० दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य तपाइँको उम्मेद्वारी फेरि किन ?
— विगत पाँच वर्षको कार्यकालमा मैले जे भनेको थिएँ, त्यसमा अधिकांश कुराहरु पूरा गरेको छु । हाम्रो नारा थियो, अब कि बार मधेश सरकार अर्थात् अब हामी मधेश सरकार बनाउँछौं । त्यो कुरा हामीले पूरा ग¥यौं । त्यस्तै, मधेश आन्दोलनको सबभन्दा ठूलो एजेण्डा मधेश प्रदेश नामाकरण, त्यसमा पनि सफल भयौं । त्यसकारणले हामी मधेशी जनताको चाहना र इच्छाबमोािजम नामाकरण र राजधानी टुंग्यायौं । मैले संसदमा खेल्नुपर्ने भूमिकामा खरोरुपमा प्रस्तुत भएँ । मैले युवाको सवाल, छुवाछुत लगायतका विषयमा संसदमा आवाज उठाएँ । म करिब तीन वर्षसम्म वन, पर्यटन तथा उद्योग राज्यमन्त्रीको रुपमा काम गरें । सो क्रममा मैले मधेश प्रदेशभरि १३ लाख वृक्षरोपण गरें । पर्यावरणका निम्ति एकदमै जरुरी थियो । म राज्यमन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्र नभई आठवटै जिल्लामा काम गरेको छु ।
सिरहा जिल्लाको सर्वाङ्गिण विकासमा मेरो योगदान छ । मेरो निर्वाचन क्षेत्रमा १९ वडा छन्, हरेक टोलमा मैले विकास निर्माणका चार÷पाँच वटा काम गरेको हुँ । मेरो क्षेत्रमा पक्की सडक के हो भन्ने कुरा मैले नै निर्माण गरेको हुँ, यस अगाडि कसैले पनि गरेका थिएनन् । हरेक टोलमा सामुदायिक भवन, विद्यालय भवन, स्वास्थ्य भवन, सिंचाइ योजना, बोरिङ्ग जडान लगायतमा काम गरें । यो क्षेत्र ग्रामीण भएकोले यहाँ एम्बुलेन्सको ठूलो समस्या थियो । मैले सुविधा सम्पन्न एम्बुलेन्स ल्याएँ । त्यस्तै, अपाङ्गता भएकाहरुका लागि ह्वीलचेयरको व्यवस्था गरें । यस्तै, हरेक चौक–चौकमा सोलर बत्ती जडान गरें । त्यसैले यो क्षेत्रमा मैले राम्रो काम गरेको छु । दलित र गरीबका लागि मैले यो क्षेत्रमा ४१० वटा घरहरु बनाएको छु । विकासको सवालमा कसैले पनि ममाथि औंला उठाउने ठाउँ छैन । पहिला एउटा चलन थियो कि चुनावमा मात्रै नेता देखा पर्ने, तर म निरन्तर जनताकै बीचमा रहेर काम गर्दै आएको छु ।
० तपाइँले त धेरै काम गरेको भन्नुभयो, त्यसो हो भने मतदाताले यसपटक पनि तपाइँलाई जिताउँछन् त ?
— जनता भनेको सर्वोपरि हो । यो अधिकार जनतामै छोडिदिउँ । अहिले यहाँ जति पनि उम्मेद्वारहरु छन्, त्यसमा सबैभन्दा बढी पढेलेखेका, योग्य र पाँच वर्षको अनुभव भएको उम्मेद्वार हुँ । जमीनका मुद्दाहरु संसदमा उठाउन सक्ने क्षमता भएकोले र अरुभन्दा फरक तरिकाले काम गरेकोले जनताले पुनः मलाई जिताउँछन् भन्नेमा विश्वस्त छु ।
० तपाइँले गत निर्वाचन गर्नुभएको अधिकांश प्रतिबद्धता पूरा गरेको भन्नुभयो, गर्न बाँकी रहेका प्रतिबद्धताहरु के–के छन् ?
— यहाँ धेरै ठूल–ठूला नेताहरु आए चुनाव जितेर गए तर कसैले गर्न नसकेको काम, यो क्षेत्रको कायापलट हुने गरी, यहाँको जीवनशैलीमा परिवर्तन ल्याउने मिर्चैया–कल्याणपुर र सिरहादेखि २४ किलोमिटर आधुनिक सडक बनाउँदैछु । त्यसको टेण्डर भइसकेको छ, प्रक्रिया पनि सुरु भइसकेको छ । यो निर्माण भयो भने यो क्षेत्रको जनताका लागि धेरै ठूलो उपालब्धि हुनेछ । यहाँको आर्थिक जीवनशैली, व्यापार, रोजगार सबै प्रकारको कायापलट हुनेछ । यो मेरो ड्रिम प्रोजेक्ट थियो, जुन अहिले कार्यान्वयन हुन गइरहेको छ । अर्को कुरा, यो ग्रामीण भेग भएकोले यहाँ १२ कक्षासम्म मात्र चेलिबेटीहरु पढ्न पाउँछन् । चेलिबेटीको त्यसपछि पढाई निरन्तरताका लागि मैले डिग्रीसम्म पढाई हुने एउटा बहुमुखी क्याम्पसको अवधारणा ल्याएको छु । यो मेरो सपना हो र यसलाई पूरा गर्छु । यो क्षेत्रमा एउटा पनि सुविधासम्पन्न अस्पताल छैन । त्यसकारण मेरो दुईटा ड्रिम प्रोजेक्ट रहेको छ, एउटा प्रादेशिकस्तरको बहुमुखी क्याम्पस र अर्को सय बेडसम्मको सुविधासम्पन्न अस्पताल निर्माण गर्ने । बाँकी धेरै कामहरु पनि छन् ।
० तपाइँका चुनावी प्रतिबद्धताहरु के–के छन् ?
