० मधेश प्रदेशसभाको बैठक लामो समयदेखि बस्न नसक्नुको कारण के होला ?
— संसद चलाउने भनेको सरकारले हो । सरकारले बिजनेस दिएपछि संसद चल्ने र सभामुखले बैठक सञ्चालन गर्ने हो । प्रदेशसभाले बैठक बोइसकेपछि त्यो बैठकमा हामी आफ्नो उपस्थिति दर्ज गर्ने हो । तर यस बीचमा विभिन्न चुनावहरुले पनि नियमितरुपमा बैठक बस्न सकेन । यस बीचमा हाम्रो सभामुख पनि बिरामी हुनुहुन्थ्यो । आगामी जेठ २ गतेदेखि संसद बैठक बस्ने सूचना हामीलाई आइसकेको छ ।
० करिब तीन महिनादेखि बैठक बस्न नसक्नुको कारण मुख्य कारण चुनावहरु नै हो त ?
— मुख्य कुरा त्यहीं हो । चुनाव आएपछि स्वाभाविकरुपले नेताहरुलाई पनि चुनाव लाग्छ र संसदमा पनि त्यहीं नेताहरु उपस्थित हुने भएकोले त्यो प्रभावित भएको हो ।
० अहिले बजेट तयारी गर्नेपर्नेछ, जेठ १५ गते नीति कार्यक्रम ल्याउनुपर्ने छ । बजेट र नीति कार्यक्रम प्रभावित हुँदैन ?
— मन्त्रालयहरुलाई सिलिङ्ग पठाउने काम भइसकेको छ । अब छलफलका लागि संसदमा ल्याउनुपर्ने हो । त्यसले गर्दा बजेटलाई यसले धेरै प्रभावित पार्दैन । अन्य बिजनेसहरुमा काम गर्न सकिन्थ्यो, तर ती कामहरु भएनन् ।
० आगामी आर्थिक वर्षका लागि कस्तो बजेट आउँदैछ ?
— प्रदेशसभाको पहिलो कार्यकालमा पनि थियौं र दोस्रो कार्यकालका पनि निर्वाचन भएर आएका हौं । यो बीचको सिकाइ, बुझाइ, अनुभवले के देखायो भने मधेश भनेको कृषिमा आधारित प्रदेश भनेर चिनिने हो । त्यसैले अबको बजेटमा हामीले कृषि र शिक्षालाई प्राथमिकतामा राख्ने हाम्रो सोचाइ छ । अब सरकारले बजेट कस्तो ल्याउँछ, त्यसमा छलफल गर्ने हो । तर यसपालिको बजेटमा हाम्रो जोड कृषि र शिक्षालाई महत्वका साथ अगाडि बढाउने हो ।
० चालु आर्थिक वर्षको कति बजेट यो सरकारले खर्च गर्न सक्यो ?
— विगतका वर्षहरुमा पनि मधेश प्रदेशको बजेट ६७–७० प्रतिशतसम्म बजेट खर्च भएको हो । शतप्रतिशत बजेट कुनै पनि वर्षमा भएको छैन । यसपालि त झन् चुनावले गर्दा बजेट चलाउन सकिएको छैन । सरकारमा मन्त्रीहरु फेरबदल हुँदा पनि बजेट प्रभावित भएकै हो । चालु आर्थिक वर्षको बजेट पनि विगतको जस्तै होला ।
० तर अहिलेसम्म हेर्दा ३०–३५ प्रतिशत मात्रै बजेट खर्च भएको देखिन्छ । अब करिब दुई महिना मात्र बाँकी छ । भनेपछि असारे विकास होला ?
— विभिन्न सञ्चारमाध्यमहरुमा आएको जस्तो होइन । सञ्चारमाध्यमहरुमा आएको बजेट खर्च भनेको त्यो भुक्तानी भइसकेको तथ्यांक हो । तर धेरै यस्ता योजनाहरु चालु छन्, जसको भुक्तानी भइसकेको छैन । असार मसान्तसम्म भुक्तानी हुने भएकोले असारमा बढी खर्च देखाउँछ । सम्झौता भइसकेको र काम चलिरहेको छ भने त्यसको भुक्तानी अन्तिममा हुन्छ नि ।
० अहिले मधेश प्रदेशबाहेक सबै प्रदेशमा सरकारहरु परिवर्तन हुँदै आएको छ । मधेश प्रदेशमा सरकार परिवर्तनको अवस्था छ कि छैन ?
