० तपाइँ नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । विभिन्न कालखण्डमा सद्भावना, राजपा, जसपा हुँदै अहिले डा.सीके राउतको जनमत पार्टीमा प्रवेश गर्नुभएको छ । तपाइँ एउटा पार्टीमा किन टिक्न सक्नुभएको छैन ?
— वास्तविक कुरा गर्ने हो भने मैले सद्भावना पार्टीपछि टिकट लिएकै पहिलो पटक जनमत पार्टीमा हो । सद्भावना पार्टी वि.सं. २०४७ सालमा स्थापना भयो, त्यसअगाडि नेपाल सद्भावना परिषद् थियो । त्यहींबाट मेरो राजनीतिक यात्रा सुरुवात भयो । गजेन्द्रबाबुसँगै काम गर्दागर्दै उहाँकै पालामा महामन्त्री भएँ । क्रमशः पाँच जना राष्ट्रिय अध्यक्षहरुको म महामन्त्री भएर काम गरें । गजेन्द्रबाबुको देहावसान भएपछि पार्टीको स्थिति नराम्ररी बिग्रियो । विचारभन्दा पनि व्यक्ति हावी भए, पैसाको चलखेल भयो, विभिन्न टुटफुट भयो । यस्तो अवस्थामा विस्तारै मुद्दामामिलामा पनि सद्भावना पार्टी अल्झियो । त्यहीं क्रममा मेरा अन्तिम अध्यक्ष श्यामसुन्दर गुप्ता पनि विवाद फँसे, उनी जेल गए । त्यसपछि पार्टीको राष्ट्रिय कार्यसामितिले मलाई कार्यवाहक अध्यक्ष बनायो र निर्वाचन आयोगले त्यसलाई स्वीकृति दियो । त्यसमा पनि मेरो विरुद्धमा आधिकारिकताका लागि मुद्दाहरु चल्न थाले । ३९ वटा मुद्दा खेप्दाखेप्दै म थाकेर न्यायाधीशलाई भनेर मुद्दा हार्न लगाएँ र मैले अपिल गरिनँ । तर सद्भावनाकोा नेतृत्व अब कसले गर्ने भन्ने कुरा आयो । जसले मुद्दा जित्यो, उसले पैसाको चलखेल गर्दागर्दै राजपामा गयो । राजपा पनि जसपामा परिणत भयो । जसपाबाट एक्कासी के व्यक्तिहरु छुट्टिएर लोसपा बनाए । लोसपामा मेरो नाम थिएन, जसपामा थियो । अनि जसपामै बसें । यस किसिमले जसपासम्म मेरो यात्रा रह्यो । अन्ततः एक साता अगाडि मात्रै जसपाबाट जनमतमा आएको छु । अर्थात् मैले पार्टी परिवर्तन गरेको होइन, परिस्थिवश जसरी मधेशको राजनीतिक अगाडि बढ्दै गयो, त्यसरी नै मेरो राजनीतिक यात्रा पनि घुमिरह्यो । मैले पहिलो सदस्यता नै लिएको सद्भावनापछि जनमत पार्टीको हो ।
० सद्भावना स्कुलिङ्ग भएका तपाइँजस्ता धेरै मधेशवादी नेताहरु विकल्पको खोजीमा छन् । तर, हालै गठन भएको जनमत पार्टी जो राष्ट्रिय दलको मान्यता पाएको छ । जसपा त जनमतभन्दा ठूलो पार्टी छ, त्यसको नेतृत्व मधेश आन्दोलनका नेतृत्वकर्ता उपेन्द्र यादवले गरिरहनुभएको छ । जसपा छोडेर हालै गठन भएको नयाँ पार्टी जनमतमा जानुको कारण के हो ?
