कुनै प्रलोभनमा नपरी मतदाता निष्पक्ष भई मतदान गर्नुपर्छ : डा.यादव

अन्तर्वार्ता

डा.शरदसिंह यादव, नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

० सबैको ध्यानकेन्द्रित रहेको सप्तरी निर्वाचन क्षेत्र नं. २ को माहोल कस्तो छ ?

— गत चुनावभन्दा यो पटक अलि फरक परिदृष्य रहेको छ । यसपटक फरक–फरक सिद्धान्त र र विचार भएका पार्टीहरुबीच गठबन्धन भएका छन् । चुनाव जित्नका लागि नै विपरीत धारका दलहरुबीच गठबन्धन भई चुनावमा होमिएको छ । यसबाट आम नेता कार्यकर्ता र जनतामा खासै उत्साह देखिएको छैन । हिजो जुन दलका विरुद्धमा यहाँका आमनेता, कार्यकर्ताले आन्दोलन गरेका थिए, आज गठबन्धनको नाममा बाध्यतावश तिनै दलको लागि प्रचारप्रसार गर्नुपर्ने मत माग्नुपर्ने, मत दिनुपर्ने अवस्था देखिएको छ । गठबन्धनको राजनीतिले गर्दा अन्योलताको वातावरण सिर्जना भएको छ ।

० सप्तरी २ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जयप्रकाश ठाकुर उम्मेद्वार हुनुहुन्छ । ठाकुरले वाम–लोकतान्त्रिक गठबन्धनबाट पूर्ण सहयोग पाउने अवस्था छ ?

— निश्चितरुपमा वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेद्वारको रुपमा लोसपाबाट जयप्रकाश ठाकुरजी प्रतिनिधिसभा सदस्य लागि उम्मेद्वार बन्नुभएको छ । त्यसले यो गठबन्धनबाट लोसपाका उम्मेद्वारले पूर्णरुपमा सहयोग पाउनुहुनेछ भन्ने हाम्रो ठहर छ । त्यहींअनुरुप एक किसिमको माहोल पनि रहेको छ ।

० कसले बाजी मार्ला त ?

— सप्तरी २ मा त्रिपक्षीय भीडन्तकै अवस्था छ । यहाँ दुई जना राष्ट्रिय अध्यक्ष हुनुहुन्छ भने एक जना सत्तारुढ गठबन्धनको तर्फबाट बलिया उम्मेद्वार हुनुहुन्छ । जसले गर्दा सप्तरी २ को चुनावी प्रतिस्पर्धालाई रोचक नै मान्नुपर्छ । पूरै देशकै नजर अहिले सप्तरी २ मा परेको देखिन्छ । यस्तो अवस्थामा कसले बाजी मार्ला भनेर भन्न सकिने अवस्था छैन । कतिपयले स्थानीय तहको चुनावी मतपरिणामलाई नै आँकलन गरी व्याख्या गरिरहेका छन् । तर स्थानीय तहको मतपरिणामअनुसार नै यो चुनावमा पनि सोहीअनुसार मतदाताले मतदान गर्लान् भन्ने स्थिति छैन ।

० सप्तरी २ मा दुई वटा ठूला–ठूला गठबन्धनहरु छन्, अर्कोतिर जनमत पार्टीका अध्यक्ष डा.सीके राउत एक्लै हुहुनुहुन्छ । कसरी त्रिपक्षीय भीडन्तको अवस्था छ ?

— यो एकदम रोचक कुरा हो । संघीय राजधानी काठमाडौंबाट सप्तरी २ लाई हेर्दा यो कुरा सही हो कि एमाले–जसपा गठबन्धनका उपेन्द्र यादव रा वाम–लोकतान्त्रिक गठबन्धनका जयप्रकाश ठाकुरबीच प्रतिस्पर्धा हुने । तर, यहाँको ग्राउण्ड रियालिटी हेर्दा यो कुरालाई स्वीकार गर्ने अवस्था छैन । म जहिले पनि यही क्षेत्रमा रहने गरेको छु, यो मेरो पनि क्षेत्र हो । मैले देखेको त्रिपक्षीय भीडन्त नै हो । यो क्षेत्रमा घुम्दा, यहाँका नागरिकको भावना बुझ्दा डा.सीके राउतको अवस्था त्यति नराम्रो छैन ।

० यत्रो ठूला–ठूला गठबन्धनका बीच भर्खरै जन्मेको पार्टीले यदि बाजी मा¥यो भने यहाँका जनताले के सन्देश दिन खोजेको हुनसक्छ ?

