मलाई हराउन सीके राउतले उपेन्द्र यादवसँग सम्झौता गरे : शिवचन्द्र कुशवाहा

अन्तर्वार्ता

शिवचन्द्र कुशवाहा

० जनमत पार्टीले तपाइँलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ, तपाइँको धारणा के छ ?

— पहिलो कुरा त म जनमत पार्टीको सदस्य होइन । उपचुनावको बेला मेरो पार्टीबाट चुनाव लड्नुस् भनेपछि म जनमत पार्टीबाट चुनाव लडेको थिएँ । म चुनाव लड्नका लागि मात्रै जनमत पार्टीमा प्रवेश गरेको थिएँ । म चुनावमा गइसकेपछि डा.सीके राउतले मलाई हराउने काम गर्नुभयो ।

० डा.सीके राउतले तपाइँलाई कसरी हराउन लाग्नुभयो ?

— सीके राउतले आफ्नो ब्राण्ड स्थापित गर्न खोज्नुभएको थियो । चुनाव अगाडि मलाई आफ्नो पार्टीबाट उम्मेद्वार बनाउने बेलामा मसँग धेरै कमिटमेन्टहरू गर्नुभएको थियो । तर, म उम्मेद्वार भइसकेपछि उहाँले एउटा पनि कमिटमेन्ट लागू गर्नुभएन । उहाँले चुनावमा मलाई धोका दिनुभयो र सप्तरी क्षेत्र नं. २ सुरक्षित गर्नका चुनावको मुखमा मलाई हराउने गतिविधि गर्नुभयो । हजारौं मान्छे बाहिरबाट ल्याएर उपेन्द्र यादवलाई उत्तेजित बनाउने काम गर्नुभयो ।

० जनमत पार्टीबाट चुनाव लड्न सीके राउतले तपाइँसँग के–के कमिटमेन्ट गर्नुभएको थियो ?

— उहाँले जिताउने कमिटमेन्ट गरिसकेपछि चुनाव नजिकिँदै गर्दा जुन व्यवहारहरू गर्नुभयो त्यसबाट प्रष्ट भयो कि सीके राउत र हर्न छापलाई स्थापित गर्नेतिर लाग्नुभयो । मलाई उहाँले चुनाव जिताउनुभन्दा पनि हराउनेतर्फ गतिविधिहरू गर्नुभयो । उहाँले आफ्नो सप्तरी क्षेत्र नं. २ सुरक्षित गर्नका लागि उपेन्द्र यादवसँग सम्झौता गर्नुभयो । मलाई यतिसम्म भन्नुभयो कि ‘टिकट इतना सस्ता है ?’ उहाँले टिकट नै बेच्नु थियो भने पहिला नै भन्नुपर्दथ्यो नि । जब चुनावको सात दिन मात्र बाँकी थियो, त्यसबेलादेखि मसँग जुन प्रकारले व्यवहार गर्नुभयो त्यो त सिधै मलाई हराउने देखिएको थियो ।

० चुनाव जिताउन तपाइँसँग पैसाको माग गरिएको थियो ?

— हैन, पैसाको त कुरै भएन । जब उहाँले चुनाव जिताउने कमिटमेन्ट गरिसकेपछि पूर्णरूपमा सहयोग गर्नुपर्दथ्यो । चुनावको हप्ता अगाडि मैले सहयोगको कुरा गर्दा मलाई भन्नुभयो कि ‘टिकट इतना सस्ता है ?’ उहाँले त्यस्तो भनिसकेपछि मलाई सहयोग गर्ने नियत देखेन । बारा २ मा उहाँले मेरो माध्यमबाट आफ्नो पार्टी स्थापित गर्न मात्र लाग्नुभयो । म त जनताको सेवक हुँ । म जनताको भावना जितेको मान्छे हुँ । म पहिलोपटक चुनाव लडेको होइन । २०७९ को चुनावमा पनि म ३५४ मतले मात्र पराजित भएको मान्छे हुँ । त्यो हिसावले जनताले जहिले पनि मप्रति माया र स्नेह रहिरहेको अवस्था छ । जनताको भावनाको सम्मान गर्नका लागि मैले चुनाव लड्नैपर्ने अवस्था थियो । मैले जनमत पार्टीबाट उम्मेद्वारी दिइसकेपछि सीके राउतले जुन गतिविधि र योजना बनाउनुभयो, त्यसबाट मलाई थाहा भयो कि उहाँ मलाई जिताउन होइन, हराउन लाग्नुभयो । चुनावपछि मैले समीक्षा गर्दा भित्री रूपमा उहाँले सम्झौता गरेर मलाई असहयोग गर्ने काम गर्नुभयो ।

