मधेश सरकारले ईन्जिनियरको महत्व बुझेन, कमिशनमै व्यस्त छ

अन्तर्वार्ता

ई.तेजनारायण यादव, कोषाध्यक्ष, ईन्जिनियर्स एसोसिएसन नेपाल, मधेश प्रदेश

० मधेश प्रदेशमा तपाइँहरूले किन आन्दोलन गर्नुभएको थियो ?

— मधेश प्रदेशका मुख्यमन्त्रीले हाम्रा समस्याहरू सुन्न चाहनुभएको छैन । यसअघिका र अहिलेका मुख्यमन्त्रीसमेतले हाम्रो कुरा सुन्न चाहिरहनुभएको छैन । हामीले आफ्ना केही समस्याहरू सुनाउनका लागि भेट्न खोज्यौं तर भेट्न चाहनु भएन । तर पनि हामीले ज्ञापनपत्र बुझायौं । हामीले ईन्जिनियरहरूको हकहितका कुराहरू उठाएका छौं । हामीले ज्ञापनपत्र बुझाउँदासमेत सरकारले सुनेन । हाम्रा धेरै ठूला मागहरू पनि छैन ।

० तपाइँहरूको माग के छ ?

— अहिले मधेश प्रदेशमा लोकसेवा आयोग छ, त्यो तलब र भत्ता खुवाउनका लागि मात्रै होइन । मधेश लोकसेवा आयोगबाट विज्ञापन खुलाउन सकिन्छ तर विज्ञापन हुँदैन । मधेश प्रदेशमा धेरै ईन्जिनियरहरू छन्, कतिपय तयारी गर्दैछन् । तर, त्यहाँ विज्ञापन निस्किँदैन । त्यो प्रदेश लोकसेवा आयोगको के काम त ? मधेश प्रदेशमा यतिका कलकारखानाहरू छन्, त्यसमा नेपाली ईन्जिनियरलाई स्थान दिनुपर्छ । क्षमता अभिवृद्धि तालिम चलाइएको छैन । ईन्जिनियरको न्यूनतम् तलब कायम गर भन्दा पनि सुनिरहेको छैन । इन्जिनियर स्टाफ कलेज स्थापना हुनुपर्ने हाम्रो माग छ । यस्तै मागहरू लिएर हामी मुख्यमन्त्रीलाई भेट्न गएका थियौं । मुख्यमन्त्रीका स्वकीय सचिवहरूले हाम्रो माग मुख्यमन्त्री समक्ष पु¥याउने आश्वासन दिनुभयो तर, मुख्यमन्त्रीलाई जानकारीसमेत भएको छैन । हामीले यत्रो आन्दोलन ग¥यौं, प्रहरी दमन पनि भयो । यस विषयमा संघीय संसदमा पनि आवाज उठ्यो ।

० प्रदेश सरकारले इन्जिनियरहरूलाई किन बेवास्ता गरिरहेको छ त ?

— हाम्रो मागप्रति सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत भइरहेको छ । उहाँहरू सरकार ढाल्ने, बनाउनेमा लाग्नुभएको छ । उहाँहरू देश र मधेश बनाउने चासो नै छैन । उहाँहरू कसलाई मन्त्री बनाउने, कहाँबाट कमिशन आउँछ त्यस्तो खेलमा लाग्नुभएको छ । मुख्यमन्त्रीले हामीलाई भन्नुभयो कि अहिलेसम्म हामीलाई थाहा नै छैन कि तपाइँहरूको के को आन्दोलन थियो । कति दुःखको कुरो, जुन कुरा संघीय संसदमै उठ्यो तर मुख्यमन्त्री वा प्रदेश सरकारलाई जानकारी नै छैन । मधेश प्रदेशमा ईन्जिनियरहरूको यस्तो पीडा छ कि विदेशिनुपर्ने अवस्था छ । आफ्नै प्रदेशमा धेरै सम्भावनाहरू हुँदाहुँदै पनि दक्ष जनशक्ति पलायन हुन बाध्य छन् । मन्त्रालयहरूदेखि स्थानीय तहसम्म करारमा धेरै ईन्जिनियरहरू भर्ना गरेका छन्, जुन मन्त्री र नेताहरूको सेटिङ्गमा लाखौं रूपैयाँ लिएर भर्ना गरेका छन् । नामका लागि मात्रै विज्ञापन गरिन्छ, त्यहाँ पहिल्यै सेटिङ्ग मिलिसकेको हुन्छ । अर्बौंको परियोजनाहरू हुन्छन्, तर समय सम्पन्न गर्न सकिरहेको छैन । प्रदेश सरकारले आफ्नो आधा बजेट पनि खर्च गर्न सकेको छैन । ईन्जिनियरहरूका लागि काम हुँदाहुँदै पनि कमिशनका लागि रोकिराखेको हुन्छ ।

० मधेश प्रदेशका ईन्जिनियरहरू काम गर्ने वातावरण छैन ?

— काम गर्ने वातावरण छ । तर, प्रदेश सरकारको यसमा ध्यान छैन । ईन्जिनियर काउन्सिलबाट पास भएर आएका योग्य ईन्जिनियरहरू छन् तर उनीहरूलाई काममा लगाउने कुनै योजना छैन । यहींका ईन्जिनियरहरू विदेशमा गएर गोल्डमेडल जितेर आउँछन्, तर मधेश प्रदेशमा जागिर पनि पाउँदैन ।

० मन्त्रीसँग वार्ता पनि गर्नुभयो, के सहमति भयो ?

