० राष्ट्रपति चुनावमा लोसपाले आफ्नो महन्थ ठाकुरका लागि लविङ गरेको थियो, त्यो आधार तपाइँहरुसँग थियो त ?
— सुरुमा प्रधानमन्त्री प्रचण्डले नै अहिलेको समयमा राष्ट्रपतिका लागि राष्ट्रिय सहमति साझा उम्मेद्वार बनाउनुपर्छ भन्ने धारणा राख्दै आउनुभएको थियो । उहाँको त्यो धारणासँगसँगै विवाद पनि उत्पन्न भयो । ठूला दलहरुले एक अर्काको उम्मेद्वारलाई मान्न तयार थिएन । त्यस्तो परिस्थितिमा हामीले आधारसहित हाम्रा अध्यक्ष महन्थ ठाकुर राष्ट्रिय सहमतिको साझा उम्मेद्वार हुनुहुन्छ भनेर नै लविङ्ग गरेका थियौं । यो मुलुकको पहिलो राष्ट्रपति बन्ने अवसर आउँदा उहाँले अस्वीकार गर्नुभएको थियो । किनकि उहाँले भर्खर मधेशको राजनीतिमा आएर दल गठन गर्नुभएको थियो ।
० पहिलो राष्ट्रपतिको चुनावका बेला पनि महन्थ ठाकुरलाई राष्ट्रपतिको प्रस्ताव आएको थियो ?
— हो । स्वयम् गिरिजाबाबुले नै राष्ट्रपतिका लागि महन्थ ठाकुरलाई प्रस्ताव गर्नुभएको थियो । यो कुरा सबै कांग्रेसीहरुलाई थाहा छ । तर, त्यतिखेर उहाँले परिस्थितिको हिसावले स्वीकार गर्नुभएन । त्यतिखेरको अवस्था र अहिलेको अवस्थामा फरक रहेकोले हामीले उहाँलाई अगाडि सारेका थियौं । उहाँ योग्य, इमान्दार, त्यागी र सर्वमान्य नेता हुनुहुन्छ । विगत १५ वर्षदेखि अनवरत्रुपमा एउटा उद्देश्यका लागि राजनीतिमा सक्रिय हुनुहुन्छ, कहिल्यै पनि कुनै पदमा जानुभएन । त्यागकै राजनीति उहाँले गर्दै आउनुभएको छ । उहाँ राजनीतिक शास्त्रको राम्रो ज्ञान भएको, भू–राजनीति राम्ररी बुझेको, इतिहासको प्रोफेसर नै हुनुहुन्थ्यो । सबै दृष्टिकोणले उहाँ उपयुक्त पात्र हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसमा हुँदा नेपालमा गणतन्त्र हुनुहुन्छ भनेर सबभन्दा पहिला उद्घोष गर्नुभएको थियो । संघीयताप्रति त्यति नै उहाँ इमान्दार र प्रतिबद्ध भई अगाडि बढ्दै हुनुहुन्छ । अहिलेका प्रधानमन्त्री प्रचण्डको पार्टीलाई विस्तृत शान्ति सम्झौतामार्फत् शान्ति वार्तामा ल्याउन पनि ठूलो भूमिका निर्वाह गर्नुभएको थियो । त्यसकारणले शान्ति सम्झौताको मर्म बुझेको व्यक्ति पनि उहाँ भएकोले सबै दृष्टिकोणबाट उहाँ उपयुक्त पात्र हुनुहुन्छ भनेर हामी अगाडि सारेका थियौं ।
० उहाँको जतिसुकै योगदान र त्याग भएपनि अन्य दलहरुले स्वीकार गरेनन् नि ?
— हामी उहाँलाई राष्ट्रपतिका लागि अगाडि सारिरहँदा सँगसँगै भनेका थियौं कि साझा उम्मेद्वार बन्नुभएन भने हामी उठाउँदैनौं । राष्ट्रपतिका लागिा सबै दल आफ्नो दाउमा थिए । राष्ट्रपति त आलंकारिक पद हो, यसमा कार्यकारी अधिकार छैन । प्रथम राष्ट्रपति डा.रामवरण यादवले आफ्नो गरिमा जोगाएर जानुभो तर, अहिलेका राष्ट्रपतिको भूमिका अलि विवादित देखियो । अहिलेको राष्ट्रपतिले जुन किसिमले पदको दुरुपयोग गर्नुभयो, जसले गर्दा यो पद निकै नै शक्तिशाली भएको दलहरुले महसुस गरे । त्यस आधारमा अहिले कांग्रेस, एमाले, माओवादीबीच राष्ट्रपति पदका लागि लुछाचुँडी बढी भयो । ती दलहरुबीच सहमति नभइरहेको अवस्थामा हामी पनि एउटा विकल्प छौं भनेर विकल्प सारेका थियौं । अहिले आठ दलीय गठबन्धनबाट कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेद्वार हुनुभएको छ । राजनीतिमा उहाँको पनि ठूलो योगदान छ । एउटा लोकतान्त्रिक गठबन्धन बनोस् भन्ने हाम्रो चाहना थियो ।
० राष्ट्रपति, प्रधानमन्त्रीमा महन्थ ठाकुरको नामबारे जोडतोडका साथ चर्चा र बहस हुन्छ तर, निर्णायकरुपमा उहाँलाई अगाडि सारिँदैन । यसबाट उहाँको अपमान भएको महसुस हुँदैन ?
