उपेन्द्र यादवको पराजयले मधेश मुद्दा अझ उचाइँमा पुगेको छ : देवेश झा

अन्तर्वार्ता

देवेश झा, राजनीतिक विश्लेषक

० प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि सम्पन्न आमनिर्वाचनलाई तपाइँ कसरी हेर्नुभयो ?

— यसपटक सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको गठबन्धन थियो । यी दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा थियो । त्यस सँगसँगै वैकल्पिक राजनीतिक धारको रुपमा पनि केही शक्तिहरु मैदानमा थिए । अहिलेसम्मको चुनावी परिणामलाई हेर्ने हो भने मूलरुपमा सत्तारुढ गठबन्धन अगाडि नै रहेको छ । खासगरी नेपाली कांग्रेसलाई विशेष लाभ प्राप्त भएको छ । माओवादीलाई थोरै क्षति भएको छ, एमालेलाई अलि बढी क्षति भएको छ । राप्रपालाई लाभ भएको छ र वैकल्पिक राजनीतिक धारको रुपमा शहरी इलाकामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उपस्थिति दर्ज गराएको छ । त्यसैगरी, मधेशमा जनमत पार्टीले आफ्नो उपस्थिति देखाएको छ भने पश्चिम नेपालमा रेशम चौधरी नागरिक उन्मुमक्ति पार्टीले आफ्नो प्रभाव बढाएको छ ।

० आगामी सत्ता समीकरण कस्तो बन्ने देखिन्छ ?

— अहिलेसम्मको परिणामलाई हेर्ने हो भने वर्तमान सत्तारुढ गठबन्धन नै कायम रहन्छ ।

० चुनावको समग्र परिणाम आइसकेपछि सत्तारुढ गठबन्धन भत्किँदैन ?

— तत्काल त्यस्तो अवस्था देखिएको छैन । सत्तारुढ गठबन्धन भत्किने सम्भावना कम छ ।

० कांग्रेसले धोका दियो भनेर कम्युनिष्टहरुको अर्को गठबन्धन हुने सम्भावना छैन ?

— तत्कालै यो सम्भावना देख्दिँन । तर, केही समयपछि त्यसप्रकारका विकल्पमा जान सकिन्छ, जाने प्रयास गरिन्छ ।

० सत्तारुढ गठबन्धनमा कांग्रेसले सबैबाट लाभ लियो तर अन्य दललाई आफ्नो दिएन नि ?

— समग्र कांग्रेसलाई नै आरोपित गर्नु उचित नहोला । तर एउटा कुरा पक्का कि कांग्रेसको समग्र मत गठबन्धनका अन्य दलमा ट्रान्सफर हुन सकेन । कांग्रेसले पूर्णरुपेण आफ्नो मत ट्रान्सफर गर्न सकेन । यस मामिलामा पछिल्लो संसदीय चुनावलाई पनि विश्लेषण गरेर हेर्नुपर्छ । पछिल्लो चुनावमा कांग्रेस एक्लै चुनाव लड्दा पनि सबभन्दा बढी मत आएको थियो । त्यो चुनावमा एमाले र माओवादी गठबन्धन गरेर चुनाव लडेको कारण बढी सिट प्राप्त गरेको थियो । त्यो हिसावले हेर्ने हो भने यसपालि पनि लगभग त्यसकै निरन्तरता देखिएको हो ।

० गत संघीय चुनावमा पाँच वटा राष्ट्रिय दलको मान्यता पाएका थिए, यसपटक कतिवटा हुनेछ ?

— यसपटक लगभग चार–पाँच वटा पार्टीले राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ । माधव नेपालको पार्टीलाई अलिकति जटिलता थपिएको छ । अहिले समानुपातिक मत गणनाको प्रारम्भिक चरणमै छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव शहरी क्षेत्रमा मात्रै छ र शहरी क्षेत्रको समानुपातिक गणना लगभग अन्तिम चरणमा छ । त्यसैले, अब समानुपातिक मत बढ्ने भनेको कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाकै हो । समानुपातिक सिट संख्याबारे एक–दुई दिनमै प्रष्ट हुन्छ ।

० मधेशमा चुनावी माहोल कस्तो देखियो ?

