अधिकार पहिचान स्थापित गर्ने उद्देश्यले राष्ट्रिय मुक्ति क्रान्ति सफल हुनेछ

अन्तर्वार्ता

रमन पाण्डेय, राष्ट्रिय मुक्ति क्रान्ति अभियानका अभियन्ता, संस्थापक मधेशवादी नेता एवं हिन्दी भाषा अभियानी

० राजेन्द्र महतो घोषणा गरेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले काठमाडौंको निषेधित क्षेत्र तोड्न पुग्दा प्रहरी दमन भयो, किन निषेधित क्षेत्र तोड्न पुग्नुभयो ?

— निषेधित क्षेत्र तोड्न पुग्दा सुरक्षाकर्मीले व्यापक बल प्रयोग गरे । सुरक्षाकर्मीको बल प्रयोगलाई हेर्दा खासमा हामीलाई हत्या गर्ने नै सरकारको नीति देखियो । सुरक्षाकर्मीले हामीमाथि बुट प्रहार गरे, घिसारे, कुटपिट गरे । तर हाम्रा साथीहरुले प्रहरीबाट जोगाएर अस्पताल पु¥याए । राजेन्द्र महतो पनि घाइते हुनुभयो । वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारपश्चात फर्किएका छौं । अहिले स्वास्थ्य सुधारको अवस्थामा छ । लोकतन्त्रमा आफ्नो विचार राख्नबाट यदि वञ्चित गरिन्छ भने त्यसको विरुद्धमा लोकतान्त्रिक शक्तिहरु अगाडि आउनैपर्छ । लोकतन्त्रमा कुनै क्षेत्रमा केही दिनका लागि निषेधित क्षेत्र गर्न सकिन्छ तर महिनौं÷वर्षौंसम्म निषेधित क्षेत्र राख्ने हो भने त्यो शोभनीय होइन । यसबाट लोकतन्त्र लज्जित हुन्छ । हामीलाई लाज लाग्छ कि यो कस्तो प्रधानमन्त्री, गृहमन्त्री हो ? निर्लज्जताको पनि एउटा सीमा हुन्छ नि । यिनीहरु आफूलाई कस्तो लोकतन्त्रवादी भनाउँछन् ? हामीले लोकतन्त्र, गणतन्त्र बहालीका लागि सँगै लडाइँ गरेका छौं, जसको बलमा आज देशमा लोकतन्त्र र गणतन्त्र स्थापना भएको छ । यो तरिकाले लोकतन्त्रलाई अगाडि बढाउन सकिदैन । सरकारको यो गैरजवाफदेही कदम हो । यसका लागि सतर्क र सचेत हुनुपर्छ । हामीले कसम खाएका छौं कि निषेधित क्षेत्रलाई मान्दैनौं ।

० निषेधित क्षेत्र तोड्न कतिको सफल हुनुभयो त ?

— यो सफलाता वा असफलताको कुरो होइन, हामीले पूर्णरुपमा प्रयास ग¥यौं । हामीमाथि दमन, अत्याचार भयो, अन्यायपूर्ण तरिकाले हामलाई रोकियो । मरनासन्न हुनेगरी हामीमाथि प्रहार भयो । हामीले लोकतन्त्रको सहजताका लागि आफ्नो सम्पूर्ण प्रयास जारी राखेका छौं । हाम्रो राष्ट्रिय मुक्ति क्रान्ति अभियानले उच्च मनोबलका साथ मधेशका सबै तहतप्काका मानिस, तामाङ, गुरुङ, राई, लिम्बू र खास गरेर नेवारले साथ दिएका छन् । काठमाडौं नेवारको भूमि हो । हाम्रो अभियानमा नेवारका एकसेएक व्यक्तिहरुको उपस्थिति थियो । आफ्नै घर, भूमिमा खडा हुनका लागि नेवारसम्मलाई वञ्चित गरिएको छ । यो काठमाडौं सबैको भूमि हो । त्यसैले यो त सोचनीय अवस्था त अवश्य नै हो । सरकार गम्भीर हुनुपर्छ । यस्तो कदमले देशको अवस्था राम्रो रहँदैन ।

० यो राष्ट्रिय मुक्ति क्रान्ति अभियानको मुख्य लक्ष्य के हो ?

