आधारभूमि मधेशमा नेपाली कांग्रेस बलियो बन्दैछ

अन्तर्वार्ता

० लामो समयपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्यो, यसलाई कसरी हेर्नुभएको छ ?

— विगत एक वर्षदेखि नेपाली कांग्रेसको बैठक बस्न सकेको थिएन, तर ढिलै भएपनि बैठक बस्यो । यसलाई हामीले सकारात्मकरूपमा नै लिएका छौं । यो बैठकले पार्टीलाई थप सुदृढ, मजबुत र जीवन्त तुल्याएको छ । यसको सबभन्दा महत्वपूर्ण पाटो रह्यो कि बैठकलाई प्रत्यक्ष प्रसारण गरियो । जसबाट देश–विदेशमा रहेका आम नेपाली जनताले प्रत्यक्षरूपमा हेर्न पाए । कांग्रेस देशको सबभन्दा पूरानो र प्रजातान्त्रिक पार्टी हो । पार्टीभित्र केस्ता कुराहरूबारे छलफल र बहस हुन्छ, त्यसबारे जनताले हेरे । पार्टीभित्र हुने हरेक गतिविधि पारदर्शी रहेको छ ।

० बैठकलाई प्रत्यक्ष प्रसारण गर्दा पार्टीभित्रका विवाद छताछुल्ल भयो नि ?

— कांग्रेस लोकतान्त्रिक पार्टी हो र लोकतन्त्रमा सबै आआफ्नो धारणा राख्नुपर्छ भन्ने मान्यता हो । पार्टीभित्र हुने छलफल, बहस र वादविवादलाई अन्यथा मान्नु हुँदैन । पार्टीभित्र आएका विभिन्न विचारहरूलाई सकारात्मक रूपमा लिनुपर्छ । जब एउटा परिवारमा मतभिन्नता र विवाद हुन्छ भने कांग्रेस एउटा विशाल पार्टी हो । यसमा फरक मत र विचार आउनु स्वाभाविक हो । बैठकलाई प्रत्यक्ष प्रसारण गर्नुले देशविदेशका जनताले हेर्न र बुझ्न पाए कि कांग्रेसभित्र कस्तो बहस र छलफल हुन्छ ।

० यो बैठकले कांग्रेसभित्रको अन्तर्विरोध समाप्त भयो ?

— कांग्रेसभित्र कुनै ठूलो विवाद थिएन । सञ्चार माध्यमहरूले अलि बढी नै बढाइचढाइ सम्प्रेषण गर्ने गरेका थिए । लामो समयपछि बैठक बसेकोले नेताभित्र केही असन्तुष्टिहरू अवश्य थियो । यो बैठकले धेरै हदसम्म सकारात्मक सन्देश दिएको छ । देशलाई निकास कसरी दिने, आगामी दिनमा कांग्रेसलाई बढी बलियो बनाउने, देश र जनताका समस्यालाई कसरी सम्बोधन हुने लगायतका विषयहरूमा गहन छलफल भयो । यो बैठकले सकारात्मक सन्देश नै दिएको छ ।

० कांग्रेसको नेतृत्व परिवर्तनबारे पनि बहस चलेको थियो नि ?

— पार्टीको नेतृत्व परिवर्तन वा हस्तान्तरणको एउटा विधि र प्रक्रिया हुन्छ । सभापति शेरबहादुर आफै स्वेच्छाले वा जबरजस्ती पार्टीको नेतृत्वमा पुग्नुभएको होइन । पार्टी नेतृत्व परिवर्तनका लागि महाधिवेशन नै एउटा प्राक्रिया हो । उहाँले आफ्नो कार्यकालमा राम्रोसँग पार्टी चलाउनुभएको छ । विगतमा सम्पन्न चुनावहरूमा पनि उहाँको नेतृत्वमा सम्मानजनक मत ल्याएको छ । त्यसैले सभापति देउवा एउटा सफल नेतृत्वकर्ता हुनुहुन्छ । जहाँसम्म नेतृत्व परिवर्तनको कुरा छ, यसका लागि आगामी महाधिवेशनले तय गर्नेछ । नेतृत्वका केही कमी कमजोरी होला, त्यसका विषयमा युवा पुस्ताले आवाज उठाउनु र त्यसलाई सुधारेर लैजानु स्वाभाविक हो । तर तत्काल नेतृत्व परिवर्तनको आवश्यकता छैन ।

० प्रतिनिधिसभा सदस्य एवं नेतृ डा.आरजु राणा देउवाको नाम जोडेर नक्कली भुटानी शरणार्थी प्रकणमा समाचारहरू आउँछन्, यसलाई कसरी हेनुृभएको छ ?

— डा.आरजु राणा देउवासँग हालै मैले पनि भेटेको थिएँ र उहाँले आफै यस विषयमा केही कुराहरू राख्नुभएको थियो । केही सञ्चारमाध्यम र त्यस्ता व्यक्तिहरूले जबरजस्ती त्यसमा नाम मुछेर त्यस्ता कुराहरू बाहिर ल्याइरहेको बताउनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकणमा उहाँको कुनै संलग्नता नरहेको उहाँले बताउनुभएको छ । त्यसैले, उहाँको विषयमा मिडिया ट्रायल भएको हामी बुझ्छौं । यस्ता कुराहरू गरेर उहाँको स्वाभिमान र चरित्रमाथि नै दाग लगाउने काम भएको छ । कसैले बिना आधार र प्रमाण चरित्र हत्या गर्नुहुँदैन ।

० संघीय सरकारको मुख्य घटक दल अहिले नेपाली कांग्रेस छ । यस वर्षको बजेटमा पनि मधेशसँग विभेद भएको छ नि ?

