२०८४ को चुनावमा रास्वपाको दुई तिहाइको सरकार बन्नेछ

अन्तर्वार्ता

० तपाइँ नेपाली कांग्रेसमा हुनुहुन्थ्यो । चुनावमा तपाइँलाई टिकट नदिँदा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको हो ?

— नेपाली कांग्रेस परित्याग गर्नुका विभिन्न कारणहरू हुनसक्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्नुको एउटा मूल कारण मलाई प्रतिनिधिसभा चुनावमा टिकट दिइएन भन्ने पनि हुनसक्छ । जबसम्म हामी नेतृत्वमा जाँदैनौं, तबसम्म हामी केही पनि गर्न सक्दैनौं । देशमा नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकता छ । देशमा डेलिभर दिनसक्ने नेता चाहिएको छ । त्यस्ता नेताहरूलाई अगाडि बढाउने कार्य अन्य दलहरूले गरिरहेका छैनन् । नयाँ पार्टीको रूपमा अहिले रास्वपा आएको छ । छोटो समयमा नै जनताले राम्रोसँग मत दिएको अवस्था छ । हाम्रा सभापति रवि लामिछाने दोहो¥याएर चुनाव लड्दासमेत आमजनताले खुलेर मतदान गरेको अवस्था छ । तसर्थ, देशमा अब परिवर्तन गर्न, नेतृत्व परिवर्तन गर्न र सक्षम नेतृत्व दिन रास्वपाको मिशन २०८४ लाई सफल बनाउन म उक्त पार्टीमा लागेको हुँ ।

० तर, रास्वपा नीति, सिद्धान्तविहीन पार्टी हो, एउटा लहर चल्यो र रास्वपाले यत्रो मत ल्यायो भन्नेहरू पनि छन् नि ?

— रास्वपाको कुनै नीति सिद्धान्त छैन भन्ने कुरा गलत हो । अन्य पार्टीका मानिसहरूले यस्ता भ्रम फैलाएका छन् । रास्वपाको आफ्नै नीति, सिद्धान्त र दस्तावेज छ । रास्वपाले संवैधानिक समाजवादलाई अगाडि बढाएको छ । रास्वपा लोकतान्त्रिक विचारधाराका पार्टीको हो । जसले हाम्रो पार्टीको दस्तावेज अध्ययन गरेका छैनन्, त्यस्ताहरूले रास्वपाका विरूद्धमा प्रचार गरिरहेका छन् ।

० रास्वपा संघीयता विरोधी पार्टी भनेर भनिन्छ त ?

— यो बिल्कुल गलत कुरा हो । म संघीयताका लागि लागेको मान्छु हुँ, मधेश आन्दोलनमा सहभागी भएको मान्छे हुँ । म आफूलाई मधेशी पहिचान र अधिकारका लागि वकालत गर्ने व्यक्ति हुँ । तर, हामीले जुन खालको संघीयताको हामी परिकल्पना गरेका थियौं, त्यो खालको छैन । अहिलेको संघीयता भनेको अञ्चलजस्तै बनाइएको छ । नामका लागि मात्रै प्रदेशमा मुख्यमन्त्रीहरू छन्, तर अधिकार केही छैन । तसर्थ, अहिलेको संघीयतालाई परिमार्जन गर्नुपर्ने आवश्यकता हो । त्यसैले, हामी संघीयता विरोधी होइन कि संघीयतालाई थप मजबुत र प्रभावकारी बनाउने पक्षधर हौं । चुनावको मुखमै पार्टी खोलिएकोले प्रदेशमा रास्वपाले आफ्नो उम्मेद्वार दिन सकेन ।

० भनेपछि, २०८४ को चुनावमा रास्वपाले प्रदेशमा पनि आफ्नो उम्मेद्वार खडा गर्छ ?