— सद्भावना स्कूलिङ्ग भएका गजेन्द्रबाबुसँग काम गरेका साथीहरु घर बसिसके । किनभने सबै जना त्यहीं किसिमको वातावरण खोजिरहेका छन्, जहाँ प्राथमिकतामा मधेशका कुराहरु होस् । त्यो नपाएपछि धेरै साथीहरु घर बसेका छन् । म जसपामा गएँ । जतिबेला मधेशी जनअधिकार फोरम थियो, त्यतिबेला एउटा ठूलो राजनीतिको ह्वीम पैदा ग¥यो । मेचीदेखि महाकालीसम्मका यादव समुदायलाई जोड्ने काम उपेन्द्र यादवले गर्नुभयो । मधेशमा एउटा नयाँ उत्साह र उमंगका मधेश आन्दोलनहरु पनि भए, त्यसमा म आफै पनि सहभागी भएँ । आज जसपा उपेन्द्र यादवको नेतृत्वमा एउटा बलियो पार्टीको रुपमा आए । तर मधेशको राजनीतिलाई राष्ट्रिय राजनीतितिर मोडिने काम भयो । जसको परिणाम अशोक राई, राजेन्द्र श्रेष्ठ जस्ता नेतृत्वहरु आए । उहाँहरुको स्कूलिङ्ग कम्युनिष्ट थियो, उहाँहरु कम्युनिष्ट ढर्रामा लाने प्रयास गर्नुभयो । उपेन्द्र यादवको स्कूलिङ्ग पनि कम्युनिष्टकै थियो । यस किसिमबाट जुन मधेशका विचारधारा र मुद्दाहरु लिएर उपेन्द्र यादव अगाडि बढ्नुभयो, त्यसमा मधेशको प्राथमिकता कम भयो । जसले गर्दा हामीजस्तो सद्भावना स्कूलिङ्गबाट आएकाहरुका लागि असजिलो महसुस भयो । राजनीति त पैसा कमाउने थलो होइन । मधेशका लागि काम गर्ने स्थिति सहज भएन भने त्यहाँ सकिने अवस्था हुँदैन । यो स्थितिको जुन वातावरण जसपामा देखियो, त्यसपछि म विकल्प खोज्न सुरु गरें । किनभने जसपाको विधान अधिवेशनमा झण्डा परिवर्तन भयो, विचारधाराहरु परिवर्तन भए । त्यहाँ मधेशका कुराहरु पनि थिए तर त्यसको प्राथमिकता थिएन । त्यस्तो अवस्थामा मलाई बस्न त्यहाँ असहज भयो । म विकल्प खोज्दै थिएँ, त्यतिखेर जनमतका साथीहरुले मसँग कुरा गर्न थाले, मैले उहाँहरुको दस्तावेज हेरें । जनमतका अध्यक्ष डा.सीके राउत भन्दै आउनुभएको छ कि गजेन्द्रबाबुको विचार लिएर अगाडि बढ्दै जान्छौं । जनमतका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले मसँग पनि भन्नुभयो कि म गजेन्द्रबाबुबाट प्रेरित छु, उहाँका कुराहरु लिएर अगाडि बढ्छु । उहाँले मलाई सहयोग गर्नुस्, आउनुस् भनेपछि म जनमतमा प्रवेश गर्ने स्थितिमा पुगें । मलाई महसुस भयो कि अब हामीजस्ताका लागि मधेशको पक्षमा काम गर्ने ठाउँ जनमत पार्टी हुनसक्छ । अहिलेसम्म मलाई जनमत पार्टीमा कुनै किसिमको असहज महसुस भएको छैन ।
० जनमत पार्टीले गजेन्द्र नारायण सिंहकै मुद्दालाई लिएर अगाडि बढिरहेको छ ?
— गजेन्द्रबाबुराको विचारधारा लामो र धेरै कुराहरु छैन । उहाँले स्पष्टरुपमा भाषा, संस्कृति, स्वाभिमान, पहिचान, नागरिकता, आरक्षण, संघीयता, समानुपातिक समावेशिता लगायतका निश्चित मुद्दाहरु छन् । ती मुद्दाहरुमा यदि कसैले काम गर्छन् भने ती गजेन्द्रबाबुको विचारधारा हो । गजेन्द्रबाबुले उत्थान गर्नुभएका कुराहरुलाई जनमत पार्टीले प्राथमिकताको आधारमा उठाइरहेको छ । मधेश मुद्दाको प्राथामिकता मैले खोजिरहेको थिएँ, जुन प्राथमिकता अन्य पार्टीहरुमा देखिँदैन । अन्य पार्टीहरुमा कुर्सी, पैसा, पद, सत्ताशासनको खेल देखिएको छ । जनमतमा पनि कुर्सीको खेल नभएको होइन तर पनि प्राथमिकता मधेशका एजेण्डाहरु र गजेन्द्रबाबुका आदर्श रहेको मैले महसुस गरेको छु ।
० जनमत पार्टी पनि सत्ता र पावरको खेलबाट बाहिर रह्न सकेको स्थिति छैन । भर्खरै पार्टी गठन भएको छ, राष्ट्रिय पार्टीको मान्यता पाएको छ तर प्रदेशदेखि केन्द्रसँग सत्ताकै नजिक भइरहेको छ । अहिलेसम्म आश्वासनमात्रै दिएको छ । अन्य दलभन्दा जनमत कसरी फरक भयो त ?