— मैले चुनावी घोषणाकै रुपमा यो क्षेत्रमा एउटा प्रादेशिकस्तरको बहुमुखी क्याम्पस र सय बेडको सुविधासम्पन्न अस्पताल निर्माण गर्ने रहेको छ । अर्को, यो क्षेत्रको लाइफलाइनको रुपमा निर्माण प्रक्रियाको क्रममा रहेको आधुनिक सडकलाई दुई वर्षभित्रै सम्पन्न गराउने मेरो प्रतिबद्धता रहेको छ । यसका अलावा अन्य पनि धेरै प्रतिबद्धताहरु छन् । समयको गतिसँगै वैज्ञानिकता र आधुनिकता केही आयो भने त्यो पनि म गरुँला । मप्रति जनताको कुनै गुनासो छैन । किनभने मैले गत निर्वाचनमा गरेको प्रतिबद्धतामध्ये अधिकांश पूरा गरिसकेको छु ।
० तपाइँले सामाजिक सञ्जालमा ‘हामीले व्यवस्था परिवर्तन ग¥यौं, अब अवस्था परिवर्तन गर्छौं’ भनेर लेख्नुभएको छ । त्यो के हो ?
— मधेश आन्दोलनको म एउटा ‘युथ कमाण्डर’ थिएँ । मेरो नेतृत्वमा मधेश आन्दोलन भएको थियो । त्यो आन्दोलनबाट हामीले सदियौंदेखि केन्द्रित रहेको सत्तालाई भत्काएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौं । अहिले यो देशमा सात वटा प्रादेशिक संरचना छ । त्यो व्यवस्था हामीले परिवर्तन ग¥यौं । अब अवस्था परिवर्तन गर्नुछ, त्यो भनेको आमनागरिकको जीवनशैलीमा परिवर्तन हो । अब हामीले विकास र समृद्धिको सवालमा काम गर्छौं । त्यसपछि हामीले सुशासनको सवालमा काम गर्छौं । जहाँ पायो त्यहीं भ्रष्टाचार, अनियमितता छ । त्यसलाई नियन्त्रण गर्ने ।
० तपाइँकै मुख्यमन्त्री कार्यालयमा करोडौं भ्रष्टाचार भएको आरोप छ, अनि तपाइँले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न सक्नुहुन्छ ?
— एउटै पार्टी वा घरभित्र फरक–फरक मान्छे हुन्छन् । त्यसभित्र राम्रा मान्छेहरु पनि हुन्छन् । मुख्यमन्त्री कार्यालयमा भ्रष्टाचार भएको भनेर अख्तियारले मुद्दा दर्ता गराएको छ, त्यो कानूनी प्रक्रियामा छ । अहिलेसम्म हामीले कुनै ठाउँमा मुख्यमन्त्री दोषी देखिनुभएको छैन । उहाँमाथि कुनै मुद्दा पनि लागेको छैन । जहाँसम्म मेरो सवाल छ, म सुशासन र समृद्धिको सवालमा डटेर लड्ने मान्छे हुँ । हामी यसमा कुनै सम्झौता गर्दैनौं ।
० तपाइँहरुले जुन पार्टीलाई जहिले पनि गाली गर्दै थियो, त्यहीं पार्टीसँग चुनावी सहकार्य गर्नुपर्ने बाध्यता किन आयो त ?
— नेपाली राजनीतिमा गठबन्धनको जुन ट्रेण्ड आयो त्यसको उपज हो जसपा र एमालेबीच चुनावी तालमेल । अन्य दलहरु छुट्टाछुट्टै चुनाव लडेको भए जसपा पनि एक्लै चुनाव लड्न सक्ने क्षमता भएको पार्टी हो । तर जब कांग्रेस लगायतका दलहरु गठबन्धनमा गए, अर्कोतिर एमाले पनि गठबन्धन गर्न लागेपछि हामी पनि कुनै न कुनै गठबन्धनतिर लाग्नुपर्ने बाध्यता थियो । रह्यो कुरा हामी एमालेलाई किन रोज्यौं । हामीले त कांग्रेसको गठबन्धन पनि रोजेका थियौं । तर, जब हामीले हे¥यौं कि हामीलाई कांग्रेसले कमजोर बनाउने प्रयास ग¥यो त्यसपछि हामी अर्कोतिर लागेका हौं । हाम्रो लागि कांग्रेस राम्रो र एमाले खराब भन्ने कुरा हुँदै होइन । नेपालका सम्पूर्ण उत्पीडित, उपेक्षित समुदायका निम्ति कांग्रेस, एमाले, माओवादी सबै एउटै हो । नेपालमा गठबन्धन संस्कार मौलाएको छ, त्यसैले यो बाध्यताको उपज हो ।
० गत निर्वाचनमा मधेशी गठबन्धन भएको थियो र मधेशी दलको नेतृत्वमा सरकार बन्यो । यो चुनावपछि मधेशी दलको नेतृत्वमा सरकार बन्ने सम्भावना देख्नुहुन्छ ?
— यो त जनताको हातमा छ । जनताले जुन दललाई बढी जिताउँछ उसको सरकार बन्ला । हामीले यो चुनावमा पनि मधेशी गठबन्धनको प्रयास ग¥यौं तर लोसपाले अलि बढी भाउ खोज्यो । लोसपा हामीसँग गठबन्धन गर्नै चाहेन । हाम्रा अध्यक्ष उपेन्द्र यादवले लोसपा, जनमत लगायत अन्य दलहरु सँगै चुनावमा जाउँ भनेर प्रयास गर्नुभएकै हो । लोसपाको कारणले मधेशी गठबन्धन बन्न सकेन ।
तपाईको प्रतिक्रिया