— राजनीतिमा कुनै पनि बेला परिवर्तन हुन सक्छ । अहिले जुन नयाँ गठबन्धन बनेको छ, त्यो हिसावले नेतृत्व परिवर्तन हुन्छ नै । अहिले पनि विभिन्न चरणमा शीर्ष नेतृत्वबीच छलफल भइरहेको छ । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि नेतृत्वको दाबी गरिरहेको छ । पाँच दलबीचको बैठकले सहमतिमा एउटा निष्कर्षमा पुगिन्छ ।
० भनेपछि मधेश प्रदेशमा पनि सरकार परिवर्तन हुँदैछ ?
— गठबन्धनको राजनीतिमा त सरकार परिवर्तन हुनु स्वाभाविक नै हो । किनभने मंसिर ४ को चुनावले कुनै पनि एउटा पार्टीलाई पूरै कार्यकाल सरकार सञ्चालन गर्ने म्यान्डेट दिएको छैन । मिलिजुली सरकार चलाउनुपर्ने अवस्था भएकोले आलोपालो सरकारको नेतृत्व गर्नुपर्ने अवस्था छ ।
० लोसपाले के आधारमा मधेशमा सरकार नेतृत्वको दाबी गरिरहेको छ त ?
— संख्याको हिसावले मात्रै सरकार नेतृत्वको दाबी हुँदैन । लोसपा पनि सत्ता गठबन्धनको एउटा हिस्सेदार हो । त्यो हिसावले हामी पनि मधेश सरकारको नेतृत्व गर्ने मौका पाउनुपर्छ भन्ने हाम्रो माग हो । पाँच वटा दलको सम्मिलित सरकार छ भने सबैको भूमिका देखिनुपर्छ । त्यो हिसावले पनि हामी नेतृत्वको दाबी गरेका हौं ।
० मधेश प्रदेशको सरकारमा जसपा र जनमतले आधी–आधी कार्यकाल चलाउने भन्ने सहमति भएको सुनिन्छ नि ?
— मधेश सरकारको नेतृत्व कसले गर्ने भन्ने कुराको लिखित सहमति भएको छैन । त्यो एउटा मौखिक समझदारी भएको होला । अहिलेसम्म जनमत वा कांग्रेसलाई नै दिने कुनै सहमति नभएकोले लोसपाको पनि दाबी छ ।
० अहिले बजेटको तयारी गर्ने कि सरकारको नेतृत्व परिवर्तन गर्ने ?
— अहिले सरकारको नेतृत्व परिवर्तन गर्नुभन्दा पनि बजेटलाई प्राथमिकतामा राख्नुपर्ने हो । सरकार परिवर्तनका लागि धेरै समय लाग्दैन । एक–दुई घन्टामै सहमति भएर सरकारको नेतृत्व परिवर्तन हुनसक्छ । सरकार परिवर्तनसँग बजेटको कुनै सरोकार हुँदैन ।
० बजेट निर्माणको बेला सरकार परिवर्तनले प्रभावित हुँदैन ?
— त्यसैले हामीले अविलम्ब एउटा निर्णयमा पुग्नुपर्छ भन्ने भनिरहेका छौं । किनभने अहिले बजेट ल्याउने बेला भइसकेको छ । पाँच दलका शीर्ष नेताहरुले तत्काल एउटा निष्कर्षमा पुग्नुपर्छ । होइन भने, बजेट पछि नै सरकार परिवर्तन गर्ने हो भने केही छैन ।
० अहिले मधेश प्रदेशको सरकारले पूर्णता नै पाएको छैन । कतिपय मन्त्रालयमा मन्त्रीहरु छैनन्, मुख्यमन्त्रीकै मातहतमा छन् । यस्तो अवस्थामा कस्तो बजेट आउँछ त ?
— निश्चितरुपमा मन्त्रालयमा मन्त्री नहुँदा बजेट प्रभावित हुन्छ । त्यसैले हामी छिटोभन्दा छिटो एउटा निष्कर्षमा पुग्नुपर्ने हामीले माग गरिरहेका छौं । अहिले मधेश प्रदेशमा चार वटा मन्त्रालय खाली छ । मन्त्रीविहीन मन्त्रालय हुँदा बजेट प्रभावित हुनेछ ।
० मधेश प्रदेशमा कति मन्त्रालयमा लोसपाको दाबी छ ?