— गजेन्द्रबाबुको पालामा २०५२ सालमा हामी सत्तामा नगएको होइन, उहाँ पनि सत्तामा जानुहुन्थ्यो । उहाँको विचार थियो कि संघर्ष मात्र एक ठाउँबाट गरेर हुँदैन । संसद, सडक र सरकारमा पनि संघर्ष गर्नुपर्छ । सोहीअनुरुप मधेश आन्दोलनपश्चात् उदाएका मधेशी दलहरु सरकारमा जाने कुरा गरे । मुख्य कुरा हो कि सत्तामा गएर तपाइँ मधेशका लागि के–के गर्नुभयो । त्यसकारण सत्तामा जानु अपराध होइन । सत्तामा गएर पैसा मात्र कमाउनेभन्दा उसले मधेशका लागि कतिको आवाज उठाइरहेका छन्, मधेशलाई प्राथमिकता दिएको छ कि छैन, यी कुराहरु महत्वपूर्ण हो ।
० तर, मधेशको नाममा खोलिएका दलहरु सत्तामै गएका कारण विस्तारै कमजोर हुँदै गए र अहिले अस्तित्व रक्षाको संघर्षमा छन् । मधेशका लागि सत्ता त अभिषाप सावित हुँदै आएको छ नि ?
— यो एकदम सही कुरा हो । गजेन्द्रबाबुको पनि नेपाल सद्भावना पार्टी जब सत्ताको करिडोरमा गयो, त्यसपछि कमजोर नभएको होइन । सत्तामा गएपछि टुटफुटको राजनीति सुरु भइहाल्छ, महत्वकांक्षा बढ्छ, अरुले खेल्ने ठाउँ पाउँछन् । सरकारमा जाने बित्तिकै त्यस्ता विकृत्तिहरु भोग्नुपर्ने स्थिति आउँछ । तर विगतका कमीकमजोरीबाट नेताहरुले अनुभव त लिइरहेका छन् कि कुन–कुन कारणले गर्दा आज मधेशको आन्दोलन कमजोर भयो । सत्तामा बसेर रुमलिने कि मधेशका लागि संघर्ष गर्ने भन्ने कुरा मुख्य हो । मधेश आन्दोलन कमजोर हुनुमा ठूलो कारण सत्ता नै हो । यो कुरोबाट पाठ सिक्नुपर्छ । मलाई लाग्छ कि जनमतका नेतृत्वले विगतका अनुभवबाट अवश्य पनि पाठ सिकेका होलान् र उहाँले सतर्कताका साथ अगाडि बढाउने प्रयास गर्नुहुन्छ । किनभने सत्तामा नजानुस् भनेर जनताले विरोध गरेको होइन, सत्तामा गएपछि जनतालाई बिर्सिने कुराको विरोध गर्छन् । सत्तामा गएपछि जनताका कुरा छोड्ने कुराको विरोध जनताले गर्छन् । यस किसिमबाट जनता नयाँ नेतृत्वको खोजीमा हुन्छन् । सत्तामा जानु ठूलो अपराध होइन । राजनीति गरिन्छ भने सत्तामा गइन्छ । राजनीति भनेको सत्तासँग जोडिकएकै कुरा हो । त्यसैले सत्तामा जाँदा सतर्क भइराख्नुपर्छ कि जनतासँग के वाचा गरेको थिएँ, ती वाचा पूरा गरिरहेको छ कि छैन ?
० डा.सीके राउतले मधेशी जनतामा धेरै ठूलठूला सपनाहरु देखाउनुभएको छ । जनमतको आगामी यात्रा कतिको सहज छ ?
— जनमत पार्टी होस् वा जुनसुकै पार्टी होस्, यात्रा सहज हुँदैन । जनतासँग जुन वाचा गरेर हामी आएका छौं, ती एजेण्डाबाट स्खलित भयो भने जनताले त्यसलाई स्वीकार गर्दैन । किनभने जनताको मुद्दा उठाइरहेको छ कि छैन भन्ने हेर्छन् । ती मुद्दाहरु पूरा हुनु वा नहुनु त्यो त आफ्नो ठाउँमा छ । किनभने मुद्दालाई निन्तर उठाइरह्यो भने बहुमत भएपछि पूरा हुन्छ । अहिले जनमत पार्टीसँग संसदमा बहुमत छैन, उसले संविधानका नियम कानूनहरु परिवर्तन गर्न सक्दैन । तर मैले यी कुराहरु परिवर्तन गर्नुपर्छ भन्ने आवाज त उठाइराख्नुपर्छ । जनताले महसुस गर्नुपर्छ कि यो पार्टी हाम्रो लागि संघर्ष गरिरहेको छ । त्यसैले अहिले जनमत पार्टी जनताको आवाज उठाउन सबभन्दा अगाडि देखिएको छ । जनताको आवाज उठाएर अगाडि बढिरहेको अवस्था छ । म जनमत पार्टी प्रवेश गर्दा धेरै मान्छेलाई मलाई भने कि तपाइँले धेरै राम्रो काम गर्नुभयो । किनभने हामी त मधेशवादी व्यक्ति, मधेशको कुरा गर्ने व्यक्ति । त्यस्तो अवस्थामा मधेशका लागि कुरा गरिदिने कोही छ भने त्यो जनमत पार्टी छ । अहिले मधेशको लागि काम गर्ने पार्टी डा.सीके राउतको जनमत पार्टी नै छ । त्यसैले जनमत पार्टीबाट जनताले आशा गरेका छन् र भोलि यसबाट प्रतिफल पनि पाउनेछन् ।
० भनेपछि, अहिलेका जसपा, लोसपाले मधेशको मुद्दा छोडिसके ?
