० तपाइँ लोसपा परित्याग गरी जनमत पार्टीमा किन प्रवेश गर्नुभयो ?
— समग्रमा अहिले विकल्पको खोजीमा जनता लागेका छन् । पुरातनवादी र पूराना सोच भएका दलहरुबाट अब यो देश र मधेशले निकास पाउने अवस्था नदेखेर नयाँ जोश र जाँगरका साथ स्थापित भएको जनमत पार्टीमा लागेको हुँ । मधेशलाई मात्रै होइन, यो देशलाई नै डा.सीके राउतको आवश्यकता छ भन्ने कुरा बोध गरेर मैले जनमत पार्टी प्रवेश गरेको हुँ ।
० लोसपा पुरातनवादी पार्टी भयो ?
— जहिले पनि मुद्दालाई सत्तासँग साट्ने, जसको विरुद्धमा मत लिएर आउने त्यसैको पाउँमा चढाइदिने जस्ता पार्टीहरु जनताको नजरबाट विस्तारै हराउँदै जाने अवस्था छ । जसको ज्वलन्त उदाहरण हालै सम्पन्न आमनिर्वाचनमा देखाइसकेको छ । अब यिनीहरुबाट निकास नपाउने अवस्था देखेर नै मधेशमा जनमत पार्टीको सुनौलो उदय भएको हो । गत चुनावमा दुईटा ठूला–ठूला गठबन्धनहरु थिए । तर जनमत पार्टी एक्लै चुनाव लड्यो र राष्ट्रिय पार्टीको मान्यता पायो । यसबाट प्रमाणित हुन्छ कि जनताले अब विकल्प खोजेका छन् । डा.सीके राउतको जुन भिजन छ, उहाँको कुरालाई मधेशमा मात्रै होइन, पहाड र हिमालका जनताले पनि गम्भीरतापूर्वक लिने गरेका छन् । त्यसले गर्दा मधेश मात्र होइन, देशको नेतृत्व उहाँको हातमा जानुपर्छ । अहिले हामी जस्ता पढेलेखेका नागरिकले जनमत पार्टी र डा.सीके राउतलाई साथ दिएनौं भने पछुताउनु बाहेक अन्य विकल्प रहँदैन ।
० तर, अन्य पार्टीभन्दा जनमत पार्टी पनि भिन्न देखिएन नि ? जनमत पनि सत्तालिप्सामै फँस्यो त ?
— जनमत पार्टीले पाएको मतादेशअनुसार नै अहिले सरकारमा गएको हो । जनमत पार्टीको यो परीक्षण काल हो । हामीले राजनीति गर्ने भनेकै जनतालाई डेलिभर गर्नका लागि हो । जनताको माग र मुद्दा सम्बोधन गर्न सत्ता एउटा टुल्सको रुपमा प्रयोग गरिन्छ । जबसम्म सत्तामा पुगिँदैन तबसम्म केही कुरा पनि जनतालाई डेलिभर गर्न सकिन्न । यसपटकको चुनावमा जनताले कसैलाई पनि स्पष्ट बहुमत दिएको छैन अर्थात् अहिले हंक पालियमेन्ट छ । भनेपछि जनताको म्यान्डेट के छ भने मुद्दा मिल्ने, मन मिल्ने र देशका काम गर्ने शक्तिहरु ठाउँमा बसेर सरकार चलाउ भन्ने जनताको आदेश छ । हामी सरकारमा गएर पनि यदि जनताको पक्षमा काम गर्न सकेनौं भने भोलि औंला उठाउन सकिन्छ ।
० जनमत पार्टीले पाएको मतादेश सरकारमा जानका लागि हो ?
— यदि जनमत पार्टी सरकारमा जाने मतादेश पाएको छैन भने ३२ सिटे पार्टी पनि सरकारको नेतृत्व गर्ने भन्ने मतादेश पनि होइन । यसपालिको चुनावबाट जनताले सबैलाई मिलेर सरकार चलाउने आदेश दिएको हो । मधेश प्रदेशकै कुरा गर्ने हो भने जनमत पार्टीले कृषि मन्त्रालयबाट किसानका लागि निःशुल्क कृषि मिटर दिने पहल गरिरहेको छ । मधेश प्रदेशमा रहेका अन्य पार्टीका मन्त्रीहरुको कुनै गतिविधि देखिएको छैन । जुन मुद्दा उठाएर जनमत पार्टीले यस्तो मत पायो, ती मागहरुमध्ये सबभन्दा प्रमुख किसानका मुद्दाहरु नै थियो । तदनुरुप नै जनमत पार्टीले संघमा खानेपानी मन्त्रालय पाएको छ ।
० जनमत पार्टीले संघीय सरकारमा उद्योग मन्त्रालय पाउनुपर्ने अडान दिएको थियो तर पाएन । उद्योग मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो नि ?