— हामीले त सबैभन्दा पहिला मुख्यमन्त्रीकै माग गरेका छौं । मुख्यमन्त्रीसहित दुईटा मन्त्रालयमा हाम्रो दाबी रहन्छ । यदि मुख्यमन्त्री दिइएन भने तीनटा मन्त्रालय लोसपाले पाउनुपर्छ । यो छलफलको विषय हो । अहिलेसम्म टुंगोमा पुगिसकेको छैन ।
० विगतमा तपाइँको पार्टी सरकारमा जाँदा महिलालाई न्यायोचित सहभागिता गराएको देखिएन नि ?
— मेरो पार्टी मात्रै होइन, कुनै पनि पार्टीले महिलालाई क्याबिनेटमा पठाएन । मेरो पार्टीले त कमसेकम एकजना राज्यमन्त्री बनाएको थियो । बरु अन्य पार्टीहरुभन्दा हाम्रो पार्टीले दिएकै हो । तर पनि हाम्रो गुनासो थियो कि राज्यमन्त्रीमा हामी सन्तुष्ट छैनौं । महिलालाई नेतृत्वदायी भूमिका दिनुपर्छ । सहयोगी भूमिकामा नजाउँ भन्ने मेरो माग थियो । संसदमा मैले उठाउँदै आएको हुँ कि महिलालाई पनि नेतृत्वदायी जिम्मेवारी ल्याउनुपर्छ । विगत पाँच वर्षमा जे गल्ती भयो, सायद आगामी दिनमा फेरि त्यो गल्ती दोहोरिँदैन । किनकि अन्य पार्टीहरुले पनि सुधारेको अवस्था छ । विगत पाँच वर्षमा कुनै पनि महिलाले क्याबिनेटको जिम्मेवारी पाउनुभएन । अहिलेको सरकारमा दुई–दुई जना महिला क्याबिनेटको जिम्मेवारी लिएर चलाइरहनुभएको छ । यो भनेको हामीले लडेको लडाइँको उपलब्धि हो । हामीले जुन आवाज उठाइरहेका थियौं, त्यसको सम्बोधन भएको हामी ठान्दछौं ।
० लोसपा मधेश सरकारमा जाँदा महिलालाई नै क्याबिनेट मन्त्री बनाउँछ ?
— महिलालाई क्याबिनेटमा पठाउनुपर्छ भन्ने मेरो माग हो ।
० मधेश प्रदेशमा महिलाले मुख्यमन्त्री चलाउने क्षमता राख्छ कि राख्दैन ?
— कुनै पनि जिम्मेवारी पूरा गर्न सक्ने क्षमता महिलाले राख्दछ । हुन त सबै सांसदले मुख्यमन्त्री चलाउन सक्ने क्षमता राख्नुहुन्छ । त्यसमा महिला र पुरुषको त कुरै आउँदैन । कुनै पनि महिला सक्षम नभएको होइन, मौका मात्रै नपाएको हो । मौका दिएर हेर्नुस्, कुनै पनि महिला पुरुषभन्दा राम्ररी प्रदेश चलाउन सक्षम छन् ।
० तर, महिलाहरुले दाबी गरेको देखिँदैन नि ?
— मुख्यमन्त्री बन्नका लागि दलको नेता हुनुहुपर्छ र दलको नेता बन्न संख्या हुनुपर्छ । अहिले पनि नेतृत्वमा बहुमत पुरुषहरुकै छ । त्यसले गर्दा पुरुषले मात्रै मौका पाइरहेका छन् । महिला असक्षम होइनन् । महिलाले संख्या पु¥याउन सकिरहेको छैन । किनकि महिलाको उपस्थिति आज पनि कम छ । हरेक निर्णयका लागि बहुमतको आवश्यकता भएकोले महिलाले दाबी गर्न नसकेको हो ।
० तपाइँकै पार्टीमा दलको नेता फेरि पुरुष हुनुभएको छ, महिलाहरुले दाबी नै गरेको देखिएन त ?
