स्वतन्त्रहरूको उम्मेद्वारी एक प्रकारको सचेत विद्रोह हो

अन्तर्वार्ता

काशिन्द्र यादव (कबिर), प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेद्वार, सिरहा निर्वाचन क्षेत्र नं. ४

० प्रतिनिधिसभा सदस्यका तपाइँको स्वतन्त्र उम्मेद्वारी किन ?

— अहिले राजनीतिक परिघटना सामान्य देखिएपनि देशको राजनीतिक, सामाजिक, आर्थिक अवस्था असामान्य छ । देश अहिले संकटग्रस्त बिन्दूमा छ । मुलुक अहिले राजनीतिक विचार शून्यताको अवस्थामा पुगेको हो । जसको परिणाम सिद्धान्तलाई हत्या गरेर गठबन्धनहरु बनेका छन् । त्यो हिसावले यो विशिष्ट कालखण्डमा हामी छौं । देशको आधारभूत समस्याहरु समाधान गर्न विशिष्ट कालखण्डमा दलहरु निर्माण भएका छन् । तर, आजको दिनमा दलहरु देश र समाजका विद्यमान समस्याहरु समाधान गर्न नभई समस्याहरु निर्माण गर्न लागिपरेका छन् । दलबाट निर्वाचित हुने प्रतिनिधिहरु नेताको रुपमा नभई दलाल र माफियाको रुपमा स्थापित छन् । त्यसैले विचारविहीन र मर्यादाविहीन राजनीतिको विरुद्धमा हामीजस्तो व्यक्तिहरु स्वतन्त्र उम्मेद्वारी दिनु सचेत असहमति हो ।

० त्यसो हो भने नेपालमा दलीय प्रणालीमा असफल भइसक्यो ?

— लोकतन्त्रमा दलीय व्यवस्थाको विकल्प हुँदैन । तर, दलहरु विशेष कालखण्डमा एउटा मिशन लिएर स्थापना भएको हुन्छ । त्यो बेला मिशनरी दल हुन्छ । त्यस्ता दलहरु सत्ता सञ्चालनको भूमिका पुग्छ । त्यसमा योग्य र पढेलेखेका व्यक्तिहरु राज्यसत्ता सञ्चालनको भूमिकामा पुग्छन् । त्यसकारणले स्वतन्त्रहरुको उम्मेद्वारी भनेको एक प्रकारको विद्रोह हो ।

० अहिलेका स्थापित दलहरु खराब भएकै हो भने तपाइँहरु एउटा नयाँ दल निर्माण गरेर निर्वाचनमा भाग लिनुपर्दथ्यो नि ?

— दल निर्माणको प्रक्रिया बौद्धिक अभ्यासभित्र मात्रै पर्छ भन्ने छैन । दल निर्माण भनेको एउटा विशिष्ट कालखण्डमा ऐतिहासिक भूमिका निर्वाह गर्न संगठित प्रयास हुन्छ । हामी एउटा परिवर्तनको संघारमा पुगेका छौं । मैले समाजलाई अध्ययन गर्दा दलहरुप्रति जनआक्रोश देखें । प्रत्येक दलमा नेतृत्वपंक्तिप्रति एक किसिमको कुण्ठित मनोविज्ञान छन् । यस्तै अवस्था रह्यो भने हामीले एउटा दल निर्माण गर्ने परिघटना आउन सक्छ । हामी नेता बन्नभन्दा पनि समस्याको समाधान गर्ने अभिभारा लिएर कोही न कोही जन्मिन्छन् । त्यो दलले ऐतिहासिक संकटलाई पार लगाउँछ । त्यसकारणले यो गर्भमा रहेको यो एउटा सम्भावना हो । अहिले हामीले दलभित्रको विकृत्तिलाई कसरी सच्याउने भन्ने आधारमा स्वतन्त्र उम्मेद्वारी दिएका हौं ।

० तपाइँ यदि निर्वाचित हुनुभयो भने अहिले देखिएका विकृत्ति, समस्या वा संकटलाई समाधान गर्न सक्नुहुन्छ ?

