० तपाइँ हालै द मिसेज नेशनल–२०२३ को ब्राण्ड एम्बेस्डरमा चुनिनुभएको छ, यो के हो ?
— यो महिलाहरुका लागि एउटा ब्युटी प्रजेन्ट्स हो । विवाह पछि कतिपय महिलाहरु सोच्छन् कि हाम्रो जीवन अब सीमित भयो, तर होइन । जहिले पनि आफूलाई अपडेट राख्नुपर्छ । विवाहपछि महिलाको जीवन घरको चुलोचौकासम्म मात्र सीमित होइन । केही अध्ययन गर्न वा नयाँ कार्य गर्नका लागि उमेरले रोक्दैन । एउटा गृहिणीमा मात्रै सीमित नभएर आफूभित्र रहेका प्रतिभा पहिचान गर्नुपर्छ । जहिले पनि हामी भन्नुपर्छ कि ‘आई एम द बेस्ट’ । हामी आफैले आफूलाई पहिचान गर्न सकेनौं भने अरुले हाम्रो प्रतिभा कसरी देख्छन् । हामीभित्र धेरै प्रतिभा हुन्छ तर बाहिर ल्याउन सकिरहेको हुँदैनौं ।
० मधेशका कतिपय महिला अझ पनि घुम्टोबाट बाहिर निस्किन सकिरहेका छैनन् । तपाइँ यहाँसम्म कसरी पुग्नुभयो त ?
— जुन ठाउँमा हामी बस्छौं, हुर्कन्छौं त्यहींअनुसारको रहनसहन अपनाउनुपर्छ । हाम्रो मधेशमा घुम्टो नराम्रो होइन, त्यो एउटा संस्कार हो । म पनि मधेशमा जाँदा साडी लगाउँछौं, काठमाडौंमा यहींअनुसारको पहिरन लगाउँछौं । समय परिवर्तनशील हो, समय परिवर्तन हुन्छ भने सोहीअनुसार हामी पनि किन परिवर्तन हुने त ? हामी पनि परिवर्तन हुनुपर्छ, हाम्रो सोच पनि परिवर्तन हुनुपर्छ ।
० तपाइँ आफ्नो परिवारका लागि कतिको समय निकाल्नुहुन्छ ?
— निश्चितरुपमा वैवाहिक बन्धनमा बाँधिएपछि विभिन्न जिम्मेवारी काँधमा हुन्छन् । परिवारका साथसाथै आफ्नो बारेमा पनि सोच्नुपर्छ । घरमै सीमित भएर बस्ने होइन । आफूभित्र रहेका प्रतिभालाई बाहिर निकाल्नुपर्छ । अनि मात्र देश र समाजका लागि हामी केही गर्न सक्छौं । मैले आफ्नो परिवारका सदस्यहरुका लागि समय निकाल्छु र आफूभित्र रहेका प्रतिभा पनि प्रयोग गरिरहेको छु । म सबै महिला दिदी–बहिनीलाई भन्छु कि आफ्नो लागि पनि सोच्नु । परिवारलाई समय दिनुका साथसाथै आफ्नो पनि बाँच्ने कोशिष गर्नु र समयानुसार आफू अपडेट गर्नुपर्छ ।
० परिवारबाट कतिको सहयोग पाउनुहुन्छ ?
— निश्चितरुपमा हामी जुन भूगोल र समाजबाट छौं, त्यहाँ अलि अप्ठ्यारो छ । तर मेरो परिवारबाट धेरै नै सहयोग पाएकी छु । परिवारको सहयोग नभएको भए यहाँसम्म आउने सम्भव हुँदैनथ्यो होला । भनिन्छ, ‘एउटा सफल पुरुषको पछाडि महिलाको हाथ हुन्छ’, त्यस्तै नै महिलाको सफलताको पछाडि पुरुषको साथ होस् भन्ने चाहन्छु । महिलाको सफलता पुरुषले पनि साथ दिनुपर्छ । पारिवारिक बन्धनमा बाँधिएपछि समय हुँदैन भनेर सोच्नु हुँदैन । केही गर्नुपर्छ भन्ने भावना हुनुपर्छ । हामीले आँट ग¥यौं भने गर्न सक्छौं । महिला कमजोर हुँदैन, उसको मनोवल कमजोर हुन्छ । हामी आफ्नो मनोवललाई कहिल्यै कमजोर बनाउनु हुँदैन । म सबै महिलालाई भन्छु कि आफ्नो पनि समय निकाल्नुस्, आफूले चाह्यो भने केही गर्न सकिन्छ । महिलाले आफ्नो कमजोरीलाई शक्ति बनाउनुपर्छ ।
० मधेशमा महिलाहरुको समस्यालाई कसरी हेर्नुभएको छ ?
