आएन । लोतन्त्र र मानव अधिकार अहिले पनि सुरक्षित छैन । त्यसैले जहाँ योग्य, सक्षम, अनुभवी व्यक्ति यदि आउन खेज्नुभयो भने जनताले एकपटक मौका दिनुपर्छ । हाम्रो उम्मेद्वारी बहुदलीयताको विरुद्धमा छैन । तर बहुदलीयताले सिर्जित गरेको समस्याहरु र दलहरुले ती समस्या समाधान गर्न नसकेको अवस्थामा अहिले यो हाम्रो एउटा अभियान हो ।

जब सबै दलहरुले अल्पमत वा बहुमतको सरकार बनाउन सकून्, तिनीहरुले संसदलाई सुरक्षित राख्न सकेका छैनन् । पछिल्लो पटक त दुई–दुई पटक संसद विघटन भयो । त्यसमा त बहुमतको सरकार थियो । भनेपछि चाहे बहुमतको सरकार वा अल्पमतको सरकारको होस् उसले संसद विघटन गर्न पाउँदैन । त्यसैले कुनै पनि गठनबन्धनको बहुमत आउनु हुँदैन । यदि संसदमा सरकार चलाउने अवस्था छ भने संसद विघटन गर्नु हुँदैन । हामी चाहन्छौं कि कुनै पनि बहुमतको सरकार नबनोस्, अल्पमत वा स्वतन्त्रहरुको हातमा यदि संसदको सुरक्षा रह्यो भने संसद सुचारुरुपले अगाडि चल्छ । त्यसैले स्वतन्त्रहरु राम्रो संख्यामा जितेर गयो भने संसद सुरक्षित रहन्छ । त्यसले हाम्रो अभियानलो बहुदलीयतालाई कुनै आघात पुगेको छैन । बरु संसद नै सुरक्षित रहन्छ ।

० तपाइँ स्व.गजेन्द्र नारायण सिंहले स्थापना गर्नुभएको सद्भावना पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । विभिन्न कालखण्डमा सद्भावना पार्टी टुक्रा–टुक्रामा विभाजित भएर अन्त्यमा विलय नै भयो । तपाइँले किन जोगाउन सक्नुभएन त ?

— यो प्रश्न नेपाल सद्भावना पार्टी माथि मात्रै लागू हुँदैन । यो प्रश्न तमलोपा र फोरम माथि पनि लागू हुन्छ । यो सिस्टममा प्रवेश गरिसकेपछि कुनै पनि मधेशवादी दल सुरक्षित रहन सक्दैन । यो पनि एउटा कारण कि म स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको हुँ । नेपाल सद्भावना पार्टीमा मेरो राजनीतिक यात्राको कुरा गर्दा हामीले आफ्नो एजेण्डा पूरा गरेका छौं । हामी असफल भएका छैनौं । नेपाल सद्भावना पार्टीले संघीयताको अभियान चलाएको थियो, त्यसमा हामी सफल भएका छौं । नागरिकता समस्या धेरै हदसम्म समाधान भइसकेको छ । मधेशमा जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र पनि बढिसकेको हो । भाषागत सम्बन्धमा हामीले हिन्दीलाई मधेशको सम्पर्क भाषा भनेका थियौं । त्यसले गर्दा सद्भावना सफल भएको पार्टी हो । अहिलेको सिस्टम भनेको एन्टि मधेशवादी पार्टी हो । पार्टी भनेको लक्ष्य हासिल गर्नका लागि एउटा संयन्त्र हो । सद्भावना नरहेपनि जबसम्म नेपाल र मधेश रहन्छ गजेन्द्रबाबुको नाम अमर रहन्छ ।

० आगामी दिनमा तपाइँको अभियानको लक्ष्य के हो त ?

