० जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएदेखि जनताले महसुस गर्नेखालका केकस्ता कामहरू गर्नुभएको छ ?
— हामी निर्वाचित भएर आएदेखि करिब डेढ वर्ष पुग्दैछ । यो अवधिमा हामीले बाटोघाटो निर्माण, स्वास्थ्य चौकीहरूमा सुधारका काम, पुलपुलेसा र कल्भर्टहरू निर्माण गरेका छौं । मुख्यतः यिनै कामहरू भएको छ ।
० शिक्षामा सुधारका लागि के गर्नुभयो ?
— शिक्षामा बजेटहरू विनियोजन गरेर कार्यक्रमहरू अगाडि बढाएका छौं । शैक्षिकस्तर सुधारका लागि सबै पक्षसँग छलफल गरेर विभिन्न कार्यक्रमहरू लागू गरेका छौं ।
० कृषिको सुधारोन्मुखका लागि के छ योजना ?
— किसानहरूलाई ५० प्रतिशत अनुदानमा धान, गहुँ, विभिन्न तरकारीहरूका बीउ वितरण गरेका छौं । कृषिलाई आधुनिकीकरण गर्नका लागि कृषि यन्त्रहरू पनि वितरण गरेका छौं । हामीले करिब–करिब ८–१० लाख रूपैयाँबराबरका कृषि यन्त्रहरू वितरण गरेका छौं । धान लगाउने मेसिन, धान काट्ने रिप्पर लगायतका यन्त्रहरू वितरण ग¥यौं ।
० त्यसबाट कृषकहरू कतिको लाभान्वित भएका छन् ?
— हामीले वितरण गरेको बीउ र यन्त्रबाट कृषकहरू लाभान्वित नै भएका छन् । तर, सबै किसानलाई वितरण गर्न सकेका छैनौं । क्रमिकरूपमा हामीले प्रत्येक वर्ष बीउ र यन्त्रहरू वितरण गर्ने हाम्रो योजना छ । किसानलाई बढीभन्दा बढी लाभ होस् भनेर हामीले नियमितरूपमा यस्ता कार्यक्रमहरू अगाडि बढाउनेछौं ।
० राजापुर नगरपालिका कृषिमा आधारित क्षेत्र हो । कृषिमा आत्मनिर्भर कहिलेसम्म बनाउनुहुन्छ ?
— निश्चितरूपमा राजापुर नगरपालिका कृषिमा राम्रो सम्भावना बोकेको क्षेत्र हो । यहाँको माटो एकदमै उर्बर छ । यहाँ धान, गहुँ, मकै लगायत सबै प्रकारका अन्नबालीहरू उत्पादन हुन्छन् । राजापुर नगरपालिकाको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको एकदमै सम्भावना रहेको छ । त्यसैले, हामी कृषि गुरूयोजना बनाउँदैछौं । हामी आफ्नो कार्यकालमा कृषि क्षेत्रमा राजापुर नगरपालिकालाई आत्मनिर्भर बनाउन सक्छौं ।
० जनप्रतिनिधिको रूपमा काम गरिरहँदा कस्तो अनुभव भइरहेको छ ?
— हामीले केही अप्ठ्यारो र अन्योलताको बीचमा काम गरिरहेका छौं । विशेषगरी, संविधानले दिएका अधिकारहरू केन्द्रबाट नै नआइसकेकोले अलि अप्ठ्यारो भइरहेको छ । नीतिगत समस्याहरू देखिन्छन् । स्थानीय तहहरूमा जनशक्तिको एकदमै अभाव रहेको छ । हामीसँग पर्याप्त मात्रामा कर्मचारी नभएकोले कार्य सम्पादन गर्न एकदमै गाह्रो भइरहेको छ । अहिले राजापुर नगरपालिकामा १० वटा वडा छन्, जसमा हामीसँग जम्मा ४÷५ वटा मात्रै वडा सचिवहरू छन्, शाखा हेर्ने कर्मचारीहरूको पनि एकदमै अभाव छ । त्यसको साथसाथै संघीय सरकारले समय–समयमा नगरपालिकामा भएका कर्मचारीहरूलाई छोटो समयमै सरूवा गरिदिने जसले गर्दा काम गर्न कठिनाई भइरहेको छ । अर्को कुरा हामीसँग भौतिक संरचनाको पनि अभाव छ । वडा कार्यालयहरू व्यवस्थापन गर्न हामीलाई अप्ठ्यारो भइरहेको छ । मुख्यगरी यी समस्याहरूका बीच काम गरिरहेका छौं । विभिन्न समस्याका बाबजुद पनि हामीले विकास निर्माणका कार्यहरूलाई निरन्तररूपमा अगाडि बढाइरहेका छौं ।
० स्थानीय सरकार प्रदेश सरकारभन्दा बलियो छ भन्ने भनिन्छ नि ?