— यो कुरा त समयले बताउँछ । यहाँका जनताले परिवर्तन चाहेको हामीले महसुस गरेका छौं । हालै सम्पन्न स्थानीय तहको परिणाम हेर्ने हो भने सप्तरी मात्रै नभई देशभरिका जनताले परिवर्तन चाहेका छन् । खासगरी युवाहरु नै स्थानीय तहमा निर्वाचित भएर आएका छन् । स्थानीय तहको चुनावमा धेरै कम ठाउँमा दोहो¥याएर मेयर–उपमेयर विजयी भएका छन् । प्रायः ठाउँमा नयाँ अनुहार नै आएका छन् । तदनुरुप नै यो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा पनि उलटफेर हुँदैन भनेर भन्न सकिने अवस्था छैन ।

० भनेपछि सप्तरी २ का जनताले यसपटक परिवर्तन चाहेका छन् ?

— मेरो अनुभवले त्यस्तै अवस्था छ । स्थानीय तहको मतपरिणामअनुसार लोसपाका उम्मेद्वार सबैभन्दा अगाडि देखिनुभएको छ । स्थानीय चुनावमा स्थानीय मुद्दा र व्यक्ति हुन्छन् तर आमचुनाव भनेको नीति निर्माण गर्ने थलो हो ।

० मधेशमा जातिवादी राजनीतिले पनि जडो गाडेको भनिन्छ, यसले कतिको प्रभाव पार्ला ?

— यो सत्य कुरा हो । मधेशमा जातिवादी राजनीति अवश्य नै रहेको छ । तर, यहाँ पार्टीको संगठन र गठबन्धनले पनि प्रभाव पार्छ ।

० लोसपाका उम्मेद्वार यदि जित्नुभयो भने प्राथमिकतामा कुन–कुन मुद्दाहरु रहेका छन् ?

— यहाँका विभिन्न आधारभूत आवश्यकताहरु छन् । जस्तैः स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार निर्माण लगायतमा विगत पाँच वर्षमा खासै काम हुन सकेन । पटकै केही पनि भएन भनेर भन्न सकिँदैन । तर अपेक्षाकृत काम नभएकै हो । यी कुराहरु प्राथामिकताका साथ पूरा गराउन लोसपाको जोड हुनेछ । यस्तै, राष्ट्रिय मुद्दाहरु छन्, जुन विगत पाँच वर्षमा हुन सकेन । ती सबै कुराहरु लोसपाको प्राथमिकतामा सधैं थियो र त्यसलाई पूरा गराउने हाम्रो वाचा पनि हो ।

० चुनावमा करोडौं पैसा खर्च गर्ने, मत खरिद–बिक्री हुने लगायत कुराहरु हुने गर्दछ । यसपटक मतदाता कतिको सचेत छन् ?

— यो चुनाव हो, चुनावमा जित्नका लागि उम्मेद्वारहरु विभिन्न हथकण्डा अपनाउने गर्दछन् । यो पटक निर्वाचन आयोगले आचारसंहिता पनि अलि कडा गरेको छ । जसले गर्दा यस्ता कार्यहरु नहोस् । मैले पनि मतदातामा आह्वान गर्न चाहन्छु कि कुनै दबाब, प्रभाव वा प्रलोभनमा नपर्नुस् । मतदाताले निष्पक्षरुपमा मतदान गर्न पाओस् ।

० निर्वाचन आयोगको आचारसंहितालाई दलहरु वा उम्मेद्वारहरुले पालना गरिरहेका छन् त ?

— ग्राउण्ड रियालिटी हेर्ने हो भने यहाँ निर्वाचन आयोगको आचारसंहिता पूर्णरुपमा पालना भएको छैन । ठूला शहरहरुको अनुपातमा उम्मेद्वारहरुले आचारसंहिता पालना गरेको देखिँदैन । ठाउँ–ठाउँमा निर्वाचन आचारसंहिता विपरीत पम्पलेटहरु लगाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