— विगतको चुनावसँग तुलना गर्ने हो भने मधेशमा यसपटकको चुनावी उत्साहमा कमी थियो । तर पनि यसपटक युवाहरुको उत्साह जनमत पार्टीतिर बढेको देखियो । युवाहरुमा डा.सीके राउतप्रति अलि बढी आकर्षण देखियो । मधेशकेन्द्रित राजनीतिबाट स्थापित दुईटा दल जसपा र लोसपाप्रति जनतामा अलिकति असन्तोष थियो । त्यसको परिणाम पनि हामीले देखिरहेका छौं । दुवैले अन्तिम समयमा गठबन्धनमा सामेल भए । त्यसमा जसपाले एमालेसँग गठबन्धन गरेर अलिकति प्रतिकूल परिस्थिति बेहोर्नु नै प¥यो । जसपा विभाजन भई लोसपा बन्दा तत्कालीन राजपाका ४० प्रतिशत नेता जसपामै रहिरँदा त्यसको क्षति भएको हो । समग्रमा हेर्ने हो भने मधेशको राजनीति मुद्दाको रुपमा यथावत् दोहोरिएको छ । नेताहरुले आफूलाई जुन प्रकारले प्रस्तुत गरे, त्यस हिसावले थोरबहुत सच्चिनुपर्ने जनादेश जनताले दिएको छ ।

० मधेशको मसिहा भनेर उदाएका उपेन्द्र यादवको दोब्बरभन्दा बढी मतबाट पराजयले मधेशको मुद्दामा कतिको असर गर्छ ?

— मधेशले आफ्नो मुद्दालाई पुनः परिभाषित गरेको छ । किनभने उपेन्द्र यादव पराजित भएका छन् भने त्यहाँबाट डा.सीके राउत विजय भएर आएका छन् । सीके राउतको विजयलाई मधेशको मुद्दासँग जोडर हेर्ने हो भने अझ संघर्षशील व्यक्ति नेतृत्व गर्ने सम्भावना बढेको देखियो । त्यस हिसावले मधेश मुद्दा अझ उचाइँमा पुगेको छ ।

० भनेपछि, संघीय संसदमा उपेन्द्र यादवको अनुपस्थिति भएपनि मधेशको मुद्दा झन् उचाइँमा नै पुग्छ त ?

— उपेन्द्र यादवको पराजय र डा.सीके राउतको विजय हुँदा पनि मधेशको मुद्दा संघीय संसदमा अझ आक्रामक रुपमा उठ्ने सम्भावना बढेको छ । उपेन्द्रजी अब आन्दोलनको राजनीतितर्फ फर्किनुहुन्छ । किनभने उहाँले दुईटा ठूलो धक्का बेहोर्नुप¥यो । पहिलो, स्थानीय चुनावमा विराटनगरमा उहाँको छोरा पराजित हुनुभयो, यसपटक उहाँ स्वयम् पनि पराजित हुनुभयो । त्यस हिसावले उहाँले आफ्नो जनाधार बलियो देखाउनका लागि पनि आन्दोलनको राजनीतिर्फ फर्किने प्रवल सम्भावना छ । दोस्रो, आफ्नो पार्टीलाई सत्तामा पु¥याउने र संसदीय दलको नेता चयन गर्ने द्विविधापूर्ण अवस्था लगायत उहाँका लागि चुनौतिका रुपमा आउनेछ । पार्टी अध्यक्षको रुपमा उहाँको निरन्तरता कायम रहिरनेछ होला । यी सबै कारणले उपेन्द्र यादव चुनावमा पराजित हुँदैमा राजनीतिबाट अनुपस्थित नै भइहाल्यो भन्ने परिस्थिति छैन । सम्भवतः उहाँ पनि अब आक्रामक रुपमा प्रस्तुत हुनुहुनेछ ।

० उपेन्द्र यादवको सम्भावित कदमहरु कस्ता हुन सक्छन् ?

