माओवादी सिद्धिनु भनेको देश प्रतिगामीको हातमा जानु हो

अन्तर्वार्ता

दिलिप साह, केन्द्रीय सदस्य एवं पूर्व प्रदेशसभा सदस्य, नेकपा (माओवादी केन्द्र)

० माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठकको सन्देश हो ?

— हाम्रो आठौं महाधिवेशनपछि चौथो पूर्ण बैठक केन्द्रीय समितिको सम्पन्न भएको छ । यसमा मुख्यतः माओवादीको वैचारिक, राजनीतिक हिसावले समाजवाद उन्मुखलाई अगाडि बढाउन सांगठनिक संरचना हिसावले केही समस्याहरू छन् । यो बैठकले जनतासम्म जाने कार्यक्रम ल्याएको छ । मुख्यतः तीन महिने अभियान सञ्चालन गर्ने भनिएको छ । यो अभियान भनेको जनतासँग कसरी जोडिने र जनतामा आफ्नो वैचारिक, राजनीतिक कामहरूको बारेमा बुझाउने हो । अहिले माओवादी नेतृत्वको सरकारले गरिरहेको राम्रा कामहरू जनतासमक्ष गइरहेको छैन । त्यसलाई जनतासम्म कसरी लाने र सरकारसँग जनतालाई कसरी जोड्ने भन्ने हिसावले अभियान सञ्चालन हुन गइरहेको छ ।

० यो बैठकले “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” सञ्चालन गर्ने निर्णय गरेको छ । यो कस्तो अभियान हो ?

— जनतामा कांग्रेस र एमालेजस्तै माओवादी पनि भयो भन्ने भ्रम पर्न गएको छ । कतिपय ठाउँमा समस्याहरू पनि भएका छन् । माओवादीको नीति, विचार, सिद्धान्तअनुसारको व्यवहार हुनुपर्दथ्यो । त्यसका लागि जनतासम्म जाने र त्यहीं गएर रूपान्तरण हुने । जनताले बुझ्नुप¥यो कि पहिलेकै माओवादी हो यो । माओवादी साँच्चिकै रूपान्तरण भयो भन्ने किसिमको विश्वास दिलाउनका लागि घर–घरमा माओवादी, जन–जनमा माओवादी भन्ने नाराका साथ ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन हुन लागेको हो । मुख्यतः जनतासँग माओवादीलाई जोड्ने अभियान हो ।

० दिनप्रति दिन माओवादीले जनाधार गुमाउँदै गएको छ, यसबारे बैठकमा समीक्षा भयो कि भएन ?

— बैठकमा अध्यक्षले आफ्नो वैचारिक, राजनीतिक प्रतिवेदन पेस गर्नुभयो । त्यो प्रतिवेदनमाथि छलफल जुन किसिमले भयो, यो हिसावले अन्य कुनै पार्टीमा छलफल भएको देखिँदैन । हामीभित्र भएका कमीकमजोरी केलाउने काम भयो । जहाँ–जहाँ समस्याहरू छन्, ती सबै कुराहरू केन्द्रीय सदस्यहरूले उठान गर्नुभयो । त्यसमा अन्तिममा अध्यक्षले जुन आफ्ना कुराहरू राख्नुभयो, त्यसबाट सबै खुशी भएर अब पार्टी बन्छ । यही हिसावले जनतासम्म जान सकियो भने जनतामा मजबुत आधार बनाउन सकिन्छ । माओवादीमाथि जुन आशा थियो, त्योअनुसार खरोरूपमा उत्रिन नसकेकोले केही न केही निराशा छाएको छ । त्यतिखेरै हाम्रो अध्यक्षले पहलकदमी लिएको भए हाम्रो अवस्था योभन्दा राम्रो हुन्थ्यो । अहिले देश चलेको माओवादीको एजेण्डामा हो । यसलाई हामीले स्वामित्व ग्रहण गर्नुपर्छ ।

० जनाधार गुम्दै जानुमा नेतृत्वको कमजोरी हो ?

— मुख्यतः कमजोरी नेतृत्वकै हुन्छ । तर, यसको जिम्मेवारी सबैले लिनुपर्छ । कतै न कतै हामी पनि बिग्रेका छौं कि । तर, मुख्यरूपमा माथि अलि निगरानी गरेको भए यतिसम्म बिग्रिने थिएन । अहिले केन्द्रीय समितिले जसरी निर्णय ग¥यो, यो हिसावले पहिले नै गरेको भए अझै राम्रो हुन्थ्यो कि भन्ने लागिरहेको छ । ‘देर आए दुरूस्त आए’ भनेजस्तै अहिले राम्रो ढंगले निर्णयहरू भएका छन् । यो बैठकले गरेका निर्णयहरूलाई सही ढंगले यदि लागू गर्न सक्यौं भने फेरि पहिलेकै अवस्थामा फर्किन सक्छौं । वास्तवमा हामीले जनतामा बुझाउन नसकेकै हौं । अन्य दलभन्दा हामी जसरी फरक देखिनु पर्दथ्यो, त्यो फरक नदेखिएकै कारणले सबै त उस्तै भन्ने भ्रम जनतामा परेको छ ।

० आगामी चुनावसम्म माओवादी पार्टी नै सिद्धिने विश्लेषणहरू गरिँदैछ नि ?