— वार्ताको क्रममा मन्त्रीले पूरै गैरजिम्मेवार तरिकाले भन्नुभयो कि तपाइँहरूको आन्दोलनबारे हामीलाई थाहा थिएन । मधेश प्रदेशमा जसपाको नेतृत्वमा सरकार छ, जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेर हामीले जानकारी गराएका थियौं । हामीले उपेन्द्र यादवलाई भन्यौं कि हाम्रा माग सम्बोधनका लागि मुख्यमन्त्रीलाई निर्देशन गरिदिनुप¥यो । उहाँले हाम्रो कुरालाई सकारात्मक लिनुभयो । ईन्जिनियरहरूका लागि विज्ञापन गरिन्छ भन्नुभयो । तर अन्य मागहरूप्रति गम्भीर देखिएन ।

० तपाइँको मधेश राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?

— मधेशको राजनीति सही दिशामा छैन । नेता र दलहरू राजनीतिक एजेण्डा मात्र बनाइरहे । मधेशका दलहरू सत्तामा कसरी जाने, पैसा कसरी कमाउनेमा मात्रै व्यस्त छन् । मधेशको विकास, समृद्धितर्फ कुनै ध्यान छैन, राजनीति मात्रै गरिरहेका छन् । मधेशको मसिहाको रूपमा उपेन्द्र यादव आफूलाई चिनाउनुहुन्छ । उहाँले मधेशका धेरै गर्नुभएको छ तर विकास र समृद्धितर्फ कुनै चासो छैन । चप्पल लगाएर काठमाडौं छिरेका उपेन्द्र यादव आज चिल्लो गाडी चढिरहेका छन् । मधेशका लागि त्यहीं उपलब्धि हो त ? मधेशका युवाहरू कुलतमा फँसेका छन् । युवाहरूलाई कुलत फँसाउने काम नेताहरूले नै गरेका छन् । मधेशका नेताहरू कृषि, शिक्षा, स्वास्थ्य लगायतका कुराहरू गर्छन् तर कुनै पनि क्षेत्रमा सुधार छैन । किसान आन्दोलन गरेर नयाँ पार्टी आयो, तर त्यो पनि मन्त्रालय बाँडफाँडमै व्यस्त छ ।

० मधेश राजनीतिप्रति युवाहरूको कतिको आकर्षण छ ?

— राजनीति फोहोरी खेल हो भन्छन् । तर राजनीति फोहोर छ भन्दैमा चिया खाँदै गफ गरेर त्यो सफा हुँदैन । पोखरी फोहोर छ भन्दैमा त्यो सफा हुँदैन । सफा हुन लागि हामी फोहोरमा पस्नैपर्छ । हामी जस्तो युवालाई राजनीति गर्नु छैन, देश बनाउनु छ, भ्रष्टाचार निर्मूल गर्नुछ । राजनीति गर्नका लागि ठूलठूला नेताहरू छन् । हामी राजनीति गर्ने होइन, देश बनाउने हो । मधेशमा एउटा पनि सुविधासम्पन्न विद्यालय छैन । पहाडमा जहाँ विकट छ, त्यहाँ विकास हुने तर मधेशमा जहाँ समथर भूमि छ, त्यहाँ किन विकास हुन सकेन ? किनभने यसप्रति नेताहरूको कुनै चासो छैन । नेताहरू कमिशनमै व्यस्त छन् । कृषि, स्वास्थ्य, शिक्षाको अवस्था जहाँको त्यहीं छ, नेताहरूको जीवनशैली एकदमै परिवर्तन भएका छन् । उहाँहरू भन्नुहुन्छ कि केन्द्र सरकारले मधेशलाई बजेट दिँदैन । तर, जति दिएको बजेट छ, त्यो पनि खर्च सकिरहेको छैन । पहाडमा कुनै योजना सुरू हुनु अगावै डिपिआर हुन्छ । तर मधेशमा डिपिआरभन्दा पहिला लुट हुन्छ । भ्रष्टाचार त जहाँ पनि छ, तर मधेश प्रदेश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।

० गत प्रदेशसभाको चुनावमा तपाइँ समानुपातिकतर्फ स्वतन्त्र उम्मेद्वार हुनुहुन्थ्यो । अब तपाइँ युवाहरू पनि राजनीतिमा आउन थालेका छन् ?

— हामीजस्ता युवा राजनीतिमा आउन जरूरी छ । जबसम्म इमान्दार, निडर युवा राजनीतिमा आउँदैन, तबसम्म विकास सम्भव छैन । किनभने हामी राजनीति गर्न होइन, भ्रष्टाचार निर्मूल गर्न, विकास र समृद्धि ल्याउन । त्यसैले म आह्वान गर्न चाहन्छु, हामीजस्ता युवाहरू राजनीतिमा आउनुस्, फोहोरलाई सफा गरौं र भ्रष्टाचार निर्मूल गरौं । मधेशका युवाहरू जागरूक हुनुपर्छ । देश बनाउने जिम्मा युवाले लिनुपर्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