अबको विकल्प भनेको आम विद्रोह नै हो

अन्तर्वार्ता

चन्द्रभुषण साह, प्रवक्ता, आम जनता पार्टी

० हालै सम्पन्न आम जनता पार्टी नेपालको केन्द्रीय समिति बैठकले के–के निर्णय ग¥यो ?

— आम जनता पार्टीको ऐतिहासिक दोस्रो पूर्ण केन्द्रीय समितिको बैठक भाद्र ११ र १२ गते सम्पन्न भयो । हामीले देशमा आम जनताको लोकतन्त्र प्राप्ति, शासन व्यवस्था र सर्वोच्चताका लागि मुख्य कार्यदिशा बोक्दै बैठकले धेरै महत्वपूर्ण निर्णयहरु लिएको छ । मूलतः हामीले कार्यदिशामा के भनेका छौं भने भगौडा दलाल सत्ताको भण्डाफोर गर्ने र आम जनविद्रोहको बाटोमा अगाडि बढ्ने । पार्टी अध्यक्षद्वारा तयार पारिएको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पारित भएको छ ।

० तपाइँहरु आम जनविद्रोहको तयारीमा लाग्नुभएको छ ?

— हाम्रो केन्द्रीय समितिको बैठकले के निचोड निकालेको छ भने मूलतः नेपाललाई दुई वर्गमा विभाजन गरेको छ । वर्गहरुका विभिन्न आयामहरु छन् । हामीले विभाजन गरेको वर्ग भनेको एउटा आमजनताको वर्ग र अर्को शासकहरुको वर्ग । हामीले पहिला नै भनेका छौं, मुलुकमा आम जनताको सर्वोच्चता र शासन व्यवस्था लागू गर्नका लागि क्रियाशील भएका छौं । हामीले नेपाल र विश्वको राजनीतिमा एउटा नयाँ भाष्य निर्माण गर्ने कोशिष गरिरहेका छौं । त्यो भाष्यलाई सहजरुपमा बुझ्न राज्यमा सहज पहुँच हुनु हो । यहाँ नेताहरु ठूलठूला भाषण गर्छन् तर देशमा लोकतन्त्र नै आएको छैन । आम जनताको लोकतन्त्र प्राप्तिका लागि हामी क्रियाशील छौं । मूलतः देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै व्यवहारतः त्यो स्थिति छैन ।

० नेपालमा फेरि जनविद्रोहको सम्भावना छ ?

— आम जनताको लामो त्याग, तपस्या, बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भयो । तर दुर्भाग्य, त्यसलाई व्यवस्थापकीय जिम्मेवारी पाएका दलका नेताहरुले बेइमानी गर्नुभो । यसलाई संस्थागत गर्ने बेलामा नराम्ररी छेड्खानी गर्नुभो । अहिले व्यवस्थालाई हामीले गण्डा व्यवस्था भनेका छौं । आम जनताले अपेक्षा गरेको व्यवस्थालाई त्यहींरुपमा इमान्दारिताका साथ कार्यान्वयन गर्न अब आम विद्रोह मात्रै बाटो हो । किनभने जबसम्म व्यवस्था बदलिँदैन तबसम्म अवस्था बदलिने सम्भावना रहँदैन । रुपमा व्यवस्था बदलियो तर सारतः अझै पनि पूराने अवस्थाको निरन्तरता छ । नीति, नेतृत्व, अवस्था, व्यवस्था सबै अन्तर्निहीत कुराहरु हुन् । एउटा कुरोको अपुगताले अर्को कुराको पुष्टि हुन सक्दैन । हामी भनेको यो देशका अग्रगामी मोर्चा छौं । देशलाई अग्रगमनमा लान चाहनेहरु बीचको एउटा ध्रुवीकरण अपरिहार्यता छ । आम जनताहरुको ध्रुवीकरणले आम विद्रोह सम्भव छ । आम विद्रोहबाट हामीले परिकल्पना गरेको शासन सत्ता लागू गराउन अहिलेको अपरिहार्य छ । देश, जनता र समग्र राष्ट्रिय राजनीति त्यो ध्रुवमा अगाडि बढिसकेको कुरा हामीलाई भान भइरहेको छ ।

० भनेपछि तपाइँहरु व्यवस्था र अवस्था दुवै परिवर्तनका लागि आम विद्रोह गर्नुहुन्छ ?

— अबको दीर्घकालीन निकासका लागि आम विद्रोहबाहेक अन्य कुनै विकल्प छैन । देशले यदि शान्ति, सुव्यवस्था, स्थिरता, विकास र समृद्धिको लक्ष्य हासिल गर्नुछ भने आम विद्रोह बाहेक अब कुनै विकल्प रहेन । आम जनतालाई लुटेर शासकहरु जसरी रमाइरहेका छन्, त्यो स्थितिको अन्त्य गर्नका लागि पनि आम जनता संगठित हुनैपर्छ । संगठित शक्तिले आम विद्रोहको मार्फत् देशमा हामीले खोजेको लोकतन्त्र, व्यवस्था र आम जनताको सर्वोच्चता हुने किसिमको व्यवस्था ल्याउन सक्छ । लोकतन्त्रमा जहिले पनि जनता नै ठूलो हुनुपर्छ । त्यसका लागि अबको विकल्प भनेको आम विद्रोह नै हो ।

० यता तपाइँहरु आमविद्रोहको कुरा गर्नुहुन्छ, अर्कातिर देशका प्रधानमन्त्री जसले देश चलाइरहेका छन्, उसले पनि लाखौं जनता सडकमा उतार्ने भनिरहेका छन् । देश कता जाँदैछ ?