— अहिले संघीयतालाई बदनाम गर्ने एउटा षड्यन्त्र सुरु भएको छ । यहाँ केही मान्छेहरुले षड्यन्त्र गरिरहेका छन् कि संघीयतालाई यति बदनाम गरिदिउँ कि संघीयता विफल होस् । अब हामीले संघीयताको संरचनामा परिवर्तन गर्नुपर्छ । यो संविधान रहून्जेलसम्म संघीयता रहन्छ । यो संविधान खत्तम भयो भने यो भन्दा पनि शक्तिशाली संघीयता आउँछ । तर अब हाम्रो देशमा दुईटा मात्र प्रदेश हुनुप¥यो, पहाड र मधेश । मेरो एजेण्डा त्यो पनि हो । मधेशमा २५ प्रतिशतले जिल्लाको वृद्धि भएको छ भने पहाडमा १५० प्रतिशतले वृद्धि भएको छ । तर मधेशमा खोई त विकास ? मधेशमा पहाडबाट तीव्ररुपमा बढिरहेको छ । पालिकाहरुमा यतिका बजेटहरु गइरहेका छन् भने विकास किन हुन सकिरहेको छैन । त्यसैले, संघीयताको बारेमा बहस सुरु भयो भने जिल्लाबाट हुनुपर्छ । ७५३ वटा पालिकाहरु निर्माण भइसकेको अवस्थामा अझै पनि ७७ वटा जिल्ला किन चाहियो ? त्यसैले जिल्लाको संख्या घटाउनुपर्छ । जिल्लाहरु सम्बन्धित प्रदेश मातहत जानुपर्छ । संघीय संरचनाको पुनर्संरचना हुनुपर्छ । तर संघीयतालाई बदनाम गराउन जुन षड्यन्त्र भइरहेको छ, त्यसको विरुद्धमा पनि म आवाज उठाउनेछु । मेरो स्वतन्त्र उम्मेद्वारीको यो पनि एउटा उद्देश्य हो । यदि म कुनै दलमा गएको भए त्यो दलले मलाई यो एजेण्डा उठाउन दिँदैन ।

० अहिले महागठबन्धनहरु चुनावमा निर्माण भएको छ, यस्तो अवस्थामा तपाइँ जित्नुहुन्छ त ?

— म संविधानसभाको सभासद् भएको बेला र जनआन्दोलनको बेलामा पनि मैले सिरहा जिल्लामा विकासका लागि सहयोग गरेको छु । लहानको एसएस मुरारका क्याम्पसको पुस्तकालय निर्माणका लागि भारतीय राजदूतावासमार्फत् रु.५० लाख अनुदान उपलब्ध गराएको थिएँ, पछि फेरि थपियो । सिरहा जिल्लाको सबभन्दा पूरानो विद्यालयमा साढे तीन करोडको अनुदान मैले भारतीय राजदूतावासमार्फत् लग्न सहयोग गरेको छु । जब म समाजवादीको तर्फबाट सांसद भएको थिएँ, त्यो बेलामा एक अर्बको सघन सहरी विकास कार्यक्रमका लागि लहान नगरपालिकामा मैले बजेट लगेको छु । त्यो अनुसारका परियोजनाहरु अहिले निर्माणको प्रक्रियामा छन् । अर्को गरेको महत्वपूर्ण काम मध्ये झुटकी पुलका लागि म र स्व.प्रदीप गिरीजी दुवै जनाले रातो किताबमा पार्न सफल भएका हौं । यस्तै, मैले वडा नं. १० सांसद विकास कोषबाट २५ लाखको एउटा पुस्तकालय भवन बनाउन काम गरेको छु ।

लहानको हाटबजार जसमा कि २४ वटा वडाका किसानहरुको खुद्रा व्यापारीहरुको जनजीविका त्यहाँबाट चल्छ, त्यसलाई भत्काउने काम स्थानीय सरकारले गरेको थियो, मैले त्यो रोकेँ । त्यस्तै, वडा नं. ४ मा डम्पिङ्ग साइट बनाउने काम भइरहेको थियो, त्यो पनि कानूनविपरीत थियो, त्यसलाई कानूनी प्रक्रियामा गएर मैले रोकेँ । त्यसले गर्दा मैले महत्वपूर्ण कामहरु गरेको छु । एकातिर मैले राजनीतिक मुद्दाहरुलाई पनि निर्धक्क भएर उठाएको छु । दोस्रो कुरा, मैले सकारात्मक विकासका लागि पनि धेरै काम गरेको छु र नकारात्मक विकासको कामलाई रोक्ने काम गरेको छु । निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने काममा म पनि सरोकारवाला थिएँ । मधेशमा यति कम जंगल भएको ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु हुँदैन भनेर रिट निवेदन दिएको छु । वातावरण संरक्षण र नदीहरुको विकास पनि मेरो सरोकारको विषय हो । यस्तै, खानेपानीका लागि मैले वडा नं. १४ मा ठूलो परियोजना लगेको छु । त्यसैले गर्दा सिरहाको क्षेत्र नं. १ मा जनताले मलाई जनप्रतिनिधिको रुपमा जिताउने छन् । भनेपछि सिरहा क्षेत्र नं. १ बाट मैले उम्मेद्वारी दिइरहेको छु भने जित्ने आधार र कारणहरु पर्याप्त छन् । म त्यो क्षेत्रमा नयाँ पात्र पनि होइन । मेरो योगदान र कामबारे जिल्लावासीले थाहा पाउनुभएको छ ।