— चुनावी प्रचारप्रसारको दौरान उपेन्द्र यादवले मधेश मुद्दाको धेरै वकालत गर्नुभएको थियो । उहाँले समग्र राष्ट्रिय राजनीतिभन्दा पनि मधेश मुद्दालाई आक्रामकरुपमा उठाउनुभएको थियो । अब फेरि कुनै न कुनै प्रकार आन्दोलन मधेशमा उठ्न सक्नेछन् ।

० मधेशमा फेरि आन्दोलन हुने सम्भावनाहरु छन् ?

— उपेन्द्रजी फेरि केही न केही गर्नुहुनेछ ।

० तर मधेशका जनता अब फेरि आन्दोलनमा होमिने संकेतहरु देखिएका छैनन् नि ?

— अहिलेको माहोल फरक किसिमको छ । भर्खर चुनाव सम्पान्न भएको छ । नयाँ शक्तिहरुप्रति जनताले आशा गरेका छन् । जनता अहिले नयाँ शक्तिहरुप्रति उत्साहित भएर त्यतातिर लागेका छन् । तर, त्यसको अपेक्षित परिणाम उनीहरुले दिन सकेनन् भने त्यतिखेर ब्याकफायर पनि गर्न सक्छन् ।

० वि.सं. २०६४ पछिका चुनावहरुमा मधेश आन्दोलनबाट आएका दलहरु कमजोर हुँदै आएका छन् । अब फेरि मधेशका एजेण्डाहरु कमजोर हुँदै गएको होइन ?

— यहाँ बुझाईमा थोरै फरक देखिएका छन् । यहाँ मान्छेहरुले मधेशी दलका नेताहरुलाई मात्रै मधेशी नेता देखिरहेका छन् । जबकि कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुमा रहेका मधेशी नेताहरु पनि मधेशी नेता नै हुन् । उपेन्द्र यादव पराजित हुनुभएको छ भने डा.सीके राउत पनि मधेशी नेता नै हुन् । उहाँ पनि मधेशकै राजनीतिबाट स्थापित भएको नेता हुन् । त्यस्तै, अन्य मधेशका नेताहरु यदि पराजित भइरहेका छन् त्यहाँबाट निर्वाचित हुने मधेशी नेता नै हुन् । समग्रमा हेर्ने हो भने मधेश राजनीति एउटा सही दिशामा स्थापित हुँदै गइरहेको छ । विगतमा मधेशबाट गैरमधेशी नेताहरु स्थापित मात्रै थिएनन्, स्थापित र निर्णायक अवस्थामा थिए । तर आजको दिनमा मधेशबाट हरेक पार्टीमा मधेशी अनुहार नै निर्णायक अवस्थामा छन् । त्यसैले, मधेशको मुद्दा, हैसियत वा विषयवस्तुहरु अब पछि पर्ने सम्भावना छैन ।

० त्यसो हो भने, आगामी बन्ने सरकारले मधेशका सवालहरु सम्बोधन गर्छन् त ?

— सबभन्दा पहिला त नागरिक विधेयक जुन सम्माननीय राष्ट्रपतिबाट रोकिएको अवस्था छ, त्यो सम्बोधन हुनेछ । त्यो सम्बोधन भइसकेपछि क्रमिक रुपमा अन्य मुद्दाहरु पनि टुंग्याइने नै छ । किनभने ती मुद्दाहरु स्थापित भइसक्यो । अहिले नागरिक उन्मुक्ति पार्टी पनि पश्चिम नेपालमा राम्रो परिणामका साथ अगाडि आउँदैछ । केही कुराहरु नेपाली राजनीतिमा स्थापित भइसके । अब कसैलाई पनि उपेक्षित गरेर राजनीति गर्न सकिँदैन । त्यसैले, मधेश आन्दोलनका बेला उठेका मुद्दाहरु राष्ट्रिय सवालहरु हुन् । जुनसुकै सरकार आएपनि ती राष्ट्रिय सवालहरुलाई सम्बोधन गर्नैपर्ने हुन्छ । त्यसको अन्य विकल्प छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