— कांग्रेसको आधारभूमि मधेश हो । मधेशबाट राज्यले ७० प्रतिशत राजस्व आउँछ तर त्यो हिसावले मधेशमा बजेट जाँदैन भन्ने कुरा सहि हो । यसका लागि नेपाली कांग्रेसले गम्भीर सचेत छ । हामी पनि यस्ता कुराहरू पार्टीमा उठाउँदै आएका छौं । अहिलेको सरकार गठबन्धनको सरकार हो । हामीले चाहेजस्तो बजेट आउन सकेको छैन । तैपनि मधेशलाई कांग्रेसले प्राथमिकतामा नै राखेको छ । आगामी वर्षहरूमा कांग्रेसले मधेशलाई विशेष प्राथमिकताका साथ बजेट ल्याउँछ भन्नेमा हामी आशावादी छौं ।

० तपाइँको कार्यक्षेत्र र गृहनगर वीरगन्ज देशकै प्रमुख नाका रहेको छ, त्यसबाट सबभन्दा बढी राजस्व वा कर राज्यले उठाउँछ । तर, त्यसको अनुसार एकदमै थोरै बजेट दिइन्छ । यसलाई कसरी हेर्नुभएको छ ?

— राज्यको ढुकुटीमा वीरगन्जको जति योगदान छ, त्यसको तुलनामा धेरै नै कम बजेट वीरगन्जले पाउने गरेको छ । वीरगन्जसँग राज्यले न्यायोचित व्यवहार नगरेको सही हो । म आफै वीरगन्जको बासिन्दा भएकोले मैले यो कुरा देखेकै छु । निश्चितरूपमा वीरगन्जसँग विभेद भएको छ । समय–समयमा हामी पार्टीभित्र यी कुराहरू उठाउँदै आएका छौं । आगामी दिनमा पनि वीरगन्जको विकासका लागि हामी आवाज उठाउँछौं ।

० कांग्रेसलाई मधेशमा कसरी बलियो बनाउने ?

— विगतदेखि नै कांग्रेस मधेशमा बलियो थियो । बीचमा केही वर्ष अलि कमजोर जस्तो देखिएको थियो । तर गत चुनावलाई हेर्ने हो भने फेरि मधेशमा जनाधार बलियो बनाउँदैछ । किनभने नेपालमा हरेक परिवर्तनमा कांग्रेसले महत्वपूर्ण निर्णायक भूमिका खेल्दै आएको छ । मधेशमा समस्याहरू कांग्रेसले मात्रै सम्बोधन गराउन सक्छ । बीचमा कांग्रेसका विरोधमा केह िभ्रमहरू फैलाइएको थियो । तर, जनताले बुझिरहेका छन्, कांग्रेसले नै देश र मधेशको विकास, समृद्धितर्फ लैजान्छ ।

० लामो समयदेखि नागरिकता समस्या थियो, विधेयक लागू भएदेखि त्यो समस्या समाधान भएको हो ?

— निश्चितरूपमा लामो समयदेखि नागरिकता समस्याहरू रहँदै आएको छ । अहिले जुन नागरिकता विधेयक प्रमाणीकरण भएर लागू भएको छ, यसले धेरै हदसम्म समस्या समाधान गरेको छ । खासगरी यो विधेयकले जन्मसिद्ध नागरिकका सन्तानहरूले वंशजको नागरिकता पाइरहेका छन् । लाखौं युवाहरू आफ्नै देशभित्र अनागरिक भएर बस्न बाध्य भएका थिए, उनीहरूले सामान्य कामहरू पनि गर्न पाएका थिएनन् । अहिले ती जन्मसिद्धका सन्तानले न्याय पाएका छन् । यस्तै यो विधेयकले गैरआवासीय नेपालीहरूलाई पनि सहज बनाएको छ । यो समस्या समाधानमा नेपाली कांग्रेसले नै महत्वपूर्ण भूमिका खेलेको छ । विगतदेखि यो समस्या समाधानका लागि कांग्रेसले प्रयास गर्दै आएको थियो ।

० तपाइँको आगामी योजना के छ ?

— म गत स्थानीय चुनावमा वीरगन्ज महानगरको उपमेयरमा प्रतिस्पर्धा गरेको थिएँ । मैले स्वतन्त्ररूपमा नै उम्मेद्वारी दिँदा पनि जनताको अपार साथ र सहयोग पाएको थिएँ । तथापि प्राविधिकरूपमा म निर्वाचित हुन सकिनँ । निर्वाचनको अहिले चार वर्ष बाँकी छ । म नेपाली कांग्रेसमा सक्रियरूपमा लागेको छु । आगामी चुनावमा के गर्ने भन्ने कुनै निर्णयमा पुगिसकेको छैन । तर पनि म चुनावको तयारीभन्दा जहिले पनि जनताको बीचमा काम गर्ने मान्छे हुँ । म चुनावका बेला मात्रै जनताको बीचमा जाने, ठूलठूला आश्वासन दिने काम गरेको छैन । म जहिले पनि जनताकै बीचमा छु र जनताकै लागि काम गर्दै आएको छु । आगामी चुनावमा पार्टीले मलाई जे निर्देशन दिन्छ, त्यहीं गर्नेछु ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