० जनप्रतिनिधिको रूपमा निर्वाचित भएको करिब अढाई वर्ष भयो, जनताले महसुस गर्ने के–के कामहरू गर्नुभयो ?
— हामी आउँदाको स्थिति र अहिलेको स्थितिमा धेरै फरक भइसकेको छ । हामीले शिक्षालाई बढी ध्यान दिएका छौं । विशेषगरी हामीले सम्पूर्ण नगरपालिका भित्र बाल विकासको शिक्षालाई व्यवस्थित गरिरहेका छौं । स्वास्थ्यको क्षेत्रमा हामीले नगरपालिकाभित्र तीनवटा बर्थिङ्ग सेन्टर सञ्चालन गरेका छौं । यसैगरी, आधारभूत स्वास्थ्य संस्था पनि स्थापना गरेका छौं । विकास निर्माणको सवालमा गौशालासँग जोडिने बाटोहरूलाई विशेष प्राथमिकतामा राखेका छौं । हामीले विशेष गरी शिक्षा, स्वास्थ्य र कृषिलाई जोड दिएका छौं । हामीले गौशालामा प्रदेशस्तरीय इन्जिनियरिङ्ग कलेजका लागि पहल गरिरहेका छौं ।
० सबभन्दा बढी चुनौती केमा छ ?
— गौशाला नगरपालिका सात वटा खोलाले घेरिएको छ । कटानका सम्भावनाहरू धेरै बढिरहेको अवस्था छ । वर्षात्को मौसममा त हाम्रो हात छात्तीमा नै हुन्छ । बिघौंबिघा जग्गा खोलाले कटान गरेर विनाश गरेको छ । यसका लागि हामीले जनताको तटबन्ध कार्यक्रम ल्याएका छौं, यसमा केही काम पनि भएका छन् । यस्तै, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत पनि केही बजेट आएको थियो । खोला नियन्त्रण गर्न सक्यौं भने मात्र हामीले आफ्ना उब्जाउ जमीनलाई संरक्षण गर्न सक्छौं ।
० सिंहदरबार गाउँ भन्ने नारा जनताले महसुस गरेका छन् ?
— हामीले जसरी स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा भन्ने नारा लगाएका थियौं, त्यो कुरा पूरा गर्न सकेका छैनौं । यो कुरा म स्वीकार गर्छु । तर, त्यसका पूर्वाधारहरू तयार गरिसकेका छौं । मुख्य समस्या भनेको हामीसँग कर्मचारी छैन । हाम्रो नगरपालिकामा जम्मा चार जना कर्मचारी छन् । मात्र चार जना निजामती कर्मचारीले हामी नगरपालिकाका कामहरू कसरी सञ्चालन गर्ने ? चार जना कर्मचारीले पूरै नगरपालिका धानेको अवस्था छ । तापनि हामीले जनतालाई स्थानीय सरकारको महसुस गराउन हामी जनप्रतिनिधिहरू मजदूर जस्तो दिनरात काममा लागेका हुन्छौं । यसका म आफै मन्त्रालयमा आग्रह गरेका छौं । हाम्रो वडामा एक जना पनि कर्मचारी छैन । त्यसैले हामी धेरै समस्यामा छौं । हामीले जुन कामका लागि जनतासँग मत माग्यौं त्यो काम अहिलेसम्म पनि हामीले पूरा गर्न सकेका छैनौं । आफ्नो अवधिमा पूरा गर्ने लक्ष्य राखेका छौं ।
० कर्मचारी अभावकै कारण सिंहदरबार गाउँमा महसुस गर्न सकेनन् ?
— हो । कर्मचारी अभावकै कारणले हामीले राखेका लक्ष्यअनुसार काम गर्न सकेनौं । करिब दुई दशकदेखि स्थानीय तह जनप्रतिनिधिविहीन थियो, हामी निर्वाचित भएर आउँदा जनताले हामीसँग धेरै अपेक्षा गरेका थिए । तर, हामीसँग कर्मचारी नहुँदा ठूला महत्वका योजनाहरू सञ्चालन गर्न सकिरहेका छैनौं । हामीसँग भएका दुई÷चार जना कर्मचारीहरू जुन छन्, उहाँहरू स्थानीयमा काम गरेका छैनन् । त्यसले पनि सस्या भइरहेको छ ।
० नगरपालिकाले कर दायरा कस्तो राखेको छ ?
— हामीले यहाँका समुदाय, राजनीतिक दल, उद्योग वाणिज्य संघको बीचमा छलफल गरेर सबैको सल्लाहअनुसार जनतालाई मर्का नपर्ने करको व्यवस्था गरेका छौं । सुरूमा हामीले करको विषयमा सिस्टम बसाउने हो । करबमोजिम सुविधा त हामीले पनि दिनुपर्छ । यदि हामीले त्यो हिसावले सुविधा दिन सक्यौं भने जनताले आफै खुसी मन कर दिन चाहन्छन् । त्यो प्रक्रियामा हामी छौं । त्यसैले करको विषयमा हाम्रो नगरपालिकामा कुनै किसिमको असन्तुष्टि वा विमती छैन ।
० गौशाला नगरपालिकाको जनजीविकाका आधारहरू के–के छन् ?
— यहाँका करिब–करिब ९० प्रतिशत जनजीविका कृषिमा आधारित छन् । यहाँ उखु खेती प्रमुख हो । उखु किसानहरूको एकदम विजोग रहेको छ । उखु उद्योगपतिहरूको लिंक माथिदेखि रहेको हुन्छ । उखु किसानले दुई वर्ष पहिलाको भुक्तानी पनि पाउन सकेका छैनन् । त्यसैले सबभन्दा मर्का परेका यहाँका किसान हुन् । अहिले प्रधानमन्त्री कृषि कार्यक्रम लागू भएको छ । त्यसबाट हामीले बजार व्यवस्थापन, सिंचाइ, आधुनिक औजारहरूका लागि पहल सुरू भएको छ । किसानका लागि हामीले पनि केही गर्न सकेका छैनौं । तर म आफ्नो कार्यकालमा किसानलाई आफ्नो खुट्टा उभ्याउने प्रयास गरिरहेका छु ।
० प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ र छोरी बीमा कार्यक्रम गौशालामा आएको छ ?
— प्रदेश सरकारका यी कार्यक्रमहरू हाम्रो नगरपालिकामा आएका छन् । हामीले शिविर नै राखेर यी कार्यक्रमहरू सञ्चालन गरेका छौं । प्रदेश सरकारको निर्देशनअनुसार हामीले बेटी बचाउ बेटी पढाउ र छोरी बीमा कार्यक्रम गरिरहेका छौं ।
० तपाइँ आफ्नो कार्यकालभित्र गौशाला नगरपालिकालाई कस्तो बनाउने सोच राख्नुभएको छ ?
— गौशाला नगरपालिकालाई म आफ्नो कार्यकालमा कुनै समुदायका बालबच्चा शिक्षाबाट वञ्चित नहोस् भन्ने मेरो लक्ष्य छ । यहाँ गुणस्तरीय शिक्षा होस्, यहाँका चेलीबेटीहरू यही अध्ययन गरोस् । म आफ्नो कार्याविधिमा कमसेकम ब्याचलरसम्मको शिक्षा हासिल गर्ने व्यवस्था गर्छौं ।
तपाईको प्रतिक्रिया