— आजसम्म सिंहदरबारका एकल नश्लीय राज्यसत्ताको नीति डिभाइड एण्ड रुल रहँदै आएको छ । विगत २७० वर्षदेखि यिनीहरुले डिभाइ एण्ड रुलको फर्मुला अपनाउँदै जाति, भेषभुषा, भाषा, विभिन्न राष्ट्रियताको आधारमा विभाजन गरेर शासन गर्दै आए । पहिलो पटक, धेरै गृहकार्य र तयारीपश्चात हामीले युनाइट एण्ड रुलको फर्मुला लिएर आएका छौं । ती शोषक र शासकहरुको फर्मुला थियो डिभाइड एण्ड रुल तर हाम्रो फर्मुला रहेको छ युनाइट एण्ड रुल । यसै फर्मुलाअनुसार अब हामी अलग–अलग लडाइँ लड्दैनौं । अब हामी एकै ठाउँमा एकत्रित भएर नश्लीय राज्यसत्तामाथि यस्तो प्रहार गर्छौं कि नेपाल राष्ट्र सबैको साझा हो भन्ने महसुस हुन्छ । आजसम्म शासकवर्गले यो देशमा सात–सात वटा संविधान असफल बनाइसकेका छन् । जसले यो देश सबै नेपालीको हो भनेर अनुभूति हुन दिइएन । पहिलोपटक एउटा लामो गृहकार्यपश्चात् एउटा यस्तो फर्मुला तयार गरेका छौं, जसले आफ्नो स्वशासन जसलाई हामी स्वदेशवाद भन्छौं । पूर्वीय दर्शनबाट शिक्षा लिँदै स्वदेशवादमा आधारित बहुलराष्ट्रिय राज्यको कल्पनासहित हामी अगाडि बढ्दैछौं । एकल राष्ट्रिय राज्यलाई बहुल राष्ट्रिय राज्य बनाउनका लागि स्वदेशवादलाई हामीले आधार बनाएका छौं । हाम्रो देशमा आजसम्म क्याप्टलिज्म र कम्युनिजमको फर्मुला चलिरहेका छन्, यी फर्मुलाहरु आयातित हुन् । ती आयातित फर्मुलाको विरुद्ध हामीले विशुद्ध स्वदेशवादमा आधारित बहुल राष्ट्रिाय राज्यका लागि राष्ट्रिय मुक्ति क्रान्ति अभियानलाई अगाडि बढाएका छौं । अहिले त हाम्रो राष्ट्रिय मुक्ति क्रान्ति अभियान औपचारिक रुपमा घोषणा हुन पनि बाँकी छ । औपचारिक घोषणा नहुँदै काठमाडौंमा स्वस्फूतरुपमा आमजनता जोडिँदैछन् । यो एउटा यस्तो तयारी हो कि यो देशमा अन्तिम संघर्ष हुनेछ । यसपछि आउने दिनमा कुनै लडाइँ गर्न पर्दैन ।

० यो अन्तिम लडाइँ हो ?

— यसलाई अन्तिम लडाइँ बनाउनैपर्छ । किनकि विगतको संघर्षबाट शिक्षा लिँदै सत्ताभत्ताबाट टाढा रहँदै अगाडि बढ्छौं । हाम्रा जो शीर्ष नेताहरु हुनुहुन्छ उहाँहरु प्रशिक्षणको बेला वाचा गर्नुभएको छ कि जुनसुकै अवस्थामा आफ्नो लक्ष्यप्रति अडिग रहन्छौं । अब सत्ताभत्ताको विषय हुँदैन, अब अधिकार र पहिचानको विषय हुन्छ । अधिकार र पहिचानका लागि बहुल राष्ट्रिय स्थापना गर्नुपर्छ । जसबाट सबै वर्ग समुदायलाई लागोस् कि यो राष्ट्र हाम्रो हो । सबै राष्ट्रियताको समानुपातिक प्रतिनिधित्व होस् । हाम्रो अभियानको औपचारिक घोषणा चैतको पहिलो साता हुन लागेको छ । जसमा सबैले हेर्नेछन् कि लाखौं आमजनता सडकमा आउनेछन् । हाम्रो अभियानमा मधेश, पहाड, हिमाल सबै क्षेत्रका नागरिक एक साथ खडा भएर बहुल राष्ट्रिय राज्य स्थापना गराएरै छाड्छन् । आज मधेशीसँग नेवारी, तामाङ, गुरुङ, राई, लिम्बू खडा छन् भने मधेश पनि उनीहरुसँग खडा छ । मधेशीको बारेमा गलत प्रशिक्षण दिइएको थियो । त्यस्तै, भारतको बारेमा पनि यहाँका शासनले गलत प्रशिक्षण दिइएको थियो । नेपाल र भारतबीच एउटा प्राकृतिक सम्बन्ध हो । मधेशी र पहाडी जनजातिबीच जुन भ्रम सिर्जना गरिएको थियो त्यसको विरुद्धमा हामी खडा भएका छौं । यसको नेतृत्व अहिले राजेन्द्र महतोले गरिरहनुभएको छ । यो अहिले एउटा अभियान हो, पार्टी बनेको छैन । यसमा सबै जना महत्वपूर्ण सिपाही हुन् । सबै सिपाही आफ्नो तनमनका साथ लागेका छन् । किनकि सबैले महसुस गरेका छन् कि राष्ट्रिय मुक्ति क्रान्ति मात्र एउटा यस्तो अभियान हो जसको माध्यमबाट नेपाललाई बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित गर्न सक्छौं । यसैअनुसार हाम्रो कार्यक्रम अगाडि बढिरहेको छ ।