— सामान्य राजनीतिक अवस्था भइदिएको भए स्वतन्त्र उम्मेद्वारीको औचित्य हुँदैन । हाम्रो स्वतन्त्र उम्मेद्वारी भनेको दलगत व्यवस्थाको विकल्पभन्दा पनि ती दलहरुभित्र रहेका विकृत्तिको विरुद्धमा एउटा सचेत विद्रोह हो । अहिले विचार र विमर्शको शून्य अवस्था छ । संघीय संसदमा राष्ट्रिय नीति, परराष्ट्र नीति, संकटबाट पार लगाउन सकिने जस्ता नीतिहरुबारे बहस नै छैन । संसदमा एक दलका नेताले अर्को दलका नेतामाथि आरोप–प्रत्यारोप, गालीगलोज बाहेक केही भएकै देखिएन । यदि हामी संसदमा पुग्यौं भने महाबहस आरम्भ गर्ने आवश्यकता देख्छु । हामीले त्यो बेला एउटा इकाईको रुपमा काम गर्न सक्छौं । दलगत दबाब र सिन्डिकेटबाट मुक्त भएर राष्ट्रिय नीतिको रुपमा बहस गर्नेछौं र सदनमा आन्दोलनको रुपमा प्रयोग गर्नेछौं । ओजपूर्ण बहस गरेर सडकको आन्दोलनसँग जोड्नुपर्ने आवश्यकता छ ।

० तपाइँका राजनीतिक एजेण्डाहरु के–के छन् ?

— अहिले सामान्य अवस्थाको निर्वाचन होइन । अहिले मुलुकमा विचार, सिद्धान्त, दर्शनको संकटको अवस्था छ । समाजमा रहेका समस्याहरुलाई सदनमा नीतिगत बहसमा कसरी ल्याउन जरुरी छ । अहिले राजनीतिक दलहरुको चुनावी घोषणापत्र हेर्दा ठूल–ठूला आश्वासनहरु मात्रै छन् । हामी जनताका जीवनसँग जोडिएका आधारभूत आवश्यकताहरु कसरी पूरा गर्ने, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा युगान्तकारी परिवर्तन कसरी गर्ने लगायतका विषयमा सदनमा नीतिगत बहस चलाउने छौं । अहिले सरकारी अस्पतालहरुको अवस्था अत्यन्तै दयनीय छन् । तसर्थ, जमिनमा देखिएका समस्याहरुलाई एजेण्डा बनाएर नीति बनाउन सकियो भने अर्थपूर्ण निकास दिन सकिन्छ ।

० तपाइँ मत माग्न जाँदा मतदातालाई के आश्वासन दिनुहुन्छ ?

— अहिले दलहरुबाट उठेका उम्मेद्वारहरुलाई यतिसम्म सामान्य ज्ञान छैन कि यो निर्वाचन के हो । जनतालाई सुसूचित विकास भनेको हो, रोजगारी सिर्जना कसरी गर्ने, दीगो विकासको अवधारणा के हो, कृषिलाई आधुनिकीकरण कसरी गर्ने, मलखादको अभावलाई कसरी पूर्ति गर्ने र त्यसको दीर्घकालीन समाधान के हो लगायतका विषयमा ती दलका उम्मेद्वारहरुसँग कुनै विकल्प छैन । विकासका साना–साना परियोजनाका लागि स्थानीय सरकार छ । सदन भनेको नीतिगत कुरामा पोख्त समाधानका विषयमा बनाउने थलो हो । तर अहिले उम्मेद्वारहरुले सडक बनाइदिन्छु, रोजगारी दिन्छु लगायतका सामान्य आश्वासनहरु दिइरहेका छन् । मेरो चुनावी अभियान अलि फरक छ । मैले आमजनतालाई बुझाउन खोजिरहेको छु कि यो चुनाव के हो, विकासको एजेण्डाभन्दा पनि तपाइँका समस्याहरुलाई दीर्घकालीन समाधानका लागि नीतिगत छलफल गर्न सक्ने उम्मेद्वारलाई मतदान गर्नुस् भन्ने कुराको जागरण फैलाइरहेको छु । अहिले यदि गलत प्रतिनिधिहरु चुनिएर गए भने मुलुक पाँच वर्ष मात्रै होइन, ५० वर्षसम्म समस्याग्रस्त हुन्छ ।

० तपाइँ जतिसुकै सैद्धान्तिक कुरा गरेपनि पैसाको बलमा चुनाव जितिन्छ नि ?