— ती दलहरु मधेशको मुद्दा छोड्नुभन्दा पनि अल्झियो । ती दलका नेताहरु मधेशको मुद्दा नउठाउने होइनन्, तर उहाँहरुको प्राथमिकतामा कमी आयो । राष्ट्रिय पार्टी बन्नुपर्छ भनेर मधेशीका मुद्दाहरु छोड्दै गएका छन् । मधेशको मुद्दासँग सम्झौता गर्दै गएका छन् । यी कुराहरुलाई मधेशका जनताले हेरिरहेका छन् नि ।
० जनमत पार्टी मधेशको वैकल्पिक राजनीतिक शक्ति बन्न सक्छ ?
— त्यो कुरा त समयले बताउँला । किनभने २०४७÷४८ को निर्वाचनमा सद्भावना पार्टीले धेरै कम मत पाएको थियो तर पनि उसले राष्ट्रिय पार्टीको दर्जा पाएको थियो । २०५२ सालपछि पनि सद्भावनाले नेतृत्व गरेकै थियो, मधेशका कुराहरु लिएर अगाडि बढेकै थियो । तर, पछि विभिन्न किसिमका विकृत्तिहरु आएर धारासायी भयो । आज सद्भावनाको नामै छैन । त्यसपछि विभिन्न दलहरु आए । २०६४ को निर्वाचनमा मधेशका दलहरुले राम्रो अवस्था हासिल गरे । पछि तिनीहरुको अवस्था पनि खस्किँदै गयो । अहिले जनमत पार्टी मधेशको मुद्दा लिएर अगाडि बढिरहेको देखेर जनमत पार्टीप्रति नै जनताको रुझान देखिएको छ । त्यसैले मधेशको वैकल्पिक राजनीतिक शक्तिको रुपमा जनमत पार्टी आउने सम्भावना छ । मधेशमा गएर सर्वे गर्नुस्, जो जनमत पार्टीका सदस्य पनि छैनन्, उनीहरु भन्छन् कि जनमत पार्टीले मात्रै मधेशको कुरा लिएर अगाडि बढिरहेको छ । अर्थात् मधेशको पार्टीहरुको विकल्पमा जनमत पार्टी मात्रै छन् ।
० नेपाल–भारतको सम्बन्धलाई कसरी हेरिरहनुभएको छ ?
— नेपालमा कुनै व्यक्ति वा पार्टीले भारतसँगको सम्बन्धलाई विशेष महत्वका साथ नै लिएर अगाडि बढ्नुपर्छ । नेपाल र भारतबीच विशेष सम्बन्ध हो । सद्भावना पार्टीले आफ्नो समयमा भन्यो कि चीन लगायत अन्य देशहरुसँग नेपालको मैत्री सम्बन्ध छ तर भारतसँग विशेष सम्बन्ध छ । यसको अर्थ के हो भने भारतसँग हाम्रो बेटीरोटी, खुल्ला सिमानाको सम्बन्ध छ । सम्पूर्ण कुरासँग जोडिएको छ । त्यसैले, भारतसँगको सम्बन्धलाई चीन वा अन्य देशको सम्बन्धजस्तै हेर्न मिल्दैन ।
० नेपाल–भारत सम्बन्धका विषयमा चिनियाँ राजदूतले जुन अभिव्यक्ति दिए, त्यसलाई कसरी लिनुहुन्छ ?
— नेपालमा हुने चिनियाँ गतिविधिहरु सकारात्मक छैनन् । विकास र मैत्रीपूर्ण सम्बन्धमा पनि चीनको सकारात्मक गतिविधि छैन । त्यसैले चीनबाट नेपाललाई धेरै फाइदा हुनेवाला छैन । चीनले नेपाल र भारतबीचको सम्बन्धमा विवाद मात्रै उत्पन्न गराउन खोजछ । सोहीअनुसार चिनियाँ राजदूतको एउटा अभिव्यक्ति आयो, त्यसले विवाद सिर्जना ग¥यो । तर, नेपालका जनता र सबै राजनीतिक दललाई राम्ररी थाहा छ कि नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुनुपर्छ ।
तपाईको प्रतिक्रिया