— २०८४ को चुनावमा मात्रै होइन, यदि कोशी प्रदेशमा मध्यावधि चुनाव भयो भने रास्वपाले आफ्नो उम्मेद्वार दिन्छ । लगभग कोशी प्रदेश मध्यावधिकै बाटोमा गइरहेको छ । यदि कोशीमा मध्यावधि चुनाव भयो भने रास्वपाको प्रादेशिक चुनावी यात्रा सुरू हुन्छ । २०८४ को चुनावमा रास्वपाले सरकार बनाउनेवाला छ ।

० कोशी प्रदेशको विवादलाई कसरी हेर्नुभएको छ ?

— कोशी प्रदेशको नामाकरणको विषयमा हाम्रो कुनै प्रतिक्रिया छैन । किनभने प्रदेशमा हाम्रो प्रतिनिधि नै छैन । अर्को कुरा, कोशी प्रदेश सरकारको विषयमा जुन कुरा छ, त्यसमा कांग्रेसले बठ्याइँ गरेकै हो । कांग्रेसलाई आफूलाई संविधानभन्दा पनि माथि ठान्छ । संसदको सभामुख कुनै एक दलको पक्षमा लाग्नु हुँदैन । कांग्रेस लगायत सत्तारूढ दलहरूको हठपनाले गर्दा कोशी प्रदेशका मुख्यमन्त्रीलाई अदालतले पदमुक्त गरिदियो । गठबन्धनको सरकार ढलिसकेपछि अब नयाँ गठनका लागि प्रक्रिया सुरू हुनेछ । अब सबभन्दा ठूलो दलले मुख्यमन्त्रीका लागि दाबी गर्छन्, तर ३० दिनपछि फेरि विश्वासको मत लिनुपर्ने हुन्छ ।

० गत आमचुनावमा तपाइँ सुनसरी २ बाट प्रतिनिधिसभा चुनाव लड्ने स्वघोषणा गर्नुभएको थियो, तर कांग्रेसले तपाइँलाई टिकट दिएन । रास्वपामा टिकट पाउने सुनिश्चित भएर प्रवेश गर्नुभएको हो ?

— रास्वपा एउटा अभियान हो, त्यो अभियान मन परेर म प्रवेश गरेको हुँ । म चुनाव लडेर पनि रास्वपाका कुनै उम्मेद्वार जित्यो भने म खुशी हुनेछु । किनकि रास्वपा राम्रो पार्टी हो, यसले देश बनाउँछ । रास्वपाले मलाई जहाँ पठाउँछ, त्यहीं जान्छ । कांग्रेसमा हाम्रो बाउबाजेको धेरै लगानी छ, त्यसैले मैले शर्त नै राखेको थिएँ कि टिकट दिएपछि मात्रै बस्ने । किनकि, सुनसरी २ बाट अहिलेसम्म कांग्रेसबाट लडेका नेताहरू असक्षम छन् । मैले जुन व्यक्तिको विकल्पमा टिकट मागेको थिएँ, त्यो व्यक्ति हार्नुभो ।

० तराई–मधेशमा रास्वपाप्रति आकर्षण छैन । जुन बारा २ को उपनिर्वाचन देखायो । यो पहाडका शहरी भेगमा मात्रै आकर्षण देखियो नि ?

— वास्तवमा रास्वपाप्रति तराई–मधेशमा त्यो किसिमको आकर्षण देखिएको छैन । यो मननीय विषय हो । बारा २ को उपनिर्वाचनमा रास्वपाले उम्मेद्वार चयनमा कमजोरी गरेकै हो । रास्वपाले बारा २ मा त्यहींकै कुनै योग्य व्यक्तिलाई उम्मेद्वार बनाउनुपर्ने थियो । तराई–मधेशमा रास्वपाप्रति त्यति आकर्षण नहुनुको मूल कारण नेतृत्वमा तराई–मधेशका मान्छे त्यति छैनन् । नेतृत्वमा तराई–मधेशका अनुहार कम भएकोले त्यस्तो अवस्था देखिएको हो । अब हामीले यी कमी कमजोरी सुधार्छौं । रास्वपा अहिले विस्तार अभियान चलेको छैन, निर्माण अभियान चलेको छ । हामी कहीं पनि संगठन विस्तार गरिरहेका छैनौं, निर्माण गरिरहेका छौं । त्यसैले, रास्वपा अहिले निर्माणकै क्रममा छ । २०८४ मा दुई तिहाइको रास्वपाको सरकार बनाउने अभियानमा छौं । यो अभियानमा हामीलाई तराई–मधेश, पहाड र हिमालका जनताले साथ दिनेछन् ।