— यो चुनाव मेरो लागि जीत वा पराजयको मात्रै कुरा होइन । यो चुनाव मेरो लागि एउटा आन्दोलन, सचेत विद्रोह वा असहमतिको आह्वान पनि हो । म यदि नजिते पनि निरन्तर जमिनस्तरमा सडकमा नीतिगत बहस चलाउँछु । तपाइँसँग यदि इच्छाशक्ति छ भने जनताको बीचमा रहेर पनि काम गर्न सक्ने अवस्था छ । यो मेरो अभियान भनेको जमिनसँगको सुदृढ र अर्थपूर्ण सम्वादको रुपमा लिएको छु । जनता यदि सचेतनपूर्ण तरिकाले उम्मेद्वारहरुको पृष्ठभूमिबारे अध्ययन ग¥यो भने सही र योग्य प्रतिनिधि निर्वाचित हुनेछन् । मेरो पृष्ठभूमि भनेको निरन्तर दुई दशकदेखि देश र मधेशका मुद्दाबारे वैचारिकरुपमा काम गर्दै आएको छु । त्यसकारणले विजयी हुन्छ भनेर आफ्नो दाबेदारी प्रस्तुत गरेको हुँ । मलाई आशा छ यो कुराको मूल्यांकन मतदाताले अवश्य गर्नेछन् ।

० तपाइँको विजय हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

— यदि मतदाताले मेरो कार्यको सही मूल्यांकन ग¥यो भने निश्चितरुपमा म विजयी हुन्छु ।

० तपाइँ विजयी हुनुहुन्छ भन्ने आधारहरु के–के छन् ?

— म अन्य उम्मेद्वारहरुभन्दा तुलनात्मकरुपमा जमीनसँग बढी जोडिएको छु । अन्य उम्मेद्वारहरुसँग एउटा ठूलो झुण्ड छ । अर्को कुरा तिनीहरुले करोडौं–करोड रुपैयाँ खर्च गरिरहेका छन् । तर, जनतामा अहिले दलप्रति एउटा आक्रोश देखिएको छ । यस्तो अवस्थामा मैले आफ्ना एजेण्डाहरु जनतामाझ पु¥याउन सकें भने हाम्रो जीत सुनिश्चित छ । तर, हाम्रो लागि चुनौतिपूर्ण छ कि कम संसाधनलाई उपयोग गरेर कसरी जनतासमक्ष पु¥याउने ।

० तपाइँको एजेण्डाबाट आममतदाता सचेत भइरहेका छन् ?

— जनताको सचेतनको सापेक्ष ढंगबाट विश्लेषण गर्नुपर्छ । पहिलेको चुनावभन्दा यसपटक जनता बढी सुसूचित छन् । एउटा कुरा सत्य हो कि पैसा र नेटवर्कले काम गर्दोरहेछ । यस्तो अवस्थामा जित्ने प्रयास त गर्ने नै हो । जित्नका लागि अनावश्यक संसाधन प्रयोग गर्ने, झुठा आश्वासन बाँड्ने लगायतका कामहरु कहिल्यै पनि गर्दिन । किनभने गलत तरिकाबाट प्राप्त गरेको साध्य दीगो हुँदैन । त्यसकारण चुनाव जीत वा पराजयभन्दा पनि भोलिको दिनमा परिवर्तनको संघारमा रहेको समाज, देश र राजनीतिमा आफूले पाएको मतलाई कसरी प्रयोग गर्ने । हामीले पाएको मतादेशलाई परिवर्तनका लागि कसरी सदुपयोग गर्ने त्यो वृहत् कार्ययोजनासहित प्रस्तुत भएको हुँ । त्यसकारणले मेरो उम्मेद्वारी भनेको एउटा आन्दोलनको आरम्भ पनि हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