० तर, चुनावभरि नै सीके राउत तपाइँलाई जिताउन घरदैलो गर्नुभयो । कसरी तपाइँलाई उहाँले हराउन लाग्नुभयो त ?

— उहाँले घरदैलो गर्नुभयो तर नियतमा समस्या देखिएको थियो । उहाँले बाहिरबाट हजारौं मान्छे उतार्दा जनतामै नकारात्मक सन्देश गयो । हाम्रो हरेक बुथहरूमा बाहिरियाहरू ल्याएर थुपार्दा जनतामा केही असन्तुष्टि देखिए । यस्ता धेरै कुराहरू छन् ।

० सीके राउत र हर्न छापकै कारण तपाइँले २३ हजारभन्दा बढी मत ल्याउनुभयो नि ?

— यहीं कुरा त भ्रमपूर्ण छ । मैले उहाँको पार्टीबाट चुनाव लडेर भूल गरें । म त स्वतन्त्ररूपमा चुनाव लड्नेवाला थिएँ । सायद म स्वतन्त्रबाट चुनाव लडेको भए, मेरो यो हालत हुनेवाला थिएन । जसरी कमिटमेन्टहरू उहाँ गर्नुभएको थियो, त्यसबाट मलाई ब्याकफोर्स हुन्छ भनेर नै जनमतबाट चुनाव लडेको थिएँ । म जनमतबाट नै चुनाव लडेकोले सबै शक्तिहरू सीके राउतसँग जुड्न पुगे र उहाँले आफ्नो ब्राण्ड स्थापित गर्न लागे ।

० २०७९ को चुनावभन्दा बढी मत तपाइँले उपचुनावमा पाउनुभएको थियो । त्यसमा सीके राउतको सहयोग थिएन ?

— बारा जिल्लाको नेता शिवचन्द्र कुशवाहा हो, यो क्षेत्रको नेता शिवचन्द्र कुशवाहा हो । जनताको भावना र आशा शिवचन्द्र कुशवाहाप्रति छ । २०७९ को चुनावमा सीके राउतका उम्मेद्वार पनि त लडेका थिए, कति मत ल्याए ? के हालत भयो ? उहाँको उम्मेद्वारले २७ सय मत ल्याएका थिए । जब मैले उहाँ चुनाव चिन्ह लिएर चुनाव लडेपछि त्यत्रो मत आएको हो । त्यो मत भनेको शिवचन्द्रप्रतिको भावनाको मत हो । सीके राउतका समर्थकहरूको २–४ हजार मत आएको होला । तर उहाँको क्रियाकलाप, बोलीचालीले गर्दा दशौं हजार मत उपेन्द्र यादवको पक्षमा गयो । उहाँले बाहिरिया मान्छेहरू उतारेर जसरी आतंकित बनाउने काम गर्नुभयो, त्यसले गर्दा पनि मेरो मत कम भयो ।

० तपाइँले जनमत पार्टीबाट चुनाव लड्ने घोषणा गर्दै गर्दा सीके राउतको त धेरै गुणगान गर्नुभएको थियो । तर अहिले कारबाहीमा परिसकेपछि आलोचना गर्नु स्वाभाविक हो नि ?