— यो त बिल्कुल गलत विश्लेषण हो । यो त सम्भवै छैन । माओवादी सिद्धिनु भनेको देश प्रतिगामीको हातमा जानु नै हो । किनकि माओवादीको एजेण्डामा देश अगाडि बढेको छ । यो एजेण्डालाई संरक्षण र विकास गर्नु माओवादीकै कर्तव्य हो । सबै पार्टीहरूमा केही न केही प्रतिशत प्रतिगामी शक्तिहरू छन् । त्यसले अहिले पनि गणतन्त्रलाई कसरी धरापमा पार्ने षड्यन्त्रहरू गरिरहेका छन् । त्यसले गर्दा यदि माओवादी कमजोर भयो भने देश र जनताका लागि सबभन्दा ठूलो समस्या हुन्छ । त्यसैले माओवादीा कमजोर हुँदैन । यो बैठकमा माओवादीले जुन नीति लिएको छ, त्यो हिसावले अभियानलाई हामीले ठिक ढंगले अगाडि बढायौं भने २०८४ को चुनावमा माओवादीमय देश बन्छ ।

० आगामी २०८४ को चुनावमा माओवादी २०६४ कै अवस्थामा पुग्छ ?

— निश्चितरूपमा हामी सफल हुन्छ । माओवादी बलियो नभइकन देशले विकास र समृद्धिको फड्को मार्दैन । त्यसैले देशलाई सुरक्षित गर्न र विकासको दिशामा अगाडि बढाउन माओवादी नै चाहिन्छ । अन्य शक्तिले देशलाई विकास र समृद्धिको बाटो लग्न सक्दैन । अहिले देखिएका नयाँ शक्तिहरू तत्कालका लागि मात्रै हो ।

० मधेश प्रदेशमा पनि माओवादीले पकड गुमाउँदैछ नि ?

— यस सन्दर्भमा हाम्रो पार्टीको एक प्रक्रियालाई सही ढंगले व्यवस्थापन गर्न सकिएन । केही टुटफुटको स्थिति पनि आयो । यसलाई ठिक ढंगले व्यवस्थापन गर्न नसक्दा केही समस्याहरू आए । अर्को कुरा चुनावमा जाँदा गठबन्धन बनाउँदा पनि माओवादी मजबुत भएको छैन । गठबन्धनको कारण पनि माओवादी कमजोर भएको हो । नत्र मधेशमा माओवादी त्यति कमजोर थिएन । जहाँ प्रदेश र प्रतिनिधिसभामा उम्मेद्वार नै छैन भने त्यहाँ समानुपातिक मत आउने सम्भावना कम हुन्छ । त्यो स्थितिमा मधेशमा केही कमजोर देखिएकै हो । हामीले आन्तरिक समस्याहरू समाधान गर्न सक्यौं भने माओवादी मधेशमा कमजोर हुन सक्ने स्थिति छैन ।

० माओवादीले त मधेश प्रदेश कमिटी पनि निर्माण गर्न सकेको छैन नि ?

— आन्तरिक समस्याकै कारणले हामी मधेश प्रदेश कमिटी गठन सकेका छैनौं । जसले गर्दा हामी तल काम गर्न गाह्रो भयो । यो विषयमा केन्द्रीय समिति बैठकमा पनि उठ्यो । अब यो समस्या छिट्टै समाधान हुन्छ । हामी वडा–वडा जाने हाम्रो उद्देश्य छ ।

० मधेश प्रदेश सरकारबाट माओवादी बाहिरिने निर्णय गरेको थियो, किन ?

— माओवादी केन्द्रलाई मधेश प्रदेशमा दुई ओटा मन्त्रालय दिने छलफल भएको थियो । एउटा मन्त्रालय दिइयो र पछि मिलाउने भनिएको थियो । सरकारमा भएपछि मधेश प्रदेशमा नमुना विकास निर्माणका कार्यहरू कसरी हुन्छ भन्ने सल्लाह गरौं भन्दा उहाँहरू एकलौटीरूपमा जान खोज्दा हामी किन सरकारमा बसिरहने भनेर बाहिरिने निर्णय भएको थियो । अहिले छलफल हुँदैछ, बाहिरिने स्थिति छैन ।

० मधेशमा वर्षेनी सुख्खा, बाढीपहिरो र डुबानको समस्याहरू आउँछन्, यसबारे बैठकमा छलफल भयो ?

— हामीले केन्द्रीय समिति बैठकमा पनि आवाज उठायौं । यस विषयमा केन्द्रीय समितिले सरकारसँग माग नै गरेको छ । मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्ने, किसानलाई राहत दिने विषयमा केन्द्रीय समितिले सरकारसँग माग गरेको हो । त्यो हिसावले सरकारले केही न केही गर्ला । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि संसदमा बोल्नुभयो कि मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्ने र राहत दिने तयारी गरिरहेको छ । यसको दीर्घकालीन समाधानका लागि नै हामीले पहल गरिरहेका छौं । यसको दीर्घकालीन समाधान भनेको चुरे संरक्षण नै हो । चुरे संरक्षण हुन सकेन भने यसको समाधान निस्किँदैन ।

० नेपाल–भारतबीचको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?

— हालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भएको भारत भ्रमणले दुई देशबीचको सम्बन्धले एउटा नयाँ उचाइ पाएको छ । विगतभन्दा धेरै राम्रो सम्बन्ध भएको छ । समानताको आधारमा हामीले सम्बन्ध राख्ने हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