० तपाइँ युनाइट एण्ड रुल भन्नुहुन्छ, तर तपाइँहरुबीच नै एकता देखिएको छैन । तपाइँका पूर्वपार्टी वा मधेशका दलहरुले तपाइँहरुलाई साथ दिइरहेको छैन नि ?

— कुन पार्टीलाई मधेशका पार्टी भन्ने अथवा कुन पार्टीलाई हामी आफ्नो पूर्वपार्टी भन्ने । हामी लोसपामा हुँदासम्म पार्टी जस्तो थियो । अर्गेनिक मधेशीको उपस्थितिबाट त्यो मधेशको पार्टी थियो । हामी त्यो पार्टीबाट निस्किसकेपछि त्यसको बारेमा चर्चापरिचर्चा गर्न चाहँदैनौं । हामी अब धेरै ठूलो कार्यभारसहित अगाडि बढिरहेका छौं । हामीले राष्ट्रियसभा गृहबाट आह्वान गरेका थियौं कि लोसपा, जसपा, जनमत अथवा कांग्रेस, एमाले, माओवादी लगायत देशका जति शक्तिहरु छन्, त्यसभित्रका अधिकार पहिचानवादीहरुलाई आओस् । जो अधिकार र पहिचानका लागि राजनीति गरिरहेका छन्, उहाँहरु यो महायज्ञमा सामेल हुनुपर्छ । हामीले सबैलाई आउन आह्वान गरेका छौं । किनभने यो अन्तिम संघर्ष हो र यो धेरै ठूलो संघर्ष हुनेवाला छ । यसबाट हामीले धेरै ठूलो संगठन निर्माण गर्दैछौं । हिजोसम्म हाम्रो जुन एक्लाएक्लै संघर्ष गर्ने यात्रा थियो, त्यसैबाट पाठ सिकेर हामी अब एकत्रित आन्दोलनको सुरु गरेका छौं । विगतमा हामी आन्दोलन गर्दा मधेशीको विरुद्धमा थारु, मुस्लिमलाई उचालियो । हाम्रा आन्दोलनहरुलाई सिंहदरबारले कमजोर बनाउने कार्य गर्दै आएको छ । यहाँ कांग्रेस, एमाले, माओवादी छुट्टाछुट्टै पार्टी देखिएपनि मधेशी, जनजातिलाई अधिकार नदिने कुरामा यिनीहरु सबैको मिलेमतो रहेको छ । यो देशलाई एउटा सुन्दर र सबैको साझा फूलबारी बनाउनका लागि राष्ट्रिय मुक्ति क्रान्तिको यो अभियान सुरु भएको छ । यो अभियान सञ्चालन गर्नका लागि राजेन्द्र महतो र बुद्धछिरिङ्ग मोक्तानले धेरै लामो समयदेखि गृहकार्य गर्दै हुनुहुन्थ्यो । उहाँहरुलाई थाहा छ कि राज्यले आन्दोलनलाई कसरी कमजोर बनाउँदै आएको थियो । तर अब आन्दोलन कमजोर हुँदैन । अब यो देश सबैको साझा देश बनोस् भन्ने मूल ध्येय हो । केही खास वर्ग र व्यक्तिले यो देशको साधनस्रोतको दोहन गर्दै आएका छन् । केही सीमित व्यक्तिको मात्र यो देश होइन, तीन करोड नेपाली जनताको साझा राष्ट्र हो । तीन करोड नेपाली जनता यो राष्ट्रका मालिक हुन् । केही सीमित व्यक्तिले तीन करोड नेपाली जनतालाई मालिक बन्न दिएनन् । त्यसको विरुद्धमा सबैको राष्ट्र निर्माण बनोस्, त्यसका लागि यो एउटा महायज्ञको घोषणा भएको हो ।