— आज पनि मधेश प्रदेशमा हाम्रो नौ जनामा तीन जना मात्रै महिला छौं । कुनै एउटा व्यक्तिको नाममा सहमति हुँदा पनि बहुमतको आधारमा हुने हो । महिलाको पक्षमा पुरुषहरु जानुहुन्न । त्यसैले हामी दाबी नगर्नुको बाध्यता छ । त्यसैले नेतृत्वा गर्न नसकिने होइन, कुनै पुरुषभन्दा महिला कम छैनन् । हामी पनि चुनाव जितेर आएका हौं । जनताले सक्षम मानेर नै जिताएको हो ।
० तपाइँ दुई–दुई पटक प्रत्यक्ष चुनावमा जितेर आउनुभएको छ । तर, पार्टीले कदर नगरेको हो नि ?
— राजनीतिमा पनि धैर्यताको आवश्यकता पर्छ । एक दिन सबैको योगदान र क्षमताको मूल्यांकन हुन्छ भन्ने मलाई विश्वास छ । कुनै न कुनै दिन मेरो पनि मूल्यांकन होला ।
० अहिले मधेश प्रदेशमा जसपा र जनमतबीच एक किसिमको टकराबम देखिएको छ । जनमत पार्टीलाई मधेशको सरकारबाट हटाउने लगायतका कुराहरु भइरहेको छ, के हो यो ?
— मधेश सरकारबाट जनमत पार्टी हट्दा पनि गठबन्धनको बहुमत नै छ । तर, अहिलेसम्म जनमत पार्टीलाई सरकारबाट हटाउने कुरामा छलफल भएको छैन । राजनीतिमा एक दलले अर्का दलमाथि विभिन्न आक्षेप, आरोप लगाउने कुरा भइरहन्छ । आआफ्नो राजनीतिक स्पेस बनाउन दलहरुबीच टकराब देखिन्छ । सरकारबाट हट्ने, जाने भइरहन्छ । संघ सरकारबाट जनमत पार्टीले आफ्नो मन्त्रीलाई फिर्ता बोलाइसकेको छ । त्यसरी सरकारमा आउने–जाने भइरहन्छ ।
० तपाइँ मधेश प्रदेशसभामा दोस्रो पटक निर्वाचित हुनुहभएको छ । पहिलो कार्यकालमा कस्तो अनुभव रह्यो ?
— दोस्रो पटक पनि जनताले मलाई जिताएर पठाउनु भनेकै मैले जनताको मन जित्न सफल भएको हुँ । मैले केही हदसम्म जनताका आकांक्षा पूरा गर्न सफल भएको हो । शतप्रतिशत जनताको मन जित्न सकिँदैन । स्रोत, साधन, क्षमता र योग्यताले शतप्रतिशत कसैले पनि गर्न सक्दैन । मधेशको अवस्था कस्तो थियो भने वर्षौंदेखि यहाँका समस्या र आवाज कसैले सुनिदिएको थिएन । यस्तो अवस्थामा हामी निर्वाचित भएर आउँदा आवश्यकता धेरै थियो, तर स्रोत साधन थोरै थियो । त्यसले गर्दा सबैको आवश्यकता पूरा गर्न नसकेकै हो । त्यसैले केही हदसम्म मेरो स्रोत, साधनले भ्याएसम्म पूरा गरेकै कारणले मलाई दोहो¥याएर मौका दिएको होला । केही हदसम्म उहाँहरुको आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढेकै थिएँ । हिजोभन्दा आज मैले आफ्ना मतदाताको समस्यालाई अझ बढी बुझेको छु । विगतमा मैले जति गरें, त्योभन्दा अझ बढी गर्ने मैले प्रयास गर्नेछु । हिजो पाँच वर्ष केही सिकाइमै बित्यो होला, अब मैले काम गर्छु । मैले गरेको वचनबद्धताहरु सकेसम्म पूरा गर्छु ।
० यसपटक चुनावमा जाँदा के–के नयाँ प्रतिबद्धता जनाउनुभएको छ ?
— मधेशको आधारभूत आवश्यकता भनेकै शिक्षाको गुणस्तर र कृषिमा आत्मनिर्भर हो । अहिले पनि कृषिमा धेरै समस्याहरु छन् । किसानले समयमा मलखाद, बीउबिजन, सिंचाइ पाइरहेका छैनन् । त्यस्तै, बेरोजगारी पनि छन् । अबको पाँच वर्ष हामीले कृषिलाई प्राथमिकतामा राखेर काम गर्छौं । जनताको माग पनि त्यहीं रहेको छ ।
० विगत पाँच वर्षको कार्यकालमा तपाइँले गारेका मुख्य कामहरु के–के छन् ?