— अहिलेका शासकहरु कुनै–कुनै बहानामा मौजुदा मुद्दाहरुलाई विषयान्तर गराउन नयाँ–नयाँ बखेडा खडा गरिरहेका हुन्छन् । प्रधानमन्त्री लाखौं जनता सडकमा उतार्छु भन्नु एउटा स्टन्ट मात्रै हो । आम जनताको मुद्दालाई विषयान्तर गरेर आफ्नो सत्तालाई लम्ब्याउन सकिन्छ कि षड्यन्त्र हो । हिजो जसरी शासकहरुले ‘डिभाइड एण्ड रुल’को नीति प्रयोग गर्थे, वर्तमान शासकहरु ‘डाइभर्ट एण्ड रुल’ नीति प्रयोग गरेर आफ्नो शासन सत्तालाई लम्ब्याउने दिवा सपना देखिरहेका छन् । तर आम जनताहरु अब सचेत हुँदैछन् । उहाँहरु जसरी आफ्नो शासनसत्तालाई रक्षाका लागि आम जनतालाई दिग्भ्रमित पार्दै हुनुहुन्छ, हामीले त्यहीं हतियारमार्फत् आम जनतालाई सुसूचित गर्ने, सचेत गर्ने, संगठित गर्ने र गोलबन्ध भएर निर्णायक संघर्ष गर्न नियोजितरुपमा हामी अगाडि बढिरहेका छौं । हाम्रो लडाइ आम जनताको हकहित रक्षाका लागि हुनेछ भने शासकवर्गले आफ्नो शासनसत्ता रक्षाका लागि गर्दैछन् । यी दुईटाको लडाइमा जहिले पनि आम जनताकै भएको छ ।

० आम जनता पार्टीले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिँदैछ भन्ने चर्चा पनि चलेको थियो नि ?

— हाम्रो केन्द्रीय समितिको बैठकमा प्रचण्ड सरकारलाई दिएको समर्थन हामीले फिर्ता लिनुपर्छ भन्ने दबाब आएको थियो । एक पक्षले अहिले तत्कालै यो मौजुदा व्यवस्थामा र अर्को कुनै विकल्प नरहेकोले हाम्रो संसदीय संख्याले कुनै प्रभाव पर्ने स्थिति नरहँदासम्म समर्थन फिर्ता लिनु हुँदैन भन्ने आवाज उठाएको थियो । अहिले तत्कालै कुनै नयाँ उन्नत विकल्प नदेखिएकोले पार्टीले यो विषयलाई अहिले पनि छलफलकै विषयको रुपमा राखेको छ । तर पार्टीभित्र अध्यक्षमाथि समर्थन फिर्ता लिनुपर्छ भन्ने दबाब बढाएको हो । यो बैठकमा दुईथरिको कुरा आउँदा निचोडमा पुगिसकेको छैन ।

० भनेपछि तत्काल आम जनता पार्टीले प्रचण्ड सरकारबाट समर्थन फिर्ता लिँदैन ?

— अहिले हामी पर्ख र हेरको अवस्थामा छौं । सरकारको गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने हाम्रो निष्कर्ष रहेको छ ।

० १७ वर्ष अघि भएको गौर हत्याकाण्डलाई तपाइँहरुले उचाल्नुभयो, सरकारसँग सम्झौता पनि भयो । तर, त्यो सम्झौता कार्यान्वयन नहुने सत्ता गठबन्धनले निर्णय ग¥यो नि ?

— हामीले उचालेको भन्दा पनि १७ वर्षदेखि अनवरत् न्यायको पर्खाईमा रहेका पीडितहरुले गरेको संघर्ष हो । ती पीडितहरु अनवरत् रुपमा विभिन्न सरकारहरुसँग भेट गर्दै आएका थिए । त्यसपछि प्रहरी प्रशासनहरुको अनुसन्धान अगाडि बढ्दै जाँदा पीडित पक्षहरु हौसिएका हुन् । नेपाल सरकार र प्रधानमन्त्री स्वयम्को निर्देशनमा गृह मन्त्रालयमार्फत् पाँचबुदे सहमति पनि भएको हो । पहिलो बुँदामै पीडितहरुलाई न्याय दिलाउने र अपराधीहरुलाई दण्डित गर्ने सहमति भएको छ । देशमा नेपाल सरकार कानूनको शासन र मानव अधिकारप्रति प्रतिबद्ध हो भने त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नुहुन्छ भन्ने हामीले विश्वास लिएका छौं । तर, सम्झौताको मसी सुक्न नपाउँदै गठबन्धनकै हिस्सेदार एक जना नेताले मिडिया ब्रिफिङ्गमा जसरी अभिव्यक्ति दिनुभयो, त्यो आपत्तिजनक हो । राज्यले गरेको सम्झौताविपरीत बोल्न कसैलाई छुट छैन । अपराधीहरुलाई बचाउने चर्चाले हामीलाई आशंका भएको छ । यदि सरकारले कुनै पनि बहानामा पीडितहरुलाई दिलाउनबाट विमुख गरायो भने हामीले प्रतिरोध गर्छौं । पीडितहरुको न्यायका लागि आम जनता पार्टी अग्रभागमा रहेर सहयोग गर्न तत्पर रहन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