० मधेशमा पनि नयाँ शक्ति उदय भएको छ, रास्वपालाई सजिलो छ ?

— यो ध्रुवसत्य कुरा हो । अहिलेको युवा पुस्तामा रास्वपा कि जनमत पार्टी प्रति आकर्षण छ । तर, जनमत पार्टी मधेशमा मात्रै अलि बढी क्रियाशील देखिएको छ । भोलि जनमत पार्टीसँग पनि हातेमालो गरेर अगाडि बढ्न सकिन्छ । यहाँ विरीत धारका पार्टीहरू मिल्न सक्छ भने नयाँ विचारका साथ उदयका रास्वपा र जनमतबीच पनि सहकार्य हुनसक्छ । दुवै पार्टीमा राम्रा र सक्षम पढेलेखेका व्यक्तिहरू छन् । हाम्रो मूल उद्देश्य भनेको देश बनाउने हो ।

० सीमापारीबाट एक सय रूपैयाँभन्दा बढीको सामान ल्याउँदा कर तिर्नुपर्ने नियम लगाएको छ । यसलाई कसरी हेर्नुभएको छ ?

— यसमा भारत सरकारले कडाइ गरेको होइन, नेपाल सरकारले गरेको हो । यो गलत हो । नेपाल र भारतबीच बहुआयामिक र गहिरो सम्बन्ध छ । त्यसैले, एक सय रूपैयाँको सामान कर लगाउनु नेपाल सरकारको दूरगामी सोच होइन । आमजनताले आफ्नो घर व्यवहार चलाउनका कुनै सामान भारतबाट किनेर ल्याउँछ भने त्यसलाई करको दायरामा ल्याउनु राम्रो होइन । दुई देशबीचको राम्रो सम्बन्ध भएकैले भारतले करोडौं करोड रूपैयाँको सहयोग नेपाललाई गर्दै आएको छ । सीमापारीबाट आमजनताले सय रूपैयाँको सामान ल्याउँदा कर लगाउने तर विमानस्थलबाट अवैधरूपमा क्विन्टल सुन तस्कर भइरहेको छ । यसमा सरकारको असक्षमता हो ।

० नेपाल र भारतबीचको कुटनीतिक सम्बन्धलाई कसरी हेर्नुभएको छ ?

— भारत जहिले पनि नेपालप्रति सद्भाव र सहयोगी भावना राख्दै आएको छ । तर, यहाँ स्वाधिनताको नाममा भारतलाई गाली गरेर ठूलो राष्ट्रवादी बन्ने प्रचलन छ । नेपाल र भारतबीचको कुटनीतिक सम्बन्धमा हाम्रा नेताहरूको कमजोरी होला । म त भारतका धेरै नेताहरूसँग कुरा गरिरहन्छु । भारतलाई नेपालको आन्तरिक मामिला र सरकारसँग खासै चाँसो हुँदैन । भारतलाई एउटा मात्र सरोकारको विषय हो कि नेपाल चीनको जालमा नफसोस् । नेपालमा पाकिस्तानी आतंकवादी गतिविधि नहोस् भन्ने भारत चाहन्छ । यो खालको चिन्ता भारतको छ । तर, भारतले नेपालको सत्तालाई कमजोर पार्ने, नेताहरूलाई कमजोर पार्ने खालको कुनै मिशन मैले पाएको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