यो राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा सबै जना समाहित हुनुपर्छ । ३३ वर्षसम्म हामीले मधेशको अधिकार र पहिचानका लागि आन्दोलन ग¥यौं तर सफल भएनौं । त्यसका लागि हामी बसेर समीक्षा गर्नुप¥यो । गजेन्द्र नारायण सिंहदेखि आजसम्मको हाम्रो जुन यात्रा छ, त्यसकै निरन्तरता हो । मुक्ति क्रान्तिका लागि हामी संवेदनशील छौं । यो अभियानको नेतृत्व गरिरहनुभएका नेता राजेन्द्र महतो केही वर्ष सांसद र मन्त्री बन्नुभयो । पछिल्लो समय जब उहाँ १८ दिनका लागि उपप्रधानमन्त्री हुँदा पत्रकारले प्रश्न गरेका थिए कि अबको तपाइँको एजेण्डा के हुनेछ । यसको जवाफमा भन्नुभएको थियो कि अब यो देशमा बहुल राष्ट्रिय राज्यको स्थापना गर्छौं । त्यसपछि उहाँ पुतला दहन हुन सुरु भइसकेको थियो । विगत पाँच वर्षदेखि राजेन्द्र महतोजीको मन कुरा चलिरहेको थियो कि पहिचान र अधिकारको संघर्ष किन सफल भइरहेको छैन । त्यसपछि एउटा फर्मुला निस्कियो कि अब हामीले छुट्टाछुट्टै होइन, सबै एक साथ भएर संघर्ष गर्नुपर्छ । यो संघर्षमा मधेशी, थारु, मुस्लिम, आदिवासी जनजाति, राई, लिम्बू, गुरुङ, तामाङ, मगर, भोटे, शेर्पा लगायत जति समुदायहरु छन् सबै मिलेर अन्तिम प्रहार गर्नुपर्छ, जसबाट यो देशमा अबउपरान्त आन्दोलनको आवश्यकता हुँदैन । त्यसपछि देशमा विकास र समृद्धिको वातावरण बन्न सकाोस् । अहिलेको संविधानमा सबैले अपनत्व महसुस गर्न पाएका छैनन् ।

सबैले अपनत्व महसुस गर्ने संविधान निर्माणका लागि एकीकृत मुक्ति संघर्ष गर्नु आवश्यक छ । त्यो अन्तिम एकीकृत संघर्षको नाम हो, राष्ट्रिय मुक्ति क्रान्ति अभियान । त्यो राष्ट्रिय मुक्ति क्रान्ति पूर्वीय दर्शन र स्वदेशवादमा आधारित बहुल राष्ट्रिय राज्य स्थापनार्थ हुनेछ । यो देशमा अहिले एकल नश्लीय राष्ट्रवाद रहेको छ । हामीले निषेधित क्षेत्र तोड्न जुन प्रदर्शन गरेका थियौं, त्यसबाट काठमाडौंमा एक प्रकारको तरंग उत्पन्न भएको छ । अब हामी अगाडि बढिसकेका छौं । यो महाअभियानलाई अब हामी सफलतापूर्वक सम्पन्न गर्नेछौं । बिना सत्ता भत्ता, विशुद्ध अधिकार पहिचान स्थापित गर्ने उद्देश्यले राष्ट्रिय मुक्ति क्रान्ति सफल हुनेछ ।

० राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा मधेश आन्दोलनबाट आएका अधिकार र पहिचानवादी दलहरु किन सहभागी भएनन् त ?

— मधेशवाद स्थापनाका लागि संघर्ष गर्ने म एउटा संस्थापक नेता हुँ । स्वर्गीय गजेन्द्र नारायण सिंहले मधेशवादलाई व्यवस्थित गर्नुभएको थियो, त्यो संघर्षमा म ३३ वर्षदेखि लागेको छु । हामीले स्थापित गरेको मधेशवादाको आडमा लाभ उठाउन अहिलेका कथित मधेशवादी दलहरु छन् । यिनीहरु मधेशवादबाट फाइदा लिनका लागि भिजिलान्तेको रुपमा प्रवेश गरेका छन् । तिनीहरुलाई कसरी अधिकार र पहिचानवादी मान्ने ?

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