— मधेशका महिलाहरुलाई मात्रै समस्या छैन, हरेक ठाउँका महिलाहरुलाई समस्या छन् । ठाउँअनुसार समस्याहरु पनि फरक–फरक छन् । त्यसलाई कसरी सामना गर्ने महिलामा निर्भर हुन्छ । गलत कुराको लागि जहिले पनि आवाज उठाउनुपर्छ । भनिन्छ, ‘अपराध गर्नुभन्दा सहनु ठूलो अपराध हो’ । गलत कुराको विरुद्धमा आज मैले आवाज उठाएँ भने भोलि अरुको पनि हौसला बढ्छ । हामीले समाजमा परिवर्तन ल्याउनु छ भने आफैबाट सुरुवात गर्नुपर्छ । मैले आगामी दिनमा मधेशका महिलाहरुको सशक्तिकरणका लागि एउटा अभियान चलाउने सोचमा छु । मधेशका महिला कसरी आत्मनिर्भर बन्छ त्यसका लागि एउटा आइएनजिओ स्थापना गर्छु । म महिलाहरु भित्र रहेका प्रतिभा र आत्मनिर्भरलाई अगाडि ल्याउन चाहन्छु । महिलाले आफ्नो परिवारलाई समय दिएर पनि आफ्नो लागि केही गर्नुपर्छ भन्ने आत्मविश्वास म जगाउन चाहन्छु ।
० मधेशमा दाइजो प्रथा मुख्य समस्याको रुपमा छ, यसलाई कसरी उन्मूलन गर्न सकिन्छ ?
— दाइजो भने स्वेच्छाले आफ्नो छोरीलाई दिने खालको हुनुपर्छ । तर, कर गरेर जुन प्रकारले दाइजो लिने–दिने प्रथा छ, यसलाई हामी हटाउनै पर्छ । केटा पक्षले जसरी कर गरेर दाइजो लिन्छन्, त्यो भने आफ्नो छोरालाई बेचेको जस्तो हुन्छ । छोरालाई जीवन साथी चाहिन्छ भने, त्यो जीवन साथी रोजोस्, पैसा किन चाहियो ? दाइजोको पैसा कति दिन काम लाग्छ ? म सबै केटालाई भन्छु, आफूलाई बिक्रीमा नराख्नुस् । तपाइँले जीवन साथी रोज्नुहुन्छ भने आफूलाई पैसा न बिक्री गर्नुस् ।
० तर महिलाका शत्रु महिला नै हुन्छ भनिन्छ नि ?
— यस्तो देखिन्छ । किनभने यदि कुनै केटाले दाइजो माग्छन् भने उसको घरमा पनि त आमा, दिदी हुन्छन् । उहाँहरुले त्यसका विरुद्धमा आवाज उठाएको देखिँदैन । हरेक आमाले सोच्नुपर्छ कि म पनि एउटा छोरी नै थिएँ, आज अर्काको छोरी ल्याउँदा कर गरेर दाइजो किन लिने भनेर सोचमा परिवर्तन ल्याउन आवश्यक छ । सासु पनि कहिले बुहारी थिइन् भन्ने कुरा स्मरण गरेर बुहारीलाई सम्मान गर्नुपर्छ ।
० छोरीलाई धेरै नपढाउनुको पछाडि दाइजो प्रथा पनि कारण हो ?
— अब विस्तारै हाम्रो परिवर्तन हुँदै गएको छ । छोरीलाई धेरै पढायो भने त्योभन्दा पनि बढी पढेका केटा खोज्नुपर्छ र दाइजो पनि धेरै दिनुपर्छ भन्ने मान्यता अब हट्दै गएको छ । अभिभावकले आफूले सके जति छोरी पढाइरहेका छन् । अब छोरा र छोरीमा बाउआमाले विभेद गर्दैन । कतिपयले छोराको पढाइमा कति खर्च भएको छ, त्यो सबै जोडेर दाइजो माग्ने गरेको पनि उदाहरण छन् । तर त्यति पढेको कुरा आफ्नो लागि हो नि । त्यसैले सोच परिवर्तन आवश्यक छ । विस्तारै सोच परिवर्तन हुँदै गएको पनि छ ।
० मधेशका छोरी चेलीका लागि के सन्देश दिन चाहनुहुन्छ ?
— म सम्पूर्ण छोरी चेलीलाई भन्न चाहन्छु, आफ्नो लागि आफै हिम्मत गर्नुस् । अरुले के भन्ला भनेर कहिल्यै पनि सोच्नु हुँदैन । हामी आफ्नो उद्देश्यप्रति केन्द्रित हुँदै अगाडि बढ्नुपर्छ । समाजमा विभिन्न थरि सोच भएका मानिसहरु हुन्छ । हामी केही गर्न खोज्यौं भने खुट्टा तान्नेहरु धेरै हुन्छन् । तर, जब हामी सफल हुन्छौं अनि सबैलाई प्रशंसा गर्छन् । त्यसैले हामीले हिम्मत ग¥यौं भने समाजमा परिवर्तन ल्याउन सक्छौं । महिलाले आफूलाई कहिल्यै पनि कमजोर नठानून् ।
तपाईको प्रतिक्रिया