— म जुन क्षेत्रबाट निर्वाचित भएको छु, त्यहीं क्षेत्रबाट मेरो पार्टीका अध्यक्ष संघीय संसदमा निर्वाचित हुनुभएको छ । म सधैं भन्ने गरेको छु कि मेरो क्षेत्र भनेको दुर्गम क्षेत्र हो । विकासकै कुरा गर्ने हो भने यो देशमै पछाडि परेको जिल्ला हो । यहाँ बाटोघाटोको पनि धेरै नै समस्या भएकोले दुर्गमको संज्ञा दिने गरेको थिएँ । पहिलो चुनावका बेला गाउँ–गाउँ जाँदा एक किलोमिटर पनि पक्की सडक बनेको थिएन । आजको अवस्था भन्ने हो भने म खुशीका साथ भन्न सक्छु कि लगभग ७० प्रतिशत पक्की सडक निर्माण गराएकी हुँ । त्यस्तै, शिक्षाको क्षेत्रमा लगभग प्रत्येक वार्डका विद्यालयहरुमा भवनहरु निर्माण गराउने कार्यहरु गरेका छौं । सामुदायिक भवनहरुको आवश्यकता देखिएको थियो, त्यसमा पनि हामी जोड दियौं । किनभने मधेशमा विवाह, ब्रतबन्ध हुँदा विद्यालयहरुमा जन्ती राख्ने चलन थियो । त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने मेरो अभियान थियो । त्यसका लागि हामीले हरेक गाउँहरुमा सामुदायिक भवन बनाउने कायहरु गरें । त्यसपछि, स्वास्थ्य क्षेत्रको कुरा गर्ने हो भने महोत्तरी सदरमुकाम जलेश्वर पनि मेरो क्षेत्रभित्र पर्छ । जलेश्वर अस्पतालको हिजोको अवस्था र आजको अवस्थामा परिवर्तन भएको छ । त्यस्तै, सामाजिक विकासमा पनि मैले काम गरेको हुँ । पूर्वाधार विकास मात्रै होइन, सामाजिक विकास पनि आवश्यक हो । यहाँका मठमन्दिरहरु पनि जीर्ण अवस्थामा थिए । मठमन्दिरहरुमा पनि काम भएको छ । समग्रमा भन्नुपर्दा पहिलो चरणमा साना–साना धेरै आवश्यकताहरु थियो । त्यसलाई नै हामीले प्राथमिकतामा राखेका थियौं । ती साना–साना आवश्यकताहरु पूरा गरिसकेका छौं ।
० अहिले मुलुकमा भ्रष्टाचारका धेरै काण्डहरु बाहिर आइरहेका छन्, त्यसमा ठूला पार्टीका नेताहरु मुछिँदैछन् । मधेश प्रदेशमा पनि भ्रष्टाचारका विभिन्न काण्डहरु भएका छन् । तपाइँहरुले प्रदेशसभामा ती भ्रष्टाचारका काण्डहरुबारे आवाज उठाउने कि नउठाउने ?
— म व्यक्तिगतरुपमा मधेश प्रदेशमा भएका भ्रष्टाचारका काण्डहरुबारे संसदमा आवाज उठाउँदै आएको हुँ । मैले अनियमितता गर्ने दोषीलाई कारबाही होस् भन्दै आएको छु । मधेश प्रदेशकै मुख्यमन्त्री कार्यक्रमहरुमा भ्रष्टाचार भएको कुराहरु बाहिर आएको थियो । साइकल काण्डहरु पनि छन् । यसमा मुद्दा पनि परेको छ । तर राज्यले ती भ्रष्टाचारका काण्डहरुलाई गम्भीरतापूर्वक लिएको थिएन । कुनै पनि भ्रष्टाचारी जोगिनु हुन्न । त्यस्ता भ्रष्टाचारबारे हिजो पनि उठाउँदै आएको थिएँ र भोलि पनि उठाउने छु ।
तपाईको प्रतिक्रिया