बस्तीपुरको बारेमा म चुप लागेको थिएँ, किनभने त्यहाँ स्व.प्रदीप गिरीजी राजनीति गरिरहनुभएको थियो । सिरहा, सप्तरी र उदयपुरका लागि बस्तीपुरको जुन घर छ जुन मेरा स्वर्गवासी ससुरा मिथुलाल गिरीजीको योगदानको चर्चा भएको छैन । लोकतन्त्रका लागि उहाँले जुन गरेको योगदान छ, त्यो ओझेलमा परेको छ । वि.सं. २००५ सालदेखि उहाँ नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य हुनुहुन्थ्यो, वि.सं. २०१५ सालमा नेपाली कांग्रेसको सभापति हुनुभएको थियो । त्यहीं कमिटीमा गजेन्द्र नारायण सिंहजी जिल्ला कमिटी सदस्य हुनुभएको थियो । बहुदल आउँदा जुन जनमत संग्रह भएको थियो, त्यो जिल्लाको उहाँले नेतृत्व लिनुभएको थियो र सिरहाबाट सबभन्दा बढी मत बहुदलको पक्षमा आएको थियो । तर, उहाँ र त्यो घरको योगदान ओझेलमा पर्दै गएको छ । लोकतन्त्रको खम्बा हो त्यो घर । त्यो इतिहासलाई म फेरि जीवित बनाइकन जनताको बीचमा ल्याउने छु । लहानबाट मेरो उम्मेद्वारीको दुईटा प्रमुख कारण हो, एउटा बस्तीपुरको घरको जुन ऐतिहासिकता र योगदान छ र दोस्रो लहानबाट जुन मधेश आन्दोलन सुरु भयो, त्यो सुरुवात गर्ने नेपाल सद्भावना पार्टीका कार्यकर्ता थिए । लोकतन्त्र, मधेश आन्दोलन, संघीयता लगायतका विषयलाई लिएर म आफ्नो उम्मेद्वारी प्रस्तुत गर्न गइरहेको छु ।

० भनेपछि जतिसुकै गठबन्धन भएपनि सिरहा १ का जनताले तपाइँलाई साथ दिन्छन् ?

— मेरो आशा छ, म आग्रह पनि गर्छु र म गठबन्धनको विरोधमा छु । यो गठबन्धन सर्वसत्तावादी हो । गठबन्धनले प्रतिगठमन सच्याएको होइन, अदालतले हो । एकचोटि प्रतिगमन सच्चिइसकेपश्चात विभिन्न पार्टीहरुको सरकार हो । यो चुनावमा गठबन्धन बनाएर जनताको चयन गर्ने अधिकारलाई खण्डित गरिरहेको छ । यो बहुदलीयताको सिद्धान्तविपरीत हो । प्रतिनिधिसभाको निर्वाचन नीति निर्माणका लागि हो । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको साझा एउटा घोषणापत्र हुनेछ ? यदि उहाँहरुको एउटा साझा घोषणापत्र छैन भने यो गठबन्धन धोका हो । त्यसैले, सर्वसत्तावादी सोच भएको यो गठबन्धन हो । स्थानीय चुनावमा जनताले मत दिने कारण फरक हुन्छ र प्रदेशसभाको निर्वाचनमा जनताले मत दिने कारण फरक हुन्छ । त्यस्तै, प्रतिनिधिसभामा मत दिने कारण नीति, राजनीतिक सिद्धान्त र दर्शन हो । यस विषयमा यदि दलहरुले आआफ्ना पक्षा प्रस्तुत गर्न सकेका छैनन् भने यो गठबन्धन धोका हो । राजनीतिक सिद्धान्तको विपरीत गइकन जनता र आफ्ना कार्यकर्तालाई भेडा बाख्रा बनाइकन जनताको मत लिन गइरहनुभएको छ भने यो सर्वसत्तावादी सोचको परिणाम हो । यदि गठबन्धनको बहुमत आयो भने यो देशमा अर्को पञ्चायती व्यवस्थाको दिन फर्किन्छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