— सरकार बन्ने बेलामा जुन प्रकारको सहमति भएको थियो, त्यो अनुसार जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने सहमति थियो । किनभने जनमत पार्टीको मूल एजेण्डा नै युवा पलायन रोक्ने, उद्योगहरु स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, मलखादको व्यवस्था गर्ने लगायतका छन् । तर, केही प्राविधिक कारणहरुले हामीलाई त्यो मन्त्रालयबाट वञ्चित गराइयो । कुनै मन्त्रालय सानो वा ठूलो हुँदैन । हरेक मन्त्रालयको आफ्नो एउटा विशेषता हुन्छ । जनसरोकारसँग जोडिएको खानेपानी मन्त्रालय पनि भएकोले जनमत पार्टीले स्वीकार ग¥यो । अहिले द्रूतगतिमा हाम्रा मन्त्री अब्दुल खानजीले एकदमै राम्रो काम गरिरहनुभएको छ ।
० जनमत पार्टी पनि परिवारवादमा लिप्त भयो भन्ने आरोपहरु छन् नि ?
— यो शतप्रतिशत गलत र झुठा आरोप हो । डा.सीके राउतजीका दाई डा.जयकान्त राउत योजना आयोगको सदस्यमा नियुक्त भएपछि अलि बढी यस्ता आरोपहरु लाग्न थालेको छ । डा.जयकान्त राउत जनमत पार्टीको स्थापनाकालदेखि नै लाग्नुभएको छ । उहाँ एउटा विज्ञ पनि हुनुहुन्छ र नास्टमा धेरै वर्ष काम गरिसक्नुभएको छ । यो देशमा ठूलो योगदान पु¥याएको व्यक्तिको रुपमा पनि हुनुहुन्छ । उहाँमा विज्ञता छ भने कसैको दाई वा भाई हुँदैमा कुनै पदमा जानु हुँदैन भन्ने कुरा छैन । परिवारवादको कुरा गर्ने हो भने यही देशमा एउटै बुवाआमा छोरा यो देशको प्रधानमन्त्री भएका छन् । जसले देशमा परिवर्तन गर्न चाहन्छ र उसँग भिजन छ भने किन पदमा जान नहुने ? यदि जो व्यक्तिमा विज्ञता छैन, परिवारको सदस्य भएकै भरमा यदि कुनै पदमा राखिएको छा भने त्यो परिवारवाद हो ।
० राष्ट्रपति चुनाव नजिकिँदै गएको छ । जनमत पार्टीको धारणा के छ ?
— अहिलेकै गठबन्धनबाट राष्ट्रपति बन्नुपर्छ भन्ने मान्यताका साथ नै यो सरकार गठन भएको हो । अहिले त्यो सहमतिबाट पछि हटेर राष्ट्रिय सहमतिको कुरा गर्नु भनेको ठूला दलहरुले दम्भ देखाउनु हो । जुन सहमति भएको छ, त्यसको पालना सबै दलले गर्नुपर्छ । सहमतिको पालना भएन भने फेरि गठबन्धन टुट्छ ।
० भनेपछि, राष्ट्रपति एमालेले नै पाउनुपर्छ भन्ने धारणा जनमत पार्टीको हो ?
— एमालेले नै राष्ट्रपति पाउनुपर्छ भन्ने कुराभन्दा पनि जुन सहमति भएको छ, त्यो पालना हुनुपर्ने हामी मान्यता राख्छौं । यो गठबन्धन निर्माणका बेला भएको सहमति पालना भयो भने यो सरकारको आयु पनि लामो हुन्छ, सरकारले राम्रोसँग काम गर्न पाउँछ र विकास समृद्धितिर देश अगाडि बढ्छ । ६–६ महिनामा सहमति भाँड्दै जाने हो भने देशले निकास पनि पाउँदैन । यो व्यवस्थामाथि नै अहिले कतिपयले प्रश्न उठाउन थाल्यो । ठूला भनाउँदा दलहरुले यी कुराहरुको मनन् गर्नुपर्छ । पद र सत्ताका लागि अहिले भाँडभैलो मचाउँछन् भने जनताले त्यसको जवाफ दिनेछन् ।
० मधेश प्रदेशमा जनमत पार्टीले सरकारको नेतृत्व गर्ने दाबी गर्दैआएको थियो । अहिले जसपाको नेतृत्वमा सरकारमा छ । आधा–आधा कार्यकाल सरकार चलाउने भन्ने सहमति भएको सुनिन्छ । अढाई वर्षपछि मधेश प्रदेश सरकारको नेतृत्व जनमत गर्न पाउँछ त ?
— जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेकै हो । मधेश प्रदेशलाई एउटा मोडेलको रुपमा प्रस्तुत गर्न जनमत पार्टीसँग मार्गचित्र छ । हामीले जनजीविकासँग जोडिएका मुद्दाहरु उठाएर मधेश प्रदेशमा लोकप्रिय मत पाएका छौं । ठूला–ठूला गठबन्धनका बाबजुद पनि मधेश प्रदेशका जनताले जनमतलाई लोकप्रिय मत दिएको हो । त्यसै कारण जनमतले नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेको थियो । सिट संख्याको हिसावले जुन किसिमको भद्र सहमति भएको छ, त्यो पालना गर्दै हामी सरकारमा सहभागी भएका छौं । जनमतले पाएको मन्त्रालयबाट जनताको पक्षमा उत्कृष्ट काम गरेर देखाउन लागेका छौं ।
० अढाई वर्षपछि जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व पाउँछ ?
— केन्द्र र प्रदेशमा भएका सहमति पालना हुनुपर्छ । त्यसैमा सबैको भलाइ छ ।
तपाईको प्रतिक्रिया