— कुनै मान्छेलाई चिन्नका लागि उसँग सहकार्य गर्नु पर्दोरहेछ । चुनावका बेला जसरी मैले उहाँसँग सहकार्य गरेको थिए, त्यसबाट धेरै भ्रमहरू टुट्यो । चुनावअगाडि मैले जसरी उहाँलाई बुझेको थिएँ, चुनावका बेला उहाँको त्यस्तो व्यवहार पाएन । त्यसैले मैले चुनावपछि समीक्षा पछि गरें, अनुसन्धान पनि गरें । मैले समीक्षा गर्दा सबैको विचार र सुझाव सुन्दा डा.सीके राउत भनेको राम्रैसँग सबैतिर भ्रम दिनुभएको छ । उहाँ भनेको राजनीतिक व्यक्ति रहेनछ, व्यावहारिक अनुभव छैन, सामाजिक ज्ञान छैन । पढलेखेको एउटा उहाँ विद्वान हो । उहाँ पार्टीभित्र डिक्टेटरसिप चलाउनुहुन्छ । उहाँले जसरी सबैलाई भ्रमित पार्दै आउनुभएको छ, विस्तारै पोल खुल्दैछ । राजनीतिक व्यक्तिहरू उहाँको पार्टी टिक्न सक्दैन । केही समय त टिक्ला तर राजनीतिक व्यक्तिहरू उहाँको पार्टीमा टिक्न गाह्रो हुन्छ । राजनीतिक पृष्ठभूमि बोकेका व्यक्तित्वहरू यदि प्रवेश गरेपनि केही समयपछि नै पार्टी छोडेर जाने स्थिति बन्छ । उहाँको भूमिका, क्रियाकलाप र कार्यशैलीहरू पूर्णरूपमा डिक्टेटरसिपको रहेछ ।

० तपाइँले अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरूद्ध लागेको आरोप लागेको छ नि ?

— मेरो राजनीतिक पृष्ठभूमि छ । म बाल्यकालदेखि नै नेताहरूको पछि–पछि लागेको मान्छे हुँ । वि.सं. २०३७ सालदेखि नै म कम्युनिष्ट पार्टीप्रति आस्था राखेर राजनीतिमा लागेको थिएँ । विभिन्न आन्दोलनहरूमा मेरो भूमिका छ । २०४६ सालदेखि निरन्तर कम्यनिष्ट पार्टीमा काम गर्दै आएको पात्र हुँ । म अन्याय सहन सक्ने मान्छे होइन । मप्रति अन्याय गर्ने मान्छेहरूसँग संघर्ष गर्ने पात्र हुँ । म जडसूत्रवाद पनि होइन, अवसरवाद पनि होइन, यथास्थितिवादी पनि होइन । म एउटा क्रान्तिकारी विचारधारा भएकोले अन्यायको विरूद्धमा न्यायका लागि संघर्ष गर्ने गर्दछु । मलाई दुनियाँले भन्छ कि अवसरवादी हो, पार्टी फेर्छन् । ममाथि कसैले अन्याय गरिरहन्छ तर म सहेर बसिराख्ने त्यस्तो जडसूत्रवादी विचारधाराको मान्छे होइन । म एउटा अग्रगमनकारी विचारधाराको मान्छे हुँ । म जनतामा विश्वास राख्छु । जुन दलबाट पनि चुनाव लड्दा जनताले ममाथि विश्वास गर्छ भन्ने मेरो विश्वास छ ।

० अब तपाइँ आफ्नो राजनीतिक यात्रा कसरी अगाडि बढाउनुहुन्छ ?

— अहिले म कुनै सोच बनाइसकेको छैन । केही त गर्नुपर्छ भन्ने मनभित्र छ । म आफ्ना शुभचिन्तकहरूसँग सल्लाह गर्दैछु । धेरै दबाब आइरहेको छ कि मेरै अध्यक्षतामा एउटा पार्टी खोल्नुपर्छ भनेर । तर मैले अहिले कुनै सोच बनाएको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