— संवैधानिक हिसाबले भन्नुपर्दा स्थानीय सरकारलाई दिएको जो अधिकार छ त्यस हिसाबले हेर्दा त बलियो नै छ । संघीयताको मूल मर्म नै स्थानीय तहलाई बलियो बनाउने हो । किनकि जनतासँग प्रत्यक्षरूपमा सरोकार राख्ने भनेको स्थानीय सरकार हो । जनताको पहुँच केन्द्र वा प्रदेशमा त्यति हुँदैन, जति स्थानीय सरकारसँग हुन्छ । स्थानीय सरकारसँग जनताले आफ्ना समस्या र अप्ठ्याराहरू सजिलैसँग राख्न सक्छन् र पहुँच हुन सक्छ । तर, थुप्रै नीतिगत समस्याहरूले गर्दा हामीले काम गर्न सकिरहेका छैनौं । हामीसँग अधिकार त छ तर त्यसलाई प्रयोग गर्न कठिनाईहरू पनि छन् ।
० तपाइँहरूसँग संवैधानिक अधिकार छ तर प्रयोग गर्न सकिरहनुभएको छैन, यसका लागि पहल गर्नुभएको छैन ?
— म नगरपालिकाको प्रमुखको हैसियतले पटक–पटक संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य गरेर हाम्रा समस्याहरू समाधान गर्नका निम्ति माग गरिरहेका छौं । मन्त्रीज्यूसँग भेटघाट गरेर पनि समस्याहरू दर्शाइरहेका छौं । समय–समयमा यी विषयहरू अन्तरक्रिया र छलफल भइरहेको हुन्छ । त्यसैगरी, प्रदेश सरकारसँग पनि छलफल भइरहेको छ । यस विषयमा हामीले पटक–पटक पहल त गरिरहेका छौं तर हाम्रा समस्याहरू सम्बोधन गर्ने काम तदारूकताका साथ भइरहेको छैन ।
० स्थानीय सरकारप्रति संघीय सरकार किन उदासिन रहेको होला त ?
— स्थानीय सरकारप्रति संघीय सरकार किन उदासिन छ भन्ने कुरो त हामीलाई थाहा भएन, संघीय सरकारले नै जान्ने कुरो हो । संघीय सरकारको पनि आफ्ना समस्या होलान् । तर, संघीय सरकारबाट जुन प्रकारले हामीले सहयोग पाउनुपर्ने हो, त्यो भइरहेको छैन ।
० भनेपछि, स्थानीय सरकारलाई असफल बनाउने षड्यन्त्र पनि हो कि ?
— कतिपय संघीयता विरोधी मान्छेहरूको त्यो सोचाई होला । संघीयता नपच्ने मान्छेहरूले स्थानीय तहलाई असहयोग गरिरहेको हो जस्तो लाग्छ । संघीयतालाई असफल बनाउने सोच पनि हुनसक्छ । त्यसका साथसाथै अन्य कारणहरू पनि हुनसक्छन् ।
० प्रदेश सरकारसँग कस्तो किसिमले सहकार्य हुँदैछ त ?
— प्रदेश ५ को सरकार र स्थानीय तहबीच समय–समयमा भेटघाट, छलफल र अन्तरक्रिया भइरहेको छ ।
० स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा भनिन्थ्यो, के छ वास्तविकता ?
— निश्चितरूपमा केही अधिकारहरू जनताले गाउँमा नै पाएका छन् । जनताले स्थानीय तहबाट नै धेरै सेवासुविधाहरू पाएका छन् । तर, जुनरूपमा जनताले अपेक्षा गरेका थिए, त्योरूपमा आकांक्षाहरू पूरा नभएको हामीले अनुभूति गरेका छौं । हामीले नगरपालिकाको तर्फबाट जुन किसिमले सेवा सुविधा दिनुपर्ने थियो त्यो किसिमले सकिरहेको अवस्था छैन । थुप्रै समस्याहरू छन्, जस्तै नीति नियमको अभाव, जनशक्तिको अभाव लगायतका समस्याहरू छन् । यी कुरा क्रमिकरूपमा सुधार हुँदै जान्छ ।
० तपाइँ आफ्नो कार्यकालमा राजापुर नगरपालिकालाई कस्तो बनाउने सोच बनाउनु भएको छ ?
— राजापुर नगरपालिकालाई राम्रो र सुन्दर नगरपालिकाको रूपमा विकास गर्ने हाम्रो चाहना हो । त्यहीअनुसार हामी काममा लागेका छौं । विशेषगरी, बर्दिया जिल्लाको यो राजापुर नगरपालिका भनेको अलिकति पिछडिएको ठाउँ हो । यद्यपि, राजापुर भनेको एउटा ऐतिहासिक ठाउँ पनि हो । तर पनि भौगोलिक हिसावले केही विकटताहरू पनि छन् । जसले गर्दा थुप्रै समस्याहरू पनि छन् । हामी आफ्नो कार्यावधिमा कमसेकम स्वास्थ्य, शिक्षा, कृषि र बाटोघाटो निर्माण कार्यलाई अगाडि बढाउनेछौं ।
तपाईको प्रतिक्रिया