— निश्चितरुपमा हामी अपमान भएको महसुस गर्छौं । राष्ट्रका सबै प्रमुख निकायमा एक खास वर्ग समुदायको हातमा छ । दुई तिहाइभन्दा बढी जनसंख्या भएको आदिवासी जनजाति र मधेशीको प्रतिनिधित्व यो राज्यका प्रमुख अंगहरुमा छैन । यो दुर्भाग्यपूर्ण र विभेदकारी अवस्था हो । यस्तै अवस्था रहिरह्यो भने भयावह परिस्थिति आउन सक्ने कुरा शासन सत्तामा बसेका व्यक्तिहरुले यो कुराको ख्याल गर्नु पर्दथ्यो । आफ्नो बिरता जस्तै ठानेर जसरी यो मुलुक सञ्चालन गर्न खोजिएको छ, यस्तै कारणले गर्दा नेपाल झन् पछाडि पर्दै गएको छ ।
० एमालेले त अहिले एक जना जनजाति समुदायका व्यक्तिलाई राष्ट्रपतिको उम्मेद्वार बनाएको छ, तपाइँहरुले समर्थन नगर्ने ?
— एमालेबाट राष्ट्रपतिका लागि उम्मेद्वार हुनुभएका सुवास नेम्वाङ जनजाति नै हुनुहुन्छ, तर उहाँ घोर जनजाति विरोधी हुनुहुन्छ । उहाँले आजसम्म जनजातिको हकहितका निम्ति कहिल्यै बोल्नुभएको छैन । संविधान जारी हुने बेला उहाँ सभामुख हुनुहुन्थ्यो, तर विधि प्रक्रिया मिचेर जबरजस्ती संविधान जारी गर्नुभयो । उहाँ हुन त जनजाति हुनुहुन्छ, तर जनजातिका लागि आजसम्म बोल्नुभएको छैन । संविधान जारी हुनुअगावै मदन परियार नेतृत्वको समितिले सीमांकनको सन्दर्भमा १०+१ को अवधारणा ल्याउनुभएको थियो । सबै जनजातिको पनि त्यहीं माग थियो । तर, उहाँले त्यो प्रतिवेदनलाई डस्टविनमा फाल्नुभयो । उहाँ विचार र सिद्धान्तले जनजाति होइन । यदि वास्तवमै राम्रो जनजाति नेतालाई उम्मेद्वार बनाइएको भए हामी विचार गर्न सक्थ्यौं । त्यस्तो अवस्था नभएकोले हामी डेमोक्रेट भएकोले कांग्रेसका उम्मेद्वारलाई समर्थन गरेका हौं ।
० कांग्रेसका उम्मेद्वार राष्ट्रपतिमा जित्नुहुन्छ ?
— निश्चितरुपमा जित्नुहुन्छ । आठ दलीय गठबन्धनसँग प्रष्ट बहुमत छ, यसमा कुनै संशय छैन । यो गठबन्धन जुन दिन बन्यो, त्यो दिन नै जीत सुनिश्चित भइसकेको थियो ।
० तर, नेपालमा गठबन्धनको आयु धेरै देखिएको छैन । यसअघिको सात दलीय गठबन्धन दुई महिनामै भत्कियो नि ?
— राष्ट्रपति निर्वाचनसम्म त यो निर्वाचन निश्चितरुपले टिक्छ । त्यसपछि पनि यो निरन्तर रहनेछ । यो गठबन्धन दीर्घकालीनरुपमा अगाडि बढ्छ भन्नेमा कुनै संशय छैन ।
० एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै उम्मेद्वार जित्ने दाबी गर्दै हुनुहुन्छ नि ?
— यो उहाँको आफ्नो दाबी होला । यस्तो बेलामा कम्युनिष्टहरु विभिन्न षड्यन्त्र, जालझेल र किनबेचसम्म गर्छन् । विगतमा यस्ता गतिविधिहरु भएका पनि छन् । यो चुनावमा जनता प्रतिनिधिहरुले मतदान गर्नुहुन्छ । उहाँहरुले यो पदको महत्व बुझ्नुभएको छ । यसपालि एमालेको कुनै चाल सफल हुनेवाला छैन । भ्रम सिर्जना गर्नमा केपी ओलीभन्दा माहिर अन्य कोही नेता छँदैछैन । उहाँको भ्रममा कोही पर्नेवाला छैन । आगामी २५ गते परिणामले नै देखाउँछ ।
० अब लोसपा पनि प्रदेशदेखि संघसम्मको सरकारमा सहभागी हुन्छ ?
— स्वाभाविकरुपमा अहिलेको आठ दलीय गठबन्धनको एउटा घटक दल लोसपा पनि हो । सोही आधारमा जसको जहाँ उपस्थिति छ, त्यहाँ सरकारहरु निर्माण हुँदा सबैलाई सहभागी गराएर अगाडि बढ्ने एक प्रकारको सहमति छ ।
तपाईको प्रतिक्रिया